+
+
Shares

चितवनमा छिनछिनमै विद्युत कटौती : व्यवसायी भन्छन् – बरु लोडसेडिङ गरिदेऊ

प्राधिकरण भन्छ : दुई महिनासम्म यस्तो हुन सक्छ

सुवास पण्डित सुवास पण्डित
२०७५ जेठ २१ गते १६:२७


१९, जेठ, चितवन । चितवनमा पटक पटक विद्युत कटौती हुने, एक दुई मिनेटमा विद्युत जाने आउने समस्याले सर्वसाधारण र व्यवसायी हैरान भएका छन् ।

लोडसेडिङमुक्त घोषणा गरिए पनि पटक पटक बिना सूचना विद्युत कटौती हुने समस्या बढेको छ । छिनछिनमा विद्युत जाने, बिना सूचना लामो समय विद्युत नआउने हुनुभन्दा समय तोकेरै लोडसेडिङ गर्न व्यवसायीले प्राधिकरणलाई सुझाएका छन् ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भने, ‘बरु विद्युत लाइन तालिका बनाएर काटे हुन्छ, हामी सोही अनुसारको व्यवस्थापन गर्दछौं आपूर्ति अनियमित हुँदा सबै हिसाबको क्षति भोग्नुपरेको छ ।’

अध्यक्ष दुवाडीले अनियमित विद्युत आपूर्तिको मार प्लाष्टिक उद्योगमा बढी परेको बताए । ‘अन्य उद्योगमा पनि कच्चा पदार्थ र मेसिन बिग्रने समस्या छ । विद्युत प्राधिकरणलाई यसबारेमा पटकपटक ध्यानाकर्षण गराएको भए पनि समस्या समाधान भएन’ उनले भने ।

चितवन प्लाष्टिक व्यवसायी संघका अध्यक्ष रामप्रसाद गजुरेल विद्युत अनियमित भएर धेरै कच्चा पदार्थ नष्ट भएको बताउँछन् । ‘मेसिन तताउन दुई घण्टा लाग्छ, मेसिन तात्ने समयमा विद्युत जान्छ, विद्युत आएपछि पुनः मेसिन तताउन दुई घण्टा लाग्छ’ उनले भने ‘यस्तोमा विद्युत खपत धेरै हुने र कच्चा पदार्थ नष्ट हुने हुन्छ ।’

सर्वसाधारण पनि मारमा

विद्युत अनियमितताको मारमा उद्योगी व्यवसायी मात्र होइन सर्वसाधारण पनि परेका छन् । विजुली नहुँदा पंखा चलाउन नपाएर घरभित्र बस्न सक्ने अवस्था नै हुदैन । पटक पटक लाइन जान थालेपछि रोकिएको इन्भर्टरको  व्यापार जिल्लामा बढ्न थालेको छ ।

उद्योग संघ चितवनका आइटी अफिसर राजु भट्ट विद्युत अनियमित हुँदा कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन लगायतका विद्युतीय उपकरण बिगि्रने बताउँछन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत लेखाअधिकृत सञ्जिव न्यौपानेले दैनिक ८ पटकसम्म लाइन जाने गरेको बताए ।

प्राधिकरण भन्छ : यस्तो समस्या दुई महिनासम्म हुन्छ

प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतो सडक विस्तारको काम तीब्र गतिमा भएकाले विद्युत पोल सार्नुपर्ने, हावाहुरीले पोल ढाल्ने, रुख भाँचिएर तारमा पर्ने जस्ता समस्याले विद्युत अनियमित भएको दावी गर्छन् । गर्मी बढेसँगै खपत बढेको बताउँदै प्रमुख महतोले भने ‘भोल्टेजको पनि समस्या छ, यस्तो समस्या अरु एक दुई महिनासम्म रहन्छ ।’

भरतपुर वितरण केन्द्रबाट विगतका महिनामा मासिक एक करोड युनिट खपत हुने गरेकोमा वैशाख महिनामा मात्रै एक करोड ६४ लाख युनिट खपत भएको पाइएको छ । एक दिन हावाहुरी आएमा दुई/तीन दिनसम्म विद्युतमा गडबडी हुन्छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका ७९ हजार उपभोक्ता रहेका छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?