Comments Add Comment

अपराध महाशाखालाई प्रश्न : गोरेलाई किन प्रतिवादी बनाइएन ?

यस्तो छ मोरङ प्रहरीलार्इ बुझाइएको प्रतिवेदन

२१ जेठ, काठमाडौं । सुनकाण्डमा पुर्पक्षका लागि थुनामा पुग्दासमेत नेपाल प्रहरीको अपराध महाशाखामा तत्कालीन अधिकारीहरुले ‘गुड फेथ’ मा काम गरेको दाबी गर्न छाडेका छैनन् ।

तीन पूर्वप्रहरी उच्च अधिकारीको पछिल्लो अभिव्यक्तिले पनि उनीहरुको दाबीलाई नै बल पुर्‍याएको छ । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजी हेमन्त मल्ल र रमेश खरेलले सार्वजनिक रुपमा संगठित अपराधको अनुसन्धान गर्ने प्रहरीहरुलाई नै अभियुक्त बनाएकोमा असन्तुष्टि जनाएका छन् ।

तर, संयोग मान्नुपर्छ, तीन पूर्वप्रहरी अधिकारीले छानबिन समितिमाथि प्रश्न उठाएकै दिन सुन तस्करीमा अभियुक्त प्रहरी अधिकारीको टेलिफोन सम्वाद सार्वजनिक भएको छ । डीएपी प्रजित केसी र सई बालकृष्ण संजेलले मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे र उनकी पत्नीसँग गरेको सम्वाद बाहिर आएको हो ।

यो सम्वादमा दुबैले सुन तस्करीका मुख्य अभियुक्त गोरेलाई बचाउन प्रयास गरेको प्रष्ट हुन्छ ।

हराएको साढे ३३ किलो सुन खोजी गर्ने क्रममा गोरे र उनको समूहले शनम शाक्यलगायतलाई कुटपिट गर्नुका साथै करेन्ट लगाए । त्यही क्रममा शनमको मृत्यु भएपछि गोरेले शव व्यवस्थापनका लागि सञ्जेललाई गुहार मागेका थिए ।

त्यसका लागि केसी र सञ्जेलको टोली काठमाडौंबाट धरान मात्र पुगेन, आफूसँग २ करोडको डिल गरेको गोरेको बयान छ । तर, गोरे टोलीलाई नभेटी भारत लागेपछि योजना भत्किन्छ र महाशाखाको टोलीले शव बरामद गर्छ ।

गोरेलाई किन प्रतिवादी बनाइएन ?

शनमको शवसँग पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएपछि पनि प्रहरी अधिकारीद्वय केसी र संजेल गोरेको सम्पर्कमा थिए । उनीहरुको दाबी छ कि गोरेलाई नै पक्राउ गर्ने गुड फेथ (असल मनसाय)ले त्यो सम्वाद भएको थियो ।

तर, दुबैले गोरेलाई बचाउने प्रयास अन्तिमसम्म गर्ने आश्वासन दिएको टेलिफोन सम्वादमै छ ।

अनुसन्धान टोलीका अनुसार अपराध महाशाखाको टोलीले शनमको शवसँगै तीन जना पक्राउ परेपछि बनाइएको बरामदी मुचुल्कामा गोरेलाई प्रतिवादी बनाइएको छैन । यसले गुड फेथमा काम गरेका थियौं भन्ने अपराध महाशाखाको टोलीको दाबीमाथि प्रश्न उठाएको समितिका एक अधिकारी बताउँछन् ।

जब गोरे आफूलाई प्रतिवादी नबनाइएकोमा विश्वस्त हुन्छन्, तब उनले अर्को फोन संवादमा केसीलाई ‘तपाईंको दर्जा के हो’ भनेर सोध्छन् । उनले डिएसपी भन्छन् । तब गोरेले ‘त्यसो भए डिआईजीसम्म बनाइदिन्छु’ भन्दै आफ्नो रवाफ देखाउँछन्

डीएसपीले भने– प्रतिवादी बनाएका छैनौं

गोरे र केसी–संजेलबीच भएको टेलिफोन सम्वादमा डीएसपी केसीले गोरे भागेका कारण समस्या आएको भए पनि आफूहरुले सबै मिलाएको बताएका छन् ।

यो सम्वाद सुरुमा सई सञ्जेलसँग हुन्छ । त्यसपछि केसीले पनि कुरा गर्छन् । कुराकानीका क्रममा मिलिसक्यो ? भन्ने गोरेको प्रश्नमा डीएपी केसीले भनेका छन्, ‘मिलिसक्यो, तिनीहरूले के–के कुरा बिगारे भन्थे । त्यो चाहिँ थाहा छैन ।’

सञ्जेलसँग भएको कुराकानीप्रति लक्षित गर्दै गोरेले ‘मामाले त के कुरा मिलेको छैन भन्दै थिए त । मोहनेले के भन्यो भन्दै थिए…’ भन्छन् । केसी भन्छन्, ‘तिनीहरूले के के भने त्यो मलाई राम्रोसँग थाहा छैन । हामीले तिमीलाई प्रतिवादी बनाएका छैंनौं ।’

गोरेले ‘प्रतिवादी बनाएको छैनौं’ भन्ने बुझ्दैन । उल्टै म फरार हुँ ? भनेर सोध्छन् । डीएसपी केसी अलि झर्को मान्दै भन्छन्, ‘हामीले तिम्रो नाम फरारमा राख्दैनौं के । तिमीलाई प्रतिवादी नबनाएपछि मुद्दा चल्दैन । तिनीहरूले के के भन्छन् चाहिँ मेरो ग्यारेन्टी भएन । तर, हामी गर्दैनौं, ढुक्क बन ।’

गोरेले ‘अलि मजाले बुझाइदिनु पर्‍यो’ भनेपछि केसीले भनेका छन्, ‘मुद्दा चलाउँदा सरकार वादी र अर्को पक्ष प्रतिवादी हुन्छ । त्यसमा प्रतिवादीको नाममा तिम्रो नाम हालेको छैन । त्यो भनेको तिम्रो विरुद्धमा मुद्दा चलेकोे होइन । बुझ्यौ ?’

जब गोरे आफूलाई प्रतिवादी नबनाइएकोमा विश्वस्त हुन्छन्, तब उनले अर्को फोन संवादमा केसीलाई ‘तपाईंको दर्जा के हो’ भनेर सोध्छन् । उनले डिएसपी भन्छन् । तब गोरेले ‘त्यसो भए डिआईजीसम्म बनाइदिन्छु’ भन्दै आफ्नो रवाफ देखाउँछन् ।

मोरङ प्रहरीलार्इ बुझाइएको प्रतिवेदन हेर्नुस् 

यो पनि पढ्नुस् 

गोरेको बयान : म त सामान्य हुँ, सुन तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment