+
+
Shares

कक्षा ११ र १२ मा गणित पढ्नै नपर्ने !

प्राज्ञहरूको प्रश्नः गणितविना आर्थिक समृद्धि कसरी ?

विनोद घिमिरे विनोद घिमिरे
२०७५ जेठ २५ गते १२:२३

२५ जेठ, काठमाडौं । कक्षा ११ र १२ बाट गणित विषय हटाइएपछि सरोकारवालाले विरोध गरेका छन् । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ । सो मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । बायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यस्था गरिएको छ । गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले विश्वमा गणितलाई महत्व दिइए पनि नेपालमा नदिइनु दुर्भाग्य भएको बताए । उनले भने, ‘गणित विज्ञान तथा प्रविधिको आधार स्तम्भ र मेरुदण्ड हो । तर हाम्रो देशमा त्यसलाई बिगारेर कसरी समृद्धि हासिल गर्ने ?’

गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमलाले यसबाट कक्षा ११ र १२ करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने बताए । उनका अनुसार गणित विषय अनिवार्य नगरिँदा दक्ष जनशक्ति उत्पादनमा वाधा पुग्ने छ ।

कहाँ-कहाँ पर्छ असर ?

नेपाल गणित समाजका केन्द्रीय सदस्य जीवन काफ्लेका अनुसार त्रिभुवन विश्वविद्यालयका कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमशः ५० र १०० पूर्णाङ्कको गणित अनिवार्य रुपमा पास गरेको हुनु पर्दछ । कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान (बायोलोजी) समूहका हुन्छन् ।

पोखरा, काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरिङ तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाङ्कको गणित उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ट व्यवस्था छ । यो व्यवस्थाले गर्दा जीव विज्ञान समूहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुमा माथि उल्लेखित कार्यक्रमहरु अध्ययन गर्न पाउने छैनन् ।

साथै व्यवस्थापन विषय समूहका विद्यार्थीहरुले अर्थशास्त्र र वाणिज्य गणित मध्ये एकमात्र रोज्नु पर्ने बाध्यता छ । यी दुवै विषय उक्त समूहका विद्यार्थीहरुका लागि नभै हुँदैन ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको बीएससी (सीएसआईटी) मा प्रवेश पाउने ५० प्र्रतिशत भन्दा बढी विद्यार्थीहरु जीव विज्ञान अन्तर्गत १०० पूर्णाङ्कको गणित पढेको हुनेमा पाठ्यक्रमको यो व्यवस्थाले उक्त समूहका विद्यार्थीहरु भविष्यमा यो कार्यक्रमको लागि अयोग्य हुनेछन् ।

त्यसैले पाठ्यक्रमको यो व्यवस्था हटाउनु पर्ने त्रिभुवन विश्वविद्यालय कम्प्युटर विज्ञान केन्द्रीय विभागका प्रमुख नवराज पौडेलले बताए ।

विगतमा सबै विज्ञानका विद्यार्थीहरुले १०० पूर्णाङ्कको गणित अनिवार्य पढ्ने व्यवस्था रहेकोमा सो हटाउँदा आधारभूत विज्ञानको जग नै खलबलिने नेपाल भौतिक समाजका सहसचिव इन्द्र भण्डारीको भनाइ छ । उनले भने, ‘भौतिक विज्ञान विषय पढ्ने तर सो विषय पढ्न आधारभूत रुपमा ज्ञान हुनु पर्ने गणित भने पढ्न नपाउने व्यवस्थाले गणित विनाको भौतिकशास्त्र कसरी पढाउने हो गम्भीर समस्या आउने प्रस्ट छ ।’

विश्वका थुप्रै देशमा माध्यमिक तहमा गणित विषयलाई उच्च प्राथमिकता दिएर पढाउने गर्दछन् । विदेश पढ्न जानुपर्‍यो भने जीआरई, जीम्याट, स्याट उत्तीर्ण गर्नुपर्छ जसमा गणितसमेत परीक्षा दिनुपर्छ । लोकसेवा आयोगमा समेत गणितको ज्ञान अनिवार्य छ ।

त्यसैले त्रि.वि. का उपप्राध्यापक खगेन्द्र अधिकारी भन्छन्, ‘डाक्टर, इन्जिनियर, पाइलट, कृषि विज्ञलगायतका विशिष्ट प्राविधिक विषयमा आफ्नो भविश्य खोज्ने विद्यार्थीहरुलाई सोही क्षेत्रका विषयहरु नै जीवन उपयोगी हुन्छन् । तर यो पाठ्यक्रमले यी समूहका विद्यार्थीहरुका लागि जीवनउपयोगी विषयको रुपमा कस्तो विषय ल्याउन खोजेको छ, बढो विरोधाभाषपूर्ण छ ।’

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?