Comments Add Comment

‘उच्च ब्याजको होडबाजी विकृति हो, यसले जनतालाई मारमा पार्छ’

नेपाल बैकर्स संघ (एनबीए) ले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी गरेको निर्णय पाँच महिनापनि टिकेन । हालै यस्तो निर्णय फिर्ता लिनासाथ बैंकहरुबीच १२ प्रतिशतभन्दा बढी ब्याज दिँदै निक्षेप संकलन गर्ने होडबाजी नै सुरु भयो ।

बैंकमा रकम राखेर ब्याज आर्जन गर्न खोज्ने निक्षेपकर्तालाई फाइदा पुगे पनि यसले समग्र बैंकिङ प्रणालीलाई जोखिममा पार्ने भन्दै बैंकरहरुले चिन्ता जनाइरहेका छन् । ब्याजदरमा भद्र सहमति कायम गर्ने निर्णयबाट किन बैंकहरु पछि हटे त ? के यसले आगामी दिनमा तरलता संकटलाई अझै मलजल गर्ला ?

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङसँग अनलाइनखबरका सुदिल पोखरेलले तरलता संकटका विषयमा केन्द्रित भएर गरेको कुराकानीको संक्षेप –

नेपाल बैंकर्स संघ (एनबीए) ले हालैमात्र मुद्दती निक्षेपको ब्याजदरमा लगाउँदै आएको सीमा खारेज गरेको छ । चौथो त्रैमासमा तरलता संकट अझै गहिरिएको हो ?

एक दुई वर्षदेखि तरलताको चाप बढी नै देखिएको छ । तर यसअघिका वर्षहरुमा चौथो त्रैमासमा भने तरलता केही सहज भएको स्थिति थियो । किनकी सरकारको खर्च चौथो त्रैमासको सुरु भएदेखि नै बढ्थ्यो । यो वर्षपनि तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा केही सहज भएको छ । सहज भएका कारण बैंकहरुले आफैं ब्याजदर घटाउदै लान्छन् भन्ने हाम्रो अनुमान थियो । ब्याजदर घटाउने भनेरै हामीले ब्याजदरको अधिकतम सीमा तोक्ने सहमति फिर्ता लिएको हो ।

अहिले एक-दुईवटा बैंकहरु भने असहज स्थितिमा रहेछन् । संघको निर्णय आउनेबित्तिकै झनै ब्याजदर बढाएर निक्षेप संकलन गर्न सार्वजनिक सूचना गरेका छन् ।

मेरो व्यक्तिगत भनाइ के हो भने अहिले हामीलाई यसरी आत्तिएर निक्षेप संकलन गर्नुपर्ने स्थिति छैन । किनभने अहिले राष्ट्र बैंकले पनि केही सहज बनाएको छ । पहिले जस्तो अहिले दैनिक रुपमा कर्जा पुँजी निक्षेप (सीसीडी) रेसियो मेन्टेन गर्नुपर्दैन, महिनामा गरे पुग्छ । साथै राष्ट्र बैंकले अहिले विदेशी बैंकबाट समेत ऋण लिन खुला गरेको छ । त्यसमा पहल गर्नुपर्ने थियो ।

तर, बैंकहरुले त्यसमा पहल नगरी स्वदेशका बैंकहरुमा रहेको पैसा नै तान्न लागे । यो अस्वस्थ प्रतिस्पर्धा हो । यसले पुनः विकृति ल्याउँछ । यस्तो खोसाखोस गरेर कसैलाई पनि फाइदा छैन । यसबाट ५/१० वटा संस्थाहरुलाई फाइदा पुग्ने हो, जनतालाई कुनै फाइदा छैन ।

अहिले विभिन्न आयोजनाहरुको निर्माण भइरहेको छ । यसरी बैंकहरुबीच निक्षेपका लागि प्रतिस्पर्धा हुँदा कर्जाको ब्याजमा चाप पर्छ । यस्ता आयोजनाहरुले निर्माणको सुरुमा बैंकको ब्याजसमेत जोडेर लागत निकालेका छन् । अब आयोजनाको निर्माण अघि बढाउने कि नबढाउने त ? बढाउने हो भने उच्च ब्याज तिरेर अघि बढाउनुपर्‍यो । अब १६ देखि १७ प्रतिशतसम्म ब्याज लिएर होटल निर्माण गरेर कहिले फाइदा उठाउने ?

उच्च ब्याजदरका कारण कुन क्षेत्रका आयोजनाहरु बढी प्रभावित हुने देख्नुहुन्छ ?

सबैभन्दा बढी जलविद्युत क्षेत्रका लगानीकर्ता नै यसको मारमा देखिन्छन् । किनकी उनीहरुले निश्चित ब्याज लागतको आंकलन गरेर निर्माण सुुरु गरेका हुन्छन् । विद्युत् प्राधिकरणसँग उनीहरुले गरेको विद्युत सम्झौताको खरिद दर (पीपीए) पनि फिक्स हुन्छ ।

बैकको ब्याज बढे पनि उनीहरुको उत्पादनबापत हुने आम्दानीमा भने कुनै वृद्धि हुँदैन । त्यसैले जलविद्युत क्षेत्र नै यसबाट सबैभन्दा बढी मारमा पर्ने मेरो बुझाई छ । अहिलेको अवस्थामा एक वर्षीय मुद्दतीमा ८ देखि १० प्रतिशतको ब्याजदरभन्दा माथि जानु राम्रो हुँदैन ।

तपाईंले केही बैंक समस्यामा रहेछन् भन्नुभयो । यो समस्या केही बैंकको मात्र हो कि सम्पूर्ण प्रणालीमै तरलताको अभाव हो ?

सुरुमा हामीले निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याजदर नदिने निर्णय सबैजसो बैंकको सहमतिमा गरेका थियौं । यो निर्देशनभन्दा पनि एक खालको सहमति मात्रै थियो । बैठकमा सबै बैंकका सीईओहरु यसमा सहमत देखिए । तर केही बैंकहरुले संघको निर्णय लत्याउँदै फेरि उच्च ब्याजदरमा निक्षेप संकलन गर्न थाले ।

जसले एनबीएको निर्णय मानेर इमान्दार भएर बसे, उनीहरु नै यसको मारमा परे । बदमासी गर्नेहरुका कारण अन्यलाई भने मर्का पर्‍यो । मलाई संघको पछिल्लो निर्णयपछि बैंकहरुले ब्याजदर बढाएर जान्छन् भन्ने लागेको थिएन ।

अहिले बैंकहरुले ब्याजदर बढाएर निक्षेप माग्दा यसले अन्य बैंकहरुलाई असर गर्न लागेको छ । यसरी बढी ब्याज दिएर निक्षेप नमागेको भए स्थिति आफै सहज हुँदै जान्थ्यो । कुनै बैंकले हाम्रो बैंकमा भन्दा बढी ब्याज दियो भने यहाँको पैसा अर्काे बैंकमा जाने भयो । त्यो रोक्नलाई हामीले पनि पुनः ब्याजदर बढाउनुपर्ने स्थिति आयो ।

मैले अरुको निक्षेप संकलन गर्नलाई नभई आफ्नो बैंकमा रहेको पैसा यही नै रहोस् भनेर रोक्नका लागि पनि ब्याजदर बढाउन पर्ने स्थिति आएको छ । केही बैंकको नीतिले सम्पूर्ण प्रणालीलाई नै समस्यामा पार्ने अबस्था आएको हो ।

चौथो त्रैमासिकमा आउँदा पनि तरलता संकट समाधान नहुनुको अर्थ यो अझै लामै चल्छ भन्ने देखियो । यसका लागि आगामी मौदि्रक नीति बनाउँदा सहज होला ?

राष्ट्र बैंकले फेरि ब्याजदर नियन्त्रण गर्छ जस्तो मलाई लाग्दैन । किनभने राष्ट्र बैंकले अहिले पनि ब्याजदरलाई सीमामा राख्न सक्दो कोसिस गरिरहेको छ । राष्ट्र बैंकले नै फेरि प्रत्यक्ष रुपमा ब्याजदरको सीमा तोक्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ । तर बैंकहरुले सधैं यस्तै अस्वस्थ प्रतिस्पर्धा गर्न लागे भने राष्ट्र बैंकले त्यसो गर्नु नै हुँदैन भन्ने पक्षमा म पनि छैनन् ।

बजारमा स्थायित्व ल्याउने काम राष्ट्र बैंकको हो । एकपटक एनबीएले पहल गरेको हो । एनबीएले सकेन भने राष्ट्र बैंक र राष्ट्र बैंकले सकेन भने सरकारले भए पनि यसमा आवश्यक कदम चाल्नुपर्छ ।

एनबीएले त ब्याजदर नियन्त्रण गर्न नसकेर नै फिर्ता लियो । अब ब्यादरमा हस्तक्षेप गर्ने पालो राष्ट्र बैंककै हो त ?

राष्ट्र बैंकको कस्तो हस्तक्षेप गर्ने भन्ने प्रश्न आउँछ यहाँ । किनभने वित्तीय क्षेत्रमा स्थिरता ल्याउनका लागि नै राष्ट्र बैंक चाहिएको हो । अब ब्याजदर नै तोकेर नियन्त्रण गर्ला जस्तो लाग्दैन मलाई । सायद अन्य कुनै उपाय गरेर बैंकहरुबीच बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धा रोक्छ जस्तो लाग्छ ।

ब्याजदर नियन्त्रणमा राख्न र बजारमा तरलता अभाव नहोस् भनेर राष्ट्र बैंकले दुई वर्षअघि ब्याजदर करिडोर ल्यायो । के राष्ट्र बैंकको ब्याजदर करिडोर र स्प्रेदडर निष्प्रभावी भएको हो ?

राष्ट्र बैंकले ल्याएको ब्याजदर करिडोरले राम्रो काम गरेको छ । सीसीडी रेसियोभन्दा माथि रहेको २० प्रतिशत रकम जसमा सीआरआर ६ प्रतिशत हुन्छ । ६ प्रतिशत बाहिरको रकमको आम्दानी एकदमै नगन्य मात्रामा हुने गर्थ्यो । किनभने ट्रेजरी बिलको ब्याजदर एक प्रतिशतभन्दा कम थियो । तर अहिले बैंकले त्यस्तो रकमको ब्याज न्युनतम पनि तीन प्रतिशत पाइरहेका छन् ।

अन्तरबैंक ब्याजदर पाँच प्रतिशतभन्दा माथि गयो भने राष्ट्र बैंकले पनि बजारमा पैसा पठाउँछ । स्प्रेडदर चार प्रतिशतमा झार्ने कुरा छ । सायद यसपटक पाँचबाट चार प्रतिशतमा झारिन्छ होला । कम ब्याजदरमा उठाएकाले कम ब्याजदरमा नै लगानी गर्छ भने उच्च ब्याजदरमा निक्षेप संकलन गरेकाले उच्च ब्याजदरमा नै लगानी गर्नुपर्छ ।

तपाईंले अघि नै भन्नुभयो कि, अघिल्ला वर्षहरुमा चौथो त्रैमासमा तरलता सहज हुने गर्दथ्यो तर यसपाला त्यसो भएन । यो वर्ष स्थानीय सरकार पनि निर्वाचित भए, बजेट पनि निश्चित समयमा आउन थाल्यो । यसले त सरकारी खर्च बढ्नुपर्ने होइन र । किन त्यसो भएन ?

निक्षेप संकलनभन्दा कर्जा बढी लगानी भयो भने बैंकिङ क्षेत्रमा तरलता अभाव हुने हो । स्थानीय सरकारहरु आएपनि त्यो क्षेत्रमा खर्च बढ्न सकेको छैन । केन्द्रीय सरकारको पनि खर्च गर्ने शैलीमा कुनै परिवर्तन आएको छैन । आशा गरौं, भविष्यमा परिवर्तन हुनेछ । केन्द्र सरकार पनि यो वर्ष विकास निर्माणभन्दा अन्य क्षेत्रमै केन्द्रित हुनुपर्‍यो । सरकारको खर्च अहिलेसम्म जुन मात्रामा हुनुपर्थ्यो, त्यो भएन । जसका कारण नै बजारमा तरलता अभाव देखिएको हो ।

अब सबै प्रदेशहरुलाई काम गरेर देखाउनु पर्नेछ । त्यसैले अबका दिनमा भने सरकारको खर्च गर्ने शैलीमा परिवर्तन हुनेछ र तरलता सहज हुनेछ भन्ने मेरो अपेक्षा छ ।

लामो समय रोकिएको रेमिट्यान्सको वृद्धिदर केही समययता बढेको देखिएको छ । केही वर्ष अघिसम्म विदेशबाट पठाएको पैसा मानिसहरुले घरमा लगेर राख्ने गर्दथे । जसका कारण पैसा बैंकिङ क्षेत्रमा हुदैनथ्यो । तर, अव विस्तारै बैंकहरु ग्रामीण भेगमा शाखा विस्तार गर्दै जान लागेका छन् । यो सँगै अवका दिनमा विदेशबाट आएको पैसा पनि बैकिङ क्षेत्रमै रहनेछ भन्ने मेरो अपेक्षा छ । अब बैकिङ पहुँच विस्तार हुँदैछ । अहिले पनि बैकिङ सिस्टम भन्दा बाहिर नै पैसा छ ।

बिग मर्जरका रुपमा हेरिएको एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जरको कुरा कहाँ पुग्यो ? चर्चा मात्रै हो कि मर्जरका लागि प्रक्रिया पनि अघि बढेको छ ?

राष्ट्र बैंकले ८ अर्ब पुँजी पुर्‍याउन निर्देशन दिनुअघि नै हामीले मर्जरको बारेमा कुरा थालेका हौ‌ं  राष्ट्र बैंकले पुँजी बढाउन निर्देशन दिएपछि हामी एक्लाएक्लै पुँजी पुर्‍याउन लागेका हौ । अहिले दुबैले पुँजी पुर्‍याउन लागिसकेकेा अवस्था छ । यो मर्जर भनेको पुँजी पुर्‍याउनका लागि भएको मर्जर होइन ।

अब हामीले पुँजी पुर्‍याउनका लागि नभई लगानी विस्तारका लागि गर्न लागेका हौं । ठूलो बैंक भएसँगै व्यवसाय गर्न सहज हुन्छ भन्ने हाम्रो बुझाई छ । मर्जर अघि हामीले अहिले दुबै बैंकको डिडिए गर्न लागेका छौं । डिडिए सकिन लागेको छ । यसपछि एउटा भ्यालुएसन आउँछ त्यसमा बसेर हामी छलफल गर्नेछौं ।

किनकी मर्जर हुँदै गयो भने बैंकहरु आफै सक्षम हुँदै जान्छन् । यसले समग्र बैकिङ क्षेत्र, निक्षेपकर्ता र ऋणीलाई समेत फाइदा हुन्छ । त्यसैले अहिले राष्ट्र बैंकले पनि यसलाई चासोका साथ हेरिरहेको छ ।

एभरेष्ट बैंकमा भारतको पंजाव नेशनल बैंकको समेत लगानी रहेका कारण मर्जरको कुराकानी गर्न केही असहज भएको महसुस गर्नु भएको छ ?

अहिले हामीले डिल गरिरहेका छैनौं । हामी अहिले डीडीएको चरणमा छौं । पन्जाब नेशनल बैंकको पनि विश्वास जित्नका लागि हामीले डीडीए गर्न लागेका हौं । यसका लागि अन्तर्राष्ट्रिय टप चार परामर्शदाता कम्पनी छनौट गरेर त्यसमध्ये एउटालाई दिएका छौं ।

राष्ट्र बैंकले बैंकहरुलाई सबै स्थानीय निकायमा शाखा खोल्न निर्देशन दिएको छ । तर, असार मसान्तसम्म ७ सय ५३ स्थानीय निकायमा नै शाखा खोल्न सकिने स्थिति छैन भनिन्छ । के तपाईंहरुको भागमा परेजति शाखा खोलिसक्नु भयो त ?

हामीले थप १७ वटा स्थानीय तहमा शाखा खोल्ने जिम्मा पाएका हौं । यसमध्ये ११ वटा खुल्यो । चार वटा खोल्ने चरणमा छौं । तर, दुईवटा स्थानीय तहको भने अहिलेसम्म केन्द्र तोकिएको छैन । जसका कारण हामीले शाखा खोल्न नसकेका हौं । मौसमको कारण पनि हामीलाई शाखा खोल्न कठिन भएको छ । किनभने वर्षा लागिसक्यो, स्थानीय निकायसम्म पुग्ने सडक सहज छैन ।

राष्ट्र बैंकको निर्देशन बमोजिम केही थप शाखाहरु खोलिसक्नु भएको छ । के त्यस्ता शाखाहरु आत्मनिर्भर छन् त ?

अहिले खुलेका शाखा अबका १० वर्षमा पनि आत्मनिर्भर हुने अवस्था छैन । बैंक नाफामुखी मात्रै नभई सेवा पनि भएकाले थप शाखा बिस्तार गरेका हौंं । यसमा हाम्रो खर्च बढेको छ तर पनि हामीले नाफा मात्रै हेरेका छैनौं ।

पछिल्लो समय बैंकहरुको कर्मचारी बापतको खर्च बढेको देखिन्छ । शाखा विस्तारकै कारण मात्रै यस्तो खर्च बढेको हो ?

शाखा विस्तारका कारण नै अहिले कर्मचारी बढ्न गएको हो । हामीले अहिले सकभर स्थानीय स्तरमा उपलब्ध जनशक्तिलाई नै प्रयोग गरिरहेका छौं । र त्यस्तो जनशक्तिलाई अन्य स्थानमाभन्दा भत्ता बढी उपलब्ध गराइरहेका छौं । रोजगारीको क्षेत्रमा हेर्ने हो भने पनि बैंकहरुमा तलब अलिकति बढी नै छ ।

पछिल्लो समय बैंकहरुमा निर्णय प्रक्रियामा बोर्ड सदस्यहरुको दवदवा बढ्यो भनिन्छ नि ?

मैले विभिन्न सीईओहरुसँग कुरा गर्दा यस्तो दवाव रहेको भन्ने पाएको छैन । हाम्रो बैंकको कुरा गर्ने हो भने त तपाईंहरुलाई पनि जानकारी हुनुपर्ने किनभने हाम्रोमा यस्तो किसिमको दबाव रहेको समाचारहरु पनि त आएको छैन ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कृषिमा १० प्रतिशत कर्जा अनिवार्य गरेको छ । तर बैंकहरुले भने यो मात्रामा लगानी गर्न सकेको अवस्था छैन । लगानी हुन नसक्नुका कारणहरु केके हुन् ?

अन्य बैंकहरुको भन्दा हाम्रो कृषि क्षेत्रमा लगानी बढी छ । सरकारी बैंकबाहेक हामी यो क्षेत्रमा लगानी गर्ने बैंकहरुको अग्रणी स्थानमा नै रहेका छौं । सरकारी बैंकहरुको त १० प्रतिशतभन्दा बढी नै छ । हामीले यो क्षेत्रलाई पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौं ।

पशुपालनमा हाम्रो विशेष फोकस छ । तर हामीले १० प्रतिशत नै पुर्‍याएका छैनौं । यो लघुकर्जा जस्तै हो । जसका कारण लगानी बढाउन सहज छैन । हामीहरुले अहिलेसम्मम यो क्षेत्रमा साढे ६ प्रतिशत बराबरको लगानी गरेका छौं । यसका लागि स्थिर बजार चाहियो । उत्पादन भएको वस्तुको अन्तर्राष्ट्रिय मुलुकमा बजार खोज्ने काम सरकारको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment