Comments Add Comment

यस्तो छ अण्डाको फन्डा : शाकाहारी कि मांसाहारी ?

कुखुरा पहिले आयो कि, अन्डा ?’ बर्षौदेखि यो प्रश्न अनुत्तरित रहँदै आएको छ । अहिले यस्तै अर्को प्रश्नले मानिसको माथिंगल हल्लाइरहेको छ । प्रश्न हो, अन्डा शाकाहारी कि मांसाहारी ?

एकथरी भन्छन्, यो मांसाहारी हो । अर्काथरी भन्छन्, ‘यो मांसाहारी होइन ।’

नियमित रुपमा अण्डाको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ । अण्डामा धेरै खालका पोषकतत्वहरु पाइन्छ । यसमा भिटामिन, मिनरल्स तथा उच्च गुणस्तरको प्रोटिन हुन्छ ।

तर, शाकाहारी मानिसहरुले अण्डा खाने कि नखाने भन्नेबारेमा धेरै विवाद भएको पाइन्छ । केहि मानिसहरुले अण्डालाई शाकाहारी मानेर खाने गर्छन भने कसैले यसलाई मांसाहारी खाना मानेर खाँदैनन् ।

शाकाहारी भएपनि केहि मानिसले अण्डालाई प्रोटिन र भिटामिनले भरिपूर्ण हुने भएकाले खाने सल्लाह दिने गर्छन् । त्यसैले आज हामीले अण्डा किन खाने र अण्डा शाकाहारी भोजन हो कि मांसाहारी भन्ने विषयमा केहि जानकारी दिन गइरहेका छौं ।
सबैभन्दा पहिले नियमित अण्डा खानुका फाइदा र नोक्सानको बारेमा जान्नु राम्रो हुन्छ । अण्डामा पाइने पोषक तत्वको बारेमा जानकारी लिएपछि तपाईले आफ्नो लागि अण्डा खान आवश्यक छ कि छैन निर्णय गर्नसक्नुहुन्छ ।

अण्डामा पाइने पोषक तत्वहरु

अण्डामा धेरै खालका पोषकतत्वहरु हुन्छन् । यसमा भिटामिन, मिनरल्स तथा उच्च गुणस्तरको प्रोटिन हुन्छ । अण्डामा भिटामिन बि१२, भिटामिन बि२, भिटामिन ए, भिटामिन डि, भिटामिन बि५, भिटामिन इ, सेलेनियम आदि पाइन्छ ।

मिनरल्सको रुपमा अण्डामा क्याल्सियम, फस्फोरस, आइरन, पोटासियम, आयोडिन, फोलेट तथा अन्य कैयौं पोषक तत्व हुन्छन् । भिटामिन तथा खनिज अण्डाको पहेँलो भागमा हुन्छ र सेतो भागमा प्रोटिन हुन्छ ।

अण्डामा कोलेस्टेरोल अत्याधिक हुन्छ । एक अण्डामा लगभग २१२ मिलिग्राम कोलेस्टेरोल हुन्छ । कोलेस्टेरोल अत्याधिक हुने भएकाले यसको कम उपयोग गर्नु नै राम्रो हुन्छ ।  काँचो अण्डा भन्दा उसिनेको अण्डा वा पकाइएको अण्डा धेरै फाइदाकारी हुन्छ किनभने यसबाट हाम्रो शरीरले धेरै मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छ ।

विश्वको कैयौं भागमा अण्डालाई शाकाहारी मानिन्छ तर, नेपालमा भने धेरैले यसलाई मांसाहारी मान्ने गर्छन् । केहि शाकाहारी मानिसहरुले अण्डालाई शाकाहारी मानेर खान्छन् तर धेरैले यसलाई मांसाहारी मानेर खाँदैनन् । यसलाई मांसाहारी मान्ने शाकाहारी मानिसले मानिसले अण्डा मात्रै होइन अण्डा राखेर बनाइएको अरु चीज पनि खाँदैनन् ।

अण्डालाई शाकाहारी मान्ने मानिस यस्तो भन्छन्ः

अण्डालाई शाकाहारी मान्ने मानिसहरुको विचारमा बजारमा पाइने अण्डामा भ्रूण विकास भएको हुँदैन र यसबाट कुनै जीवको उत्पती हुँदैन् । उनीहरुको तर्क अनुसार अण्डामा मासु नहुने कारण यसलाई मांसाहारी खाना भन्न मिल्दैन ।

खासमा मासु प्राप्त गर्न जनावरलाई मार्न पर्छ तर, अण्डा प्राप्त गर्न कुनै जनावरलाई मार्नु पर्दैन यसैले यो मांसाहारी होइन ।
जसरी जनावरबाट दुध पाइन्छ त्यसरी नै जनावरबाट नै अण्डा प्राप्त हुन्छ । यदि दुधलाई शाकाहारी मानिन्छ भने अण्डालाई पनि शाकाहारी मान्न सकिन्छ ।

हामीले खाने धेरै चीजमा एग हृवाइट राखिन्छ । एग हृवाइटमा प्रोटिनमात्रै हुन्छ जसमा जीवित कोषको अंश हुँदैन । त्यसैले जसमा एग हृवाइट राखिएको हुन्छ त्यो शाकाहारी हो र त्यसलाई खान सकिन्छ ।

के बजारमा पाइने अण्डाबाट चल्ला निस्कन्छ ?

कुखुराको पोथीको ओभरीबाट निस्कनै बित्तिकै अण्डा निषेचित भयो भने मात्रै त्यसमा जीवनको उत्पती सम्भव छ अन्यथा हुँदैन ।
अण्डा निषेचित हुन भाले र पोथीको संसर्ग हुन जरुरी छ । कुखुराको पोथीले भालेसँग संसर्ग नभएपनि अण्डा दिन्छन् ।
कुखुराको पोथीको ओभरीबाट निस्केको केहि घन्टासम्म अण्डाको निर्माण प्रक्रिया चलिरहन्छ, गर्भासयमा आएपछि त्यसमा क्याल्सियमको एक कडा पत्र चढ्छ र अण्डा कुखुराको शरीरबाट निस्कन्छ । फरक यति मात्रै हो निषेचित भएको अण्डाबाट चल्ला काढ्न सकिन्छ होइनभने सकिँदैन ।

बजारमा पाइने अण्डा व्यावसायीक कुखुरापालकबाट सप्लाइ गरिएको हुन्छ । कुखुरापालन र अण्डा उत्पादनको लागि भाले र पोथी छुट्टाछुट्टै राखिन्छ ।

यसै कारणले पनि बजारमा पाइने अण्डा अर्थात निषेचित नगरिएको अण्डाबाट चल्ला निँस्कदैन । तर, त्यसमा खनिज प्रोटिन वा भिटामिनको मात्रा भने समान हुन्छ ।

अण्डालाई मांसाहारी मान्ने मानिसहरुको तर्क 

प्रकृतिलाई हेर्दा कुनै पनि मांसाहारी जीवले जिउनको लागि अर्को जीवलाई मारेर त्यसको मासु खान्छ । तर, मानिसको लागि यस्तो जरुरी छैन ।

मानिसहरुसँग खानाको यस्ता धेरै विकल्पहरु हुन्छन जसबाट उनीहरुले आफूलाई आवश्यक सबै पोषक तत्वहरु प्राप्त गर्न सक्छन् अर्थात प्राकृतिक रुपमा मानिसलाई अण्डा खान अनिवार्य छैन ।

यदि मानिसले कुनै जीवलाई पिडा र दुख दिन्छ भन्ने भावनात्मक रुपमा यो हिंसा हो । कुखुरापालनमा मानिसले अण्डा प्राप्त गर्न कुखुरालाई धेरै दुःख र पिडा दिइन्छ । यस्तै अण्डा उत्पादनमा जीव हत्या पनि समावेश हुन्छ । कुनै पनि भोजन प्राप्त गर्न जीवलाई मार्न पर्छ भने यो एक प्रकारको मांसाहार नै हुन्छ ।

कुखुरापालकको पैसा कमाउने मात्रै ध्यान हुन्छ । यसको लागि उनीहरुले कुखुरालाई धेरै सानो ठाँउमा राख्छन्, कुखुरा जहाँ राखिन्छ त्यहाँ उसले पँखेटा फैलाउने ठाउँ पनि हुँदैन । त्यसैले एकअर्कासँग ठोक्किएर चोटग्रस्ट भैराख्छन् ।
कुखुराले एक अर्कालाई नठुँगुन भनेर त्यसको चुच्चो काटिइन्छ । त्यसले उनीहरुलाई यति धेरै दुखाइ हुन्छ कि केही त दुखाइका कारण त्यँही मर्छन् ।

प्राकृतिक रुपमा कुखुरा १० देखि १५ वर्ष जीवित रहन सक्छन् तर अण्डा दिने क्षमता कम हुनासाथ उनीहरुलाई डेढ दुइ वर्षमै दुनियाँबाट बिदा गरिन्छ ।

धेरै भन्दा धेरै अण्डा प्राप्त गर्न चल्ला र कुखुरामा एउटा जेनेटिक परिवर्तन गरिन्छ जसले प्राकृतिक रुपमा २०-२५ वटा अण्डा दिने कुखरालाई वर्षमा लगभग २००-२५० वटा अण्डा दिने बनाइन्छ । यस प्रक्रियामा कुखुरा धेरै कमजोर हुन्छन् जसकारण उनीहरुलाई कैयौं प्रकारको रोग लाग्छ । त्यसमध्ये केहि त मर्छन् । यो पनि एक हिसाबले जीव प्रति क्रुरता र हिंसा हो ।
यसबाहेक बिरामी कुखुराले दिने अण्डा ब्याक्टेरियाको संक्रमणबाट ग्रस्त हुन्छन र यस्तो अण्डा खाने मानिस पनि संक्रमित हुन सक्छन् ।

अण्डाको व्यापारमा भाले चल्ला पाल्नु बेकार हुन्छ किनभने त्यसबाट अण्डा प्राप्त हुन सक्दैन । त्यसैले उनीहरुले भाले चल्लालाई अलग गरेर मारिदिन्छन्, जुन क्रुरता र हिंसा हो ।

अब आँफै विचार गर्नुहोस्

तपाईलाई अण्डा खानु आवश्यक छ कि छैन भन्ने कुरा आवश्यक पर्ने पोषक तत्व र अण्डालाई तपाईले शाकाहारी मान्ने कि मांसाहारी मान्ने भन्नेमा भर पर्छ ।

त्यस्तै तपाई शाकाहारी हुनुहुन्छ र अण्डालाई शाकाहारी मान्ने वा मांसाहारी मान्ने भन्नेबारेमा तपाईलाई दुविधा छ भने पनि तपाईले आँफै विचार गर्नसक्नुहुन्छ । त्यस्तै अण्डा खाने वा नखाने निर्णय तपाईको आफ्नो परम्परा, सँस्कृति र मानवताको भावनामा पनि निर्भर हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment