+
+

महानगरपालिकाको नामबाट लेखनाथ हट्ने पक्का

अमृत सुवेदी अमृत सुवेदी
२०७५ असार ११ गते १९:०६

११ असार, पोखरा । पोखरा लेखनाथ महानरपालिकाको नामबाट अब लेखानाथ हट्ने पक्का भएको छ । महानगरपालिकाको नामबाट लेखनाथ हटाउन नगर सभामा प्रस्ताव भएको छ ।

आइतबारदेखि सुरु पोखरा नगरसभामा सोमबार नामबाट लेखनाथ हटाउन प्रस्ताव नगर सभामा गरिएको हो ।

वडा नम्बर १९ का वडा अध्यक्ष तथा कार्यपालिकाका नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सभामा प्रस्ताव पेश गरेका छन् । त्यस प्रस्तावलाई कांग्रेसका सचेतक तथा वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका छन् ।

मंगलबार नगरसभामा छलफल गरी बहुमतले पारित गर्ने तयारी रहेको लामिछानेले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको, छोटकारीमा भन्दा पनि ‘पोले’ नराम्रो सुनिने र अन्तर्राष्ट्रिय ख्याति प्राप्त नाम भएकाले पोखरामात्रै राख्ने अधिकांशको माग थियो ।
लेखनाथ क्षेत्रका केही वडाध्यक्ष तथा सदस्यको नामबाट लेखनाथ हटाउने प्रस्तावप्रति असन्तुष्ट छन् । तर, सबैको सहमतिमा नाम सिफारिस गर्ने तयारी भइरहेको छ ।

साविकको लेखनाथ नगरपालिकामा पर्ने २६ देखि ३३ सम्मका वडाध्यक्ष समेत नाम लेखनाथमात्रै राख्न सहमत छन् । नगर सभाको बहुमतबाट नामको टुंगो लगाइने मेयर मानबहादुर जिसीले बताए ।

यसअघिको नगर सभामै नाम फेर्न अधिकांश सभा सदस्य सहमत थिए । तर, मेयर मानबहादुर जिसीले अधिकांश नाम फेर्न सहमत भएर पनि निर्णय गर्न सकेका थिएनन् । साविकको लेखनाथ क्षेत्र कालिकाका वासिन्दा जिसी नाम फेर्दा आलोचित भइने डरले निर्णय गर्न नसकेका हुन् ।

‘पोखराको ४ सय ६५ वर्ग किलोमिटर भरी नै मेरो मोह छ, लेखनाथमा मात्रै होइन । नाम हामीले बल्झाएको समस्या होइन । हिजो नाममा सिफारिस गर्ने बेला जो व्यक्तिहरु थिए तिनले पोखरा मात्रै भनिदिएको भए टन्टै साफ हुन्थ्यो,’ मेयर जिसीले भने, ‘अब लेखनाथ हटाउन धेरै तयार छन् । एकैचोटी हतारिएर होइन लेखनाथवासीको पनि मन जित्दै सोचौंला भनेको थिएँ । अब हट्छ ।’

यसअघिको नगरसभामा तत्कालिन एमाले पार्टीले महानगरको नाम पोखरामात्रै राख्न सिफारिस गरिसकेको थियो । पार्टीको सिफारिस र नगरसभामा बहुमतले नाम फेर्न प्रस्ताव गरे पनि मेयर हच्किएका थिए ।

केही लेखनाथवासी महानगरको नामबाट लेखनाथ हटाउँदा साविकको लेखनाथको अस्तित्व नै नरहने चिन्ता व्यक्त गर्छन् । नाम फेरिने भएपछि अधिकांश लेखनाथबासीले पनि सकारात्मक रुपमा लिएका छन् ।

‘महानगरले नामबाट लेखनाथ हटाउन गरेको निर्णय ठीक भयो । हामीलाई नाम होइन काम चाहिएको हो,’ लेखनाथ क्षेत्रका कृतिराज ढकाल भन्छन्, ‘अब बरु विमानस्थलको नाम लेखनाथ विमानस्थल हुनुपर्छ ।’

पोखरा नामका पछाडि लेखनाथ झन्ड्याउनुभन्दा विकासलाई जोड दिने र कुनै राष्ट्रिय गौरवको पूर्वाधारलाई लेखनाथ नाम दिन लेखनाथ क्षेत्रका वासिन्दाको माग पनि छ । कवि शिरोमणि लेखनाथ पौड्याल राष्ट्रले गौरव गर्ने साहित्यकार भएकाले पोखरा विश्वविद्यालयजस्तो प्राज्ञिक थलोको नाम लेखनाथ राख्नुपर्ने आवाजसमेत उठेको छ ।

लेखनाथ नाम हटाउनेसम्बन्धी केही फरक आवाज सुनिए पनि बहुमत सकारात्मक छन् । ‘लेखनाथ नगरपालिका छुट्टै हुनुपर्छ, पोखरामा गाभेर लेखनाथ धेरै पछाडि पर्‍यो र हामी लेखनाथवासीलाई पनि असुविधा भयो,’ लेखनाथ क्षेत्रका लेखनाथ पौडेलले भने ।

लेखनाथ नाम झन्ड्याउनुभन्दा लेखनाथ पौड्यालको कृतित्व र व्यक्तित्वको विकास गर्ने, लेखनाथका काव्यलाई पुनःप्रकाशनदेखि पुस्तकालय र जन्मस्थललाई एउटा पर्यटकीय उद्यानका रुपमा विकास गर्न महानगरले लगानी गर्नुपर्ने प्राज्ञिक क्षेत्रका व्यक्तिहरु बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?