
३१ असार, काठमाडौं । करिब ७ महिनाअघि चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलो ल्याउने भन्दै करोडौं रूपैयाँ उठाएर अन्तिम समयमा मार्समेलोलार्इ ल्याउन नसकेपछि लफडा भएको दरबारमार्गस्थित नाइट क्लब डेजाभू फेरि अर्को विवादमा मुछिएको छ ।
विश्वकप फुटबल प्रतियोगिता सुरू हुनुअघि विशेष प्रस्तुतिका लागि भन्दै भारतीय अभिनेत्री पुनम पाण्डेलार्इ बोलाएपछि प्रशासनको अनुमति नलिएको भेटिएपछि कार्यक्रम अनिश्चित बनेको हो ।
पाण्डे ‘भारतले विश्वकप क्रिकेट जितेमा निर्वस्त्र हुन्छु’ भनेर चर्चामा आएकी विवादित अभिनेत्री हुन् । उनलार्इ नेपाली फ्यानहरूसँग अाफ्नो नृत्य देखाउँदै विश्वकपको फाइनल हेर्न क्लबले निम्त्याएको थियो ।
तर, प्रशासनको अनुमतिबिनै प्रहरीलार्इ समेत झुक्याएर कार्यक्रम गर्न खोजेपछि प्रहरीले डेजाभूमा निगरानी बढाएको छ ।
‘उहाँहरुले हामीलार्इ सुरूमा प्रशासनबाट अनुमति लिएको बताउनु भएको थियो । तर, अहिलेसम्म अनुमति नलिएको भेटिएको छ’, दरबारमार्ग प्रहरी वृत्तका डिएसपी दानबहादुर मल्लले अनलाइनखबरसँग भने, ‘उहाँहरूलार्इ प्रशासनले अनुमति दिए मात्रै कार्यक्रम गर्न पाउनु हुन्छ ।’
अंगप्रदर्शनका लागि बदनाम अभिनेत्री पुनमलाई ल्याएर कार्यक्रम गर्दा असुरक्षा उत्पन्न हुन सक्ने प्रहरीको भनाइ छ । यससँगै क्लव डेजाभुमा सुरक्षा कडा बनाइएको छ ।
सो क्लवका सञ्चालक केपी गैरेले शनिबार एक पत्रकार सम्मेलनमा कार्यक्रमका लागि अनुमति लिइएको दावी गरेका थिए ।
यो पनि पढ्नुस्
डीजे मार्समेलोले धोका दिएपछि दरबारमार्गको नाइट क्लबमा तोडफोड
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4