Comments Add Comment

अर्थमन्त्रीको टिप्पणी : बजेट खर्च रातभर पढेर परीक्षामा निदाएजस्तै

अर्थमन्त्रीले औल्याए समस्या

४ साउन, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संरचनात्मक र प्रवित्तगत समस्याका कारण बजेट कार्यान्वयनमा समस्या आएको बताएका छन् ।

उनले हरेक कुरालाई पर्खदै-पर्खदै अन्तिमसम्म लैजाने प्रवृत्ति नै असारमा विकास बजेट धेरै खर्च हुनुको प्रमुख कारण बनेको बताए । साथै परिपक्व नभएका आयोजनामा बजेट छुट्याउने र कार्यान्वयनका लागि असार पर्खने प्रवृत्ति दोहोरिएको बताए ।

गत आर्थिक वर्षको समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले सरकारको खर्च गर्ने क्षमतामा सुधारका लागि कानुनी व्यवस्थाहरुमा परिर्माजन जरुरी रहेको औंल्याए ।

सरकार र सरोकारवाला निकायको प्रवृत्तिमा पनि सुधार आउनुपर्ने उनको भनाइ छ । ‘जाँचको अघिल्लो दिन रातभर पढ्यो र परीक्षा हलमा गएर निदायो’ आम नेपालीको प्रवृत्तिलाई बजेट खर्चसँग जोड्दै उनले भने, ‘अघिल्लो दिनमा मात्रै तयारी गर्ने हाम्रो परिपाटी छ । यसले गर्दा नै हामी असफल हुन्छौं ।’

पर्यटन मन्त्रालयले विना तयारी १०० नयाँ पर्यटकीय गन्तब्यका लागि ५० करोड बजेट छुट्याएकोबारे प्रश्नमा अर्थमन्त्री खतिवडाले भने, ‘मैले यति गाली खाँदाखाँदै १०० डेस्टिनेसन आयो भने म चुप लागिदिएको भए हजार पुग्थे होला ।’

फागुन चैतसम्म आयोजना कार्यान्वयनको तयारीमै बिताउने र काम गर्न असार पर्खन रोग कायमै रहेको अर्थमन्त्रीले स्वीकार गरे ।

‘यो आर्थिक वर्षमा केही छुट पायौं । मंसिरसम्म चुनाव भइरह्यो । फागुनसम्म सरकार बन्नै लाग्यो । सरकारले पूर्णता पाउन चैत लाग्यो । प्रदेश तहका सरकार निर्माण गर्न पनि टाइम लाग्यो’ अर्थमन्त्री खतिवडाले भने, ‘अब हामीले यही अवस्थालाई कायम राख्नु हुँदैन । तीन तह गरी ७६१ वटै सरकारको लेखा पद्धतिमामा पनि व्यवस्थित र पारदर्शी गर्नपर्नेछ । खर्च गर्ने क्षमतालाई बढाउनुपर्नेछ ।’

कार्यान्वयन तहमै नपुगका आयोजनाहरु स्वप्नदर्शी भएर बजेटबाट घोषणा मात्रै गर्दा पनि कार्यान्वयनमा समस्या आउने बताए । ‘अब आयोजना बैंकले बनाउने, आयोजना परिपक्व भएपछि मात्रै बजेटमा हाल्ने, पहिल्यै मोडालिटी बनाएर कार्यान्वयन गर्नेको क्षमता बढाउँदै जानुपर्छ,’ अर्थमन्त्री खतिवडाले भनेका छन्, ‘प्रदेशले पनि क्षमता बढाउनेर कानुन बनाउनेेमा जोड दिनुपर्छ ।’

विकासका काममा मौसमले पनि अवरोध गर्ने गरेको भन्दै यसलाई नजरअन्दाज गर्न नहुने बताए । ‘कहिलेकाहीँ जेठ नलाग्दै पानी जहाज कुदाउन मिल्ने गरी पानी पर्छ । पानी परेको बेला पिच गरियो भने पनि आलोचना हुन्छ’ उनले भने, ‘असारमा हुने ५-१० अर्बको पिच देखिएको मात्रै हो । बाँकी स्टोरी त अरु छन् । त्यसैले जे देख्छौं, त्यो मात्रै सत्य होइन । यो छिटो र पारदर्शी ढंगले काम नगरौं भन्ने मानसिकतासँग जोडिएको विषय हो ।’

अर्थमन्त्री खतिवडाले आर्थिक वर्षको अन्त्मा हुने काममा गुणस्तरको प्रश्न उठ्नु स्वभाविक भएको बताए ।

‘यो समस्या समाधान गर्न अन्तरसरकारी समन्वयको आवश्यकता छ । अर्थमन्त्रालय पनि आंशिक रुपमा जिम्मेवारी छ । निर्माण व्यवसायीले पनि यसको जिम्मा लिनुपर्छ,’ उनले भने, ‘काममा बदमासी गर्नेहरुमाथि हामी ठाडो-ठाडो रुपमा प्रस्तुत भयौं होला । त्यसो गर्दा पनि फेरि अधिकनायकवाद आयो भन्ने कुरा आउँछ । बदमासी गर्नेलाई दण्ड नचलाउने हो भने पुलिसको डण्डा गहना हो भन्ने दिन पनि आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment