Comments Add Comment

सान्दाजुले दुई गल्ती गर्नुभो

विश्वेश्वरप्रसाद कोइरालाका दुई गल्तीः गृहमन्त्रीबाट राजीनामा दिनु र भारत जानु

म ७/८ वर्षको हुँदाको घटना हो, विसं. २००३ सालमा बिराटनगर जुट मिलमा हड्ताल भयो । त्यतिबेलै हो मैले बीपीलाई राम्रोसँग याद गरेको । नेपालमा पहिलो पटक जुलुस दखेको पनि त्यही बेलामा हो । हजारौंको जुलुस थियो । कल्पनै गर्न नसकिने ।

हाम्रो माग पूरा गर भन्दै जुलुस लगाएका थिए । त्यस्तो जुलुसका अगाडि बीपी कोइराला, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतका नेता हुनुहुन्थ्यो ।

त्योबेलामा बिराटनगरमा राम समशेर भन्ने बडाहाकिम थिए । हाम्रो स्कुलमा भारतीय नागरिक श्याम दा हेडसर हुनुहुन्थ्यो । जुलुस स्कुलको खाली चौरतर्फ जाँदै थियो ।

हेडसरले गेटमा रोक्न खोज्नुभयो । बडाहाकिम क्या कहेंगे ? भन्नुभयो ।

बीपीले के भन्नुभयो- बीपी न हीं माना, बोल दे जायगा ।

त्योबेला मोरङ र सुनसरीभरिमा ४/५ वटा थानाहरु थिए । जुलुस रोक्न के तागत होस् ।

सुवर्ण समशेरहरुले बीपी भन्दा मातृका बढी उदार छ, योसँग काम गर्न सकिन्छ भनेर सोचे । सुवर्णहरु सशस्त्र विद्रोह गर्न चाहन्थे । सशस्त्र विद्रोह बीपीको योजना होइन, मातृकाप्रसादको पनि होइन

त्यो आमसभालाई बीपी कोइरालालगायत सबै नेताले भाषण गरे । त्यही जुटमिलको हड्तालले बीपीलाई नेताका रुपमा चिनायो ।

तर, त्यो हड्ताल बीपीले गरेको भने होइन । तारिणी, गिरिजा र मनमोहनहरु जुटमिलमा काम गर्थे, उनीहरुले आयोजना गरेका हुन् । गिरिजाहरुले बीपीलाई बोलाए भने मनमोहनले भारतीय कम्युनिस्ट नेता रत्नलाल ब्राह्मणलाई बोलाएका थिए । तर, नाम बीपीको चल्यो ।

जुलुसलमा कांग्रेस पार्टीको पनि झण्डा थिएन । किनभने त्यतिबेलासम्म कांग्रेसले झण्डा नै बनाएको थिएन । हँसिया हथौडाका साथै विहारको सोसलिस्ट पार्टी र भारतीय कांग्रेस पार्टीको झण्डा थिए । बनारसतिर जुलसमा जेजस्ता झण्डा हुन्थे, ती सबै बिराटनगरमा देखिए ।

त्यो हड्तालपछि २०/२१ दिनसम्म बिराटनगरमा प्रजातन्त्र आएजस्तो भयो । दिनदिनै नारा, दिनदिनै जुलुस र हड्ताल । २०/२१ दिनपछि राणाको करिब २५० जनाको फौज आयो र बीपीलाई पक्राउ गरेर काठमाडौं लगियो ।

अंशवण्डा गर्न लुकेर बिराटनगर

यो हड्तालभन्दा अगाडि बीपी कोइराला एकपटक लुकेर हाम्रो घर आउनुभएको थियो । त्यतिबेला मेरो दाजु र मलाई डटपेन ल्याइदिनुभएको थियो । जिन्दगीमा पहिलो पटक बीपीलाई देखेको त्यहीबेला हो ।

त्यतिबेला उहाँ अंशवण्डा गर्न आउनुभएको रहेछ ।

अहिले बिराटनगरमा कोइराला परिवारको जति सम्पत्ति छ, त्यो हाम्रो बाबुबाजेको सम्पत्ति होइन । त्यो सबै सम्पत्ति नारायणप्रसाद कोइराला बाजेको माइला दाजुको हो । उहाँ सुब्बा हुनुहुन्थ्यो । त्यो सम्पत्ति पछि उहाँकी श्रीमती मानकुमारी सुब्बिनीको नाममा सर्‍यो । बीपीका बाबु कृष्णप्रसाद कोइरालाको सबै जमीन राणा सरकारबाट सर्वस्वहरण भइहाल्यो ।

मानकुमारी काशीबास गर्न जानुभयो । काशीमा मर्‍यो भने स्वर्ग पुगिन्छ भनेर उहाँ जानुभयो । अब कसलाई छोडेर (सम्पत्ति) जाने भन्ने भयो । उहाँले सम्पत्ति सबै मातृकाप्रसाद कोइरालाकी आमा मोहनकुमारी र बीपी/गिरिजाकी आमा दिव्यकुमारीका नाममा गरीदिएर काशी जानुभयो ।

लोग्ने मान्छेको नाममा राखे जफत हुन्छ भनेर स्वास्नीमान्छेका नाममा राखिएको थियो ।

मेरा दाजुको मृत्यु भएपछि पुराना कागजहरु घरभरि भएका थिए । भाउजूले यो कागज काम लाग्छ भने राख्नुस् नभए म फालिदिन्छु भन्नुभयो । तिनै कागजहरु हेरेर मैले हामीहरुको सम्पत्ति कसरी आयो भन्ने थाहा पाएको हुँ ।

सशस्त्र विद्रोह बीपीको चाहना थिएन

नेपाली कांग्रेसको पहिलो अध्यक्ष हुन पुग्नुभयो मातृकाप्रसाद कोइराला । तर, अध्यक्ष हुनुपर्थ्यो बीपी कोइराला । के भयो भने दुईवटा पार्टी मिल्ने भए । नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस । नेपाल राष्ट्रिय कांग्रेसमा मातृका/बीपीहरु हुनुहुन्थ्यो भने डेमोक्रेटिक कांग्रेसमा सुवर्णसमशेर, महावीरसमशेर, महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्यायहरु थिए ।

बीपी २००७ सालको आन्दोलनका नेता थिए । देशभरि कांग्रेसको संगठन पनि मजबु्त थियो । राजा र बीपी भ्रमणमा निस्कँदा जहाँ गए पनि वीर बीपी भन्दै नारा लगाउँथे । त्यसपछि महेन्द्रले सोचे- मेरो त केही छैन

राष्ट्रिय कांग्रेस गठन गर्ने बेलामा बीपी जेलमा भएकाले मातृका अध्यक्ष बन्नुभयो । पछि एकता हुँदा अध्यक्ष राष्ट्रिय कांग्रेसको हुने र झण्डा डेमोक्रेटिक कांग्रेसको राख्ने सहमति भयो ।

सुवर्ण समशेरहरुले बीपी भन्दा मातृका बढी उदार छ, योसँग काम गर्न सकिन्छ भनेर सोचे । सुवर्णहरु सशस्त्र विद्रोह गर्न चाहन्थे । सशस्त्र विद्रोह बीपीको योजना होइन, मातृकाप्रसादको पनि होइन ।

सुवर्णसमशेर र महावीरसमशेर राणा परिवारका थिए । राणाशाहीको कमजोरी उनीहरुलाई थाहा थियो । त्यतिबेला राणाशासनविरुद्ध युद्धका लागि अनुकुल वातावरण पनि थियो ।

दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । हजारौं गोर्खा सैनिक बर्माको युद्धबाट फर्किएका थिए । जवान, हट्टाकट्टा युवाहरु लडाइ गर्नेखालका थिए । खाली, मान्यता र हतियार चाहिएको थियो । उनीहरुले यो सोचे कि बर्मामा हतियार छ ।

बर्मामा सोसलिस्ट सरकार थियो । बीपीको पनि भारतमा सोसलिस्टहरुको संगत थियो । बीपीको साथ लियो भने बर्माबाट हतियार ल्याउन सकिन्छ भन्ने थियो । कांग्रेसको निर्णयमा ‘राणा शासन हटाउन जुनसुकै तरिकाको पनि आन्दोलन गर्न सकिने’ भन्ने सानो वाक्यांश राखियो । त्यसपछि कांग्रेसले सशस्त्र विद्रोह गर्‍यो ।

बीपीको पहिलो गल्ती

विसं. २००७ सालको आन्दोलन सफल भइसकेपछि नेपालमा राणा र कांग्रेसको संयुक्त सरकार बन्यो । मोहनसमशेर नै प्रधानमन्त्री भए भने बीपी गृहमन्त्री बने । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु पनि यो संयुक्त सरकार लामो समयसम्म रहिराखोस् भन्ने चाहन्थे । उनले यो कुरा कसैलाई भनेका पनि थिएनन् र भन्ने कुरा पनि भएन ।

तर, बीपीले के गल्ती गर्नुभयो भने, त्यतिबेला एउटा विरोध जुलुसमा गोली चलेर चिनियाँकाजी श्रेष्ठको मृत्यु भयो । त्यसमा प्रधानमन्त्री मोहनसमशेरले सहानुभूति राखेर बोलिदिए । त्यसपछि बीपीले गृहमन्त्रीबाट राजीनामा दिनुभयो । ममाथि दोष आउँदैछ भनेर राजीनामा राजीनामा दिनुभयो । कसैसँग सोध्नु पनि भएन । सल्लाह पनि गर्नुभएन ।

बीपीको अझ ठूलो गल्ती के थियो भने हतियार उठाउनु । भारत गएपछि पनि उहाँले हतियार उठाउनुभयो । ओखलढुंगामा घटना भयो । जिन्दगीमा बीपी कोइरालाको ठूलो गल्ती त्यही हो

बीपीले राजीनामा गरेपछि नेहरुलाई रीस उठ्यो । किनभने, उनलाई नसोधी केही भएको थिएन । दिल्ली सम्झौतामा के थियो भने एउटा पक्षले सम्झौता तोडेपछि अनिवार्य टुट्छ भन्ने थियो ।

त्यसैले बीपीले राजीनामा दिइसकेपछि मोहनसमशेरले पनि राजीनामा दिए । भारतले फेरि नयाँ बाटो लियो । उसले राजा त्रिभुवनलाई च्याप्यो । राजाले मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा अगाडि सारे ।

बीपीले नेपालमा संसदीय प्रजातन्त्र संस्थागत गर्नुभयो । यो उहाँको ठूलो ऐतिहासिक योगदान र उपलब्धी हो । राजा महेन्द्रले यो चाहेका थिएनन् । तर, बीपीले आन्दोलन गरिरहे । कहिले भद्र अवज्ञा आन्दोलन गरे । कहिले के गरे । गृहमन्त्री छाडेपछि ८ वर्ष यसैगरी लागिरहे । सायद गृहमन्त्रीबाट राजीनामा नदिएको भए राजाले खेल्न पाउने थिएनन् ।

यसैवीच २०१५ सालमा राजा महेन्द्र चुनाव गर्न तयार भए । उनीहरुको अनुमान के थियो भने कांग्रेसले धेरै सिट जित्दैन । कति सिट ल्याउला र ? २०/३० वा बढीमा ४० सीट ल्याउला भन्ने महेन्द्रको अनुमान थियो ।

त्यसबेला अमेरिकाले भित्रीरुपमा बीपी कोइरालालाई सहयोग गर्‍यो । योबारेमा धेरैलाई थाहा छैन । मैले यसबारे अमेरिकी जासुसी संस्था सीआईएमा काम गर्ने ड्वान क्ल्यारिजको पुस्तकमा पढेको हुँ । उनको पुस्तक ‘स्पाई फर अल सिजन’मा यसबारे उल्लेख छ । उनीहरुले नेपाली कांग्रेसलाई पैसा दिएका थिए ।

नभन्दै के भयो भने कांग्रेसले ७४ सिट ल्यायो । दुई तिहाइ बहुमत ल्यायो । र, बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भए ।

तर, राजा महेन्द्र र बीपीको व्यक्तिगत टकराव भयो । केही विदेशी शक्तिका कारण बीपी लामो समय टिक्न सकेनन् ।

बीपी २००७ सालको आन्दोलनका नेता थिए । देशभरि कांग्रेसको संगठन पनि मजबु्त थियो । राजा र बीपी भ्रमणमा निस्कँदा जहाँ गए पनि वीर बीपी भन्दै नारा लगाउँथे । त्यसपछि महेन्द्रले सोचे- मेरो त केही छैन ।

त्यसपछि बीपीलाई हटाउन अमेरिका र बि्रटिसहरुले खेले । दलाई लामा तिब्बतबाट निर्वासित भएपछि सीआईएले अर्को खेल खेल्यो । उसलाई तिब्बतमा खम्पा विद्रोह गराउनु थियो । नेपालमा बीपी नेतृत्वको प्रजातान्त्रिक सरकार रहेका बेलामा त्यो अनुकुल हुँदैनथ्यो ।

त्यस्तै बि्रटिशलाई मलायामा लडाइँ गर्नु थियो । उनीहरुको सामरिक स्वार्थ थियो । त्यसैले बीपीलाई हटाएर महेन्द्र आयो भने अनुकुल हुन्छ भन्ने उनीहरुलाई लाग्यो । महेन्द्रलाई उनीहरुले उचाले । एक त महेन्द्र आफैं पनि यही चाहन्थे । उनीहरुले महेन्द्रको चाहनालाई उचाले ।

बीपीमा प्रजातन्त्रप्रति निष्ठा थियो । नभए सूर्यप्रसाद जेलबाट छुट्न सक्ने, अरुअरु छुट्न सक्ने, बीपी किन नछुट्ने ? छुट्न सक्नुहुन्थ्यो नि । उहाँ अडान लिएर बस्नुभयो । जनताले त्यही कारण बीपीलाई माने । बीपी प्रधानमन्त्री १८ महिनाभन्दा बढी हुन पाउनुभएन । तर, अहिले पनि सबैले राजनेता भन्छन् ।

दोस्रो गल्ती भारत पस्नु

बीपीले जीवनमा ठूलो गल्ती के गर्नुभयो भने निर्वासनमा जान हुन्थेन । अहिले हेर्नुस् न, नवाज सरिफ सजायँ भइसकेपछि पनि पाकिस्तान फर्किए ।

जनताको बीचमा राजनीति भएन भने जनताले विश्वास गर्दैनन् ।

बीपीको अझ ठूलो गल्ती के थियो भने हतियार उठाउनु । भारत गएपछि पनि उहाँले हतियार उठाउनुभयो । ओखलढुंगामा घटना भयो । जिन्दगीमा बीपी कोइरालाको ठूलो गल्ती त्यही हो ।

राजाको शासनको नटबोल्टु खुस्किसकेको थियो, नभए किन (बीपीलाई) जेलबाट छोड्थ्यो ? छोडिदिइसकेपछि बीपी नेपालमै बस्नुपथ्र्यो । पछि बीपीले गल्ती सच्याएर ‘राष्ट्रिय मेलमिलाप’ भन्दै आउनुपर्‍यो ।

नेपाल फर्किन उहाँलाई सिक्किमको घटनाले प्रेरित गर्‍यो । त्यसपछि उहाँलाई भारतमा बसेर नेपालमा प्रजातन्त्रको कल्पना गर्न सक्दिनँ भन्ने लाग्यो । सुरुमै यो कुरा बुझ्न उहाँलाई धेरै गाह्रो पर्‍यो ।

भारतमा इन्दिरा गान्धीले बीपी कोइरालालाई पहरामा राखेकी थिइन् । बीपीले बनारस, सारनाथ छोड्न उत्तरप्रदेश पुलिसको अनुमति लिनुपथ्र्यो ।

गान्धीले वीरेन्द्रसँग राम्रो सम्बन्ध राखेकी थिइन् । इन्दिरा गान्धीका विरोधीहरुले जयप्रकाश नारायणहरुले पनि बीपीलाई नेपाल नै र्फकन सल्लाह दिए । अहिले नजरबन्दमा राखेकी छन्, पछि झन् कडाइमा राख्नेछिन्, त्यसैले गइहाल भने ।

बीपी भारत नगई नेपालमै बसिराखेका भए प्रजातन्त्र छिटो आउँथ्यो । तर, अहिले भनेर काम छैन ।

बीपीले एउटा राम्रो काम के गर्नुभयो भने गणेशराज शर्मालाई आत्मवृत्तान्त लेखाउनुभयो । त्यसमा २०१५ सालको भित्री रजनीतिक कुरा आएको छैन । महेन्द्रसँगको सम्बन्ध, वीरेन्द्रसँगको सम्बन्ध आएको छैन । तर, मोटामोटी बीपीको जीवनी आएको छ । यसले पनि धेरै राम्रो भयो ।

(अनलाइनखबरकर्मी विनोद ढकालसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment