Comments Add Comment

कल बाइपासको जालोः मुख्य नाइके विदेशमा, एजेन्ट खोरमा !

सीआईबीका १०६ अपरेशनमा १६४ पक्राउ, तैपनि रोकिएन

कल बाइपासको वैधानिक र अवैधानिक रूट ।

१६ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ७ साउनमा चितवनको भरतपुर–१० स्थित एउटा घरमा छापा मारेर अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुईजनालाई पक्राउ गर्‍याे ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा–११ का विजय गुरुङ र भरतपुरकै सुनिल अधिकारी थिए ।

उनीहरुका साथबाट प्रहरीले १२८ र ६४ पोर्टका भीओआईपी गेटवे (सीम बक्स) बरामद गर्‍याे । १२८ पोर्टको बक्स अहिलेसम्म बरामद भएको बढी गेटवे भएको बक्स हो ।

उनीहरुकै बयानका आधारमा काठमाडौंको चन्द्रागिरी–५ स्थित एक घरमा छापा मार्दा ६४ पोर्टको जीओआईपी गेटवे, ल्यापटप लगायतका सामग्री बरामद गर्‍याे ।

१० साउनमा रुपन्देहीको तिलोत्तमा–८ स्थित भानुभक्त न्यौपानेको घरमा छापा मारेर अवैध भीओआईपी सञ्चालन गरेको आरोपमा २८ वर्षीय रामप्रसाद न्यौपानेलाई पक्राउ गर्‍याे । त्यहाँ ६४ पोर्टको भीओआईपी गेटवे बरामद भयो ।

१८ असारमा काठमाडौं–३२, शुभकामना मार्गमा भीओआईपीमार्फत अवैधरुपमा अन्तर्राष्ट्रिय कल नेपाल भित्र्याउने भारतीय नागरिक २४ वर्षीय जफर खानलाई पक्राउ गरे । त्यहाँ प्रहरीले ३२ पोर्टको ३२ वटै एन्टिना भएको जीओआईपी गेटवे लगायत कल बाइपासमा प्रयोग हुने सामग्री बरामद गरेको थियो ।

हालसम्म प्रहरीले ११ अर्ब ९१ करोड १ लाख १६ हजार १ सय ६३ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको छ । यद्यपि, अवैध अन्तर्राष्ट्रिय कल बाइपासको धन्दा कम भएको छैन । बरु झन् बढ्दो छ

सबै घटनामा एउटा समानता छ, पक्राउ परेका सबै एजेन्ट हुन्, मुख्य नाइके कोही पनि होइनन् ।

अहिले अवैध भीओआईपीको धन्दा सक्रिय रुपमा देखिएको सीआईबीका निर्देशक प्रहरी नायब महानिरीक्षक (डिअार्इजी) नारायणसिंह खड्का बताउँछन् ।

पछिल्लो एक महिनामा मात्रै ४ ठाउँमा आफूहरुले अपरेशन चलाएको उनको भनाइ छ । यसरी अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपासको धन्दा चलाएर वर्षेनि करोडौं रुपैयाँ विदेशी गिरोहको कब्जामा गइरहेको तथ्याङ्कले देखाउँछ ।

उनका अनुसार ९ वर्षको अवधिमा अवैध भीओआईपी रोक्न सीअार्इबीले १०६ वटा अपरेशन चलाएको छ । जसमा १६४ जना कल बाइपासमा प्रयोग हुने उपकरणसहित पक्राउ परेका छन् ।

हालसम्म प्रहरीले ११ अर्ब ९१ करोड १ लाख १६ हजार १ सय ६३ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको छ ।

तर, न अवैध भीओआईपी सञ्चालन रोकिएको छ, न मुख्य नाइकेसम्म पुग्ने बाटो पत्ता लागेको छ ।

कसरी हुन्छ अवैध कल बाइपास ?

एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गेटवेको हो । नेपालमा दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरु एनसेल, एनटीसी, युटिएललगायतले अन्तर्राष्ट्रिय कल नेपालमा भित्र्याउने गरेका छन् ।

यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गर्छन् । र, अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पुर्‍याउँछन् ।

यही प्रक्रियालाई नै अवैध कल बाइपास भनिन्छ । सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नविन्द्र अर्याल दूरसञ्चारको गेटवेलाई बाइपास गरेर सिधै अवैध बाटोबाट सम्बन्धित ल्याण्डलाइन वा मोबाइलमा कल टर्मिनेट गराउने प्रक्रियालाई अवैध कल बाइपासको रुपमा बुझ्न सकिने बताउँछन् ।

दुरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनु पर्नेमा सिधै प्रयोगकर्तासम्म कल टर्मिनेट गराउने गरिन्छ । त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा समेत लोकल नम्बर नै देखिन्छ

अवैध कल बाइपासबाट कसरी गिरोहले आर्थिक आर्जन गर्छन् ? अर्याल भन्छन्, ‘जस्तै–विदेशबाट नेपालमा आउने कलको रकम प्रतिमिनेट ९ रुपैयाँ छ भने भीओआईपीको प्रयोगपछि त्यो रकम ५ रुपैयाँमा झर्छ । त्योबीचको फरक ४ रुपैयाँ चाहिँ जुन देशबाट फोन आउँछ, त्यहाँका समूह वा सञ्जाललाई हुने फाइदा हो ।’

त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय कललाई आधिकारिक गेटवेबाट प्रवेश गर्न नदिई भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) र दुरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोबाट भित्र्याउँछन् ।

यसरी दुरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनु पर्नेमा सिधै प्रयोगकर्तामा कल टर्मिनेट गराउने गरिन्छ । त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा समेत लोकल नम्बर नै देखिन्छ ।

अधिकारीहरुका अनुसार नेपालमा कल बाइपास गर्नु अवैध भए पनि अहिले अवैध कल बाइपास गर्न मुख्य सर्भर राखिने गरेका सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगायतका देशमा वैध छ । यसले पनि अप्ठ्यारो बनाएको छ ।

कल बाइपासमा भीआईपी

२७ साउन ०६६ मा महागरीय प्रहरी परिसर, काठमाडौंले ललितपुरको खुमलटारस्थित एक घरमा छापा मारेर अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न ३ जना बंगलादेशी नागरिकलाई पक्राउ गर्‍याे ।

पक्राउ पर्नेमा असेफ फुजमन, निसार अहमद र मुग्धिर हुसैन थिए ।

उनीहरुका साथबाट प्रहरीले कल बाइपासमा प्रयोग हुने विभिन्न सामग्रीसहित तत्कालीन मेरो मोबाइल (हाल एनसेल) र एनटीसीका झण्डै ४ हजार सिमकार्डहरु बरामद गर्‍याे ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले त्यसवेला घटनामा रुबेल चौधरीको संलग्नता भेट्टाएको थियो । जो नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाइँ हुन् । घटनालगत्तै चौधरीले नेपाल छाडे । तर, चौधरी–कोइराला नेक्ससकै कारण प्रहरीलाई विस्तृत अनुसन्धानका लागि वातावरण बनेन ।

०७३ सालमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल तेक्वान्दो संघका पूर्व कोषाध्यक्ष रविराज सिंहलाई अवैध कल बाइपासमा संलग्न भएको आरोपमा पक्राउ गर्‍याे ।

त्यसबेला उनलाई अन्तर्राष्ट्रिय माफिया दाउद इब्राहिमको निकटको व्यक्ति भएको दाबी गरिएको थियो । सिंहले ल्याण्डलाइन फोनको माध्यमबाट अवैध कलबाइपास गर्दै आएको खुलेपछि उनलाई नक्सालबाट पक्राउ गरिएको थियो ।

३० वैशाख ०७० मा भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ परेका बेला उनले कल बाइपास गर्ने श्रीलंकन गिरोहसँग सम्पर्क बढाएका थिए । र, उनीहरुकै मद्दतमा उनले बाइपासको धन्दा चलाएको भेटिएको थियो ।

त्यसबेला उनको खाताबाट दैनिक ५ देखि ७ लाख रुपैयाँ श्रीलंका जाने गरेको देखिएको थियो ।

मुख्य नाइके विदेशमा, एजेन्ट खोरमा !

प्रहरीले कल बाइपासमा संलग्नहरुलाई पक्राउ गर्दै मुद्दा चलाएको छ, धेरैले सजाय पनि पाएका छन् । तर रोकिएको छैन, बरु विस्तारित र बढ्दो देखिएको छ ।

छिट्टै ठूलो धनराशी आर्जन गर्न सकिने भएकाले कल बाइपासको अवैध धन्दा नेपालमा पनि मौलाइरहेको देखिएको सीआईबीका अधिकारी बताउँछन् ।

सीआईबीका निर्देशक डिआईजी नारायणसिंह खड्का ।

‘यतिसम्म कि सामान्य साक्षर युवाहरुलाई पनि प्रलोभन देखाएर विदेशी नागरिकले कल बाइपासको धन्दामा प्रयोग गर्ने गरेको देखिएको छ’, सीआईबीका निर्देशक खड्काले भन्छन्, ‘मासिक ३० हजार बढी तलब लिने गरी काम गरेका युवाहरु पनि भेटेका छौं ।’

अवैध कल बाइपासका मुख्य नाइकेहरु भने अधिकांश घटनामा बच्दै आएका छन् ।

८ साउनमा चितवनमा चलाएको अपरेशमा पनि त्यस्तै भयो । हालसम्मकै सबैभन्दा बढी १२८ पोर्टको गेटवेसहित पक्राउ परेकाहरुबाट प्रहरीले महत्वपूर्ण सूचना हात पार्न सकेन ।

किनकि, उनीहरु यो धन्दाका कारिन्दा मात्रै थिए । त्यसको असली नाइके त बंगलादेशमा थिए । सीआईबीका प्रहरी उपरीक्षक (एसपी) कृष्णहरि शर्माका अनुसार उनीहरुले बंगलादेशको मिर्जापुरका मिर्जा शाहिर आलम तुर्जोको मातहतमा रहेर काम गरेका थिए ।

तुर्जोले नेपालमा सम्पर्क कार्यालयमै राखेका थिए । मुख्य धन्दा भने उनी आफैंले बंगलादेशबाटै सञ्चालन गरिरहेका थिए ।

‘बंगलादेशको ढाकामा मुख्य सर्भर राखेर आफ्नै प्रत्यक्ष निगरानीमा नेपालका चितवन, बुटवल र काठमाडौंका विभिन्न स्थानमा अवैध भीओआईपी सञ्चालन गर्ने गरेको देखिएको छ’, शर्माले भने ।

०७२ सालमा झापाको काँकडभिट्टामा जीओआईपी गेटवे बरामद भएको थियो, जसमा सीम कार्डको प्रयोग भएको थिएन

प्रहरीसामू चुनौतिका चाङ

प्रहरीले अवैध कल बाइपासविरुद्ध निरन्तर रुपमा अपरेशन चलाइराखे पनि यो नियन्त्रणमा आएको छैन । आखिर किन त ? यसका पछाडि थुप्रै कारणहरु छन् ।

सीआईबीका एक अधिकारीका अनुसार पछिल्ला समय कल बाइपासमा भर्चुअलाइजेसन प्रयोग गर्न थालिएको छ । जुन प्रहरीका लागि चुनौतिपूर्ण बन्दै गएको छ ।

यसअघि ०७२ सालमा झापाको काँकडभिट्टामा जीओआईपी गेटवे बरामद भएको थियो, जसमा सीम कार्डको प्रयोग भएको थिएन ।

‘सिलगढीमा मुख्य सर्भर राखेर कल बाइपास गर्दै आएको खुलेको थियो’ एक अधिकारीले भने, ‘अत्याधुनिक प्रविधिको गेटवेमा एकपटक सिम हालेर सेटअप गरी झिकेर फ्याले पनि काम गथ्र्यो ।’

त्यस्तै, सीआईबीले नै चलाएको अपरेशनका क्रममा कोटेश्वरबाट पक्राउ परेका जफर खानले आफू एक्लैले १ सय २० वटा सीम किनेको बयान दिएका थिए ।

भारतीय र नेपाली नागरिकहरुको पासपोर्टको फोटोकपी तथा फोटोहरु जम्मा गरेर सीम कार्ड किनेको बताएका थिए । तर, अनुसन्धानका क्रममा उनले एउटै पासपोर्ट देखाएर दर्जनौं सीम कार्ड खरिद गरेको समेत खुल्यो ।

‘एउटै नगारिकबाट ५ सय वटासम्म सीम कार्ड खरिद गरेको भेटिएको छ’, सीआईबीका एक अधिकारी भन्छन्, ‘मोबाइल सेवा प्रदायक कम्पनीको विभिन्न स्टलहरुमा गएर एउटै नागरिकबाट पटकपटक सीम कार्ड खरिद गर्ने गरेको छ ।’

नेपालका सीमा नाकाहरुबाट कल बाइपासका लागि प्रयोग हुने उपकरणहरु भित्र्याउँदा स्पिकर, ट्रान्सजिस्टर जस्तो देखिने गरी भित्र्याउने गरिएको छ, जसलाई विनासूचना बरामद गर्न प्रहरी असक्षम रहेको प्रहरी अधिकारी स्वयम् स्वीकार्छन्

धेरै सीम कार्ड बिक्री गर्नेहरुलाई पुरस्कृत गर्दा पनि केही हेर्दै नहेरी सीम बेच्ने प्रचलन बढ्यो छ । यसप्रति टेलिफोन सेवा प्रदायकहरु सजग हुनुपर्ने सीआईबीका अधिकारीहरु बताउँछन् ।

त्यस्तै पछिल्लो समय टिम भ्यूअर जस्ता सफ्टवेयर प्रयोग गरेर विदेशमै बसेर नेपालमा कल बाइपासको धन्दा चलाइनुले पनि चुनौती थपिएको प्रहरीको भनाइ छ ।

नेपालका सीमा नाकाहरुबाट कल बाइपासका लागि प्रयोग हुने उपकरणहरु भित्र्याउँदा स्पिकर, ट्रान्सजिस्टर जस्तो देखिने गरी भित्र्याउने गरिएको छ, जसलाई विनासूचना बरामद गर्न प्रहरी असक्षम रहेको प्रहरी अधिकारी स्वयम् स्वीकार्छन् ।

त्यसैले अवैध भीओआईपी/जीओआईपीलाई रोक्न दुरसञ्चार प्राधिकरण नै सजक हुनुपर्ने अधिकारीहरूको भनाइ छ ।

‘दुरसञ्चारदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्मले कल बाइपासको प्रविधिको विषयमा अध्ययन गर्नु जरुरी छ’, एक अधिकारी भन्छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी, जसले सीआईबीमा पनि काम गरेका थिए, भन्छन्, ‘कल बाइपास रोक्न अन्तर्राष्ट्रिय कलको रेट ग्याप कम गनुपर्छ ।’

‘हामीले भारतमा कल गर्दा एकदेखि डेढ रुपैयाँ पर्छ भने त्यहाँबाट नेपालमा गर्दा भारु १० रुपैयाँ पर्छ अन्य देशबाट नेपालमा आउने कलको रेट पनि महँगो छ’, उनी भन्छन्, ‘यो ग्याप कम भयो भने अवैध कलबाइपास कम भइहाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment