Comments Add Comment

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

१८ साउन, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) कर्मचारी युनियनले प्रतिष्ठानका विभिन्न तीन शाखामा तालाबन्दी गरेको छ ।

युनियनले आफ्ना माग पूरा नगरी नयाँ कर्मचारी नियुक्तिका लागि सिफारिस गरेको भन्दै अस्पतालको प्रशासन शाखा, उपकुलपतिको कार्यालय र प्रतिष्ठान निर्देशकको कार्यालयमा तालाबन्दी गरेको हो ।

ताल्चा लगाउने क्रममा प्रहरीले केहिबेर रोक्ने प्रयास गरेपनि कर्मचारीहरुले प्रहरीको रोक्ने प्रयास विफल पार्दै ताला लगाएका थिए ।

युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठको नेतृत्वमा गएको एक समूहले तीनवटै कार्यालयमा ताल्चा लगाउँदै अनिश्चितकालका लागि बन्द गरेको विज्ञप्ति टाँसेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘युनियनको तर्फबाट पटक-पटक दिइएको ज्ञापनपत्रको विषयमा कुनैपनि सुनुवाई नभएको हुँदा यही साउन १८ गतेदेखि उपकुलपति कार्यालय, निर्देशक कार्यालय र प्रतिष्ठानको प्रशासन शाखा अनिश्चितकालीन बन्द गरिएको जानकारी गराइन्छ ।’

तालाबन्दी गरेपछि युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठले आफूहरुको माग बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दीमा उत्रिनुपरेको बताए ।

प्रशासनले ऐन मिचेर थप कर्मचारी नियुक्त गर्नका लागि सिफारिस गरेको भन्दै उनले भने, ‘अहिले ऐन मिचेर कर्मचारी नियुक्तीका लागि कुलपतिको कार्यालयमा सिफारिस गरिएको छ, तर यसरी प्रशासनले सिधै कर्मचारी नियुक्त गर्न पाउँदैन ।’

ऐनअनुसार कर्मचारी नियुक्तिका लागि पदपूर्ति समिति चाहिने भन्दै अहिले पदपूर्ति समिति नै नबनाइ कर्मचारी नियुक्तीका लागि सिफारिस गरिएको उनको भनाइ थियो । उनले थपे, ‘नियम मिचि सकेकाले सोही नजिर अनुसार समिति मातहत रहेका कर्मचारीलाई पनि स्थायी गर्‍यो भने हामी पनि सहमत हुन्छौं ।’
युनियका उपाध्यक्ष पशुपति महतका अनुसार समितिमार्फत नियुक्त भएका २९९ जना कर्मचारी छन् । उनीहरु विगत १० वर्षदेखिकाम गर्दै आएपनि स्थायी भएका छैनन् ।

युनियनले उनीहरु सबैलाई स्थायी बनाउनुपर्ने माग गरेको हो । उनले भने, ‘हामी दशौं वर्षदेखि काम गर्दापनि स्थायी भएका छैनौं, तर अहिले नयाँ भर्ना गरेका छन् त्यो पनि ऐन मिचेर, यो त ज्यादती भयो, अब आन्दोलनको विकल्प छैन ।’ उनले स्थायी नियुक्ती पाएकाहरुको बढुवासमेत नभएको भन्दै उनीहरुको पनि बढुवा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment