Comments Add Comment

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

'माफियाकरण मौलाएको छ, समाजमा अपराध अझै बढ्छ'

२१ साउन, काठमाडौं । काँडाघारीका ११ वर्षे बालक निशान खड्काको हत्या भएपछि हामीले एकजना पूर्वसुरक्षाकर्मीसँग केही जिज्ञासाहरु राख्यौं । नेपाली समाजमा दिनदिनै हत्या, बलात्कार, अपहरणलगायतका घटना किन बढिरहेका होलान् ? भक्तपुरको घटनामा प्रहरीले बालकलाई जीवितै उद्धार गर्न नसक्नु सुरक्षा कमजोरी हो कि होइन ?

अनलाइनखबरको सम्पर्कमा आएका एकजना पूर्वसुरक्षा अधिकारीले आफ्नो नाम ‘कोट’ गर्न मानेनन् । तर, उनी अहिलेको परिस्थितिका बारेमा सैद्धान्तिक कुरा गर्न राजी भए । आफ्नो नाम ‘कोट’ गर्न नमाने पनि ती पूर्व सुरक्षा अधिकारीले सुनाएको विश्लेषणले अहिलेको सामाजिक-राजनीतिक परिस्थितिलाई बुझ्न सहयोग गर्ने ठानेर हामीले यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौंः

अपहरणको केसमा ‘हार्ड एण्ड फास्ड’ हुँदैन

अपहरणको केसमा ‘हार्ड एण्ड फास्ट’ यसरी नै जानुपर्छ भन्ने कुनै सिद्धान्त छैन । कहिलेकाहिँ हल्लाखल्ला गर्दाखेरि पनि मान्छे छुटेको अवस्था छ । अपराधीहरुले हल्ला भयो यसलाई छाड्नुपर्छ भनेर छाडिदिने गरेको पनि पाइन्छ । कसैले चाहिँ यसले चिनेको छ, यसले बकीहाल्छ भनेर भनेर मारेको स्थिति पनि छ । दुईवटैखाले अवस्थाहरु हुने भएकाले प्रहरीले यही नै गर्नुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन यस्तो केसमा ।

भक्तपुरको केसमा पुलिसले कति चाँडो सक्रियता देखायो, खोजतसास गर्‍यो, त्यो थाहा भएन । तर, जिउँदै रेस्क्यु गर्न सकेको भए सबैभन्दा राम्रो हुन्थ्यो । अपराधीसम्म पुगेर बालकलाई छुटाउन सकेको भए त्यो सबैभन्दा ठूलो सफलता हुन्थ्यो । प्रहरीहरु कतिबेला, कुन अवस्थामा पुगे, त्यो डिटेलमा थाहा भएन ।

अपराधीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेका बेला बालकलाई अरु मतियारले मारिदिएका हुन् वा पुलिसले उनीहरुलाई समात्नुभन्दा अगाडि नै बालक मारिएका हुन् ? त्यो कुन स्थिति हो, मलाई थाहा छैन ।

उनीहरुले वालकलाई अपहरण गरेर लिएर गए, नजिकै राखेका ठाउँमा हल्लाखल्ला भयो र मारिदिएको हुन सक्छ । त्यसैले यो परिस्थितिजन्य हो । यसमा पुलिसको कारवाहीलाई दोषै लगाउने कुरो नहुन सक्छ ।

माफियाकरण मौलाएको छ, समाजमा अपराध अझै बढ्छ

हामीले इटालीमा माफियाको उदयसँगै प्रशासन र राजनीति सबैतिर अपराध बढ्यो भन्ने पढेका थियौं । राजनीतिमा अपराधिक पृष्ठभूमिका मान्छेहरु बढी आए भन्ने पढेका थियौं । ठ्याक्कै त्यो स्थिति नेपालमा हुँदैछ । पढ्नु पर्दैन । योग्यता केही छैन । समाजमा डरत्रास फैलायो र पैसा कमायो भने त्यो मान्छेलाई पार्टीले पिकअप गरिहाल्छ ।

अहिले नेपाली समाजमा एकथरि कानून नमान्ने मान्छेहरु बढ्दैछन् । कानून नमान्ने र सत्ताको नजिक पुगेपछि कानून मान्नुपर्दैन भन्ने मानसिकता बढ्दैछ । हिजो पञ्चायत कालमा पनि पञ्च भएपछि उनीहरुले सानातिना सामाजिक अपराधहरुमा उन्मुक्ति पाउँथे । अहिले आएर कुनै राजनीतिक पार्टीको छहारी पायो भने उसलाई मुद्दा लगाउन बडो गाह्रो भो । समाजले अपराध देखिराखेको हुन्छ । तर, उसले सजायँ पाउँदैन ।

खासगरी अर्थसित, पैसासित सम्बन्धित अपराधहरुमा संलग्न भएका व्यक्तिहरु जोगिएका छन् । आर्थिक अपराध नियन्त्रण गर्ने सरकारका सबैखाले संयन्त्रहरु कमजोर छन् । अदालत पनि कमजोर छ । यस चिजले समाजमा केही न केही प्रभाव पारेको छ । यसले गर्दा गाउँठाउँमा बसेको अनपढ वा पढेकै मान्छेमा समेत जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकता देखिन थालेको छ ।

कानून, पुलिस र अदालत भन्ने कुरोमा भोलि कुनै न कुनै शक्तिकेन्द्रको आडबाट त्यसलाई छक्याउन सक्छौं र कारवाहीदेखि बाहिर बस्न सक्छौं भन्ने डरलाग्दो मानसिकता समाजमा बढिरहेको छ । त्यसकारण समाजमा कानून मान्ने नागरिकहरुको कमी भइराखेको छ ।

समाजलाई नेतृत्व गर्ने, राजनीति गर्ने मान्छेहरुबाट समाजले सकारात्मक पाठ सिक्नुपर्नेमा त्यो भइरहेको छैन । मेरो मान्छेले किन सजायँ भोग्ने भन्ने संरक्षणवादी सोच बढिरहेको छ । यसले गर्दा समाजमा अपराध अझै बढ्छ । अपराधीहरुको मनोबल बढेको छ र अझै पनि बढ्छ । अपराधीहरुको संख्या पनि बढ्छ ।

अपराध नियन्त्रण गर्ने निकायहरु कमजोर भएका छन् । शक्तिकेन्द्रबाट अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति बढेको छ । अदालतबाट पनि प्रमाण पुगेका केसहरुमा समेत अपराधीले पैसाको चलखेलबाट उन्मुक्ति पाउने गरेका छन् ।

‘मृत्युदण्ड गरे हुन्छ, तर प्रहरीले कानून हातमा लिनुहुँदैन’

समयअनुसार सामाजिक धारणाहरु परिवर्तन हुँदै जान्छन् । म पनि पुलिसमा सुरुमा आलोकाँचो अवस्थामा भर्ना हुँदाखेरि अपराधीहरुलाई समाजबाट निमिट्यान्न पार्नुपर्छ र राम्रो उद्देश्यका लागि एकदुईजना मान्छेलाई पुलिसले मार्‍यो भने समाजमा अपराध कम हुन्छ भने त्यसो गर्नुपर्छ भन्ने सोच्ने गर्थें ।

पछि आएर बुझ्दै जाँदा होइन, हामी पुलिसले कानून अनुसार चल्नुपर्छ, पुलिसले कानून हातमा लिनु हुन्न धारणा विकसित भयो ।

हुन त पटके अपराधीहरु कहिल्यै सुध्रिदैनन् । म अहिले पनि भन्छु- तिनीहरु सुध्रिँदै सुध्रिँदैनन् । बाहिर राख्यो भने अर्को हत्या गर्छन् । अर्को अपराध गर्छन् । त्यस्तो स्थितिमा पनि म के भन्छु भने यो राज्यको दायित्व हो, राज्यले तिनीहरुमाथि कारवाही चलाउने छुट दिनुपर्छ । बरु तिनीहरुलाई मृत्युदण्डको व्यवस्था गर्ने हो कि केही हुनुपर्‍यो । अन्यथा त्यो व्यवस्था छैन भने पुलिसले कानून हातमा लिनुहुँदैन । कानूनसम्मतै कारवाही गर्नुपर्छ भन्ने मेरोचाहिँ कुरा हो ।

समाजमा यस्ता अपराधहरु हुँदै गर्छन् । नयाँ टेक्नोलोजी र नयाँ मान्छेहरुसँगै अपराधहरु पनि हुँदै गर्छन् । त्यसैकारण पुलिस चाहिन्छ । तर, पुलिसले कानूनको परिधिभित्र बसेर कानून मनाउने हो र कानून मान्ने हो । पुलिसले कानूनलाई हातमा लिनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment