Comments Add Comment

अजयका दाजुको प्रश्न- जंगलमा लगेर मार्नुपर्छ भन्ने कुन नियममा छ ?

२३ साउन, काठमाडौं । आइबार साँझ काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको हत्या गर्ने दुई अपहरणकारीमाथिको प्रहरी इन्काउन्टर विवादमा तानिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको दाबीअनुसार अपहरणपछि बालकको हत्या गर्ने नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ प्रहरी मुठभेडमा मारिएका थिए ।

तर, तामाङद्वयलाई प्रहरीले उनीहरुको कोठाबाटै सोमबार बिहान पक्राउ गरेर लगेको स्थानीयबासीहरुबाट वयान आउन थालेपछि प्रहरी इन्काउन्टर विवादमा तानिएको हो ।

बुधबार दिउँसो मृतकका परिवारले गोपाल र अजयको गैरन्यायिक तरिकाले हत्या भएको भन्दै छानबिनको मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

उजुरी दर्ता भएपछि अनलाइनखबरसँग कुरा गर्दै मृतक अजय तामाङका दाजु सोनमले प्रहरीद्वारा ‘फेक इन्काउन्टर’ को घटना बनाएको दाबी गरे । उनले प्रहरीले कानुन अनुसार कारबाही गर्नुपर्नेमा पक्राउ गरिसकेर इन्काउन्टर गरिएको भन्दै आक्रोश पोखे ।

प्रस्तुत छ, सोनमको भनाइको सम्पादित अंशः

म विगत ५ वर्षदेखि विदेशमा श्रम गर्दै आएको थिएँ । विदामा नेपाल आएको हुँ । सोमबार साँझ ५ बजे सामाखुशी चोक आइपुगेको थिएँ । होटलमा आएपछि वाइफाइ चल्यो मोबाइलमा ।

फेसबुक खोलेको, एउटा पेजमा नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकको अजय तामाङ प्रहरी इन्काउन्टरमा मारिए भन्ने समाचारमा देखेँ । मैले सुरुमा त पत्याउनै सकिनँ । यो सबै फेक हो भन्ने सोचंे । त्यसपछि के रहेछ भनेर न्यूज वेबसाइटहरु हेरेँ ।

त्यहाँ भक्तपुरमा सधैँ खाना खाने होटलको बच्चा अपहरण गरेर हत्या गरी गाडेको अवस्थामा निकालिएको पढेँ । त्यहाँ भागेर जाने क्रममा पाइटबाबा वनमा प्रहरीसँग भिडन्त भएको भनिएको थियो ।

तत्काल घरमा फोन गरेँ । मुमा रोइरहनु भएको रहेछ । म छाँगाबाट खसेझैँ भएँ । तर, जब उनीहरुको कोठा पुगेँ । घरवेटी र नजिककै रहेको कोठाहरुमा बस्नेहरुसँग कुरा गरेँ । तब, मिडियाले लेखेको कुरा पनि गलत रहेछ भन्ने थाहा पाएँ । प्रहरीले गलत प्रचार गरेको रहेछ ।

वास्तवमा दुईजनाको कोठामा सोमबार बिहान ७ बजे सिभिलका प्रहरी आएका रहेछन् । उनीहरुले ९/१० बजेसम्म दुवैलाई कुटेछन् । हल्लाखल्ला भएपछि समातेर गाडीमा हालेका रहेछन् । त्यसपछि इन्काउन्टरका नाममा मारिएको रहेछ ।
कानुन त सबैलाई बराबर होजस्तो लाग्छ । देशमा संविधान बनेको छ । कस्तोलाई कस्तो कारबाही गर्ने भन्ने छ ।

कानुनअनुसार कारबाही गरेको भए चित्त बुझ्थ्यो । गल्ती गरेपछि जोकोही होस् कारबाही त हुनुपर्छ ।

तर, नियम, कानुनले अपहरणकारीलाई मार्नुपर्छ, गोली ठोक्नुपर्छ भनेको छैन होला । समातेर, कुटपिट गरेर जंगलमा लगेर मार्नुपर्छ भन्ने कुन नियममा छ ? कानुनमा भएको भए मारेको भए पनि केही भन्ने थिएनौं ।

हामी दुई भाइ हौं । म जेठो, अजय कान्छो । गाउँमा अहिलेसम्म न भाइले, न मैले कसैको पनि एक शब्द पनि गाली खाएका छैनौं ।

मेरो उमेर २६ वर्षको भयो । न मलाई कसैले औंला उठायो, न भाइलाई उठायो । यो घटना जुन हिजो भयो, मैले अहिलेसम्म पत्याउनै सकेको छैन । मैले भाइलाई हेर्न सकेको छैन । हिजो टिचिङमा जाँदा बेहोस भएँ । अझै पनि भाइ जिउँदै छ जस्तो लागिरहेको छ । भाइले त्यस्तो काम गर्छ, जस्तो सोचेको पनि थिइनँ । तर, यो घटनामा प्रहरीको फेक इन्काउन्टरमाथि चाँडोभन्दा चाँडो छानविन हुनुपर्छ ।

यो पनि पढ्नुहोस् 

निशान अपहरणको नालीबेलीः दिउँसो साइकलमा डुलाएर राति हत्या

सुरक्षाविज्ञ भन्छन्- प्रहरीले निशानलाई जीवितै उद्दार गर्न सकेको भए राम्रो हुन्थ्यो

निशानका ‘हत्यारा’ चमेलीको खाजाघरका नियमित ग्राहक थिए

निशानको परिवारले अपहरणकारीबाट क्षतिपूर्ति पाउने बाटो बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment