७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ मसान्तमै महासमिति बैठक बोलाउने तयारी गरेका छन् । सम्भवतः भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले मिति तोक्नेछ ।
जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, लामो समय विधान मस्यौदा समिति नै गठन हुन सकेन ।
नेताहरुले अब छठपछि मात्र महासमिति हुने अनुमान गरेका थिए । तर, रामचन्द्र पौडेल समूहसँगै महामन्त्री शशांक कोइरालाले समेत महासमिति बैठक टार्न खोजेको आरोप लगाएपछि सभापति देउवा यही महिनामै महासमिति बैठक बोलाउने मुडमा पुगेका हुन् ।
एक पदाधिकारीले भने, ‘हामीले त भदौ मसान्तमा गर्न गाह्रो छ, असोज मध्यतिर गरौं भनेका छौं । तर, उहाँले २४/२५ दिनमा भ्याइन्छ, तयारी गर्नुस् भन्नु भएको छ ।’
त्यसकै लागि देउवाले केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन विधान मस्यौदा समिति गठन गरेका छन् ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पहिलो बैठक भोलि नै बोलाइएको छ ।समितिले विधान संशोधनको मस्यौदा बनाउन आफूलाई चाहिने समय निर्धारण गरेपछि महासमितिको मिति तय हुने एक नेताले बताए ।
भदौ मसान्तबाट सुरु गरेर असोज पहिलो साता सक्ने गरी महासमिति बोलाउने योजना छ ।
मस्यौदा समितिमा दुई तिहाई
विधान संशोधनको मस्यौदा बनाउन गठित समितिमा देउवा समूहकै प्रष्ट बहुमत छ । ११ सदस्यीय समूहमा संयोजकसहित ७ जना देउवा समूहबाट परेका छन् ।
कृष्ण सिटौला समूहबाट प्रदीप पौडेल छन् । दिपेन्द्रप्रसाद बडू र नविन्द्रराज जोशी पौडेल समूहका हुन् भने मिनेन्द्र रिजाल पछिल्लो समय शशांक कोइराला नजिक छन् ।
९ सदस्यीय समिति बनाउने भनेर ११ बनाएकोमा पौडेल समूह असन्तुष्ट देखिएको छ ।
विधान मस्यौदा समिति गठन भए लगतै पौडेल समूहको बैठक डिल्लीबजारमा बसेको थियो । त्यहाँ पौडेलले समितिको संख्या बढाएकोमा असन्तुष्टि जनाएका छन् । भोलिको बैठकमा पनि आफूहरुबीच छलफल नै नभएका विषयमा समेत सभापतिले प्रस्ताव ल्याउन सक्ने पौडेलको आशंका थियो ।
अनुशासन समितिमा आङदाम्बे !
एक नेताकाअनुसार केन्द्रीय कार्यसमितिको बैठकले भोलि कार्यसम्पादन समिति बनाउनेछ । यसअघि बनाएको कार्यसम्पादन समिति विधान विपरित भएको भन्दै भंग गरिएको थियो । अब बन्ने समितिमा पदाधिकारी बाहेक २२ जना हुनेछन् ।
भोलिकै बैठकले अनुशासन समिति गठन गर्नेछ । स्रोतका अनुसार यो समितिको सभापतिमा देउवा समूहकमा नेता भीष्मराज आङदाम्बेको सम्भावना बढी छ ।
प्रतिक्रिया 4