Comments Add Comment

शेखर कोइराला भन्छन् : कम्युनिस्टले संघीयता चलाउन सक्दैन

८ भदौ, सप्तरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्टहरुको व्यवहारका कारण संघीयता खतरामा परेको बताएका छन् । कम्युनिस्टहरुले संघीयता चलाउन नसक्ने उनको दाबी छ ।

सप्तरीको शम्भुनाथ नगरपालिकामा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले संघीयतालाई खतरामा पार्ने काम कम्युनिष्टहरुले गरिरहेको बताए । ‘प्रदेश नम्बर २ मा प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा गएर सम्बोधन गर्नु संघीयतालाई खतरामा पार्नु हो’ उनले भने, ‘यो एक किसिमको हस्तक्षेप पनि हो ।’

कर्णाली प्रदेशमा पनि मन्त्रिपरिषदको बैठकमै बसेर प्रधानमन्त्रीले निर्देशन दिनु संघियताको उपहास भएको उनको टिप्पणी छ । प्रदेशलाई अधिकारविहीन बनाएर संघीयतालाई बर्बाद पार्न खोजेको उनको आरोप छ ।

फोरम नेकपामा समाहित हुँदैछ

कांग्रेस नेता डा. कोइरालाले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई नेकपामा समाहित गर्न लागेको आरोप समेत लगाएका छन् ।

यादव कम्युनिष्टबाट प्रशिक्षित भएर अगाडि बढिरहेको भन्दै उनले इतिहास पनि कम्युनिष्टसँग जोडेको हुनाले पार्टीलाई नेकपामा समाहित गर्नुमा कुनै शंका नरहेको बताए । उनले कम्युनिष्टहरु उग्र राष्ट्रवादको कुरा गरेर लोकतन्त्रलाई खतरामा पार्न खोजेको आरोप लगाए ।

कांग्रेस नेता कोइरालाले भारतलाई गाली गरेर नेपालमा ठुलो राष्ट्रवाद आउँछ भन्ने कल्पना गर्नु राम्रो नहुने बताउँदै कम्युनिष्टका सरकारले ठूलाठूला कुरा गरेर जनतालाई सपना देखाउने काम मात्र गरिरहेको बताए । उनले भने, हामी पनि दक्षिणबाट र उत्तरबाट रेल नेपालमा आओस भन्ने चाहेका छौं । तर, जनतालाई ऋण बोकाएर रेल ल्याउनुको कुनै औचित्य हुँदैन ।’

कम्युनिष्टहरुले कानुन तथा प्रेसमाथि अंकुश लगाएर देश कब्जा गर्ने दाउमा पनि रहेको उनले बताए । कम्युनिष्टहरुले देशमा अधिनायकवाद ल्याएर लोकतन्त्रलाई खतरामा पार्ने काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment