Comments Add Comment

कार्यालय सहयोगी हत्या आरोपमा ४ जना पक्राउ

१० भदौ, दार्चुला । स्वास्थ्य चौकीका कार्यालय सहयोगीको हत्या आरोपमा दार्चुलामा प्रहरीले एक महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

भदौ ४ गते राति आफ्नै घरमा मृत भेटिएका गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिंह ठगुन्नाको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो ।

मार्मा गाउँपालिका १ का धर्मसिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्नालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले भने घटनाको गहिरो अनुसन्धान भइरहेको बताउदै केही व्यक्तिसंग सोधपुछ भइरहेको बताएको छ ।

सोधपुछ तथा अनुसन्धानका क्रममा रहेकोले घटनासम्बन्धी अन्य विवरण भने प्रहरीले बताएको छैन । अनुसन्धानका क्रममा भएकाले सबै कुराहरु भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बाहेराले जानकारी दिए ।

ठगुन्नाको शङ्कास्पद मृत्यु भएको ६ दिनपछि अनुसन्धानको लागि प्रहरीले सोधपुछ गर्न भन्दै ४ जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । प्रहरीले सोधपुछका लागि समातेकामध्ये गणेश र देवकी श्रीमान् श्रीमती हुन् भने करन दुवैजनाका भतिजा पर्दछन् । समातिएका अर्का व्यक्ति धर्मसिह धामी स्थानीय बाख्रा व्यवसायीसमेत रहेको स्थानीयले बताएका छन् । घटनाको पृष्ठभूमि र घटनास्थलको अवस्थाका आधारमा प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले स्रोतको भनाइ छ ।

शङ्कास्पद मृत्युको बारेमा अनुसन्धान चलिरहेको र अनुसन्धानका क्रममा रहेका सबै कुरा सार्वजनिक गर्न नमिल्ने निमित्त प्रहरी प्रमुख बोहराको भनाइ छ । भदौ ४ गते राति पैसाको लोभमा अंगिरसिंह ठगुन्नाको हत्या भएको आशंका गरिएको छ । मृतकको घरभित्रको दराजमा साढे ९ लाख रुपैयाँ फेला परेको छ । धनगढीमा जमिन किन्नका लागि ठगुन्नाले रकम संकलन गरेको आफन्तजनले बताएका छन् ।

आफ्नै घरभित्र मृत फेला परेका ठगुन्नाको टाउकोमा धारिलो हतियारका घाउसमेत भेटिएका थिए । भदौ ५ गते विहानै इलाका प्रहरी कार्यालय लटिनाथ र गोकुलेश्वर तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment