Comments Add Comment

ग्रेटर नेपालका फणीन्द्र नेपाल ६ दिनपछि रिहा

१९ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने आशंकामा पक्राउ परेका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल ६ दिनपछि हिरासतमुक्त भएका छन् । उनलाई एक हजार धरौटीमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले रिहाई गरेको हो ।

गत बिहीबार उनलाई चाबहिलस्थित घरबाट निस्कनासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो । नेपालले बिमस्टेक सम्मेलनका लागि नेपाल आउन लागेका मोदीलाई कालो झण्डा देखाउने योजना फेसबुकबाट पहिल्यै सार्वजनिक गरेका थिए । यसअघि पनि मोदीलाई कालो झण्डा देखाउने क्रममा उनी तीन पटक पक्राउ परिसकेका छन् ।

पक्राउ गरेको भोलिपल्टै छोड्ने तयारी गरिए पनि अनायास ‘माथिको आदेश’ भन्दै पाँच दिन म्याद थप गरिएको नेपालले अनलाइनखबरलाई बताए । हिरासतमा भने आफूलाई राम्रो व्यवहार गरिएको उनले जानकारी दिए ।

नेपाललाई दुई दिनसम्म पत्रपत्रिका पढ्न दिइएको थिएन । मोदी फर्केपछि भने दिइयो । उनले हिरासतमै आफूले अन्य कैदीहरुलाई ग्रेटर नेपालबारे प्रशिक्षण दिएको बताए ।

नेपालले आफ्नो संगठनसँग सरकारले वार्ता गर्नुपर्ने माग राखेका छन् ।

‘देश टुक्रयाउने सीके राउतजस्तालाई खुल्ला छोड्ने सरकारले देश जोड्न खोज्ने हामीलाई अपराधिको व्यवहार गरिरहेको छ,’ उनले भने ।

सुगौली सन्धीपछि नेपालबाट खोसिएको भूमि भारतले फिर्ता दिनुपर्ने एजेन्डाका साथ नेपालले अभियान चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment