Comments Add Comment

प्राइम सहकारीमा ४ करोड ठगी प्रकरणः तीन सञ्चालक जेल चलान

२० भदौ, मोरङ । प्राइम बचत तथा ऋण सहकारीको नाममा बचतकर्ताको करिब ४ करोड रकम ठगी गरेको आरोप लागेका १२ जना मध्ये तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायधिश दिपक खनालको इजलासले बुधबार तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । जसअनुसार र्इन्द्रलाल श्रेष्ठ, र्इश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदीलाई कारागार चलान गरिएको छ ।

विराटनगर-९ मा रहेर बचत तथा ऋणको कारोवार गर्दै आएको सहकारीका १२ सञ्चालकबिरुद्घ एक महिनाको अनुसन्धानपछि ठगी मुद्दा दायर भएको थियो ।

२ सय ६८ जना बचतकर्ताले ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ फिर्ता नदिएको निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । र, साेही अनुसार बिगो माग दाबी गर्दै सहकारीका प्रमुख विराटनगरका ६८ वर्षीय इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षीय ईश्वर श्रेष्ठ, उपाध्यक्ष बिराटनगर ३ का ४० वर्षीय विष्णुप्रसाद सुवेदी, सहकारीको कोषाध्यक्ष ४५ बर्षिय लिला खानम र संस्थाका सेयर सदस्य सन्तोष भनिने तेजप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरेको थियो ।

संस्थाकी तत्कालिन सञ्चालक सदस्य ४८ वर्षीय गोमा श्रेष्ठ, तत्कालिन सचिव ५५ बर्षिय गणेशबहादुर श्रेष्ठ, कोषाध्यक्ष ४२ बर्षिय सुनिता दंगाल, गोपाल साह, बिमलादेवी सारदा भन्ने सारदादेवी बिमला उदास र पोखरा महानगरपालिका ८ का अनिल जोशीविरुद्ध पनि ठगी मुद्दा दायर भएको थियो ।

ठगी मुद्दामा इन्द्रलाल श्रेष्ठ, इश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदीबाहेक अन्य ९ जना फरार छन् ।

यो पनि पढ्नुस् 

सहकारीका प्रबन्धकसहित ९ जनाविरुद्ध ठगी मुद्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment