बुवा ! म कसैलाई असाध्यै प्रेम गर्थें । भन्न सकिरहेको थिइनँ । डरको अगाडि प्रेम मौन थियो । बरु ढुंगा बोल्थ्यो, प्रेम बोल्थेन । एक दिन एउटा साथीले विशेष जुक्ति सिकायो, ‘ज्वाइन खायो भने प्रपोज गर्न कुनै प्रब्लम हुँदैन ।’
‘हो त ?’, मैले भनें ।
‘हो’, उसले भन्यो ।
‘साँच्ची हो ?’, म अझ विश्वस्त हुन खोजें ।
‘आम्मा कसम !’, उसले भन्यो ।
‘त्यसो भए जाउँ हिंड्’, मैले भनें ।
त्यसपछि हाम्रै टोलछेउको मन्दिरको कुनामा लुकीलुकी मैले त्यही साथीसँग जीवनमा पहिलो पल्ट ‘ज्वाइन’ हानें । चुरोटमा भरेर खाएको गाँजाले गुड ट्रिप दियो । म बहादुर प्रेमी भएँ ।
गाँजाकै सुरमा सरासर केटीलाई भेट्न गएँ । मनको कुरा भनें । केटीले पनि मानी हाली । हामीहरु सानै बेलादेखिका साथी पनि थियौं । ऊ सोह्र बर्ष भएको त्यही बर्षको त्यही दिनबाट हामी प्रेमी-प्रेमिका बन्यौं ।
डेट सुरु भयो । तर, डेट जान पनि मलाई गाँजाले दिने जोश चाहियो । म प्रत्येक डेट जानुअघि गाँजा खान थालें । बुवा ! त्यसरी म गाँजाको लतमा फस्दै थिएँ ।
चाँडै नै स्थिति यस्तो आयो, म केटीलाई भन्दा गाँजालाई बढी प्रेम गर्न थालिसकेको थिएँ ।
केटी त आँखा र ह्रदयमा मात्र थिई । तर, गाँजाको रसायन मेरा प्रत्येक अंग-अंगमा गहिरोसित सल्बबलाइरहेका थिए । नशानशामा गाँजाको रौनक थियो ।
ती दिन मलाई केटीको सौन्दर्यले कम र गाँजाको आशक्तिले बढी आकर्षित गरिरहेको थियो ।
बिस्तारै म डेट जान छाडें । मलाई गाँजाको संसार सबभन्दा सुन्दर लाग्न थाल्यो । गाँजा खान सिकाउने त्यही साथीले फेरि अर्को बिशेष जुक्ति सिकायो, ‘गाँजाभन्दा सजिलो । चुरोटमा भर्न पनि नपर्ने । कहाँ खाने भनेर चिन्ता पनि गर्नु नपर्ने । ट्याब खा । ट्याबलेट ।’
त्यसपछि म ट्याबको ट्रिप्समा मस्ती गर्न थालें । मेरो अलग संसारमा मेरा केही साथी थिए । नशाको त्यो संसारमा म त्यसरी डुबिसकेको छ भन्नेबारे म र मेरा केही साथीबाहेक कसैलाई पनि थाहा थिएन । बुवा ! तपाईंहरुलाई त थाहा थिएन नै । मेरी गर्लफ्रेन्डलाई पनि थाहा थिएन ।
दृश्यमा एकाएक ट्रेजेडी आयो । मेरो कुलत थाहा पाएपछि केटीले मलाई छाडी दिई । त्यसो त हामीबीच खासै प्रेम हुनै पनि पाएको थिएन । मैले सुरुमा बलियो गरी प्रपोज त गरेको थिएँ । तर, बुवा ! गाँजाको सुरमा गरेको थिएँ ।
केटीले जब मलाई चटक्कै छाडी, म विक्षिप्त भएँ । यद्यपि ‘बालै भएन । जुत्ता भए खुट्टा कति आउँछ कति’ भन्ने गर्थें म । बुवा ! म पनि स्त्रीलाई सामानभन्दा बढी नसोच्ने समाजकै एउटा बलियो हिस्सा थिएँ । तर, मेरो जमिन कमजोर भइसकेको थियो । त्यसको जगमा गाँजा र ट्याब थियो ।
दिनहरु झन् झुर हुँदै थिए ।
म कुलतमा अझ फस्दै गएँ । तर, ममा सानैदेखि आध्यात्मिक झुकाव थियो । काठमान्डुको केन्द्र हनुमानढोका क्षेत्रको वातावरणमा हुर्केको म । मैले कुमारी र कालभैरवलगायत त्यहाँका अनेक मन्दिरहरु अगाडि उभिएर सानैदेखि धार्मिकभन्दा बढी आध्यात्मिक अनुभव गर्दै थिएँ । आक्कलझुक्कल म लोकल गाइडिङ पनि गर्थें । गाँजाकै सुरमा म अझ बढी आध्यात्मिकजस्तो पनि देखिन थालेको थिएँ ।
मलाई सानैदेखि पैसाको अभाव थिएन । गाइडिङ गर्थें । म आफुलाई चाहिने आफै कमाउथेँ । सुरुमा त मैले घरलाई पनि भरथेग नगरेको होइन । तर, गाँजा र ट्याबमा लोगेपछि मैले आफुलाई चाहिने मात्र कमाउन थालें । मलाई सुरुमा केटीले आकर्षित गरी । त्यसअघि उसलाई पैसाले पनि आकर्षित गर्थ्यो । तर, बिस्तारै मलाई गाँजा हुँदै ट्याबले मात्र आकर्षित गर्न थाल्यो ।
बुवा ! म भित्रभित्र खोक्रो भइसकेको थियो । तर, बाहिर कसैलाई थाहा थिएन । एकान्तमा ५ सय रुपियाँमा किनेको सेकेन्ड ह्यान्ड गितार बजाउँदै गीत गुन्गुनाएको मात्र तपाईंहरुले देख्नुभयो । तर, बुवा ! गीतमा भन्दा गाँजामा छोराको जीवन डुबिसेकको तपाईंहरुले चालै पाउनुभएन ।
मैले गाइडिङको काम पनि छाडिदिएँ । तर, पैसाको आवश्यकता त परिहाल्थ्यो । खासगरी ट्याब किन्न । एक डोज लिएपछि फेरि पैसाको लालसा हुन्थेन । तर, एकाध घन्टापछि अर्को डोजको लागि पैसा चाहिन्थ्यो । त्यसपछि म पैसाको लागि पागल हुन्थें ।
दिनहरु बित्दै थिए । म २२ बर्षको भएँ । मभित्रकै एउटा अर्को मान्छेले मलाई भन्न थाल्यो, ‘तँ गइस् । तँ खत्तम भइस् । तँ बर्बाद् भइस् । तेरो अब कुनै खैरियत छैन ।’
यही कुरा बारम्बार मेरो कानमा बजिरहन थाल्यो, ‘तँ गइस् । तँ खत्तम भइस् । तँ बर्बाद् भइस् । तेरो अब कुनै खैरियत छैन ।’
मैले मुक्तिको बाटो खाजें । मलाई रक्सीको बास कहिल्यै मन परेन । त्यसअघि खाएको पनि थिइनँ । गाँजा र ट्याब छोड्न मैले रक्सीको सहारा लिने निधो गरें । नाक थुनेर मैले रक्सी खान थालें ।
ट्याब र गाँजा खाँदाजस्तो शान्त होइन, म आक्रामक देखिन थालें । बुवा ! म परिवारभित्र मात्र होइन, समाजमै जड्याहाको रुपमा चिनिन थालें । पैसाको अभाव टार्न म भयानक रुपमा प्रस्तुत हुन थालें । चिनेका/नचिनेका जोसुकै देख्दाभेट्दा पनि सके धेरै, नसके दश रुपियाँ भने पनि माग्न थालें । देख्नेबित्तिकै मलाई सबैले जा-जा भन्न थाले । छिछि र दुरदुर गर्न थाले ।
कुलतको दास भइसकेको मैले अध्याँरो मात्र देखें । मसँग कुनै आशा बाँकी थिएन । जीवनमा फेरि उज्यालो छ भन्ने मैले बिर्सिसकेको थिएँ । म घरबाट अलग भएर अलि पर कोठा लिएर बसेको थिएँ । तर, त्यहाँबाट पनि म हिंड्न पर्ने भइसकेको थियो । हरेक दिनजसो म घाइते हुन थालें । रक्सी खाएर मात्तिएपछि यो बोल्ने र त्यो नबोल्ने भन्ने कुनै व्याकरण मसँग हुन्थेन । परिणाम कहिले टाउको फुट्थ्यो । कहिले हात भाँचिन्थ्यो । मन त यसै पनि भाँचिएकै थियो ।
म हरेकजसो रात सोच्थें, ‘टन्न रक्सी खाएर चोभारतिर जान्छु । राति चिसोमा त्यतै सुतिदिन्छु । चिसोले गर्दा बिहान त सायद मरिसकेको हुन्छु ।’
यसरी मैले जीवनसँग हारेको थिएँ । मैले बाँच्ने कुनै आधार बाँकी देखेको थिइनँ ।
एक बिहान भर्खरै घाम लागेको थियो । किन हो ? त्यो दिनको घाम मलाई निकै मीठो लाग्यो । हिप्पी टेम्पलको सिंडीमा थिएँ म । मैले माइलाचा देखें । माइलाचा कुनै बेला यस्तो थियो, जसलाई देखेपछि मान्छेले मलाईजस्तै वा मलाईभन्दा पनि बढी छिछि र दुरदुर गर्थे । ऊ पुरै गँजडी थियो । ट्यापे थियो । जँड्याहा थियो । तर, त्यो दिन माइलाचा अरु सामान्य मान्छेजस्तै सामान्य देखिएको थियो ।
बदलिएको माइलाचा देखेर मलाई अचम्म लाग्यो ।
मैले जीवनको एउटा झिनो उज्यालो भेटेँ । मलाई लाग्यो, जीवन बाँकी रहेछ । ‘माइलाचाजस्तै म पनि सामान्य जीवनमा फर्किन सक्छु ?’ मैले यही प्रश्नमात्र सोचिरहेँ । एउटा समय थियो, माइलाचा आएपछि म स्वयम् पनि माइलाचालाई परैबाट जा-जा भन्थें । तर, त्यो दिन मेरो यस्तो हालत देखेर माइलाचाले त्यस्तो व्यवहार गरेन ।
माइलाचा देखेर मैले हारिसकेको आफ्नो मनलाई उठाएँ ।
माइलाचा नजिकिँदै गर्दा मैले सोधें, ‘तपाईंको जीवनमा जस्तै मेरो जीवनमा पनि यो सम्भव छ ?’
‘सम्भव छ ।’
‘कसरी ?’
‘पुनस्थापना केन्द्रमा गएर ।’
म हारिसकेको थिएँ । कुनै उपाय नै बाँकी थिएन, मेरो चेतनामा । तर, समय बदलिन थालेको थियो । कताकता मलाई आफू पनि जीवनको सामान्य लयमा फर्किन सक्छु कि भन्ने लागिरहेको थियो ।
तर, मलाई त्यति नै बेला नियमित डोज चाहिसकेको थियो । मैले माइलाचासँग दश रुपियाँ मागें । तर, माइलाचाले पैसा दिएन । पुनस्थापना केन्द्र लगिदिन्छु मात्र भनिरह्यो ।
त्यहाँ उसले निःशुल्क जाने व्यवस्था मिलाइदिने भयो । तर, त्यसअघि ५ सय रुपियाँ चाहिन्छ भन्यो । मन्जन, बुरुस, साबन आदि किन्न ।
दश रुपियाँ कसैले नपत्ताउने मलाई कसले पाँच सय रुपियाँ पत्याउने ? कसले पाँच सय रुपियाँ दिने ? बुवा ! मैले धरै दिनपछि तपाईंलाई सम्झेँ । तपाईं कालीमाटीको सडकमा तरकारी बेच्नु हुन्थ्यो ।
माइलाचालाई लिएर म सरासर तपाईं भएको ठाउँमा आएँ ।
‘अब म सुधि्रन्छु । म सुधार केन्द्र जाँदैछु । मलाई पाँच सय रुपियाँ दिनु’ मैले तपाईंलाई भनेको थिएँ ।
तपाईंले मेरो आँखामा आफ्ना आँखाभरि आँशु भरेर एक टकले हेरिरहनुभयो । र, केही नबोली कम्मरको भित्रपटि्ट राखेको थैलीबाट झिकेर एक-एक सयका पाँचवटा नोट दिनुभयो ।
माइलाचालाई मैले सोधें, ‘लास्ट एक पटक रक्सी खान्छु । हुन्छ ?’
माइलाचाले अनुमति दियो । मैले एक क्वार्टर रक्सी एकै पटकमा घ्वाटाटा पारेँ ।
सुधारगृहमा पुगेपछि मैले तीन महिनाभित्रमा आफूलाई बदलिसकेको थिएँ ।
त्यहाँ मलाई सिकाइएको थियो, ‘कुलतमा लागेर तिमीले सबैभन्दा बढी परिवारलाई चोट पुर्यायौ । अब उनीहरुका लागि बाँच ।’
त्यसपछि म परिवारमा फर्किएँ । परिवारको हार्दिकताले म झनै पग्लेँ । बुवा ! परिवारको स्वागत मेरो जीवनको अर्को उज्यालो थियो । समाजमा मलाई सबैले माया गर्न थाले । हिजो दश रुपियाँ माग्दा नदिने समाज अहिले आवश्यक पर्दा लाख, दुई लाख दिन तयार छ ।
मैले बुझेँ, न परिवार न त समाज बदलिएको रहेछ, बुवा ! बदलिएको त म पो रहेछु । आज म ठीक छु । सबै ठीक छ ।
सप्ताहन्तमा म पुरानो सुधारगृहमा गएर भोलेन्टियरी गर्छु । कुलतमा फसेकालाई जीवनमा फर्काउने अभियानलाई म एउटा संस्था खोलेर पनि अगाडि बढाउँदै छु ।
बसन्तपुर क्षेत्रमै मैलेे एउटा क्युरियो पसल चलाएको छु । आम्दानीको आधा हिस्सा डेन्ड्रोइड सुँघ्ने सडक बालबालिकाकाको पुनःस्थापनमा खर्च गर्ने मेरो योजना छ ।
मैले रक्सी छाडेको पनि ५ बर्ष भइसकेछ । झन्डै दुई बर्षअघि बिहे गरेको म केही महिनापछि बाबु पनि बन्दैछु । र, बुवा तपाईं हजुरबुवा बन्दै हुनुहुन्छ ।
प्रतिक्रिया 4