Comments Add Comment

यस वर्षको नाडा अटो शो मा बैंक र बीमाको स्टल नरहने

२५ भदौं, काठमाडौं । सवारीसाधनहरुको महाकूम्भ नाडा अटो-शो मा यस वर्ष बैंक तथा बीमा कम्पनीहरुको स्टल नरहने भएको छ । हरेक वर्ष आयोजना हुने नाडा अटो शो मा बैंक तथा बीमा कम्पनीहरुले पनि आफ्ना विभिन्न स्किमसहित स्टल राख्ने गरेका थिए । तर, ठाउँ अभावका कारण नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यस वर्ष बैंक र बीमा कम्पनीलाई स्टल राख्न नदिने जनाएकाे हो ।

मेलाका संयोजक निराकर श्रेष्ठले विगत झै यस वर्ष पनि बैंक र बीमा कम्पनीहरुलाई स्टल दिने योजना बनाएको भए पनि ठाउँ अभाव भएकाले दिन नसकिने बताए ।

नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको आयोजनामा भोलि मंगलबारदेखि काठमाडौंमा नाडा अटो-शो सुरू हुँदैछ ।

६ दिनसम्म चल्ने १३औं नाडा अटो-शो मा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिने नाडाले जानकारी दिएको छ । मेलामा १९ वटा चार पांग्रे र २० वटा दुई पांग्रे ब्राण्डले सहभागिता जनाउने बताइएको छ ।

७१ वटा कम्पनीका १३४ स्टल रहने प्रदर्शनीलाई ६० हजार दर्शकले अवलोकन गर्ने अायाेजकको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिज बिक्रेताको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment