Comments Add Comment

यसरी गरौं डिप्रेसन र आत्महत्याको रोकथाम

एक महिनाअघि, मेरा एक जना बाल्यकालदेखिका साथीले जीवनप्रति नै निराशा लागेको र आफू यस संसारमा बाँच्ने ईच्छा पटक्कै नभएको कुरा व्यक्त गरे । मैले उनको कुरालाई सामान्य चिन्ताको रुपमा लिएको थिएँ । केही मरामर्श दिएको पनि थिएँ । तर, एक हप्तापछि नै उनले विष सेवन गरी आत्महत्या गरी मृत्युवरण गरेछन् । मनोविज्ञ भएको नाताले मैले उनको कुरालाई जति गम्भीर रुपमा लिनु पर्दथ्यो, लिन सकिनँ । फलस्वरुप, आफ्नो वाल्यकालको साथी गुमाउन पुगेँ ।

सिन्धुपाल्चोक जिल्लामा एकजना सिन्धुपाल्चोककै तामाङ्ग थरकी किशोरी र बाहिर जिल्लाबाट त्यहाँ काम गर्न आएका एक किशोरको प्रेम सम्वन्ध बढ्दै गएछ । यो प्रेमलाई किशोरीको परिवारले स्वीकार नगर्ने परिस्थितिका कारण अत्यधिक तनाव तथाडर बढेपछि दुबैजनाले एउटै रुखको हाँगामा डोरीले पासो लगाई झुण्डिएर आत्महत्या गरेको कुरा मिडियामा सार्वजनिक भएको थियो ।

गत वर्षको चैत्र २० गते बुटवलस्थित सरकारी क्वाटरमा झुण्डिएको अवस्थामा प्रदेश सरकारका एकजना उपसचिवको शव फेला पर्‍यो । उनको शवसँगै सुसाइड नोट पनि फेला परेको थियो, जसमा आफू विगत २७ वर्षदेखि मानसिक स्वास्थ्य समस्यामा रहेको र सोही पीडा सहन नसकेर आत्महत्या गरेको कुरा उल्लेख गरिएको थियो ।

यी तीन घटना मैले नजिकबाट अनुभव गरेका आत्महत्याहरु हुन् । विगत ३० वर्षदेखि मैले यही विषयमा अध्ययन अनुसन्धान र चेतना जगाउने काम गरिरहेको छु । तैपनि आत्महत्याका प्रवृत्ति र संख्यामा रत्तिभर कमी आएको छैन ।

हरेक वर्ष सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाइने गरिन्छ । र सधै झैं यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको ‘आत्महत्या रोकथाममा सवैको सहकार्य’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभरि नै यो दिवस मनाउन लागिएको छ । यो नाराको विषयवस्तुलाई ह्रदयंगम गरी यो दिवस मनाउँदै गर्दा नेपालमा आत्महत्याको दर किन बढिरहेको छ ? किन मानिसहरुले आत्महत्यालाई मुत्यूवरण गर्ने माध्यमको रुपमा लिइरहेका छन्, यसको रोकथाम सोचेअनुसार किन गर्न सकिएको छैन । साथै आत्महत्याको रोकथाममा घर परिवार, साथीभाइ, समाज, सहयोगी संस्थाहरु, राज्यका संयन्त्रलाई कसरी परिचालन गर्ने भनेर वस्तुगत विश्लेशण गरी उपयुक्तखालको योजना बनाई लागु गर्नुपर्ने देखिन्छ ।

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा धेरै पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरेपछि मात्रै पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्छन् ।

विश्व स्वास्थ्य संघको पछिल्लो आँकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसहरुले आत्महत्या गर्दछन् । प्रहरीले २०६१ देखि २०७१ सम्म गरि १० वर्षको तथ्यांक केलाउँदा नेपालमा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाएको थियो । यो अवधिमा सबैभन्दा बढी ०७४ सालमा ५ हजार १ सय ७५ सालमा ५ हजार ३ सय ४६ जना व्यक्तिहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक गरेको थियो । जसअनुसार दैनिक करिब १२ देखि १४ जना मानिसहरुले आफ्नो जीवन आफैले समाप्त पारिरहेका छन् । विश्व स्वास्थ्य संघको अनुसार नै आत्महत्या गर्ने संख्याको आधारमा नेपाल विश्वभरमा ७ औ नम्बरमा छ ।

युवा तथा किशोरकिशोरी, सम्वन्धविच्छेद गरेर एक्लो जीवन बाँचिरहेका व्यक्ति, तनावयुक्त बैवाहिक जीवन, घरवार बिगि्रएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गकि हिंसाबाट प्रभावित महिलाहरु, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरु, प्रेममा असफल व्यक्तिहरु, ठूलो आर्थिक हानि नोक्सानीमा परेका व्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन् ।
आत्महत्या गर्ने कारणहरुमध्ये डिप्रेसन रोग प्रमुख हो । डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरे मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि यस्ता बिरामीले आत्महत्या गर्छन् । डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी छ भने आत्महत्या गर्ने खतरा अरु बढ्छ ।

मानसिक असन्तुलन, पढाई तथा काममा असफलता, प्रेम तथा बैवाहिक जीवनमा असफलता, मदिरापानको लत, लागुपदार्थको दुव्र्यसन, छारे रोग, दीर्घ खालको र धेरै पीडा हुने शारीरिक रोग र एचआइभी एड्स आदि जस्ता कारणहरुले पनि मानिसमा आत्महत्याको सोच ल्याउन सक्ने र आत्महत्याको प्रयाससमेत गर्ने सक्ने सम्भावना हुन्छ ।

मानसिक तथा शारीरिक पीडा एकदमै धेरै भयो भने र आफ्नो जीवनदेखि नै निराशपना उत्पन्न भयो भने व्यक्तिले आत्महत्याको बाटो रोज्द्छन र कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्न परिवारका सदस्यहरु तथा अन्य कसैले बाध्य बनाइरहेको हुन्छ । आत्महत्या गर्ने विचार गरेकाहरुले आˆनो विचार घुमाउरो पाराले परिवारजन तथा साथीभाइलाई भनेका हुन्छन् । जस्तै “यस्तो जिन्दगीको के सार, फेरि भेट हुन्छ कि हुँदैन” आदि ।

यदि व्यक्तिले धेरै निराश भएको कुरा गर्छन् र मर्न पाए हुन्थ्यो जस्ता इच्छा व्यक्त गर्दछन् भन्ने परिवारजनले उसमा आत्महत्याको विचार आएको हो कि भन्ने शंका गरी यस्तो कुरा किन गरेको भनेर सोध्नुपर्छ । र, उसलाई यतिखेर सहयोगको आवश्यकता छ भन्ने बुझ्न सक्नुपर्दछ । यदि परिवारका सदस्य वा अन्य कसैले यस्तो विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्शकर्ताकहाँ लैजानुपर्छ ।

आत्महत्याको कसरी रोकथाम गर्न सकिन्छ ?

· राम्रो पारिवारिक सम्बन्ध, राम्रो वैवाहिक सम्बन्ध र दाम्पत्य जीवन, परिवारजन र आफन्तहरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने बानी, बाबुआमा तथा छोराछोरीप्रति माया, ममताले आत्महत्या हुन रोक्छन् ।

· मानसिक रोगहरु जस्तै डिप्रेसन र मानसिक असन्तुलनको उपचार, छारे रोगको उपचार, मदिरा तथा लागुपदार्थ सेवन नगर्ने गर्दा आत्महत्या कम गर्न सकिन्छ ।

· मानसिक तनावको व्यवस्थापन, आध्यात्मिक चिन्तन, जीवनलाई सहज किसिमले हेर्ने शैली, आफुसँग जे छ, त्यसमा सन्तोष लिने र अरुको इर्ष्या  नगर्ने बानीले मानसिक तनाव घटाउँछन् । जसले गर्दा आत्महत्याको सोचाई आउँदैन ।

· हाम्रो मनमा आएका नकारात्मक विचारहरुलाई सकारात्मक बनाउन आफैले प्रयास गर्नुपर्छ । रीसले आफैलाई हानी गर्छ, विनाकारण डराउनुहुँदैन । यस्ता विचार तथा सकारात्मक सोच आफैंले ल्याउन प्रयास गरेमा त्यसले मष्तिस्कमा राम्रो प्रभाव पार्ने हुन्छ । सकारात्मक सोच भएकाहरुले एक आपसमा सम्बन्ध राम्रो राख्न सक्छन्, अरुको समस्या बुझ्न सक्छन् र उनीहरुको मन प्रायः शान्त रहन्छ । उनीहरुले गर्ने निर्णय सहयोगी हुन्छ, उनीहरुमा आत्मविश्वास हुन्छ र आत्महत्या गर्ने सोचाई आउनबाट टाढा हुन सक्छन् ।

· आत्महत्या एक जनस्वास्थ्यको गम्भीर सवाल भएकाले नेपाल सरकारले प्राथमिक स्वास्थ्य सेवा अन्तर्गत रोकथाममूलक कार्यक्रममा यसलाई अनिवार्यरुपले संलग्न गराई ब्यापक जनचेतनामूलक कार्यक्रम विभिन्न महिलासमूह, महिला सहकारी, स्थानीयस्तरमा रहेका समूहहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, गर्भवती तथा सुत्केरी महिला तथा उनीहरुको श्रीमानहरुका लागि सञ्चालन गर्नुपर्दछ ।

आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत केही पहल गरिए पनि देशभरका जनताका लागि त्यो पर्याप्त छैन । राज्यका संरचना, सहयोगी संघसस्थाहरु, सेवा प्रदायक, घरपरिवारका सदस्यहरुवीच एकआपसमा समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचे अनुसार उपलब्धी हासिल गर्न सकेको छैन ।

मानसिक स्वास्थ्यको प्रवर्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास तथा सोच भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरु मार्फत सेवाको पहुँच सबैका लागि सर्वसुलभ बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक नीति र निर्देशिका बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ ।

सरकारका स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सवै खालका प्राथमिकताका वर्ग तथा क्षेत्रहरुमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रकि्रया अगाडि बढाउन जरुरी छ । स्थानीयस्तरका सामुदायिक संघसस्थाहरु र गैरसरकारी संस्थाहरुलाई पनि आत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरुको क्षमता अभिबृद्धि गर्न सकियो भने त्यस्ता संघसस्थाहरु मार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ ।

विशेष गरेर स्थानीय निकायहरुले खासगरी त्यस्ता संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यक्रम लैजान सक्यो भने आत्महत्याको सोचाइ गरेका तथा प्रयास गरेका व्यक्तिहरुलाई जोगाउन सकिन्छ । डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याको सोचाइ राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ ।

आत्महत्याको रोकथाममा परिवार, समाज, साथी संगीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यहार गर्ने, उनीहरुको मनको कुरा सुनिदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथी भाइहरुले सहयोग गर्नुपर्छ ।

सम्पूर्ण सबै पक्षसँग समन्वय, सहयोगका लागि सहकार्य र आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भनेे आत्महत्याको रोकथाममा हामीले खाजेको जस्तै उपलब्धी हासिल गर्न सक्छाैं, जसका लागि यो दिवसले हामी सबैलाई आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमा पहिचान गर्न र आवश्यक सहयोगको पहल गर्न बल प्रदान गरोस् भन्ने सन्देश दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment