३ असोज, काठमाडौं । आजकलको व्यस्त जीवनशैली तथा अस्वस्थ खानपानका कारण मानिसहरुमा मधुमेहको जोखिम बढ्दो छ । पहिले-पहिले सामान्यतया ४० वर्ष उमेर कटेका मानिसहरुलाई मात्र मधुमेह हुने गर्थ्यो । त्यसैले, चिकित्सकहरु पनि ४० वर्ष कटेकाहरुलाई मात्र यस रोगको परिक्षण गर्न सुझाव दिन्थे । तर, अहिले युवाहरु पनि बाक्लै यसको चपेटामा परिरहेका छन् ।
लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने, समयमा नखाने, जंकफुड धेरै खाने लगायतका कारणले युवाहरुमा मधुमेहको जोखिम बढेको हो । यस रोगको कारण तथा उपचार विधिका बारे पुल्चोकस्थित काठमाडौ डायविटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत डा. प्रियदर्शिनी योञ्जन यसरी प्रकाश पार्छन् :
मधुमेह र यसका प्रकार
डायबिटिज अर्थात् मधुमेह एक प्रकारको दीर्घरोग हो । यो रोग लागेमा रगतमा सुगर (चिनी) को मात्रा आवश्यकता भन्दा बढी हुने गर्छ । मधुमेह विभिन्न प्रकारका हुन्छन् । तर, ९० प्रतिशतमा देखिने भनेको टाइप २ डायविटिज हो ।
यसको मुख्य कारण भनेको गलत जीवनशैली नै हो । अहिलेको हाम्रो जीवनशैली पहिलेको भन्दा फरक छ । धेरै मानिस ‘डेस्क वर्क’ मा हुन्छन् । हिँड्डुल खासै गर्दैनन् । घरबाहिर खाने चलन बढ्दो छ । जंकफुडको सेवन अत्यधिक मात्रामा हुन्छ । त्यसको अनुपातमा एक्सरसाइज छैन । यसैले गर्दा मधुमेहको जोखिम उच्च हुन्छ ।
दश प्रतिशतभन्दा कममा देखिने टाइप १ मधुमेहले बढी मात्रामा बच्चाहरुलाई पिरोल्छ । यो रोग लाग्दा चिनिको मात्रा घटाउने हर्मोन, इन्सुलिन, शरीरको भित्रबाट उत्पादन हुँदैन । भित्रबाट इन्सुलिन बनाउने दुईवटा कोषिका भत्केर शरीरमा इन्सुलिनको कमी हुने गर्छ । इन्सुलिनको कमी भएमा टाइप १ मधुमेह हुन्छ ।
गर्भवती महिलारुमा देखिने जेस्टेस्नल डायविटिज मधुमेहको अर्को प्रकार हो । त्यसबाहेक, अन्य हर्मोनल समस्या तथा औषधिको सेवनका कारण पनि मधुमेह हुने गर्दछ । तर यी कारणले गर्दा मधुमेह हुने सम्भावना एकदमै न्युन हुन्छ ।
अमेरिकन डायविटिज एसोसिएसनले यदि परिवारमा कसैलाई मधुमेह छैन र अन्य जोखिम देखिएको छैन भने ४५ वर्षपछि मात्र मधुमेहको जाँच गर्न सल्लाह दिएको छ । तर, नेपालमा पछिल्लो समय ३० वर्षमुनिका युवाहरुमा मधुमेहको समस्या देखिन थालेको छ । त्यसैलेे हामी चाहीँ २५ वर्ष काटेपछि वर्षमा कम्तीमा एकपटक मधुमेह जाँच गर्न सल्लाह दिन्छौं । अहिले ३५ वर्ष नपुग्दै कयौं पुरुषहरु कार्डियाक अरेस्ट वा स्ट्रोकका कारण मृत्यु हुने गरेको छ, जसमा गलत जीवनशैली नै मुख्य कारण हो ।
मधुमेहको समस्या हुनेमध्ये करिब ५० प्रतिशतमा कुनै लक्षण देखिँदैन । त्यसैले समयमै रोग पत्ता लागोस् भन्नका लागि पनि हामी २५ वर्ष कटेपछि नै मधुमेहको परीक्षण गर्न सल्लाह सुझाव दिने गछौं ।
तर, मधुमेहमा जोखिम तत्वहरु पनि धेरै छन् । शरीर मोटो छ, एक्ससाइज छैन, परिवारमा अन्य सदस्यलाई मधुमेह छ भने १४-१५ वर्षको उमेरमै यसको जोखिम हुन्छ ।
सन् २०१७ को तथ्यांकअनुसार नेपालका लगभग चार प्रतिशत युवा मधुमेहबाट पीडित छन् । ६ लाखभन्दा बढी मानिसमा मधुमेह देखिएको छ ।
प्रजनन स्वास्थ्यमा कति जोखिम ?
मधुमेह आफैंमा जटिल किसिमको रोग हो । यसले विशेषगरी आँखा, मिर्गौला तथा मुटुलाई असर गर्छ ।
यसले महिलाको प्रजनन स्वास्थ्यमा पनि असर गर्छ । यदि मधुमेह नियन्त्रणमा छैन भने गर्भ खेर जाने सम्भावना उच्च हुनुका साथै आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने डर हुन्छ । त्यसैले गर्भधारण गर्नुअघि मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ ।
जोगिने कसरी ?
मधुमेहबाट बच्ने एक मात्र उपाय भनेको जीवनशैली सच्याउनु हो । कम आराम र बढी परिश्रम वा नियमित एक्सरसाइज गर्नु अत्यावश्यक छ । साथै ताजा एवं स्वास्थ्यवर्द्धक खानेकुरा खानुपर्छ । जंकफुडबाट टाढा रहनुपर्छ । खाजामा पनि मःमः, चाउमिनको सट्टा रोटी, चना, मकै, भट्मास आदि खानु उपयुक्त हुन्छ । भातको मात्रा पनि सकभर घटाउनुपर्छ ।
दैनिक कम्तीमा आधा घण्टादेखि ४५ मिनेट फटाफट हिँड्ने गर्दा मात्र पनि मधुमेहको जोखिम निकै कम हुन्छ ।
के हो प्रि-डायविटिज ?
मधुमेहको कुरा गर्दा प्रि-डायबिटिजबारे बुझ्नु जरुरी छ । बोर्डरलाइन मधुमेहलाई प्रि-डायविटिज भन्ने गरिन्छ । यसको अर्थ सामान्य व्लड सुगर पनि होइन र डायविटिजको लेभलमा पनि पुगेको छैन ।
प्रि-डायविटिज भएका मानिसलाई भविश्यमा मधुमेह हुने सम्भावना उच्च हुन्छ । त्यसैले उनीहरुले अत्यधिक सतर्कता अपनाउनुपर्छ । कम्तिमा डाइट बदल्नै पर्छ । के खाने, के नखाने, कति खाने भनेेर डाइटिसियनसित सल्लाह लिनु राम्रो हुन्छ ।
प्रि-डायविटिज भएकाहरुले भात खानै नमिल्ने होइन । तर, सन्तुलन मिलाएर कम मात्रामा खानुपर्छ । त्यसबाहेक उचाइको आधारमा शरीरको तौल धेरै छ भने घटाउनुपर्छ । आफ्नो हालको तौलभन्दा कम्तीमा दश प्रतिशत घटाउनु राम्रो हुन्छ । त्यस्तै शारीरिक व्यायामका साथमा सक्रिय जीवनशैली अपनाउनु जरुरी छ । धुमपान र मदिरा सेवनबाट टाढा रहनुपर्छ ।
प्रि-डायविटिज भएका व्यक्तिमा कोलस्ट्रोल उच्च छ र प्रेसरको समस्या पनि छ भने त्यसको तुरुन्त उपचार गर्नुपर्ने हुन्छ । किनभने प्रि-डायविटिजले पनि मुटुमा असर गर्ने डर बढी हुन्छ । यति हो कि यसमा मधुमेहका विरामीले मुखबाट खाने औषधी बाहेक अन्य सबै उपचार एउटै प्रकारको हुन्छ ।
मुख बार्ने
मधुमेहका विरामीले फलफूलमा पाइने गुलियोबाहेक चिनी, मह, मिठाई, पेय पदार्थ, जुस लगायतका अन्य गुलियो कम खानु पर्छ । त्यस्तै रातो मासु, घ्यू, बटर लगायत जनावरबाट पाइने चिल्लो तथा तारेको खानेकुरा सकेसम्म बार्नुपर्छ । यति गर्न सकेमा मात्र पनि प्रि-डायविटिजका विरामीमा मधुमेह हुने सम्भावना घट्छ ।
डायविटिज प्रिभेन्सन प्रोग्रामले हालै प्रि-डायविटिज सम्बन्धी एक अध्ययन पनि गरेको थियो । प्रि-डायविटिज भएका करिब पाँच हजार विरामीमा गरेको अध्ययनमा अनुसन्धानकर्ताले एउटा समूहलाई औषधी दिए भने अर्को समूहलाई डाइट र एक्सरसाइज गर्न लगाए । पछि परीक्षण गर्दा डाइट र एक्सरसाइजमा राखिएको समूहका मानिसलाई औषधी सेवन गर्नेको तुलनामा डायविटिज हुने सम्भावना न्युन पाइयो । यसबाट पनि के थाहा हुन्छ भने प्रि-डायविटिजका विरामीलाई औषधीभन्दा डाइट र एक्सरसाइज बढी फाइदाजनक छ ।
प्रतिक्रिया 4