Comments Add Comment

आईसीसीको पेलाईमा नेपाली क्रिकेट, जता हेर्‍यो त्यतै भ्वाङ

८ असोज, काठमाडौं । नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि खेलाडीहरुले सोचेका थिए, अब उज्याला दिन आए । तर, एक वर्ष नबित्दै उनीहरुको उत्साह सेलाइसकेको छ । टिमका सदस्यहरु उकुसमुकुस भएका छन् ।

नेपाल क्रिकेट संघ तीन वर्षदेखि निलम्बनमा छ भने नेपाली क्रिकेटको तालाचाबी बोकेर बसेको आईसीसीको भूमिका नेपाली क्रिकेटलाई माथि लैजानेभन्दा ‘झारा टार्ने’ मात्र देखिएको छ । यसले खेलाडीहरुको प्रदर्शनमा नै असर पर्न थालेको छ ।

पछिल्लो पटक एसिया कप छनोटमा बिर्सनलायक प्रदर्शन गरेको नेपाली टोली टी-२० विश्वकपका लागि एसिया छनोटको तयारीमा जुटेको छ । तर, एसिया कपमा छनोटमा यति कमजोर प्रदर्शन किन भयो भन्ने वस्तुगत समिक्षा हुन सकेको छैन । मलेसियाबाट फर्किँदा कप्तान पारस खड्काले भनेका थिए, ‘नेपाली क्रिकेटमा रहेका समस्याहरुको सही पोस्टमार्टम गर्ने बेला भयो ।’

तर, गर्ने कसले ? हामी नेपाली क्रिकेटसँग जोडिएका महत्वपूर्ण पात्रहरुसँग गरिएको अनौपचारिक कुराकानीका आधारमा समीक्षात्मक आलेख तयार पारेका छौं । यसमा अन दि फिल्डसँगै अफ दी फिल्डका पक्षलाई समेट्ने प्रयास गरेका छौं ।

अन दी फिल्डका कुरा

क्रिकेट मैदानभित्र हुने प्रमुख तीन गतिविधिहरु हुन्-ब्याटिङ, बलिङ र फिल्डिङ । नेपालको ब्याटिङ परम्परागतरुपमै कमजोर छ । तर, एसिया कप छनोटमा नेपालको ब्याटिङ मात्र होइन, बलिङ र फिल्डिङको समेत स्तर खस्केको देखियो ।

ब्याटिङ : ब्याटिङ कमजोर हुनुको कारण खोज्न धेरै घोत्लिनु पर्दैन । नियमित क्रिकेट खेल्न नपाउनु नै यसको प्रमुख कारक तत्व हो । घरेलु क्रिकेट शुन्य छ । फाट्टफुट्ट टी-२० लिग हुन्छ, त्यो पनि हिउँदमा । बाँकी समय खेलाडी फुर्सदिला हुन्छन् । जब ब्याट्सम्यानले निरन्तर खेल्न पाउँदैनन्, उनीहरुको फर्म स्वतः खस्किन्छ ।

कहिलेकाहीँ हुने प्रतियोगितामा व्यक्तिगत स्कोर राम्रो बनाउन सकिएन भने टिमबाट बाहिरिनुपर्ने दबाव ब्याट्सम्यानलाई हुन्छ । आउट नहुने चक्करमा धेरै डट बल खेल्न पुग्छन् ।

मलेसियामा भएको एसिया कप छनोटमा नेपालका कुनै ब्याट्सम्यानको प्रदर्शन वाह भन्ने खालको रहेन । ओपनिङ जोडीको संकट कायमै रहृयो भने एकाध खेलमा राम्रो गर्नेले पनि समग्रमा चित्तबुझ्दो प्रदर्शन गर्न सकेनन् ।

कहिलेकाहीँ हुने प्रतियोगितामा व्यक्तिगत स्कोर राम्रो बनाउन सकिएन भने टिमबाट बाहिरिनुपर्ने दबाव ब्याट्सम्यानलाई हुन्छ । आउट नहुने चक्करमा धेरै डट बल खेल्न पुग्छन् । मलेसियामा यस्तै भयो । उदाहरणका रुपमा सुवास खकुरेललाई लिन सकिन्छ । लामो समयपछि टिममा परेका उनले आफ्नो स्थानका लागि खेले तर, सफल भएनन् । र, अहिले उनी टिमबाटै बाहिरिएका छन् ।

छनोटकर्ताको पनि आफ्नै दुःख छ । घरेलु प्रतियोगिता लामो समयदेखि ठप्प जस्तै छ । टिममा भएकाले राम्रो गरेनन भनेर नयाँ खेलाडीलाई मौका दिउँ भने के आधारमा दिनू ? कुन खेलमा परेको प्रदर्शनका आधारमा छनेाट गर्नु ? त्यसैले भएकै २२/२५ जनालाई बन्द प्रशिक्षणमा बोलाउनु र टिम बनाउनुको विकल्प छैन ।

बलिङ : नेपालको स्ट्रेन्थ बलिङ हो । तर, पछिल्लो समय टिममा नयाँ बलरहरु आउन सकेका छैनन् ।

उदारहणका लागि फास्ट बलरलाई हेरौं । सोमपाल कामी र करण केसी नियमित सदस्य हुन् । सोमपाल लगातार खेलिरहेका छन् । उनलाई पनि आराम चाहिएला । चोटबाट बचाउनु पनि छ । तर, उनको विकल्पमा कसलाई खेलाउने ?

अहिले करण केसी फर्ममा नहुँदा ललित भण्डारीले खेलाउने गरिएको छ । तर, अरु विकल्प छैन । यू-१९ बाट किशोर महतो, रसिद खान र कमल सिंह ऐरी फास्ट बलरका रुपमा अगाडि आएका छन् तर, अनुभव निकै मक छैन । प्रतियोगिता अभावमा नयाँ बलरहरु अगाडि आउन सकेका छैनन् ।

स्पिनतर्फ पनि सिमित खेलाडीहरु छन् । भेट्रान स्पीनर शक्ति गौचनले सन्यास लिए । बसन्त रेग्मी पहिले जस्तो धारिलो छैनन् । पछिल्लो समय युवा स्टारका रुपमा आएका सन्दीप लामिछानेले छोटो समयमै आईपीएलसहित धेरै देशको टी-२० लिगहरु खेलेर राम्रो अनुभव र एक्सपोजर पाएका छन् ।

फिल्डिङ : नेपालको फिल्डिङ पहिले लोभलाग्दो थियो । तर, एसिया कप छनोटमा फिल्डिङ पनि फितलो देखियो । नेपालले जितेको होस् वा हारेको खेल होस्, हरेक खेलमा २-३ वटा क्याच ड्रप भएको छ । नेपाली क्रिकेट टोलीका सदस्यहरु पनि स्वीकार गर्छन्, फिल्डिङको जुन स्ट्याण्डर्ड थियो, त्यो अनुसार भएन ।

ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष कमजोर हुनुको एउटै कारण हो, घरेलु संरचना नै बन्न नसक्नू । सिनियर खेलाडीहरुका अनुसार नेपालको अवस्था कस्तो भइसक्यो भने कुनै पनि प्रतियोगिताका लागि खेलाडी छनोट गर्न मुस्किल पर्छ ।

खेलाडी छनोटको मुख्य आधार व्यक्तिगत प्रदर्शन हो । बलर होस् वा ब्याट्सम्यान होस्, मुख्यतः व्यक्तिगत तथ्यांक हेरिन्छ । तर, दुर्भाग्य नै भन्नुपर्छ, क्रिकेट एशोसिएसन निलम्बनसँगै राष्ट्रिय स्तरको प्रतियोगिता हुन सकेको छैन । टी-२० फ्रेन्चाइज लिगको प्रदर्शन हेरेर खेलाडीको मूल्यांकन गर्नुपर्ने बाध्यता छ ।

यसले उमेर समूह पार गरिसकेका खेलाडीहरुलाई राष्ट्रिय टिममा आउने ढोका लगभग बन्द जस्तै भएको छ भने नयाँ अनुहारले पनि स्थान पाउन सकेको छैनन् ।

नयाँ खेलाडीहरु सिनियर टिमका लागि प्रतिस्पर्धामा नआउँदा सिनियर खेलाडीहरु पनि ‘अल्छी’ बन्ने खतरा हुन्छ । राम्रो प्रदर्शन नगर्दा टिमबाट फालिन्छु भन्ने दबाव भएमा उनीहरुले अभ्यासमा धेरै पसिना बगाउँछन् । अन्यथा अल्छि गर्छन् । अहिले एकाध बाहेक धेरै क्रिकेटरले नियमित रुपमा गर्दैनन् ।

अफ दि फिल्डका कुरा

कुनै पनि क्रिकेट टिमको प्रदर्शनलाई मैदानभित्र मात्र होइन, मैदानका धेरै कुराले असर गर्छ । अहिले नेपाल क्रिकेट टिममा मैदानभित्र जे जस्ता समस्या देखिएका छन्, त्यसभन्दा कयौं गुणा समस्या मैदान बाहिर झेल्नु परेको छ ।

सबैभन्दा अगाडि आउँछ आर्थिक समस्या । क्रिकेट खेलाडीहरुले तलब नपाएको दुई वर्ष भइसक्यो । खेलाडीहरुलाई ग्रेडिङ गरेर त्यसको आधारमा मासिक तलब दिने सम्झौता क्यानले गरेको थियो तर, क्यान नै निलम्बनमा परेपछि तलब रोकिएको छ । आखिर कुनै क्रिकेटर अर्बपति त छैनन्, जसलाई तलबसित मतलब नहोस् । कतिपय विवाहित छन्, परिवारप्रतिको दायित्व छ । राष्ट्रिय टिमका स्टार खेलाडी भएपछि त्यसलाई मेन्टेन गर्नु पनि गर्‍यो ।

अहिले कुनै पनि प्रतियोगिता हुँदा दैनिक ५० डलर भत्ता आउँछ । खेल भएको दिन साँझको खाना र खेल नभएको दिन विहान बेलुकी दुबै छाक त्यही ५० डलरले पुर्‍याउनुपर्छ ।

तर, २ वर्ष तलब नपाउँदा पनि उनीहरु कसरी चलिरहेका छन् भन्ने कसैलाई चासो छैन ।

अहिले कुनै पनि प्रतियोगिता हुँदा दैनिक ५० डलर भत्ता आउँछ । खेल भएको दिन साँझको खाना र खेल नभएको दिन विहान बेलुकी दुबै छाक त्यही ५० डलरले पुर्‍याउनुपर्छ ।

तलबका लागि आईसीसीसँग कुरा नभएको पनि होइन । उसले कहिले क्रिकेट एशोसिएसन ब्यूँतिएपछि दिने कुरा गर्छ त कहिले बैठकमा आउँदा कुरा गरौंला भनेर टार्छ । काठमाडौंमा थुप्रै पटक बैठक भए पनि कुनै प्रगति भएको छैन ।

खेलाडी, प्रशिक्षक र अरु स्टाफले तलब नपाउँदा पनि आईसीसीले पठाउने कन्सल्ट्यान्ट कोचहरुले भने काम सकेर फर्किएकै दिन पैसा पाउने गरेका छन् ।

आईसीसीको सधैं अड्चन

क्यान निलम्वनमा परेपछि नेपाली क्रिकेट पूर्ण रुपमा आईसीसीको नियन्त्रणमा पुगेको छ ।

खेलाडी छनोटका लागि कप्तान र प्रशिक्षकसँगै आईसीसी प्रतिनिधिको टोली बनाइएको छ । तर, बन्द प्रशिक्षणदेखि हरेक विषयमा आईसीसीसँग अनुमति लिनुपर्छ । यसले पनि टिमलाई धेरै अप्ठ्यारो हुने गरेको छ । नेपालको टिमले चाहेजति समयमा बन्द प्रशिक्षण गर्नसमेत पाउने अवस्था छैन ।

उदाहरणका लागि एसिया कप छनोट हेरौं, नेपालले तयारीका लागि एक महिना मागेको थियो । तर, लड्र्स र नेदरल्याण्ड्समा खेलेर आएका छौं, किन धेरै समय चाहियो भनेर आईसीसीले बन्द प्रशिक्षणको अवधि नै घटाइदियो ।

यो न पहिलो पटक हो, न अन्तिम पटक हो । प्रायः यस्तै हुने गरेको स्रोतको दाबी छ ।

अर्थहीन पाहुना प्रशिक्षक

अर्को समस्या हो, कन्सल्ट्यान्ट कोच । क्रिकेटको तालाचाबी आईसीसीको हातमा पुगेपछि प्रायः हरेक प्रतियोगिताअघि कन्सलल्ट्यान्ट कोच आउने गरेका छन् । तर, निकै छोटो अवधिका लागि आउने उनीहरु कुनै उपलब्धि दिलाउन असमर्थ छन् ।

एसिया कप छनोटको तयारी गर्दा पनि भारतका अपूर्व सुबोधभाइ देसाई ब्याटिङ कन्सलट्यान्ट बनेर आएका थिए । तर, नेपालको ब्याटिङमा कुनै सुधार ल्याउन सकेनन् ।

यसमा पनि आईसीसीको भूमिका असहयोगी देखिएको छ । जसरी उसले बन्द प्रशिक्षणको अवधि कटौती गर्छ, त्यसरी नै कन्सल्ट्यान्ट कोच पनि छोटो अवधिका लागि मात्र पठाउँछ । प्रतियोगिता सुरु हुनु एकाध साताअघि आएका उनीहरुले नेपाली टिमका सबै सदस्यलाई चिन्दा नचिन्दै करार अवधि सकिन्छ ।

सामान्यतया एक डेढ महिना अगाडि आउने हो भने उनले कुन खेलाडीको क्षमता के हो ? के सुधार गर्नुपर्ने रहेछ बुझ्न सक्थ्यो र केही सिकाउन पनि भ्याउँथ्यो ।

केही समय अगाडि जिम्बाब्वेमा भएको ‘डिभिजन टू’का तयारीका क्रममा रोचक घटना भयो ।

नेपालले कन्सल्ट्यान्ट कोच माग गरेको थियो । तर, आईसीसीले चासो दिएन । नेपाली टोलीको आग्रहमा राष्ट्रिय खेलकुद परिषद् -राखेप) कन्सलट्यान्ट कोच ल्याउन तयार भयो । सम्भावित कोचहरुसँग कुरा भयो । तर, जब आईसीसीसँग अनुमति मागियो, उसले भन्यो-हामी आफैं पठाउँछौं ।

यसले प्रष्ट हुन्छ कि आईसीसी नेपाली क्रिकेटलाई जसोतसो टिकाइराख्न मात्र चाहन्छ ।

हुन त नेपालसँग राखेप मातहत रहेका क्रिकेट प्रशिक्षकहरुसँग सहयोग लिने विकल्प पनि छ । तर, यो पनि आईसीसीसँग गएर जोडिन्छ । किनभने टिममा राखेपछि टुरमा जाने कुरा हुन्छ । तर, आईसीसीले किन धेरै लैजाने भन्छ रक चार जना-प्रशिक्षक, म्यानेजर, फिजियो र कन्सल्ट्यान्ट कोचलाई मात्र टिकट दिन्छ ।

तलव पनि नजाउने, टुरमा पनि नलैजाने भएपछि प्रशिक्षणमा सहयोग गर भन्न गाह्रो ।

अन्य समस्या

अरु समस्याका कुरा गरौं । बलिङ मेसिन बिगि्रएको महिनौं भइसक्यो । नेट प्राक्टिस गर्न पनि टिमका कुनै सदस्य वा टेक्निकल एलालिस्टको सहयोग लिनुपर्छ । साह्रै भएपछि पछिल्लो पटक राखेपले दुई वटा बलिङ मेसिन किन्ने निर्णय गरेर टेण्डर पनि आहृवान गरेको हो । तर, अहिलेसम्म आउन सकेको छैन ।

क्रिकेटमा प्राविधिक विश्लेषणको पनि महत्वपूर्ण हुन्छ । खेलाडीले आफ्नो प्रदर्शन सुधार गर्न मात्र होइन, विपक्षी टिमलाई बुझ्न पनि यो चाहिन्छ । तर, हामी अहिले पनि पुरानै प्रविधिमा छौं, जुन नाम मात्रको छ भन्दा हुन्छ ।

क्यान ब्यूँतिने कहिले ?

नेपाली क्रिकेट एकातिर समस्यै-समस्याले घेरिएको छ भने अर्कातिर वर्षौको मेहनतमा पाएको एकदिवसीय मान्यतालाई अधिकतम सदुपयोग गर्नुपर्ने दबाव छ ।

यसका लागि पहिलो शर्त बनेको छ, विवाद मिलाउने र क्रिकेट संघ छिटो ब्यूँताउने ।

तर, यो पनि सजिलो छैन । लामो गलफतीपछि क्रिकेट संघको विधान संशोधन भएको छ । तर, विधान संशोधन भएको ५ महिनासम्म निर्वाचन प्रक्रिया सुरु भएको छैन । स्वतन्त्र समूह जिल्ला संघहरुको निर्वाचनको बैधानिकता परीक्षणमा अल्झिएको छ । निर्वाचित क्यानले मुद्दा फिर्ता लिन आनाकानी गरेको छ ।

यो सबै हेर्दा छिट्टै विवाद मिलेर नेपाल क्रिकेट संघको निर्वाचन भइहाल्ने अवस्था छैन । यसलाई मध्यनजर गर्दै कप्तान, प्रशिक्षक र म्यानेजरको टिमले हालै मात्र आईसीसीसामू एक वर्षे कार्ययोजना प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार त्यसमा नेपाल ए टिम बनाउने, अन्तर्राष्ट्रिय टुर गराउने र ब्याटिङ तथा बलिङको ‘हाइ पर्फमेन्स क्याम्प’ राख्ने लगायत छन् । एक सदस्य भन्छन्, ‘क्यान नबन्दासम्म घिसि्रएरै भए पनि क्रिकेटको यात्रा अगाडि बढाउनुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment