+

क्यानको बोर्ड बैठक आज बस्दै

२०८२ साउन  १५ गते ७:४१ २०८२ साउन १५ गते ७:४१
क्यानको बोर्ड बैठक आज बस्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघको बोर्ड बैठक आज बस्दैछ।
  • बैठकमा एनपीएल दोस्रो संस्करणको आयोजना र राष्ट्रिय टोलीको विश्वकप यात्रा विषयमा छलफल हुनेछ।

१४ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक आज बस्दैछ । बैठकमा एनपीएलको पहिलो संस्करणबारे समीक्षासहित दोस्रो संस्करणको आयोजनालगायत विभिन्न विषयमा छलफल हुँदैछन् ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्त छुम्बी लामाले दुई मुख्य विषयहरू एनपीएल र राष्ट्रिय टोलीको विश्वकप यात्रा रहेको बताए । ‘मेन भनेको अब एनपीएलकै बारेमा हुन्छ अनि राष्ट्रिय टोलीको टी-२० विश्वकपसम्म पुग्ने यात्राका बारेमा नै छलफल हुनेछ’ लामाले अनलाइनखबरसँग भने ।

एनपीएलको पहिलो संस्करण गत मंसिर-पुसमा भएको थियो । पहिलो संस्करणबाट प्राप्त भएका उपलब्धि तथा दोस्रो संस्करणका लागि थप गर्न सकिने विविध विषयहरूमा छलफल हुने बुझिएको छ । दोस्रो संस्करणका लागि अक्सनको मिति पनि तय भइसकेको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केही समयअघि अनलाइनखबरसँगको कुराकानीमा आगामी बोर्ड बैठकबाट एनपीएलको हिसाबकिताब सार्वजनिक गर्नेबारे पनि छलफल गर्ने बताएका थिए । एनपीएलको पहिलो सिजनको आर्थिक विवरण सार्वजनिक हुने अपेक्षा गर्न सकिन्छ ।

एनपीएलको पहिलो सिजनको हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै बोर्ड सदस्यहरूले अध्यक्षलाई पत्र लेख्दै ध्यानाकर्षण समेत गराएका थिए । त्यसलाई सुझावको रूपमा लिएको समेत बताउँदै चन्दले प्रक्रियागत त्रुटीहरू भएको हुनसक्ने भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली क्रिकेट टोलीले आगामी अक्टोबरमा टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको संयुक्त रिजनल फाइनल खेल्दै छ । त्यसको तयारीका लागि नेपाली टोली हार भारतमा छ भने केही खेलाडीहरू नेपालमै पनि अभ्यास गरिरहेका छन् ।

टी-२० विश्वकप छनोटको तयारी र विश्वकपसम्मको यात्राबारे पनि बोर्ड बैठकमा छलफल हुनेछ । नेपाली टोलीले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई खेल पनि खेल्दै छ ।

त्यस्तै क्यानको वार्षिक क्यालेन्डरबारे पनि छलफल हुने बताइएको छ । वार्षिक क्यालेन्डरमा उल्लेख भएअनुसार हालसम्मको अवस्थाबारे समीक्षा गरिनेछ भने आगामी क्यालेन्डरमा समेट्न सकिने विषयहरूमा छलफल हुनेछ ।

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय