Comments Add Comment

पटके अनुगमनले सुध्रिएनन् बधशाला

१० असोज, काठमाडौं । गत शुक्रबार ललितपुरका ५ वटा बधशालामा अनुगमन गर्दा न्यूनतम् मापदण्ड पूरा नगरेको पाइएपछि ४ वटामा शिलबन्दी गरियो । त्यहाँ महिनौदेखि सडेको मासु फेला परेको थियो ।व्यापारीले सडेको मासु बजार पठाउने गरेको तथ्यले उपभोक्तालाई चिन्तित बनाएको छ ।

मानव स्वास्थ्यका लागि हानीकारक हुने खालका पशु वध गर्ने, सरसफाईमा ध्यान नदिने र बध गरिसकेपछि त्यसको व्यवस्थित भण्डारण नगर्ने खालका समस्या पाइएको अनुगमनमा संलग्न अधिकारी बताउँछन् । बध गर्नुअगाडि पशुको अनिवार्य स्वास्थ्यपरीक्षण गर्नुपर्ने नियम छ । साथै वध गरिसकेपछि पनि मासुको परीक्षण गरी कम्तिमा १० डिग्री सेल्सियस तापक्रममा २४ घण्टा पि|mजिङ गर्नुपर्ने हुन्छ । तर, व्यवसायीले हप्तौंअघिको मासु बोरामा हालेर बजार पठाउने गरेको पाइएको छ ।

यस्ता गुणस्तरहीन मासु पार्टी प्यालेस, होटल, रेस्टुराँ, खाजाघरमा निर्वाध बिक्री हुने गरेको राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च नेपालका कार्यक्रम निर्देशक एवं अधिवक्ता हरिप्रसाद मैनाली बताउँछन् ।  ‘सरकारको फितलो नियमनका कारण व्यापारीले मनपरी गरिरहेका छन् । उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने बधशाला सञ्चालकमाथि कडा कारवाही हुनुपर्छ,’ उनले भने ।

केही समयअघि गरिएको एक गैरसरकारी अध्ययनमा काठमाडौं उपत्यकाका विभिन्न बधशाला तथा कोल्डिङ स्टोरबाट संकलित मासुको नमूना परीक्षण गर्दा ११ दशमलब ४ प्रतिशतमा साल्मोनेला जीवाणु र ८० प्रतिशतमा इकोलाई जिवाणु भेटिएको थियो । यस्तै सरकारबाटै भएको अध्ययनमा पनि मासुमा ४० दशमलब २ प्रतिशत साल्मोनेला जिवाणु भेटिएको थियो । साल्मोनेला, क्याम्पिmलोब्याक्टर काँचो मासुमा पाइने जिवाणु हो ।

यस्ता जिवाणु फुड प्वाइजनिङको मुख्य कारक तत्व मानिन्छ । यी जिवाणुले मान्छेको स्वास्थ्यमा प्रतिकुल असर पार्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार मानिसमा सर्ने रोगमध्ये ७५ प्रतिशतको कारकतत्व पशुपन्छी र तिनीहरुको मासु नै हुन्छन् ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. मोबलप्रसाद साह उपत्यकाका अधिकांश बधशाला मापदण्डविपरित सञ्चालन भइरहेको बताउँछन् ।

कर्मकाण्डी अनुगमन

शुक्रबारको अनुगमनमा कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिका प्रतिनिधि सहभागी थिए । तर टोलीका सदस्यहरुले ती बधशालाबाट कुहिएको मासुको नमूना थप परीक्षणका लागि लिएर आएनन् ।

त्यसैले त्यहाँ भेटिएको मासुमा कस्ता खालका जिवाणु थिए र कुन हदसम्म खराब भइसकेको थियो भन्ने खुल्न सकेको छैन । सरकारी निकायको टालटुले अनुगमन यसैबाट छर्लंग हुन्छ । यस्ता कर्मकाण्डी अनुगमनबाट व्यापारी सुधि्रने अपेक्षा राख्न सकिदैन, जसको मार उपभोक्ताले सहनु पर्छ ।

अब प्रदेशको कार्यक्षेत्र

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभाग यसको नियमक निकाय हो । नियमक निकायका अधिकारी बधशालाको अवस्था सन्तोषजनक नरहेको स्वीकार्छन् तर, कडाईमा ध्यान दिँदैनन् । अहिले त मुलुक संघीय ढाँचामा गएकाले बधशालाको विषय केन्द्र सरकारको हातमा नरहेको बताएर पन्छिन थालेका छन् उनीहरु । उपत्यकाका हकमा स्थानीय निकायले नियमनमा ध्यान नदिएकाले सजग गराइएको मन्त्रालयका सह प्रवक्ता डा. प्रदीप भट्टराईले बताए ।

उनका अनुसार स्थानीय स्वायत्त शासन ऐनले बधशाला निर्माण, मासु पसल दर्ता, मासुको गुणस्तर निर्धारण, अनुगमन तथा परीक्षण गर्ने जिम्मा स्थानीय निकायलाई दिएको छ । तर काठमाडौं र ललितपुर महानगरपालिकाको यसतर्फ ध्यान गएको देखिँदैन । मासुको प्रयोजनका लागि काठमाडौं भित्रिने पशुपंछीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । व्यापारीले आफू खुशी ल्याउँछन् वध गर्छन् र बजार पठाउँछन् ।

भट्टराईका अनुसार उपत्यकामा विक्री हुने राँगा, भैंसीको मासु बढी अस्वस्थकर पाइएको छ । यस्तै खसी बोकाको मासुमा मिसावटको समस्या रहेको उनी बताउँछन् । व्यवस्थित बधशाला निर्माण र मासुको स्वच्छता नियमन गर्न सरकारले सातै प्रदेशमा सशर्त अनुदानको व्यवस्था गरेको छ । यसका लागि २३ करोड निकासा भइसकेको भट्टराईले जानकारी दिए ।

एउटा प्रदेशमा कम्तिमा ७ वटा व्यवस्थित वधशाला निर्माण गर्नुपर्ने उनको भनाई छ । तर कानून र कार्यविधि नहुँदा प्रदेश र स्थानीय तहबाट यो काम अघि बढ्न सकेको छैन ।

के छ ऐनमा ?

पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ ले विभिन्न मापदण्ड तोकेको छ । यही ऐन अन्तर्गत पशु बधशाला र मासु जाँच नियमावली, २०५७ मा बधशालाको सञ्चालन र मासुको विक्रि वितरणबारे प्रष्ट मापदण्ड तोकिएको छ ।नियमावलीअनुसार बध गर्न ल्याइएका पशुको स्वास्थ्यपरीक्षण गर्नुअघि र स्वास्थ्य परीक्षण गरी वध गर्न योग्य पशु राख्ने छुट्टै स्थान हुनुपर्छ । यस्तै बिरामी पशु राख्ने अलग्गै स्थान हुनुपर्छ ।

बध गर्नुअघि पशुको स्वास्थ्यपरीक्षण गर्नका लागि आवश्यक ठाउँ हुनुपर्ने, वध गर्नुभन्दा अघि वेहोस बनाउने, वध गरेपछि रगत निथोर्ने,  ला काड्ने, खुइल्याउने, मासु सफा गर्ने तथा आन्द्रा भँुडी तह लगाउने र सफा गर्ने छुट्टै स्थान चाहिन्छ ।
पशु वध गरिसकेपछि मासु परीक्षण गर्ने र उपभोग गर्न अयोग्य मासु तह लगाउनुपर्छ । यस्तै आवश्यक मात्रामा चिसो तथा तातो पानीको व्यवस्था गरिएको, वध गर्न ल्याइएका पशु बाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी बधशाला निर्माण गर्नुपर्छ ।

पशु वधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रामा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था गरिएको हुनुपर्छ । नियमावली अनुसार भेडा, बाख्रा च्याङ्ग्राको एक ठाउँ, राँगो, भैंसीको अलग्गै र बंगुर र सुंगुरको अलग्गै वध गर्ने स्थान छुट्टाउनुपर्छ । यस्तै पंक्षीको हकमा पनि यी भन्दा अलग्गै स्थान हुनुपर्छ । रोग लागेर वा नलागेर कालगतिले मरेको भए पनि त्यस्ता पशुको मासु विक्रि गर्न नपाइने प्रावधान ऐनको दफा ११ मा उल्लेख छ ।

यस्तै छाला सहितको मासुको विक्रि गर्न नपाइने भनिएको छ । तर पंक्षी, सुंगुर, बंगुर, बँदेलको मासु र पशुको जात चिनाउन आवश्यक हिस्सा मासु वा पशुको टाउको वा खुट्टा छालासहित विक्रि गर्न भने पाइन्छ । ऐनमा फरक फरक पशुपंक्षीको मासु मिसावट गरेर बेच्न नपाइने उल्लेख छ । साथै एक जातको पशुको मासुलाई अर्को जातको भनेर विक्री बन्देज लगाइएको छ ।

मापदण्ड विपरित रहेका वधशाला, मासु पसल सञ्चालकमाथि दण्ड सजायको व्यवस्था पनि ऐनमा छ । मापदण्ड उल्लघंन गर्नेलाई कसुर अनुसार ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना तथा दुई देखि ३ महिनासम्म कैद वा दुवै सजाय हुन्छ । तर कडा सजायको व्यवस्था नहुँदा ऐन कार्यान्वयनमा व्यापारीहरु उदासिन रहँदै आएका छन् । सरकार पनि आक्कलझुक्कल अनुगमन गर्नेबाहेक ऐन कार्यान्वयनमा खासै गम्भिर भएको पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment