+
+

पूर्वडिआईजी गोविन्द निरौलालाई पनि छाड्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १८:३५

११ असोज, मोरङ । उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

१०  वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा अदालती बन्दोबस्तीको १७ नम्बर निवेदन दिएका निरौलाको १९ पटक पेसी सरेपछि बिहीबार बहस भएको थियो ।

बहसमा सरकारी वकिलको तर्फबाट सहन्यायधिवक्ता चिरन्जीबी पराजुली र जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता रमेश कोइराला, भानुभक्त निरौला र बिकास थापाले बहस गरेका थिए ।

उनले २९ चैत ०७४ मा अवकाश पाएका थिए । मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का बुबा नेत्रप्रसाद उप्रेतीको साथी समेत रहेका निरौलाले त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा रहँदा गोरे समूहलार्इ सुन तस्करीमा सघाएको दाबी गरिएको थियो ।

के थियो अारोप ? 

अनुसन्धान समितिको छानबिनका क्रममा उनले सुन तस्करी गर्ने गिरोहसँग निरन्तर सम्पर्क गरेको समेत खुलेको थियो ।

त्यसक्रममा समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको दाबी गरेको थियो । त्यहाँ सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम, भरियाको नाम र प्रहरीलार्इ बुझाइएको रकम समेत उल्लेख भएको जनाइएको थियो ।

त्यसमा तत्कालिन विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिअार्इजी) निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरक्षिक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरलार्इ पैसा दिएको लेखिएको थियो ।

त्यसरी तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’बाट लिएको खुलेको समितिले जनाएको थियो ।

यसअघि उच्च अदालतको अादेशले एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, एसपी विकासराज खनाल लगायतलार्इ पनि छाड्ने अादेश दिइसकेको छ ।

गोरे समूहले प्रहरी अधिकारीलार्इ बुझाएको रकमको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?