Comments Add Comment

प्रदेश २ मा  आज एकै दिन ५० हजार विरुवा रोपिदै

१२ असोज, जनकपुरधाम । प्रदेश २ मा शुक्रबार एकै दिन ५० हजार बिरुवा रोपिदै छ । बिरुवा रोप्नको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि मन्त्री, राज्यमन्त्रीहरु प्रदेश २ का विभिन्न जिल्लामा पुगेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले गृहजिल्ला पर्साको पर्सागढी गाउँपालिकाको सबैया वनमा वृक्षारोपण गरेर हरित प्रदेश अभियानको शुभारम्भ गरेका छन् ।

शुक्रबार बिहान अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको डीपीआर तयार गरेर अघि बढनुपर्नेमा जोड दिएका छन् । ‘विमानस्थल निर्माणमा लगानीको टुंगो लागिसकेको छैन’, उनले भने, ‘यस्तो अवस्थामा लाखौ रुख काट्नु हुँदैन । प्रदेश सरकार विकासविरोधी छैन ।’

लाखौं रुख काटेपछि प्रदेशमा पर्यावरणीय संकट उत्पन्न हुने बताउँदै मुख्यमन्त्री राउतले यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए ।

त्यस्तै आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव धनुषाधामस्थित संरक्षित वनमा वृक्षारोपण गरेका छन् ।

अन्य मन्त्री तथा कर्मचारीसमेत प्रदेश २ का विभिन्न जिल्ला पुगेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । वृक्षारोपणमा सहभागी हुन सरकारले सर्वसाधारणलाई समेत आग्रह गरेको छ ।

वृक्षरोपणका लागि ८ वटै जिल्लामा कर्मचारी समेत खटाइएको छ । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रत्येक जिल्ला १-१ जना कर्मचारी खटाइएको हो ।

प्रदेश २ को मन्त्री परिषदको ८ गते बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्न असोज १२ गते एकै दिन प्रदेश भरिमा ५० हजार विरुवा रोप्ने निर्णय गरेको थियो ।  प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रमअनुसार हरित प्रदेश योजना कार्यान्वयनमा ल्याउन प्रदेशमा बिरुवा रोप्ने निर्णय गरेको हो ।

योसँगै हरित प्रदेश योजना कार्यक्रम अघि बढ्ने भएको छ ।  स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो ।  हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment