Comments Add Comment

चिनीको मूल्यमा मनपरीः कतै ५९, कतै ९० !

१४ असोज, काठमाडौं । ठूला चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्यमा मनपरी हुन थालेको छ । सरकारले चिनी आयातमा कोटा तोकेलगत्तै कालोबजारी सुरु भएको छ ।

एक किलो चिनीको मूल्य कतै ५९ रुपैयाँ छ भने कतै ९० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ । अझ अनौठो त सरकारले दशैंतिहारलाई लक्षित गरी सञ्चालनमा ल्याएको सुपथ मुल्य पसलमा पनि चिनी बजारमा भन्दा महंगो पर्न थालेको छ ।

सपिङ कम्प्लेक्स भाटभटेनीले सोमबार ५९ रुपैयाँ प्रतिकिलोमा चिनी बेचिरहेको थियो । ईसेवा पसलले ८ प्रतिशत छुट भन्दै चिनी ६९ रुपैयाँ प्रतिकिलोमा बेचेको पाइयो । बजारका खुद्रा विक्रेताहरु कहाँ भने मनलाग्दी मूल्य छ । कतै किलोको ७५ रुपैयाँ छ भने कतै ८० देखि ९० रुपैयाँमा बेचेको पाइन्छ ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्रचार्यका अनुसार मुख्य बजार क्षेत्रमा ७५ रुपैयाँमा बिक्री भइरहेको छ भने भित्री शहर र ग्रामिण क्षेत्रमा ९० रुपैयाँ पुगिसकेको छ ।

चाडपर्वका अवसर पारेर १२ गतेदेखि सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसलमा दुई दिन चिनी प्रतिकिलो ७० रुपैयाँमा बिक्री गरिएको थियो । यो चिनी साल्ट ट्रेडिङले दुई वर्षअघि ८० रुपैयाँ प्रतिकिलो किनेको हो ।

तर, घाटै खाएर बेच्दा पनि भाटभटेनीको भन्दा महंगो हुन आयो सुपथ मूल्य पसलमा चिनी । सुपथ पसलमा चिनी ‘सुपथ’ नभएको गुनासो बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ठाडो निर्देशनमा साल्ट्र ट्रेडिङले चिनीको बिक्री रोकेको छ । अर्को निर्देशन नआएसम्म बिक्री सुरु नगर्ने साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रवन्धक एवं प्रवक्ता कुमार राजभण्डारीले बताए ।

चाडपर्वका बेला व्यापारीले कालोबजारी गर्ने भएकाले अब चिनीको मूल्य झन् आकासिने अनुमान छ ।

दशैं, तिहार, छठमा कडाई गर्न खोज्दा व्यापारीले कृत्रिम अभाव सृजना गर्ने डरले सरकार चुपचाप बस्नु पर्ने अवस्था आएको वाणिज्य विभागकै एक अधिकारी बताउँछन् । ‘बजारको मूल्य तोक्न सक्ने अवस्था छैन, व्यापारीमाथि कडाई गर्न खोज्दा चाडबाडका बेला झन् उपभोक्तालाई समस्या पर्न सक्छ, हामीले त वितरण सहज बनाइदिनुपर्‍यो’ ती अधिकारीले भने ।

परिमाणात्मक बन्देजको असर

आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ३० भदौमा सरकारले चिनीको आयातमा परिमाणात्मक बन्देज लगायो । सरकारले एक लाख मेट्रिक टनको कोटा तोक्यो ।

उद्योगीको हितमा निर्णय लिएको सरकारले सरकारले उपभोक्ताको बारेमा भने सोचेन । तोकिएको कोटा बराबरको चिनी आयात भइसकेको व्यापारी बताउँछन् ।

आयात रोकिएसँगै नेपाली बजारमा चिनीको मूल्य ठाउँ पिच्छे फरकफरक पर्न थालेको छ । अनियन्त्रित बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा सरकारले आफैंले खोलेको चाडपर्व लक्षित सुपथ मूल्यको पसलमा समेत चिनीको विक्री रोक्नु परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन बजारभन्दा केही सहुलियत दिन नसक्ने अवस्थाका कारण सुपथ मूल्यको पसलबाट चिनीको बिक्री रोक्नुपरेको बताउँछन् ।

नेपालमै उत्पादित चिनी आयातितभन्दा केही महंगो छ । तर, सस्तोमा विदेशबाट आयात गरिएको चिनी पनि व्यापारीले महंगोमा बेच्न थालेका छन् ।

सीमावर्ती भारतीय बजारमा अहिलेे चिनी ५२ (नेरु) रुपैयाँ प्रतिकिलोमा पाइन्छ । नेपालमै उत्पादित चिनीको मूल्य भने ७० देखि ७५ रुपैयाँ हाराहारीमा छ । नेपाली बजारमा महंगो भएकाले चोरी पैठारी गरेर झन् कालोबजारी हुने खतरा बढेको छ ।

बजारलाई खुला रुपमा नछाड्दा सरकार अब चिनी उद्योगीकै इसारामा चल्नुपर्ने अवस्था आएको उपभोक्ता हित संरक्षण मञ्च-नेपालका अध्यक्ष एवं अधिवक्ता ज्योति बानियाँ बताउँछन् । ‘धेरै चिनी उद्योग सीमा नाकाको १० किलोमीटर आसपास छन्, ती उद्योगले नेपालमै चिनी उत्पादन गर्नुको सट्टा भारतबाट सस्तोमा ल्याएर महंगोमा बेच्नेछन्’ बानियाँले अनलाइनखबरसँग भने ।

चिनी उद्योगीले सरकारसँगकै साँठगाठँमा यस्तो अवस्था सिर्जना गरेको उनको दाबी छ । ‘मन्त्री को हो, व्यापारी को हो छुट्याउन सक्ने अवस्था छैन’ बनियाँले भने ।

अहिले स्वदेशी चिनी उद्योगले सरकारलाई मूल्य अभिवृद्धि करबाहेक साढे ५७ रुपैयाँ प्रतिकिलोमा दिन सकिने भनेका छन् । तर त्यसमा कर, ढुवानी खर्च जोडेर स्वदेशी चिनी प्रतिकिलो ७५ रुपैयाँमाथि पर्न जाने साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रवन्धक राजभण्डारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment