१८ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा टोटनहृयामलाई हराएपछि बार्सिलोनाका मिडफिल्डर इभान र्याकिटिकले लियोनल मेस्सीको खेलको तारिफ गरेका छन् ।
‘मेस्सीको लय अहिले झनै राम्रो भएको छ । सबै खेलाडीलाई सम्मान गर्दै के भन्छु भने जसले बालोन डिओर जितेको छ उसलाई पनि थाहा छ मेस्सी जस्तो अरु छैनन्’ र्याकिटिकले भने, ‘लुका मोडरिकले पनि निकै राम्रो खेलेका हुन् । यो सिजन पनि उनले राम्रो गर्ने छन् । मानिसहरुले परिवर्तन पनि चाहने हुँदा नयाँ नतिजा आएको भन्ने लाग्छ ।’
क्रिष्टियानो रोनाल्डो र मेस्सीको दबदबा तोडेर रियल मडि्रडका मोडरिकले बालोन डिओर जितेका थिए । जसमा विश्वकपको फाइनलसम्म लैजान उनले देखाएको खेल पनि महत्वपूर्ण थियो । विश्वकपमा मोडरिकसँगै रहेका र्याकिटिकले राम्रा खेलाडी धेरै हुने भए पनि मेस्सी जस्तो अरु नभएको बताएका हुन् ।
च्याम्पियन्स लिगका केही खेललाई हेरेर उत्कृष्ट टिम कुन हो भन्ने अनुमान गर्न हतार हुने भए पनि उत्कृष्ट खेलाडी देखिन थालेको छ । गोल गर्ने र गोलको अवसर सिर्जना गर्नेसँगै पूरा खेलमा मिलाउने भूमिका मेस्सीले उत्कृष्ट रुपमा निभाइरहेका छन् ।
बुधबार राति टोटनहृयामलाई हराउँदा दुई गोल गरेका मेस्सीले यो सिजन च्याम्पियन्स लिगका दुई खेलमा पाँच गोल गरिसकेका छन् ।
प्रतिक्रिया 4