Comments Add Comment

नाकाबन्दी पचाएका पूर्वराजदूत भन्छन्- भारतले शंख बजाएन

२२ असोज, काठमाडौं । ०७२ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा नयाँदिल्लीमा राजदूत थिए, दीपकुमार उपाध्याय लामिछाने । नाकाबन्दीको चर्कोमा मारमा परेका जनताले त्यसबेला नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको भनेर उपाध्यायको पनि आलोचना गरे ।

जनताको आलोचनालाई स्वाभाविक रुपमा लिएको बताउने उपाध्याय भारतले नेपालमाथि अनपेक्षित नाकाबन्दी लगाएको बताउँछन् । उनी भन्छन्, ‘भारतीय जनता पार्टी शंख बजाएर लडाइँ शुरु गर्ने र अन्त्य गर्दा पनि शंख बजाउने दर्शन मान्यता बोकेको पार्टी हो । तर, नेपालमाथि भने शंख नफुकी नाकाबन्दी लगायो र हटाउँदा पनि शंख बजाउन सकेन ।’

कपिलवस्तुलाई आधार क्षेत्र बनाएर राजनीति गरिरहेका उपाध्याय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र अर्थ राज्यमन्त्री पनि भए । कुनैबेला चार मौजा जमीनका मालिक उपाध्यायको घरमा जनयुद्धका बेला माओवादीले बम ब्लास्ट मात्रै गरेनन्, ६ वर्ष घरजग्गा पनि कब्जामा लिए ।

तीनपटक सांसद निर्वाचित उपाध्याय ०७४ को निर्वाचनमा नेकपाका चक्रपाणि खनालसँग पराजित भए । कांग्रेसको हारमा तत्कालीन एमाले र माओवादी केन्द्रको एकता भन्दा पनि कांग्रेसको आन्तरिक किचलोलाई प्रमुख कारण मान्छन् । नेतृत्व तहमा नैतिकता र इमान खस्किँदा जनतामा वितृष्णा छाएको उनको बुझाइ छ ।

प्रस्तुत छ, उपाध्यायसँग अनलाइनखबरले गरेको वार्तालापको सम्पादित अंशः

वीपीको प्रेरणाले कांग्रेसमा लागेँ

हाम्रो पुर्ख्याैली गोरखाको तान्द्राङ हो । बुबा न्याय सेवामा हुनुहुन्थ्यो । त्यतिबेला न्यायाधीशलाई लप्टन भनिन्थ्यो । मेरा बुबा पनि लप्टन हुनुहुन्थ्यो ।

मेरो जन्म २००७ सालमा महोत्तरीको जलेश्वरमा भयो । त्रिभुवन विश्वविद्यालयबाट मानविकीमा स्नातक गरें । कोलम्बो प्लानको छात्रवृत्ति पाएर पढ्न गएँ । तर, विविध कारणले पढाइ पूरा नगरी नेपाल फर्किएँ ।

०२८ सालबाट समाज सेवामा लागें । हाम्रो रुपन्देही र कपिलवस्तुमा गरी चारवटा गाउँमा जग्गा जमीन थियो । हामी ८ दिदीबहिनी, दुई दाजुभाइ छौं ।

वीपी कोइरालासँग पहिलोपटक चाबहिलमा भेट भयो । त्यतिबेला वीपीलाई भेट्न अहिलेका नेतालाई भेट्न जस्तो गाह्रो थिएन । बिहान ९ बजेतिर जोकोहीले चाबहिल गएर उहाँसँग भेट गर्न सकिन्थ्यो ।

वीपीलाई भेटेपछि ०३७ सालमा पार्टीको सदस्यता लिएँ । वीपीको बहुआयामिक व्यक्तित्व र दुरदर्शिताबाट प्रभावित भएर बहुदलको पक्षमा लागेँ ।

उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सरल व्याख्या गर्नुहुन्थ्यो । उग्र मान्छे पनि वीपीको व्याख्याबाट कन्भिन्स हुन्थ्यो । राजालाई झुण्ड्याउनुपर्छ भन्नेलाई जे गर्नुछ देशभित्रै गर । तर, आफ्नो बलबुँताले गर, विदेशको सहयोग नलेऊ भन्नुहुन्थ्यो ।

राष्ट्रियताका सन्दर्भमा राजाको पनि भूमिका छ । तर, प्रजातन्त्रको विषयमा अलिकति पनि सम्झौता गर्न सकिँदैन भन्ने मान्यता थियो । वीपीको यस्तै-यस्तै प्रेरणाले गर्दा म कांग्रेस भएँ । हजुरबुबा, वा बुबा कांग्रेस भएर पार्टीमा लागेको पुस्तौनी कांग्रेस होइन म ।

दुई वर्ष प्रधानपञ्च, चार वर्ष जिल्ला पञ्चायत सदस्य भएर काम गरें । ०३६ सालको जनमत संग्रहका बेला राजीनामा दिएर बहुदलको पक्षमा लागेको हुँ ।

भूपि शेरचनका बुबाले भनेर किनेको मौजा

पञ्चायतको चुनाव बहिस्कार गरे पनि त्यसलाई उपयोग गर्ने कांग्रेसको रणनीति अन्तर्गत अर्जुननरसिंह केसी, म लगायतले राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिएका थियौं । ०३८ र ०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदारी दिएँ । दुबैपटक ३२ हजार मत पाए पनि तेस्रो स्थानमा आएँ । निर्वाचित हुन पहिलो वा दोस्रो स्थानमा आउन सक्नुपर्दथ्यो ।

त्यतिबेलाको निर्वाचन अहिलेको भन्दा गाह्रो थियो । अहिले जस्तो टिकट पाएपछि पार्टीले प्रचार-प्रसार गर्ने अवस्था थिएन । पुरै निर्वाचन क्षेत्रमा एक्लै खट्नुपथ्र्यो । अर्कोतिर राज्यसंयन्त्र हाम्रो विरुद्ध हुन्थ्यो ।

भूपि शेरचनका बुबा हितमान शेरचन मेरा बुबाका साथी हुनुहुन्थ्यो । त्यो बेलामा तराईको जमीन लिलामीको भाउमा पाइन्थ्यो । भूपिका बुबाले छोरानातिलाई काम लाग्छ भनेर रुपन्देही र कपिलवस्तुमा जग्गा लिन लगाउनुभएछ । रुपन्देहीमा चार र कपिलवस्तुमा तीन मौजा लिनुभएछ । म २०२१ सालको सम्पत्ति विवरण सम्झिँदा आफै छक्क पर्छु । १८० विगाहा जति थियो । अहिले ८/ १० विगाहाजति होला ।

मन्त्री बन्नु सबैभन्दा नकाम

०४६ सालको राजनीतिक परिवर्तनपछि अर्थराज्यमन्त्री र नागरिक तथा पयर्टन उडड्यन मन्त्री भएर काम गरेँ । त्यतिबेलाको अनुभव के छ भने कर्मचारीको नियुक्तिमा पैसा लेनदेनको कुरा हुँदैनथ्यो । तर, अहिले यो विकृति जनताले थाहा पाउने गरी नै आइसकेको छ । अहिले त टेन्डर नै हुने गरेको सुनिन्छ । मुहान नै धमिलो भएपछि पानी सफा कहाँबाट आउँथ्यो ।

त्यतिबेलाको अर्को अनुभव के रह्यो भने कार्यकर्ता पैसा माग्नकै लागि घरमा आउँथे । मन्त्री भएपछि कार्यकर्ता पैसा माग्न आउँथे ।

मन्त्री नहुँदासम्म मेरो चुनावमा हिँड्नेहरू आफ्नै खाएर हिँड्थे । माछा, मासु, रक्सी सबै बन्द हुन्थ्यो । अहिले पनि चलाउँदिन । तर प्रचारमा हिँड्ने कार्यकर्ताले पनि पैसाको आश गर्दा रहेछन् । त्यसपछि मलाई मन्त्री हुने काम सबैभन्दा नालायक रहेछ जस्तो लाग्यो ।

आफ्नै जग्गा फुकुवा नगर्नुस् भने

जनयुद्धकालमा मेरो घरमा दुईचोटि बम ब्लास्ट भयो । ब्यक्तिगत रुपमा राम्रो मान्छे हुँदाहुँदै पनि तपाई शेरबहादुर देउवाको मन्त्री भएकाले हामीले कारवाही गरेका हौं भन्थे । हुन पनि त्यो ‘माओवादीको टाउको काटेर ल्याउ, त्यही झोलामा पैसा लिएर जाउ’ भन्नेबेलाको कुरा हो ।

मेरो घरजग्गा ६ वर्ष माओवादीको कब्जामा पर्‍यो । माओवादीले झण्डा गाडेपछि केही गर्न सक्ने अवस्था थिएन । एक/दुई पटक ट्याक्टर लगाएर जोते पनि । मजाकमा मैले सकेदेखि माटो पनि उठाएर लैजानुस् भन्थें ।

एक दिन पम्फा भुसालले फोन गरेर दाइ तपाईको जग्गा आफैं कमाउनुस् भनिन् । झण्डा पनि गाडियो । जग्गा कब्जा पनि गरियो । तर, खेत जोत्न कोही नमान्दो रहेछ भनेर फोन गरिन् ।

गाउँलेले नचाहेपछि कब्जा गरेर मात्रै हुँदो रहेनछ । जेहोस् दाइले गाउँ मिलाएर राख्नुभएको रहेछ भनिन् । पछि थाहा भयो, उनकै इञ्चार्जसीपमा त्यो घटना भएको रहेछ ।

चारवर्षपछि नै तपाईको जग्गा फुक्का भयो भन्नुभएको थियो । तर, म राजनीतिक मान्छे भएको हुनाले जिल्लामा सबैको फुकुवा भएपछि मात्रै मेरो फनि फुकुवा गर्नुहोस् भनें ।

जनयुद्धकै बेला गोरखामा एउटा शालिक उदघाटन गर्न जाने कार्यक्रम थियो । मन्त्रीको हैसियतमा जाने तयारीमा गरिरहेका बेला अपरिचित नम्बरबाट फोन आयो ।

तपाई कुनै हालतमा गोरखा नजानु भनिएको थियो । मैले तपाई को हो भन्दा उनले परिचय दिएनन् । यतिमात्रै भने तपाईमाथि कारवाही हुन सक्छ, कारवाही भयो भने मलाई पनि राम्रो लाग्दैन भनेका थिए ।

पछि थाहा भयो उनी लामिछाने थरका माओवादी कार्यकर्ता रहेछन् । मलाई लामिछाने भएकाले नजान सुझाव दिएका रहेछन् ।

भारतले शंख बजाएन

०७२ को विनाशकारी भूकम्प र भारतको नाकाबन्दीका बेला नयाँ दिल्लीमा राजदूत भएर बसे । कांग्रेस सभापति सुशील कोइराला र तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले भारतसँग राजनीतिक तहमा सम्बन्ध स्थापित गर्न राजनीतिक नेतृत्वबाटै राजदूत बनाउने कुरा भएपछि मैले त्यो अवसर पाएको थिएँ ।

दिल्ली बसाई नराम्रो थिएन । यहाँ भेट नहुने नेताहरूसँग पनि त्यहाँ भेटघाट हुन्थ्यो । दिल्लीमा बस्दा सबै नेतासँग भेट हुन्थ्यो ।

अर्धभूमिगत अवस्थामा रहनु भएका मोहनविक्रम सिंह पनि आफै फोन गरेर दुतावासमा आउनुभयो । गाडी कहाँ पठाउँ भनेको, उहाँले ओहो त्यस्तो गर्नुपर्दैन, म अर्धभूमिगत मान्छे, आफैं आउँछु भन्नुभयो । सत्तारुढ दलका मात्रै होइन आन्दोलनमा रहेका मधेसवादी दलका नेताहरू पनि भेट्न दूताबास आउनुहुन्थ्यो ।
तर, मेरै कार्यकालमा अकल्पनीय घटना भए ।

भारतीय जनता पार्टीले आफूलाई हिन्दु दर्शनमा आधारित पार्टी भन्छ । पूर्वीय दर्शन र हिन्दुत्वलाई मूल मन्त्र ठान्छौं पनि भन्छ । जुन दर्शनले लडाई हुँदा पनि बिहान शंख बजाएर लडाइँ शुरु गर्ने भन्ने मान्यता राख्छ । लडाई अन्त्य गर्दा पनि शंख बजाउने गरिन्छ । तर, नेपालमाथि नाकाबन्दी गर्दा उसले शंख बजाएन । नाकाबन्दी अन्त्यको घोषणा पनि गर्न सकेन ।

नाकाबन्दी शुरु भएको पनि भन्दैन, तर जनताले दुःख पाइरहेका छन् । हामीले नाकाबन्दी गरेको होइन भन्थे । तिमीहरूकै मधेसकाले सामान जान नदिएको हो भन्थे । वीरगञ्ज नाका त छेक्यो होला, तर भैरहवाबाट किन सामान पठाएन भन्दा जवाफ दिँदैनथे ।

त्योबेला मलाई एक्लै लड्नु परेजस्तो लाग्यो । सामाजिक सञ्जालमा जनताले मेरो विरुद्धमा पनि विभिन्न स्टाटस लेख्थे । दुःख पाएका जनता त्यसरी आक्रोशित हुनु अस्वाभाविक पनि थिएन ।

म कुटनीतिमा प्रारम्भिक चरणमै थिएँ । कूटनीतिमा के हुँदो रहेछ भने सम्बन्ध जति तीतो भए पनि मिठै शब्दको प्रयोग हुने रहेछ । भारतले नै हामीलाई नाकाबन्दी गछौैर्ं भनेन, तर दुःख दिइरह्यो ।

सामाजिक सञ्जालमा आएकै भाषा मैले भारतीय अधिकारीसँग प्रयोग गर्न सक्दिनथें । छलफलकै क्रममा एक तिहाई सामान चीनबाट आउने भन्ने समाचार आयो । भारतीय ब्यूरोक्रेसीले तिमीहरूलाई चीनले दिने भयो भने हामीबाट किन चाहियो भनेर प्रश्न गरे ।

वास्तवमा त्योबेला मेरा लागि पनि वडा गाह्रो थियो । अहिले भारत र चीन दुबै नेपालमा स्थिरता र शान्ति चाहन्छन् । त्यो हाम्रा लागि भन्दा पनि उनीहरूकै लागि चाहिने हो । हामीकहाँ अशान्ति हुँदा त्यसको असर दुबै देशमा पर्छ भन्ने उनीहरूले बुझेका छन् ।

भारतको परराष्ट्र नीति बि्रटिशका पालाबाट व्यवस्थित भएको देखिन्छ । उनीहरूको प्रत्येक मन्त्रालयमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि हुन्छ । हामीले पनि त्यता ध्यान दिनुपर्दछ ।

परराष्ट्रको अनुमतिविना विदेशी निकायका प्रतिनिधिलाई भेट्नुहुँदैन भन्ने आधारभूत मान्यतालाई पनि हामीले आत्मसात गर्न सकेका छैनौं । हाम्रो परराष्ट्र नीति पुनर्परिभाषित हुनु पर्दछ । हाम्रो कुटनीतिक कला, कौशल र चातुर्यता आवश्यक छ ।

हाम्रो ‘वान टु वान वार्ता’ समस्याको रुपमा रहेको छ । वान टु वान वार्तामा भएका कुरा नेताहरूले पार्टीलाई वा सम्बन्धित मन्त्रालयमा बि्रफ गर्ने गरिँदैन । भारत वा अन्य देशमा यस्तो हुँदैन । नोट टेकर राखेर टिपिन्छ । आफ्नो देशमा क-कसलाई जानकारी गराउनुपर्ने हो, गराइन्छ । तर, हाम्रोमा त्यस्तो चलन छैन । पार्टीमा वा आफु आवद्ध निकायमा सुनाउँदा सानो भइएला कि जस्तो सोचिन्छ, जुन गलत हो ।

हामीले गुमाएको नैतिक धरातल

हाम्रो अर्को समस्या इमान, मूल्य मान्यताको खडेरी हो । विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता नेताहरूको जुन तहको सम्मान थियो आज त्यो विस्तारै हराउँदै गएको छ ।

उच्च सरकारी ओहदामा नबसेका नेतालाई पनि जनताले सम्मान गर्थे । जस्तो- कुनै लाभको पदमा नबसे पनि पुष्पलाललाई अहिले पनि उति नै आदरका साथ हेरिन्छ ।

त्यस्तै गणेशमान सिंह बोलेपछि वा एउटा लौरो उठाएपछि जनता तरंगित हुन्थे । देशविदेशमा चर्चा हुन्थ्यो ।

नैतिक धरातल गुमाउँदै जाँदा नेताहरूप्रतिको सम्मान र विश्वास घट्दै गएको जस्तो लाग्छ । जब कि धेरैजना व्यक्तिहरू पैतृक सम्पत्ति बेेचेर पनि राजनीतिमा लागेका छन् ।

नेताहरूकै अकर्मण्यताका कारण युवाहरू देशमा केही हुँदैन भनेर विदेशिन बाध्य छन् । युवा पुस्ता देशबाट निरास हुनु भनेको डरलाग्दो अवस्था हो ।

हिजोको परिस्थिति के थियो भने दास बनाएर साङ्लोमा बाँधेर काममा लगिन्थ्यो । अहिले साङ्लो मात्रै फेरिएको छ तर अवस्था उस्तै छ । मानसिक साङ्लोले बाँधेर लगिन्छ ।

देशका लागि काम गर्नुपर्ने सबैभन्दा उर्जावान युवाहरू विदेशिएका छन् । त्यहाँ जाने मध्ये पनि पाँच प्रतिशतले मात्रै राम्रो काम पाउँछन् ।

कांग्रेसको शत्रु कांग्रेस नै

गत वर्षको निर्वाचनमा कांग्रेसले अरु पार्टीलाई विभिन्न स्थानमा सिट छोड्यो । उनीहरूले जिते पनि तर, आफूले केही लाभ लिन सकेन ।

दुई पार्टी मिलेपछि हारियो भन्ने तर्क पनि सुनिन्छ । यो तर्कसँग म सहमत छैन । किनभने, दुई पार्टी मिल्दा हारियो भन्नु नै लाजमर्दो कुरा हो । एमाले र माओवादी मिल्दा अरु पार्टी के हेरेर बसेको थियो ।

वामपन्थीहरू नारामुखी हुन्छन् । केपी कामरेडको त मान्छेलाई कन्भिन्स गर्नेमा विद्यावारिधि नै छ ।

राजदूत छाडेर फेरि राजनीतिमा आयो भनेर कतिपय पार्टीकै साथीहरूले मलाई सहयोग गरेनन् । म पनि जित्छु भनेर ढुक्कै भएर बसें ।

तर, कांग्रेसको दुर्दशाका बेलामा मैले जिते पनि एक सिट बढ्ने थियो । तर, त्योभन्दा बढी केही हुने थिएन । मेरो क्षेत्रबाट निर्वाचित चक्रपाणि खनालजी कृषि मन्त्री हुनुहुन्छ ।

म सत्तरी वर्ष पुग्न लागें । पार्टीमा युवा पुस्ता पनि आउनु जरुरी छ ।

मलाई पदको परिचय आवश्यक छैन । नाम भनेपछि सबैले चिन्छन् । भारतमा राजदुत भएको, मन्त्रालय पनि सम्हालिसकेको हुनाले मलाई पदको लोभ पनि छैन ।

कांग्रेस पुरानो पार्टी । यसमा जेनेरेसन ग्याप छ । हिजो जेल बसेको, संघर्ष गरेको, स्वतन्त्र आन्दोलनमा लागेको व्यक्ति पनि कांग्रेसको सदस्य बन्न भोट माग्ने जाने त ? उसको हृदयमा कति पीडा होला ? कांग्रेसको बैठक हुन्छ, उसलाई कसैले वास्तै गर्दैन, कति पीडा हुन्छ ?

यस्तै, आर्थिक पारदर्शिताको कुरा छ । मूल्यांकनका कुरामा पनि विचार पुर्‍याउनुपर्छ । जेहोस् पार्टीलाई समसामेक्ष बनाउँदै वैज्ञानिक दृष्टिकोणले अगाडि बढाउन सक्ने किसिमको विधानको खाँचो छ । अहिलेकै मठाधीशले निरन्तरता पाउने गरी विधान संशोधन गर्नुको अर्थ छैन ।

यो सरकारले शालीन, जिम्मेवार प्रतिपक्ष पाएको छ । प्राविधिक रुपमा सरकारले स्थिरता पाउने पक्का छ ।

प्रधानमन्त्रीले अमेरिका भ्रमणको अवसरमा लुम्बिनीको प्रसँग उठाउनु भएको भए राम्रो हुन्थ्यो । संयुक्त राष्ट्र संघमा लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समिति छ । त्यो कहिले सुत्छ, कहिले जाग्छ । प्रधानमन्त्री जानुभएको बेलामा जाग्छ जस्तो लागेको थियो भ्रमणको अजेण्डामै परेन । प्रधानमन्त्री ज्यूको ध्यान त्यसमा किन पुगेन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment