Comments Add Comment

असफलताले बच्चालाई कसरी फाइदा पुग्छ ? अभिभावकले जान्नैपर्ने कुरा

हामी सबै आफ्नो जीवनमा प्रगति गर्न चाहन्छौं । आफ्नो उन्नतीको अपेक्षा गर्छौं । त्यही कारण हामी सबैले कडा परिश्रम गर्नुपर्छ, मेहनत गर्नुपर्छ ।

तर, हामी जहिले पनि असफलताबाट भयभित हुन्छौं । आफ्नो काममा प्रगति नहोला कि भन्ने भयले चिन्तित रहन्छौं । यस्तै डर भरेर हामीले आफ्ना बच्चालाई रेसको घोडा बनाइदिएका छौं । हामी चाहन्छौं, उनीहरुले परीक्षामा धेरैभन्दा धेरै अंक हासिल गरुन् । सर्वोत्कृष्ट नतिजा हासिल गरुन् । सबैभन्दा अगाडि होउन् ।

यसरी हामी बच्चामाथि आफ्नो अपेक्षा लाद्छौं । जब बच्चाले अपेक्षाकृत नतिजा हासिल गर्दैन, तब हामी भित्र-भित्रै खुम्चन पुग्छौं । अर्थात हाम्रो मनमा असन्तोषभाव पैदा हुन्छ ।

तर, मनोविज्ञहरुको राय फरक छ । अर्थात जब बच्चा फेल वा असफल हुन्छन् । त्यसमा अभिभावकले चिन्ता गर्नुपर्ने आवश्यक छैन । त्यो कुनै चिन्ताको विषय होइन । मनोविज्ञहरु भन्छन्, ‘असफलता तपाईंको बच्चाको करियरका निम्ति नराम्रो होइन । किनभने कुनै सिक्ने वा जान्ने प्रक्रियाको सुरुवाती चरण नै असफलता हो ।’

यहाँ जिन्दगीमा दबाव बढिरहेको छ । हामीले धेरै सुविधाभोगी भएका छौं र निरन्तर त्यस्तै सेवा-सुविधा भोग गर्न चाहन्छौं । मनोविज्ञ भन्छन्, ‘यो एक मनोवैज्ञानिक समस्याको रुपमा प्रकट भएर सामुन्ने आइरहेको छ कि मानिस जीवनदेखि भयभित छन् । सुविधा कटौती होलान्, सुविधा भोग गर्न नपाइएला, आफ्ना बच्चा पछाडि पर्लान् भन्ने भयले हरेक अभिभावकलाई भयभित तुल्याएको छ ।’

मनोविज्ञका अनुसार अभिभावकले आफ्नो डर बच्चामाथि थोपर्ने गर्छन् । यस्तो अवस्थामा बच्चा असफल हुनु अभिभावकको लागि एउटा दुर्घटना जस्तै अप्रत्यासित दुख हुनपुग्छ ।

साना, कलिला र अबोध बच्चालाई थाहा हुँदैन कि, उसले कसरी आफ्ना आमाबुबासँग कसरी सम्झौता गर्ने ? त्यही कारण बालबालिकाहरु निराशाको शिकार हुनपुग्छन् ।

असफलताले सही दिशा देखाउँछ

मनोविज्ञ भन्छन्, ‘बच्चा एक नाजुक बुट्यान वा बिरुवा जस्तै हो । उनीहरुलाई धेरै रेखदेखको आवश्यक्ता हुन्छ । यस्तो अवस्थामा उनीहरुमाथि दबाव दिनु अत्याचार हो ।’

अक्सर अभिभावकले बच्चालाई बच्चाकै प्रकृति र प्रवृत्ति अनुसार रेखदेख, स्यहारसुसार गर्ने भन्दा पनि आफ्नो इच्छा बमोजिम हिँडाउने प्रयास गर्छन् । अभिभावकको यही व्यवहार एउटा अवोध बच्चाका लागि भारी बन्छ ।

मनोविज्ञ भन्छन्, ‘बच्चाको रुची अनुरुप करियर होइन, बरु करियरको हिसाबले उसको रुची विकास गर्ने कोसिस गरिन्छ ।’ यही गल्तीले बच्चाहरु आफ्नो रुचीबाट भड्किन्छन् ।’

कुनै बच्चालाई पेन्टिङमा रुची हुन्छ, तर कसैको प्रभावमा परेर उनीहरु विज्ञान विषय पढ्न थाल्छन् । यस्तो अवस्थामा ऊ असफल भएकै राम्रो हो । किनभने उसले दोस्रो पटक पेन्टिङको कोर्स गर्न थाल्छन् । अर्थात आफ्नो रुची अनुसार सही दिशामा आउँछन् ।

मनोविदहरु त के भन्छन् भने, ‘जहाँ पुगेर बच्चा असफल हुनुपर्ने हो, यदी त्यसो भएन भने उनीहरुको भविष्य अन्धकारमय हुनेछ ।’

तपाईं आफै हेर्नुहोस् न, हाम्रो देशमा डिग्रीधारी कति छन् ? लाखौं होला । स्नातकोत्तर वा पिएचडीको प्रमाणत्र काखीमा च्यापेर जागिर खोज्दै हिँड्नेहरु कति होलान् ? लाखौं छन् ।

यसको सोझो मतलब के हो भने, उनीहरुले खराखर पढे । पास गरे । बुबाआमा, आफन्तको नजरमा ‘ज्ञानी, राम्रो’ भए । पढ्दै गए, पास गर्दै गए । प्रमाणत्र पाए । त्यसपछि ?

त्यसपछि उनीहरु रोकिए । यसबीचमा उनीहरुले प्रमाणपत्र हासिल गर्नेभन्दा अरु कुनै काम गरेनन् । उच्च अंक ल्याउने, सर्वोत्कृष्ट हुने र प्रमाणपत्र हासिल गर्ने चक्करमा उनीहरुले आफ्नो रुची क्षेत्रमा प्रगति गर्न पाउँदैनन् । यसले उनीहरुमा क्षमता विकास हुँदैन । सीप विकास हुँदैन । बरु पढेको छु, जानेको छु भन्ने दम्भ पैदा हुन्छ । अहंकार पैदा हुन्छ । सिक्ने वा जान्ने उत्सुकता हराउँछ । यसले गर्दा उनीहरु बेकामे हुनुपग्छन् । केही गर्नै नसक्ने अवस्थामा पुग्छन् ।

संसारमा हेर्नुहोस्, प्रमाणपत्रधारी भन्दा विद्यालयमा फेल हुनेहरुले प्रगति गरेका छन् । यसको अर्थ यो होइन कि, पढ्न हुँदैन । पढाईको अर्थ छैन । पढाईमा उच्च अंक हासिल गर्नु नराम्रो हो । खास कुरा चाहि के भने, आफ्नो रुचीलाई थाँती राखेर, आफ्नो क्षमतालाई पन्छाएर केवल सफल हुने दौडमा लागियो भने त्यसको दीर्घकालिन नतिजा राम्रो आउँदैन ।

यसको निष्कर्ष यो हो कि, बच्चालाई असफलताको डर नदेखाई सही दिसामा अगाडि बढ्न प्रेरित गर्नुपर्छ । फेलियर वा असफलताले हामीलाई यो कुरा बताउँछ कि, हामी सही दिसामा छैनौं । वा हाम्रो मेहनत सही ढंगले हुनसकेको छैन ।

रुची र क्षमताको ज्ञान

आमाबुबाले यो कुरामा ख्याल राख्न आवश्यक छ कि, बच्चाको रुची र क्षमता अलग-अलग हुन्छ । छिमेकीको बच्चाले एउटा कुरामा प्रगति गरेको छ भन्दैमा आफ्नो बच्चालाई पनि त्यस्तै गर्नका लागि दवाव दिनु वा उक्साउनु हुँदैन ।

दुखलाग्दो त के छ भने, अहिलेका अभिभावक आफ्नो बच्चालाई अरुभन्दा अगाडि देख्न चाहन्छन् । अरुले भन्दा बढी प्रगति गरेको हेर्न चाहन्छ । अभिभावक चाहन्छन्, आफ्नो बच्चा पढाईमा तेज होस् । खेलकुदमा पनि अगाडि होस् । नाच्न सिपालु होस् ।  गाउन माहिर होस् । कुनैपनि विन्दुमा उनीहरुले असफलताको सामना गर्न नपरोस् भन्ने चाह राख्छौं ।

‘अहिलेका अभिभावकले आफ्ना बच्चालाई आईफोन जस्तै प्रदर्शनको चिज बनाएका छन्’ मनोविद्ले भन्ने गरेका छन्, ‘उनीहरु जो-कोहीसँग आफ्ना बच्चाको गुणगान गाउन चाहन्छन् । त्यही चक्करमा उनीहरुलाई अभिभावकले आफ्नो रुचीको क्षेत्रमा जबरजस्ती धकेल्न पुग्छन्, जो बच्चाको रुची र क्षमताभन्दा अलग हुन्छ ।’ यसको नतिजा के हुन्छ ?

बच्चा असफल हुन्छन् । कति पटक बच्चा पनि आफ्नो परिवार र समाजको दबावमा आफ्नो रुचीबाट हटेर अर्कै करियर रोज्न पुग्छन् । जब उनीहरु रुची र क्षमताभन्दा अलग काम गर्न पुग्छन्, त्यसमा कहिले पनि प्रगति हुन सक्दैन । उनीहरु त्यसमा रमाउन पनि सक्दैनन् ।

मनोविद्हरु भन्छन्, ‘मलाई लाग्छ कि, कहिले काहीँ असफलता पनि एकदम राम्रो हुन्छ । यसले बच्चा वा परिवारलाई फेरी एकपटक सोच्ने मौक दिन्छ ।’

बढ्छ धैर्य

जवसम्म हामीले आफ्नो कमजोरी थाहा पाउँदैनौ, तबसम्म हाम्रो समूचित विकास संभव छैन । मानौं, बच्चा गणितमा अब्बल छन् तर अंग्रेजीमा कमजोर छन् । परीक्षामा अंग्रेजीमा फेल हुन्छन् । यो फेलले के सिकाउँछ भने उसले अंग्रेजीमा अरु बढी मेहनत गर्नुपर्छ ।

जो बच्चाले असफलता झेल्नुपर्दैन । वा जहिले सफल हुन्छन् । उनीहरुलाई लाग्छ कि, ‘म जे गर्छु सफल हुन्छु ।’ तर, अभिभावकले बच्चालाई यो कुरा सिकाउनुपर्छ कि, संसार ठूलो छ । यहाँ अलग-अलग क्षमताका मानिसहरु छन् । कसैको के कुरामा त, कसैको के कुरामा क्षमता हुन्छ । जब बच्चा कुनै कार्यमा असफल हुन्छन्, तब बच्चामा त्यस्ता समस्याको समाधान खोज्ने कला विकास हुन्छ । पटक पटक प्रयास गरिरहँदा बच्चामा धैयको विकास हुन्छ ।

निराशाबाट बचाउँछ

जब बच्चा असफल हुन्छन्, विद्यालय, साथी र आफन्तबाट आलोचना झेल्नुपर्छ । अपमान सहनुपर्छ । यही समय आवश्यक हुन्छ कि, बच्चालाई आमाबुबाको स्नेह र सल्लाहको ।

तर बच्चा असफल भएमा अभिभावकले उनीहरुमाथि पनि कडा व्यवहार गर्छन् । गाली गर्छन् । कुट्छन् । यसले बच्चाको मानसिकतामा नराम्रो असर पुग्छ ।

भन्नुको अर्थ यो होइन कि, बच्चा असफल भएमा उसलाई केही गर्नै हुँदैन वा भन्नै हुँदैन । बच्चालाई सम्झउनुपर्छ । तर, यसरी सम्झाउनुपर्छ कि, त्यसबाट उसले केही पाठ सिक्न सकोस् । र, असफलतालाई जित्नका लागि आफुमा क्षमता विकास गर्ने प्रेरणा मिलोस् । यसका लागि अभिभावकको दृष्टिकोण सकारात्मक हुनुपर्छ ।

बच्चालाई यसो नभनौं, ‘तिमी फेल भयौं । तिमी असक्षम भयौं । तिमी काम नलाग्ने भयौं । तिमीले हामीलाई दुखी बनायौं ।’

असफलताले जीवनलाई बर्वाद गर्ने होइन । बरु, सही मार्ग पहिल्याउने अवसर हो । अर्थात आफुले जे काम, जसरी गरिरहेका छौ, त्यो सही छैन भन्ने हो । यसबाट के सिक्न सकिन्छ भने, अब हामीले आफ्नो काम कसरी गर्ने ?

हिँड्ने मान्छे लड्छ

नेपालीमा उक्ति छ, ‘हिँड्ने मान्छे लड्छ ।’

यसको आशय के हो भने, जो केही गर्ने प्रयास गर्छन्, उनीरुलाई ठेस लाग्न सक्छ । यो सामान्य हो । अर्थात उसलाई मात्र ठेस लाग्दैन, जो हिँड्ने प्रयास गर्दैन ।

यसबाट के बुझ्नुपर्छ भने असफलता भनेको उसैले झेल्छ, जसले केही गर्ने प्रयास गर्छ । जब आफ्ना बच्चा असफल हुन्छन्, उनीहरुलाई हतोत्साही नगरौं ।

बरु बच्चासँग बातचित गरौं । उसको कुरा सुनौं । कमजोरी कहाँ भयो भन्ने कुरामा छलफल गरौं । बच्चालाई यो पनि भनौं कि, असफलता र सफलता एकअर्काका परिपूरक हुन् । सफलता हासिल गर्ने क्रममै असफलता झेल्नुपर्छ । असफलताको कसरी सामाना गर्ने भन्ने कुराले पनि धेरै आफुमा धेरै कुराको विकास गर्छ ।

असफल बच्चालाई तनाव दिनु हुँदैन । उनीहरुमाथि कुनै सर्त लाद्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment