Comments Add Comment

बालमैत्री चाडपर्वः यसो गरे कसो होला ?

एकपटक घोत्लिनुहोस् त, दशैंको बेला तपाईंको भान्सामा के-कस्ता परिकार पाक्यो ? आगन्तुक एवं पाहुनापातका लागि घरमा के-कस्ता बन्दोबस्ती गर्नुभयो ?

दशैं अझै जारी छ । दशैंपछि तिहार आउँछ । दशैं र तिहार हाम्रो मूख्य पर्व, जसलाई हामी मन खोलेर मनाउँछौं । खुसी साट्छौं । रमाइलो गर्छौं । त्यसैले यस्ता पर्व आउनुअघि हामी पूर्व तयारी गर्छौं । के खाने, के गर्ने ? सबै कुराको मेलोमेसो मिलाउँछौं ।

बालमैत्री खानेकुरा खै ?

अब सुरुकै कुरामा फर्कौं, यसरी चाडपर्वको बन्दोबस्ती गरिरहँदा हामी आफु तथा वयस्कहरुलाई लक्षित गर्छौं । जस्तो, हाम्रो भान्सामा मिठो-मसिनो खानेकुरा पाक्यो । ति खानेकुरा मसलेदार थियो । पीरो-अमिलो थियो । मासु खरिद गर्दा हामीले आफुलाई कुन भागको स्वादिलो लाग्छ, त्यही खरिद गर्‍यौं । अरु परिकारमा पनि आफ्नै स्वाद अनुसारको खानेकुरा तयार गर्‍यौर्ं ।

यसरी खानपान लगायतको बन्दोबस्ती गरिरहँदा साना बालबालिकाहरुका लागि केही सोच्यौं ? उनीहरुले कस्तो रुचाउँछन् ? उनीहरुका लागि कस्तो खानेकुरा उपयुक्त होला ? उनीहरुलाई घरमा कस्तो वातावरण चाहिएला ?

संभवत यसबारे हामी त्यती चासो राख्दैनौ । किनभने हामी ठान्छौं, हामीलाई जे स्वादिलो लाग्छ, उनीहरुले पनि त्यसमै स्वाद मान्ने हो । हामीलाई जस्तोमा सहज लाग्छ, उनीहरु पनि त्यस्तैमा रमाउने हो ।

हामी पिरो, अमिलो, नुनिलो, चिप्लो-चाप्लो खानेकुरा बनाउँछौं । थरीथरीका स्न्याक्स तयार गर्छौं । थरीथरीका अचार बनाउँछौं । खान्छौं । तर, बच्चाहरुलाई पनि त्यस्तै खानेकुरा मन पर्छ र ?

हाम्रो र बालबालिकाको रोजाई एकनास नहुन सक्छ । अझ बालबालिकाले चिल्लो, पिरो, टर्रो, अमिलो खानेकुरा रुचाउँदैनन् । उनीहरुलाई यस्तो खानेकुराले तत्काल असर पनि गर्छ ।

अक्सर बालबालिकाको स्वाद फरक खानेकुरामा बसेको हुन्छ । उनीहरुले फलफूल रुचाउन सक्छन् । मिठाई मन पराउन सक्छन् । मसलेदार मासुभन्दा सादा मासु मन पराउन सक्छन् । हड्डी चपाउन सक्दैनन् । चिउरा चपाउन गाह्रो होला । उनीहरु कतिपय खानेकुरामा त अभ्यस्त भएकै हुँदैनन् । तर, हामी आफ्नो लागि जे पकाउँछौं, बालबालिकालाई पनि त्यस्तै खानेकुरा दिन्छौं ।

जतिबेला हामी दशैंका लागि वा चाडपर्वका लागि भनेर किनमेल गरिरहेका हुन्छौं, त्यसबेला आफु वा ठूलाहरुको इच्छा बमोजिम सामाग्री जोहो गर्छौं । बालबालिकाका लागि उपयुक्त र उनीहरुले रुचाउने खालको खानेकुरा के होला भनेर त्यती सोचिदैन ।

हुन त बालबालिकाहरु खानेकुरामा त्यती लोभ गर्दैनन् । उनीहरु थोरै खानेकुराले पनि अघाउँछन् । तर, जहाँ हामी आफ्नो लागि थरीथरीका परिकार पस्किएर खुसी मनाइरहेका हुन्छौं, त्यहाँ बालबालिका लागि पनि उपयुक्त परिकार पस्कने गर्दैनौं ।

बालबालिका कसरी रमाउने ?

दशैं जस्तो चाडपर्वमा पारिवारिक जमघट गरेर हामी आफ्नो मर्जी अनुसार रमाइलो गर्न थाल्छौं । कोही गफमा भुलिन्छौं । कोही तासको खालमा जम्न थाल्छौं । यसका लागि हामीले अगाडि नै बन्दोबस्ती गरेका हुन्छौं । कति मदिरा चाहिन्छ ? कति तास चाहिन्छ ? सबै जोहो गर्छौं । तर, बालबालिकाले के खेल्छन् ? के कुरामा रमाउँछन् भनेर हामी सोच्दैनौं । उनीहरु तास खेल्दैनन्, गफ गरेर समय विताउन सक्दैनन् । बालबालिकाको खेल्ने, रमाउने शैली फरक हुन्छ । यसका लागि के हामीले आफ्नो घरमा अनुकुलता मिलाएका छौं ?

धेरैजसोले त साथीभाईको जमघटमा रक्सी पिउने, चुरोट पिउने गर्छन् । यसले बालबालिकामा नराम्रो प्रभाव पर्छ भन्ने हेक्का राख्दैनौ । हेक्का राखेपनि त्यसलाई हामी वेवास्ता गरिदिन्छौं । समग्रमा भन्नुपर्दा हामी चाडपर्व मनाइरहँदा त्यसलाई कसरी बालमैत्री बनाउने भन्ने कुरामा त्यती घोत्लिदैनौं ।

हामी सोच्छौं, बालबालिका त्यसै रमाउँछन् । उनीहरु आफै भुलिन्छन् । उनीहरुलाई खानेकुराप्रति खास रुची छैन ।

बालबालिकालाई किन बेवास्ता ?

उनीहरु खेल्न, रमाउन चाहन्छन् । आफुलाई अनुकुल हुने स्वादिलो खानेकुरा खान रुचाउँछन् । तर, त्यसलाई व्यक्त गर्न सक्दैनन् । उनीहरुका लागि कसरी दशैं वा चाडपर्व स्मरणिय बनाइदिने भन्ने कुरामा हामीले हेक्का राख्नुपर्छ ।

जस्तो कि, बालबालिकाका लागि उनीहरुले नै रुचाउने परिकार बनाइदिने । धेरै मरमसला नभएको, पिरो अमिलो नभएको र सुपाच्य खानेकुरा बनाइदिने । उनीहरुलाई खेल्ने वा रमाउने व्यवस्था पनि गरिदिने ।

यस्ता जमघटमा बालबालिकाहरु पनि भेला हुन्छन् । उनीहरु आफु-आफु खेल्दै रमाउने कोशिस गर्छन् । यसका लागि घरमा उपयुक्त माहौल बनाइदिनु पर्छ ।

बालबालिकालाई हामी उनीहरुको रुची भन्दा पनि आफ्नो रुची अनुसार पहिरन लगाइदिन्छौं । त्यस्ता पहिरन लगाएर खेल्न, उपि|mन उनीहरुलाई समस्या भएको हुनसक्छ । असहज भएको हुनसक्छ । त्यसैले सहज पहिरन लगाइदिनुपर्छ ।

चाडपर्वमा बुबाआमा एकातिर रमाइलो गर्छन् । बच्चा कता छन्, के गरिरहेका छन् भनेर हेरचाह गर्दैनन् । उनीहरु बार्दलीमा गएर लड्न सक्छन्, बाथरुमभित्र थुनिन सक्छन्, व्यस्त सडकमा जान सक्छन् । त्यसैले उनीहरुलाई हेरचाह पनि गर्नुपर्छ ।

कहाँ घुम्ने, के खेल्ने ?

अहिले त बालबालिकालाई घुम्ने, रमाउने ठाउँहरु पनि साँघुरो हुँदै गएको छ । खासगरी शहरी क्षेत्रमा बालबालिकाहरु एउटै कोठाभित्र वा घरभित्र थुनिएर रमाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा आमाबुबाहरुले उनीहरुलाई टेलिभिजन, मोबाइलमा भुलाउँछन् । आज त हामीलाई यो काइदा सजिलो लाग्छ । यसरी छोराछोरीलाई भुलाएपछि आफु उन्मुक्त रमाइलो गर्न सकिन्छ भन्ने लाग्छ । तर, भोलिका दिनमा यही अभ्यास प्रत्युत्पादक हुनसक्छ ।

यसो गरे कसो होला ?

किनभने चाडपर्वमा बालबालिकालाई त्यसरी नै रमाउन दिनुपर्छ, जस्तो चाडको प्रकृति छ । जस्तो दशैंको प्रकृति भनेको, नयाँ लुगा लगाउने, मिठोमसिनो खाने, आफन्तकहाँ जमघट गर्ने, मान्यजनबाट टिका थाप्ने, जमरा लगाउने, पिंग खेल्ने, चंगा उडाउने ।

तिहारमा देउसी भैलो खेल्ने, भाइटिका लगाउने ।

जुन चाडपर्वमा जसरी रमाउनुपर्ने हो, त्यसरी नै रमाउन सिकाउनुपर्छ । किनभने यो एउटा संस्कार हो । जीवन पद्दती हो । हरेक चाडपर्वको विकास त्यसै भएको होइन । यसले हाम्रो जीवनशैलीसँग कुनै न कुनै किसिमको सम्बन्ध राखेको हुन्छ । यसले सामाजिक मूल्य र मान्यता राखेको हुन्छ । कुन चाडपर्व किन मनाइएको हो ? त्यसबाट हामीले के सिक्छौं ? यावत् कुरा उनीहरुले अनुभव गर्न सक्नुपर्छ । तब न चाडपर्वको महत्व रहन्छ ।

दशैं भनेको असत्यमाथि सत्यको जीतको खुसीयाली हो । अन्नबाली घरमा भित्र्याइसकेपछिको उल्लास हो । मान्यजनप्रतिको श्रद्धा हो । इष्टमित्र-आफन्तसँगको जमघट हो । यसका अनगिन्ती अर्थ र फाइदा छन् । ति कुरा बालबालिकालाई अनुभूत गराउन सक्नुपर्छ ।

कुनैपनि चाडपर्वले जीवनमा उल्लास ल्याउँछ । जीवनमा मिठास ल्याउँछ । यदी यस्ता चाडपर्व नहुँदो हो त हाम्रो जीवन फिका हुन्छ । हामीसँग रमाउने, खुसी हुने बाहनाहरु सीमित हुँदै जान्छन् । यस्ता कुरामा त भोलि हुर्कने बालबालिकालाई अभ्यस्त बनाउँदै लानुपर्छ ।

हामीले चाडपर्वको बन्दोबस्ती गरिरहँदा बालबालिकालाई पनि महत्व दिनुपर्छ । अर्थात चाडपर्व बालमैत्री हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment