Comments Add Comment

यात्रा संस्मरणः आधा मुस्कान पनि खस्यो भुइँमा

नानू ! उठ्नुस्, खाजा खाने बेला भयो, मञ्जु दिज्यूको आवाज कानमा परेपछि बिउँझिएँ । यात्रामा मलाई खुब निद्रा पर्छ । मुङ्गलिनमा खाजा खायौँ । कलासाहित्य डट कम प्रतिष्ठानद्वारा आयोजित कलासाहित्य यात्रामा छौँ । यात्रा सिकाइ, भोगाइ र यादहरुको सिलसिला हो क्यारे ! निरन्तर यात्रामै दौडियौँ । यात्राको उत्साहले अब भने म निदाइनँ । निदाउनु पनि कसरी, मलाई त प्रकृतिको काखमा बसेर प्रकृतिलाई म्वाईँ खानु छ ।

चितवनबाट हामीसँग कवि भूपिन दाइ मिसिनुभयो ।सरल भाषा, फरक शैलीसहित, छुट्टै विचार निर्माण गरेको उहाँको कविता संग्रह ‘सुप्लाको हवाइ जहाज’ जति पढूँ, अझ पढूँ लाग्छ । भूपिन दाइको ‘एउटा नोटको जीवनी’ कविता पढेपछि आजसम्म मैले मन्दिरमा भगवान्लाई नोट चढाएको छैन ।

आफ्नो भित्तामा ‘बेटी पढाओ, बेटी बचाओ’ लेखेको गाडी हाम्रो गाडीलाई ओभरटेक गर्दै अगाडि लाग्यो । मान्छे ठूलाठूला कुरा गर्दैमा समझदार हुँदैन, मान्छे त्यतिबेला समझदार हुन्छ जतिबेला ऊ सानासाना कुरा बुझ्न थाल्छ । खुब हेरेँ गाडीलाई र मनमनै सलाम गरेँ ।

हामी बुटवल आइपुग्यौँ । त्यो रात डार्सिस इन्टरनेसनल होटलमा बितायौँ । खाना गजब थियो, खानाभन्दा पनि गजब कलासाहित्य–यात्रामा सहभागी यात्रीहरुमा झल्किएको खुसी । यात्राको खास सौन्दर्य बाँकी नै छ । मन उत्साहित छ; मन उडिरहेछ ।

यात्राको दोस्रो दिन बाटोभरि हाम्रो स्वागतमा फूल उभिएको थियो । थाहा थिएन, कुन फूल हो ? स्थानीयलाई सोध्यौँ, फूलको नाम बेस्रम रहेछ । त्यसो त बाटाभरि गाई, गोरु र बाच्छाबाच्छी थिए । दिउँसो छउन्जेल सोचेँ, चराउन ल्याएका होलान् । रातिसम्म पनि जति यात्रा बढ्यो उति गाईहरुदेखेँ, अचम्म लाग्यो । ती गाईहरु त दूध दिन छाडेपछि, बूढो भएपछि बाटामा छाडिएका रहेछन् । यदि पुनः दूध दिन थाले भने, छाडेको गाई मेरो भन्दै फेरि घर पनि लान्छन् अरे । दुख लाग्यो, मान्छेको हृदय यतिविघ्न कुरुप सम्भव छ ? रहेछ । सरकारले नै पनि ठाउँ–ठाउँमा गौशाला खोलेर हजारौँ तीसडके गाईलाई बास दिने हो भने, दूध, दही,घिउमात्र होइन, गोबरगहुँतको प्राकृतिकसदुपयोगबाट कति आम्दानी गर्न सकिएला ! महत्वपूर्ण कुरा त जबबास पाउँछन्; तबती गाईहरु कति खुसी होलान् ?सुन्दर अनि कुरुप हृदय अवलोकन गर्दागर्दै हामी कोहलपुर आइपुग्यौँ । हामी बाँके जिल्लाको उत्तर पश्चिम कुनामा छौँ । सुनेको थिएँ, कोहलपुर नेपालकै प्रगति उन्मुख नगर हो । वास्तवमै हो रहेछ । पहिलो पटक ०६७ सालमा आउँदा राम्ररी नियाल्न सकेको थिइनँ ।

कोहलपुरमा माहोल विशेष बन्यो । कलासाहित्य डट कम प्रतिष्ठानले जाजरकोटी समाजलाईपुस्तक हस्तान्तरण गर्‍याे । जाजरकोटी समाजले प्रतिष्ठानका उपाध्यक्ष कवि राजेश्वर कार्कीलाई सम्मान गरिरहँदा, आफ्नो कर्मको सम्मान हुँदा मान्छे भावुक हुन्छ प्रष्ट झल्किन्थ्यो । मुहार पुस्तिकामा झल्केको खुसी प्राकृतिक रूपमा छल्किरहेको थियो ।अझ कार्की सरले साहित्य लेखनसँगै धेरै समाजसेवा गर्नुभएको छ । कोहलपुरमै प्रतिष्ठानले मध्यपश्चिम क्षेत्रकै केन्द्रको रुपमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयललाई पनि पुस्तक हस्तान्तरण गर्‍याे । प्रतिष्ठानले यसरी समाजलाई शब्द, रङ्ग र ध्वनिको सुन्दरताले समाजलाई कलामय केन्द्रित गर्ने मात्र होइन; समृद्ध र सभ्य समाजको निर्माणमा अाफ्नाे ठोस योगदान पनि गर्दै आएको रहेछ । यसरी नै यो देशमा सबैले आ–आफ्नो ठाउँबाट कर्मको उदाहण प्रस्तुत गरिरहे कति सुन्दर हुन्थ्यो होला !

धनगढीलाई केन्द्र बनाएर सुरु भएको कलासाहित्य यात्रा अब धनगढीतर्फ लाग्यो । धनगढीमा कलासाहित्य–यात्राअन्र्तगत, प्रकृति सिर्जना–उत्सव हुँदै छ । हामी रुबस होटलमा बस्यौँ, हाम्रो भोलिको कार्यक्रमस्थल पनि यही हो । यही होटलमा पूर्व राजा ज्ञानेन्द्र बस्थे रे । तर होटलको म्यानेजमेन्ट त्यति चित्त बुझ्दो लागेन । प्रतिष्ठानकै अध्यक्ष मोमिला दिज्यूले कम्प्लेन गरेपछि भोलिपल्टबाट हामीलाई राम्रो व्यवस्था गरियो ।

कार्यक्रम शुरु हुन केही घण्टा बाँकी छ । बिहान धनगढी सहरको मुहार हेर्‍याैं । बिहानी घामको किरणसँगै मुसुक्क मुस्कुरायो धनगढी । प्रकृतिको नजिक बाँसले बनाइएको हलमा कार्यक्रम सुरु हुनै लाग्यो । प्रदेश नं.७ का मुख्यमन्त्री त्रिलोचन भट्ट प्रकृति सिर्जना उत्सवको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले एउटा यथार्थ उद्घाटन गर्नुभयो, ‘साहित्यकारले देशको भविष्यलाई आकार दिन्छ ।’ मलाई लाग्छ, सबैले यति बुझ्ने हो भने, नेपाली कलासाहित्यको श्रीबृद्धि मात्र नभएर समग्र देशले विकासको गति लिन पाउँथ्यो ।

कार्यक्रममा बहुत सुन्दर कविता सुनिए । सुन्दर दाइले खिच्नुभएको सिङ्गो देशको डिजिटल तस्बिर प्रदर्शनसँगै सुरु भएको कार्यक्रममा पनि सुन्दर दाइ तस्बिरकलामै मग्न हुनुहुन्थ्यो । सायद, शब्दहीन सुन्दर पलहरू तस्बिरमा कैद गर्नुभयो ।

जिल्लाबाहिरको यति भब्य कार्यक्रम विरलै देख्न पाइन्छ । अशेष मल्ल, मञ्जु काँचुली, मोमिला, लक्ष्मण गान्नागे, डा.हरिप्रसाद मानसाग्नि, युवराज नयाँघरे, राजेश्वर कार्की, भूपिन खड्का, केशव सिग्देल, डा.जंगब चौहान, डा. कृष्णराज डी.सी., अभय श्रेष्ठ, मणि लोहनी, कपिल अञ्जान, जीवन खत्री र म लगायत स्थानीय कविहरुको कविता वाचन भैरहँदा हलको उत्साह र तालीको गड्गडाहट शब्दमा लेख्न सायदै सकिएला ।कार्यक्रममा विगत १२ वर्षदेखि प्रतिष्ठानले प्रोत्साहन एवं योगदानको कदर गर्दै स्थानीय स्रष्टालाई ‘योगेश्वर कलासाहित्य पुरस्कार’ प्रदान गर्दै आएको रहेछ । कवि राजेश्वर कार्कीको समाजसेवी बुवाको नाममा स्थापना गरिएको ‘योगेश्वर कलासाहित्य पुरस्कार’ यस पटक (२०७५)सुदूरपश्चिमका अग्रणी साहित्यकार पद्मराज जोशीलाई रु २५ हजारसहित सर्मपण गर्दा स्थानीयहरुले समेत आफैं सम्मानित भएको अनुभूत गर्नु कम्ता सानो कुरा पनि त होइन । यस्ता महत्वपूर्ण कार्य एउटा गैह्र सरकारी संस्थाबाट भइरहँदा,सरकारी संस्थाले कहिले सिक्छ पाठ ! देशकै धडकन, जसले भाषा, धर्म, संस्कृतिलाई जीवन्त तुल्याउँछ, यस्ता देशका मुटुलाई कहिले राख्छन् प्राथमिकतामा ? नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको नेतृत्वमा भएको यस्तो महत्वपूर्ण कार्यबाट काठमाडौँलगायतका ठाउँमा च्याउजस्तै उम्रिएका साहित्यिक संस्थाले पनि सीमित घेरा र गुटबन्दी कसरी तोड्ने सिक्न जरुरी छ ।

काठमाडौं मै बसिरह्यौँ, भनिरह्याैं हामी केन्द्रका साहित्यकार, कहाँ हो साहित्यको केन्द्र ? कहाँ हो साहित्यकारको केन्द्र ? कहाँ बस्नुपर्ने हो कलासाहित्यप्रेमी ? कैलालीले सिकाइ रह्यो, प्रकृति र समाजभन्दा पर कुनै यात्रा छैन । कुनै बिन्दु छैन ।

अर्को दिन महेन्द्र नगर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र शारदा ब्यारेजपुग्नु थियो । लाग्यौँ । महेन्द्रनगर महाकाली पुल पुगियो । केही वर्ष अगाडिसम्म मेरो देशको झण्डा आधा महाकाली ओगट्दै मुस्किलले आधा मुस्कुराउँथ्यो । तर, त्यतिखेर आधा मुस्कान पनि खस्यो भुईँमा । आफ्नै महाकालीलाई एक अँगालो प्रेम गर्न नपाउँदा कम्ता मन कुँडिएको हैन । ‘चित्र लेना मना है’ मैले मेरो आमाको तस्बिर खिच्न नपाउने ? खिचेँ । ‘झापड मार्दुंगी’ म झस्किएँ । यसो हेरें, फर्सी जस्तो फ्यात्त अनुहार, राक्षसका जस्ता आँखा, बाइकमा एउटी आर्मी थिई । आर्मी होइन, मान्छे होइन र जनावर पनि होइन । के भनाँै, यस्तो लाग्यो ऊ दुनियाँकै अजिव प्राणी जसलाई सभ्यता थाहा छैन । शिष्टता थाहा छैन । मानवीयता थाहा छैन । मैले पनि आँखा तरेँ लु जा ! मनमनै गाली गरेँ । प्रिय महाकालीको स्केच आँखाभरि कोरेर मुटुमा राखेँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आइपुग्दा, हामीलाई तस्बिर डिलिट गर्न लगाउने आर्मी सम्झें । ऊ मा बरु स्वभाव थियो । यतिबेला उसका ठूला स्वर ठूला लागेनन् । टाढाबाट आएको पीडाको गन्धले सताए पनि आप्mनो भूमिमा पराई भूमिमा जस्तो त दुखेन ।

गह्रौं हृदय सम्हाल्दै शुक्लाफाँटा लाग्यौँ । जब प्रवेश गर्‍याैं, त्यहाँको कर्मचारीको न्यानो आतिथ्यता र प्रकृतिको विचित्र चित्रले मन हलुका बनायो । मन चङ्गा भयो । उड्यो बेगले हावासँगै । जङ्गलमा मृग, चित्तल, जरायो बँदेल, बाह्र सिँगे, नील गाई, हात्ती, विभिन्न जात र रङका चराहरुसँग साक्षात्कार हुँदाको खुसी सायदै शब्दमा उतार्न सकुँला । जतिसुकै महान् आर्टिस्ट पनि फेल खान्छ, प्रकृतिको क्यानभासकाविचित्र चित्रसामु । सोच्छु को हो त्यो चित्रकार; जसले यस्तो चित्र कोर्‍याे ? कसरी गर्‍याे होला कल्पना ?कुनै चित्र कुनैसँग मिल्दैन, कुनै रङ्ग कुनैसँग मिल्दैन, कुनै अनुहार, कुनै अनुहारसँग मिल्दैन । यति विचित्रको प्रकृति चित्र निर्माण कसरी सम्भव भयो होला ? म सोच्छु, सोच्छु, सोचिरहन्छु । कुनै उत्तर भेट्दिन, बस प्रकृतिमै हराउँछु ।

हामी फर्कियौँ । जङ्गल प्रवेश गर्दा गाडीको पछाडि उभिएर खुला हावा खाँदै गएकी म, आउँदा साँझ परेकाले अलि खतराको सम्भावना हुन्छ भन्दै, मलाई गाडीभित्र बोलाउनुभयो । म जिद्दी गर्दै थिएँ । मलाई प्रकृतिसँग नजिक भएर खुला आकाश र धर्ती हेर्न पुगेकै थिएन । अग्रजले भनेपछि नमान्न गाह्रै हुन्छ, म भित्र गाडीको सिटमा बसेँ । सिट ३ जनाको थियो । हामी चार जना बस्यौँ । मलाई अप्ठ्यारो भयो भन्दै मोमिला दिज्यूले मलाई आफ्नो काखमा जसरी बाँदरले आफ्नो बच्चा चेप्छ, त्यसरी अति मायाका साथ राख्नुभयो । पहिलो पटक दिज्यूको काखमा लुट्पुटिन पाएँ । आमाको काखझैँ अनुभूत भइरह्यो । यात्राको यति सुन्दर आनन्द भेटेँ । मोमिला दिज्यू खुब सुन्दर निबन्ध, कविता लेख्नुहुन्छ । उहाँको काखको यात्रामा मेरो मानसपटलमा केके घुम्यो लेखेर सकिंँदैन । मलाई यति थाहा छ, उहाँ जे लेख्नुहुन्छ, व्यवहारमा उतार्नुहुन्छ । मलाई दिज्यूको यो कविता र कर्मको तादात्म्य गजबको लाग्छ ।

आगो शब्द बोल्दैमा

बोल्ने ओठहरू डढ्ने छैनन्

पानी शब्द बोल्दैमा

बोल्ने ओठहरू भिज्ने छैनन् ।

—मोमिला

फर्केर धनगढी बासबस्न जानु थियो । बाटो भुल्यौँ । साँझमा झन् जङ्गलभित्र पो लागेछौँ । बाघ देख्ने रहर पुरा हुन्छ कि भन्दै थिए दाइ । म भने साँझको जङ्गललाई नजिकबाट चिहाइरहेथेँ । कहिलेकाहीँ बाटो बिराउँदा पनि रमाइलो हुँदोरहेछ । अन्ततः वनकार्यलयका कर्मचारी हामीलाई लिन आए र मूलबाटोसम्म पुर्‍याएर मात्र विदाइ गरे । यो हार्दिकता सायदै विर्सन सकिएला । अर्को दिन फर्केर त्रिवेणीधाम आयौँ ।

त्रिवेणीधाम जाने बाल्यकालदेखिको रहर पूरा भयो । घरबेटी आमा लक्ष्मी पहारी, उहाँको पहिलाको घर नवलपरासी, अहिले पनि छ । त्रिवेणीधामको ऐतिहासिक महत्व र सुन्दरताबारे उहाँले खुब गुणगान गर्नुहुन्थ्यो । विश्वास लागिरहेको छैन, आज म त्यही ठाउँ आइपुगेको छु । त्रिवेणीधामको सुन्दरता जानेलाई पक्कै थाहा छ । टपक्क टिपेर खल्तीमा राखौँ र काठमाडौँको सहरबाट हेर्ने शक्ति प्राप्त होस् । सोचाइ पनि केके आउँछ, कल्पना पनि केके गरिन्छ । धामबाट फर्केर, प्राकृतिक चिकित्सालय आयौँ । रमणीय वातावरण पुष्पगुञ्छा सहितको पाहुना सत्कारले कसको मन नलोभ्याउला ?त्यहाँका निर्देशक, डक्टर, कर्मचारी अझ बढी हामीसँगै जानुभएको डा. हरिप्रसाद मानसाग्निले त्यहाँको उपचार पद्धति र प्राकृतिक विधिको महत्व र भोलिको योजना प्रष्ट्याउनुभयो । मेरो बुवाको नाम पनि हरिप्रसाद र यात्रामा सम्मिलित कवि, योग गुरु एवं सन्त पनि हरिप्रसाद, म खुसी भएँ । मैले दोस्रो बा भेटेँ । हामी दुवैले बाउ र छोरीको नाता नजिकबाट महसुस गर्‍याैं ।

अन्ततः यात्राका यादहरु सँगाल्दै फर्किनु थियो आखिर, म गाडीमा निदाएँ । गाडी दौडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment