Comments Add Comment

मन्त्रिमण्डल पुनर्गठन हुन्छ, प्रधानमन्त्री परिवर्तन हुँदैन : पौडेल

६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले आगामी स्थायी समिति बैठकमा मन्त्री परिर्वतनबारे छलफल हुने बताएका छन् । मन्त्री परिर्वतन भए पनि प्रधानमन्त्री परिर्वतन नहुने उनले बताए

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर प्रधानमन्त्री परिवर्तन हुँदैन ।’

सरकारको काममा प्रभावकारिता नभएको भन्दै उनले अब बस्ने स्थायी समिति बैठकमा जनताले राखेका गुनासा र टिप्पणीहरु रााख्ने बताए । उनले भने, ‘सरकारले अब आफ्ना गतिविधि बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’

मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भए पनि त्यो नभएको उनको विश्लेषण छ ।

उनले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भइनसकेको पनि जिकिर गरे । उनले भने,’अहिले नै वर्तमान सरकारको बारेमा पास वा फेल भनेर टिक लगाउने बेला भएको छैन । सरकारको बारेमा समीक्षा गर्न कम्तीमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन ।’

अहिले सरकारबारे भइरहेका आलोचनाहरु मननयोग्य रहेको भन्दै उनले आसन्न बैठकमा समीक्षा हुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले सरकारको ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरे ।

उनले भने,’सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन । सरकार अब ‘एक्शन ओरिएण्टेड’ हुन्छ ।’
मन्त्रिमण्डल पूनर्गठन गर्ने आफूलाई जानकारी नभएको बताउँदै यसबारे पार्टीले समिक्षा गर्ने विषय भएको प्रतिक्रिया दिए ।

नेकपा मालेका महासचिव सिपी मैनालीले सरकारले जनअपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको टिप्पणी गरे । उनले भने, ‘ओली सरकारसँग सशक्त बहुमत छ तर, जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन । सरकार अहिले धेरै पछि पर्‍यो ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकार असफल भइसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् ।

उनले भने, ‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै वरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भीर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन भनेर भन्नुभएको छ ।’
सरकारले अहिलेसम्म राहतका काम पनि गर्न नसकेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment