Comments Add Comment

डा. अनिल मिश्रः स्कुलमा औसत, कलेज र कलेजोमा उत्कृष्ट

७ कात्तिक, काठमाडौं । एउटा डाक्टरको काम हो बिरामी जाँच्ने र उपचार गर्ने । तर, सबै डाक्टर यतिमै चित्त बुझाएर बस्दैनन् । डा. अनिलकुमार मिश्रकै कुरा गरौं । यदि उनी बिरामीको उपचारमै सिमित भएका भए नेपालको समग्र स्वास्थ्य क्षेत्रले उनका योगदानहरुबाट वञ्चित हुनुपथ्र्यो । नेपाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) को ‘गर्भधारण’ कसले गथ्र्यो ?

डा. मिश्र नेपालका पहिलो कलेजो विशेषज्ञका साथै न्याम्सका ‘सूत्रधार’ हुन् । पान दोकान जसरी खुलेका प्राइभेट मेडिकल कलेजहरुलाई सिस्टममा ल्याउने कामको थालनी उनैले गरेका हुन् ।

स्कुलमा औसत, कलेजमा नेपाल टप

अनिलको जन्म जनकपुरको एक सम्पन्न परिवारमा भएको हो । हजुरबुवा रामनारायण मिश्र भारतबाट एमए/बीएल गरेर नेपाल आएका थिए । उनी ०१५ सालमा उद्योग वाणिज्य मन्त्रीसमेत बने । अर्का हजुरबुवा श्यामनन्द भारतको पागलपुरमा प्रोफेसर भए र पछि विदेशमन्त्री नै बने । उनकै भाइ भद्रकाली मिश्र नेपालको निर्माण यातयात मन्त्री बनेका थिए । यस्तो बिरासत धान्नु थियो अनिललाई ।

अनिल स्कुल पढ्दा उनका बुवा भारत गइरहन्थे । छोरालाई उनी सुनाउने गर्थे, ‘इन्डियामा डाक्टरहरु एम्बेस्डर कार लिएर हिँड्छन् । दुनियाँमा सबैभन्दा ठूलो इज्जत डाक्टरकै हुन्छ । तिमी पनि ठूलो भएपछि डाक्टर बन्नुपर्छ ।’

अनि त अनिल पनि डाक्टर भएर विरामीलाई सुई हानेको कल्पनामा डुब्न थाले । पढाइ उनको त्यति अब्बल भने थिएन । त्यो स्तरको पढाइले डाक्टर बन्ने सपना पूरा गर्न मुस्किलै थियो ।

यो पनि पढ्नुहोस फ्याटी लिभर, जसले कलेजो सडाइदिन सक्छ

तर, बिहानले दिनको संकेत गर्छ भन्ने भनाइ सँधै सत्य नहुँदो रहेछ । कहिलेकाहीँ बिहान मुसलधारे पानी पर्छ अनि दिउँसो टन्टलापुर घाम लाग्छ । अनिलको हकमा यस्तै भयो । अन्ततः उनी आफ्नो नामको अगाडि डाक्टर थप्न सफल भए । त्यति मात्र होइन, ‘नेपालकै पहिलो कलेजो रोग विशेषज्ञ’ को रुपमा आफूलाई दर्ज गराए ।

उनै अनिलले सन् २००० मा नेपाल मेडिकल काउन्सिलको रजिस्टार भएर सफल कार्यकाल पनि बिताए ।

सामान्य अंक ल्याएर एसएलसी पास गरेका अनिल बिराटनगरकै क्याम्पसमा आइएस्सीमा भर्ना भए । त्यतिबेला देशभरका जम्मा ९ वटा क्याम्पसमा साइन्सको पढाइ हुन्थ्यो । बीएस्सी पढ्न त काठमाडौं नआई धरै थिएन ।

आइएस्सी पढ्दा उनले आफ्नो मेहनतको मिटरलाई ह्वात्तै बढाइदिए । राति दुई बजेसम्म पढेर बस्थे । बिहान ६ बजे उठ्थे । मेहनतले फल त दिन्छ नै । उनले आखिर कलेज टप गरे । अनिल अहिले पनि त्यो सम्झिँदा दंग पर्छन् ।

‘म त क्याम्पस टपमात्र नभएर नेपाल टप नै भएको रहेछु,’ उनी भन्छन् ।

०३५ सालमा नेपाल टप भएपछि उनलाई स्कुलले एउटा पुस्तक उपहार दिएको थियो । स्वामी विवेकानन्दको जीवनी थियो त्यो । ‘मैले त्यो पुस्तकबाट धेरै कुरा सिकेँ । त्यो पुस्तकको सार थियो– पहिला मानव बन, त्यसपछि बनिन्छ महामानव । अझ महत्वपूर्ण कुरा ध्यान र एकाग्रताबारे सिकेँ ।’

उनले घरमा मात्र होइन, अफिसमा पनि योग गुरु र भगवानका फोटो टाँसेका छन् । दैनिक कम्तिमा आधा घण्टा ध्यानमा बस्छन् ।

‘जब हामी ध्यानमा बस्छौँ, आफ स आफ सद्गुण विकास हुँदै जान्छन्’, डा. मिश्रको अनुभूति छ, ‘म धार्मिकभन्दा पनि आध्यात्मिक मान्छे हुँ । हामी मन्दिरमा गएर पूजा गर्छौँ । तर, आफैंभित्रको भगवानलाई भने कुल्चन्छौँ ।’

खुट्टा समाउँथे बिरामी

नेपाल टप गरेपछि छाती फुलाउँदै स्कलरसिपको लागि शिक्षा मन्त्रालयमा आवेदन दिन काठमाडौं छिरे अनिल । सो मन्त्रालय अन्तरगतको कोलम्बो प्लान्टले एमबीबीएसका लागि १० वटा सिट बाँड्थ्यो त्यतिबेला । उनले परीक्षा दिए । रिजल्ट आउँदा पहिलो नम्बरमा उनकै नाम थियो ।

उनले त्यो खुशी आफैभित्रै कैद गर्न सक्ने कुरा थिएन । दौडँदै गएर बुवालाई सुनाइहाले । खबर सुनेपछि बुवाका आँखाभरि आँशु टिल्पिलाएको उनले देखे ।

छात्रवृत्तिमा नाम निस्केपछि उनी दरभंगा मेडिकल कलेजमा भर्ना भए । त्यहाँ एमबीबीएस पढ्ने ३५ जना जति नेपाली थिए । नेपालीहरुले आफ्नै मेस सञ्चालन गरेका थिए ।

सो कलेजमा पनि अनिल अब्बल दर्जाकै विद्यार्थीमा गनिन्थे । फस्र्ट डिभिजनमा एमबीबीएस पास गरे, जतिबेला उनको उमेर २८ वर्ष थियो ।

पढाइ सकेर ०४५ सालमा नेपाल फर्किएका डा. अनिल तत्काल स्वास्थ्य मन्त्रालयबाट अस्थायी नियुक्ति लिएर जनकपुर अञ्चल अस्पतालमा खटिए । त्यतिबेला नेपालमा डाक्टरको संख्या त्यस्तै एक हजार थियो । नौ वटा अञ्चल अस्पताल थिए । केही क्लीनिकहरु थिए । तर, नीजि अस्पताल थिएनन् ।

एउटा डरलाग्दो कुरा सुनाउँछन् अनिल, ‘त्यतिबेला क्वेकहरुको बिगबिगी थियो । उनीहरु बिरामीलाई भारतमा उपचार गराउन लैजान्थे अनि डाक्टरले दिएको औषधीको नाम रट्थे । नेपालमा उनीहरुको क्लीनिक हुन्थ्यो र बिरामीलाई त्यही घोकन्ते औषधी दिन्थे ।’

त्यस्ता क्वेकलाई तत्काल हटाउन सम्भव थिएन । बरु उनीहरुलाई दक्ष बनाउने सोचे । अनि क्वेकहरुलाई जम्मा पारेर ट्रेनिङ दिन थाले ।

देशमा अन्धविश्वास व्याप्त थियो । धेरै बिरामीले हस्पिटलको मुखै देख्न पाउँदैनथे । डाक्टरको भन्दा धामी–झाँक्रीको विश्वास थियो । अझ तराईको ठाउँमा सर्पले टोक्यो कि मानिसको मृत्यू हुन्थ्यो । विष सेवनको घटना पनि उत्तिकै हुन्थ्यो । कति बच्चाले झुक्किएर तरकारी हाल्ने विषादी सेवन गर्थे ।

डा. अनिलले त्यस्ता विरामीलाई औषधी दिएर ठीक पार्न थाले । बेहोस भएको मान्छे उठेर हिँड्न थाल्यो रे भन्ने कुरा आम मानिसलाई विश्वास गर्नै गाह्रो हुन्थ्यो । हात खुट्टा भाँच्चिएकालाई प्लास्टर गरेर जस्ताको तस्तै बनाएको देख्दा सबै दंग पर्थे ।

डा. अनिल भन्छन्, ‘मानिसहरु रुँदै खुट्टा समाउन आइपुग्थे । आफ्नो सन्तान निको भएपछि लड्डु लिएर अस्पतालभरिका मानिसलाई खुवाउँथे ।’

‘पहिलो’ कलेजो विशेषज्ञ

नेपालको पहिलो राष्ट्रपति डा. रामबरण यादव कुनै समय घाँटीमा भिरेर बिरामी जाँचिरहेका हुन्थे । डा. मिश्र जनकपुरमै रहँदा डा. यादव चण्डीगडबाट एमडी गरेर फर्किए । त्यतिबेला एमडी गर्नेहरु एउटै हातको औंलाले गन्न पुग्ने संख्यामा थिए ।

डा. यादवले जनकपुरमै एभरेस्ट नर्सिङ होम स्थापना गरेर काम थाले । त्यसअघि काठमाडौंमा डा. रामप्रसाद पोखरेलले पहिलो नर्सिङ होम भित्र्याएका थिए । डा. अनिलले अञ्चल अस्पतालसँगै डा. यादवको नर्सिङ होममा पनि काम शुरु गरे ।

पाँच वर्ष अञ्चल अस्पतालमा सेवा दिएपछि उनी एमडीका लागि पाकिस्तानको सिन्ध विश्वविद्यालयमा पुगे र कलेजोमा विशेषज्ञता हासिल गरेर फर्किए । नेपाल फर्किएपछि डिसेम्बर १९९६ मा उनले वीर अस्पतालमा आवद्ध भए ।

डा. अनिलको भनाइ अनुसार त्यतिबेला नेपालमा अरु कलेजो विशेषज्ञ थिएनन् । फिजिसियन डा. सन्तोषमान श्रेष्ठले कलेजो रोगीको उपचार गर्थे । त्यसको पनि कारण थियो ।

१९७३ मा नेपालमा जन्डिसको महामारी फैलियो । १० हजारभन्दा बढी मानिस विरामी भए । डा. सन्तोषले त्यस्ता बिरामी खोजी–खोजी उपचार गर्न थाले । त्यसपछि उनले लिभर क्लिनिक खोले ।

डा. अनिल वीरमा प्रवेश गर्दा कलेजो रोगको विभाग नै थिएन । मेडिसिन विभाग अन्तरगत लिभर युनिट थियो जसले लिभर क्लिनिकको रुपमा काम गरेको थियो । उनी लिभर युनिटलाई हिप्याटोलोजीको मान्यता दिलाउन लागिपरे । ०५५ सालमा शिक्षा मन्त्रालयमा निवेदन दिए । त्यसपछि हेप्याटोलोजी उपसमूह गठन भयो । ६० सालमा नियमावली संशोधन गरी हेप्याटोलोजी विभाग बनाइयो ।

६ घन्टा थुनिँदा पनि झुकेनन्

सन् २००० मा डा. अनिल मेडिकल काउन्सिलको रजिस्टरमा नियुक्त भए । उनी रजिस्टार बन्दा काउन्सिलको अवस्था दयनीय थियो । जस्ताको टहरामा कार्यालय थियो । सबै कुरा अस्तव्यस्त थिए । सिस्टममा केही चलेको थिएन । तर, कार्यालयभन्दा अगाडि डाक्टरहरुमाथि पर्‍याे उनको नजर ।

‘म फलानो रोगको विशेषज्ञ भन्दै आउथे । तर, उनीहरुको क्षमता जाँच्ने कुनै मापदण्ड नै थिएन । मैले सोचेँ, अरे यार एउटा मोटरसाइकल चलाउन त लाइसेन्स चाहिन्छ । के डाक्टरले कुनै मापदण्ड पुरा गर्नु पर्दैन ?’ उनी सुनाउँछन् ।

त्यतिबेला ३०–३५ देशबाट पढेर आएकाहरु सिधै मेडिकल काउन्सिलबाट लाइसेन्स लिएर उपचारमा खटिन्थे । उनीहरुले बिरामीको उपचार गर्न सक्छन् या सक्दैनन् भनेर परिक्षण गर्ने कुनै सिस्टम थिएन । डा. अनिलले बोर्ड मिटिङ राखेर नियमावली बनाए र स्वाास्थ्य मन्त्रालयमा पेस गरे । नियमावलीमा भनिएको थियो, ‘नेपाल वा विदेश जहाँबाट एमबीबीएस वा एमडी पास गरेको भएता पनि उपचार शुरु गर्नुअघि लाइसेन्सको परीक्षा उत्तीर्ण गर्नुपर्छ ।’

यता मन्त्रालयमा नियमावली बुझाइयो, उता विरोध शुरु भयो । लाइसेन्सका लागि मेडिकल काउन्सिलमा १५२ जना डाक्टरले निवेदन दर्ता गराएका थिए । उनीहरु नै थिए आन्दोलन चर्काउने । एक दिन त भित्र बोर्ड मिटिङ बसिरहेको बेला बाहिरबाट ढोकामा ताल्चा लगाइदिए । ६ घण्टा उनीहरु थुनिए । चारैतिरबाट कार्यालय घेरेका थिए आन्दोलनकारीले । उनीहरुले भनिरहेका थिए, ‘यो निर्णय फिर्ता नलिएसम्म ढोकै खोल्दैनौँ ।’

डा. मिश्रले भित्रैबाट भनिदिए, ‘नियमावलीमा आइसकेको कुरा अब हट्दैन ।’

त्यो घेराबन्दीलाई हटाउन, प्रहरी नै बोलाउनुपर्‍याे ।

खासमा नक्कली डाक्टरको विगविगी रोक्न डा. अनिलले यो कदम उठाएका थिए । नक्कली डाक्टरका केही काण्ड पनि सुनिसकेका थिए उनले । उनी भन्छन्, ‘यसलाई रोक्नका लागि मसँग अर्को कुनै विकल्प नै थिएन ।’

तर, सर्वोच्च अदालतमा नियमावली खारेजीको माग गर्दै उनीविरुद्ध मुद्दा पर्‍याे । उनी तारेख धाए, ६ जना वकिल राखेर मुद्दा लडे । त्यो उनको लागि युद्ध लडे बराबर थियो ।

केही महिनामा सर्वोच्चले डा. अनिलको पक्षमा फैसला सुनायो । त्यसपछि उनले नै लाइसेन्स परीक्षाको सिलेबल्स तयार पारे । भर्ना कार्डको नमुना बनाए । र, भटाभट लाइसेन्सको आवेदन खुला गरे । अहिले पनि त्यही सिस्टम चलिरहेको छ ।

उनी हाँस्दै भन्छन्, ‘अस्ति रजिस्टार डा. दिलिप शर्मा आउनुभएको थियो । मैले उहाँलाई भनेँ कि सन् २००० देखि जे छ, त्यही चलिरहेको छ । केही त चेन्ज गर्नुस् । ब्ल्याक एण्ड ह्वाइट फोटोमा लेमिनेशन गरेर लाइसेन्स दिएका थियौँ । अब तपाईले रंगीन भए पनि बनाउनुस् ।’

मेडिकल कलेजमाथि लगाम

एक दिन उनी बाटोमा हिँड्दै थिए । सडक छेउमा पिपुल्स डेन्टल कलेजको बोर्ड झुण्ड्याएको देखे । बालाजुको एउटा सटरमा थियो त्यो कलेज । उनलाई त्यो कथित मेडिकल कलेजको हविगत देख्दा भाउन्न भएर आयो । त्यसको छाँट कुनै पान पसलको भन्दा गतिलो थिएन ।

मेडिकल कलेजहरुको अनुगमन–निरीक्षण मेडिकल काउन्सिलको जिम्मेवारीमा पर्थ्याे । उनी एक्लै पिपुल्स डेन्टल कलेजको निरीक्षणमा पुगे । सञ्चालकलाई भने, ‘यसरी मेडिकल कलेज चल्दैन सर । मेडिकल काउन्सिलले तोकेको मापदण्ड केही पूरा भएको देखिएन ।’

तर, कलेज सञ्चालकले उल्टै थर्काए, ‘मैले त्यसै खोलेको होइन । श्री ५ को सरकारको अनुमति लिएर खोलेको हुँ । नेपालमा चाहिएर खोलेको हुँ । यस्तै गर्नुभयो भने म दरबारमा गएर तपाईमाथि उजुरी दिन्छु ।’

भित्तामा राजारानीको तस्वीर हाँसिरहेको थियो ।

डा. अनिल पनि कड्किए, ‘गइहाल्नुस निवेदन दिन ।’

अरु पनि मेडिकल कलेजको निरीक्षणपछि काउन्सिलले ६ वटालाई ६ महिनाभित्र मापदण्ड पूरा नगरे सम्वन्धन खारेज गर्ने चेतावनी दियो ।

डा. अनिल सम्झिन्छन्, ‘त्यसपछि त आतंकै फैलियो । केएमसीले हतार–हतार सिनामंगलमा ७४ रोपनी जग्गा लियो । पिपुल्स पनि कलंकीतिर गयो । पाँच महिनामा ६ वटै मेडिकल कलेजले मापदण्ड पूरा गरे ।’

कलेजहरुले भौतिक संरचनाको मापदण्ड त पूरा गरे तर, पढाइको स्तर उनलाई चित्त बुझेको थिएन । त्यहाँ बाक्लो सिसाको चश्मा लगाउने भारतका रिटायर्ड प्रध्यापकहरुले पढाउँथे । चस्मा खोल्दा सायदै आफ्नै विद्यार्थीलाई चिन्थे ।

यसरी जन्मियो न्याम्स

०५७ साल जेठमा डा. अनिलले स्वास्थ्य मन्त्रालय गएर भने, ‘मेडिकल कलेज चलाउने टिचरको फ्याक्ट्री खोल्नुपर्‍याे जहाँ स्नातकोत्तर (पोस्ट ग्राजुयट) को पढाई होस ।’

डा. रामवरण यादव स्वास्थ्यमन्त्रीको कुर्सीमा थिए त्यतिबेला । सचिव श्रीकान्त रेग्मीले मान्दै माननेन् । केहीबेर गम खाएपछि मन्त्री यादवले भने, ‘पछि कुरा गर्छु तपाईसँग ।’

केही समयपछि उनी फेरि मन्त्रालय पुगे । त्यसपछि भने स्वास्थ्य मन्त्रालयले कार्यदल बनाउन भन्यो । वीर अस्पताललाई स्नातकोत्तर संस्थानको रुपमा विकास गनको लागि कार्यदलले सुझाव दियो ।

तर, डा. अनिलको दुख सकिएन । त्यतिबेलै सरकार ढल्यो । नयाँ बनेको सरकारमा स्वास्थ्यमन्त्री थिए– शरदसिंह भण्डारी । उनले विधेयकलाई संसदमा लगेर पेस गर्ने आश्वासन दिए । तर, संसद नै विघटन भयो ।

फेरि स्वास्थ्य मन्त्री फेरिए । आए– डा. उपेन्द्र देवकोटा । मन्त्री भएको १० दिनपछि डा. मिश्र मन्त्रीलाई भेट्न पुगे र आफ्नो एजेण्डाको बेलिविस्तार लगाए । डा. देवकोटाले तत्काल फाइल मगाए र कानुन सचिवलाई बोलाएर अध्यादेशको रुपमा परिणत गरे । त्यसको एक हप्तामै अध्यादेश राजपत्रमा प्रकाशित भयो ।

अनि स्थापना भयो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को । यसरी ०५७ सालदेखिको योजनाले मुर्तरुप लिन ०५९ पर्खिनुपर्‍याे । र, मिश्र वीरमै प्रोफेसर भएर पढाउन थाले ।

त्यहाँ कलेजोको पढाइ हुँदैनथ्यो । कलेजो विशेषज्ञ हुनका लागि डीएमको कार्यक्रम हुनुपथ्र्यो । त्यो पनि ०६७ मा शुरु गरे । र, आफैं पहिलो प्रोफेसर भएर हिप्याटोलोजी पढाउन थाले ।

उनले केही मसिना काम पनि गरेका छन् । तीन करोड सहयोग सरकारसँग मागेर वीर अस्पतालमा फाइब्रोस्क्यान मेसिन ल्याएका छन्, जसको कनेक्सन लण्डनसम्म छ । यसले कलेजोको हरेक जाँच गर्न सक्ने उनी बताउँछन् । त्यसका लागि रोटरी क्लवले सहयोग गरेको थियो ।

अब उनको सपना न्याम्सबाटै सबै विषयको सुपरस्पेसलिस्ट पढाई शुरु गरेर देशमा आवश्यक जनशक्ति उत्पादन गर्ने हो । यसलाई डिएम र एमसीएच भनिन्छ । नेपालका कोही विरामीलाई पनि उपचारको लागि भारत, थाइल्यान्ड धाउनु नपरोस भन्ने उनको ध्येय छ ।

बुवा गुमाएको क्षण

आफ्नो जीवनमा गर्व गर्न लायक अनेक काम गरेका डा. अनिलले भोगेको सर्वाधिक दुखको क्षणचाहिँ के हो त ? त्यसका लागि १४ वर्षअगाडि फर्किनुपर्छ ।

कुरा सन् २००४ को हो । बुवा सीतारामसँगै रातको पौने ११ बजेसम्म बीबीसीको समाचार हेरेर सुतेका थिए उनी । तर, भोलिपल्ट बिहान चिया लिएर बेडमा पुग्दा बुवा मृत अवस्थामा थिए ।

यो संसारमा उनको सबैभन्दा नजिकको कोही थियो भने त्यो उनका बुवा नै थिए । बुवालाई अलिकति उच्च रक्तचाप थियो । टिचिङका सिनियर डा. जेपी अग्रवाललाई फलोअपमा राखिदिएका थिए । आफैं पनि हेरिरहन्थे । सबै ठीकठाकै चल्दै थियो । तर, एकाएक बुवाले संसार छाडे ।

‘म स्तब्ध भएँ । आफै डाक्टर भएर बुवालाई एउटा ट्याब्लेटसम्म खुवाउन पाइनँ,’ उनी थकथकी मान्दै भन्छन्, ‘साह्रै विरक्त लाग्यो । त्यसपछि अझ गहिरो गरी अध्यात्मतिर मोडिएँ ।’

बुवा बितेर गए पनि उनका बोलीहरु अहिले पनि डा. अनिलको कानमा गुञ्जिने गर्छन् । उनका बुवा भन्थे, ‘खुशीमा त सबैले सहयोग गर्छन् । दुःखमा मल्हम लगाउने नै ठूलो मान्छे हो । दुःखबाट छुटकारा दिलाएपछि उसको आँखाबाट जुन खुशीको आँशु झर्छ, त्यसपछि मिल्छ परम आनन्द । त्योभन्दा ठूलो धर्म संसारमा अर्को छैन ।’

यही नै डा. अनिलको जीवनमन्त्र भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment