+
+

बंगलादेशबाट भित्रिएको पाल्पाली ढाकाटोपी !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १०:५२

९ कात्तिक, काठमाडौं । शीरमा लाउने नेपाली टोपीका बारेमा कुरा गर्दा धेरैको रोजाइमा पर्छ पाल्पाली ढाकाटोपी । त्यसो त, भादगाउँले टोपी पनि उत्तिकै प्रचलनमा छ । तर, व्यवसायिक रुपमा हेर्ने हो भने पाल्पाली ढाकाटोपी आम उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

भाइटीका नजिकिँदै गर्दा ढाकाटोपीको माग बढ्न थालेको छ । भाइटीकापछि दिदीबहिनीले दाजुभाइलाई टोपी लगाइदिने परम्परा छ ।  तिहारलाई छोड्ने हो भने विवाह, सार्वजनिक समारोह वा कुनै बिशेष परिस्थितिमा शीरमा ढाका वा भादगाउँले टोपी ढलक्क पार्ने चलन छ ।

ढाकाबाट आएको पाल्पाली ढाकाटोपी !

बिक्रम सम्वत २०१४ सालमा तानसेन नगरपालिकाका पूर्वमेयर एवं स्थानीय गणेशमान महर्जनले सुरु गरेको पाल्पाली ढाकाको उत्पादन विस्तारै विविधीकरण हुँदै गयो । बंगलादेशको ढाकाबाट भित्रिएको प्रविधिलाई आत्मसाथ गरिएकाले यसलाई ‘ढाकाटोपी’ भनिएको हो ।

सुरुवाती समयमा पाल्पाली ढाकाको कपडाबाट टोपी, पछ्यौरा चोलो र साडी मात्रै बन्ने गथ्र्यो । तर, अहिले पाल्पाली ढाकाबाट बन्ने सामाग्री बढेका छन् । पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा, सुरुवाल तथा उपहार दिने खालका सामग्री उत्पादन हुन थालेका छन् ।

फाेटाेः ECS Nepal

पहिले पहिले बाहिरबाट कच्चा धागो तथा अन्य आवश्यक सामाग्री ल्याएर हाते तानबाट ढाका बुन्ने गरिन्थ्यो । हातले बुन्दा समय र लागत धेरै हुन्थ्यो । अहिले मेसिन आएपछि हातले बुन्ने तान घटेका छन् । मेसिन आएपछि समय र लागत बचावट भएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

उत्पादन भएका ढाका मध्य ९० प्रतिशत आन्तरिक बजारमै खपत हुन्छ भने पाँच प्रतिशत मात्रै विदेशी पर्यटकले लैजाने गर्छन् ।

लोकको प्रिय पाल्पाली ढाकाटोपी

टोपी किन्दा धेरै ग्राहकले पाल्पाली ढाका टोपी नै माग्ने गरेको यसका व्यवसायीहरु सुनाउँछन् । व्यवसायीले तिहारलाई ढाकाटोपीको मुख्य ‘सिजन’ रुपमा लिने गरेका छन् ।

पाल्पाली ढाकाटोपीको मुख्य बजार काठमाडौं हो । यसबाहेक पोखरा, चितवन, बुटवल, रोल्पा, रुकुम, नेपालगंज, सुर्खेत, इटहरी, धरान, झापा, बिर्तामोड लगायतका क्षेत्रमा पनि ढाकाटोपी निर्यात हुन्छ ।

आउँदै गरेको तिहारको मागलाई मध्यनजर गरेर पाल्पाली व्यवसायीले पनि ढाका टोपीको उत्पादन बढाएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘तिहारलाई नै भनेर पाल्पाली ढाका टोपीको उत्पादन झण्डै २५ प्रतिशत बढ्छ’, उनले भने ।

यसबेला अन्य समयमा भन्दा ५० प्रतिशत खपतसमेत बढ्ने उनको भनाइ छ । श्रेष्ठका अनुसार पाल्पामा मात्रै वर्षेनी ५० लाख रुपैयाँ मूल्य बराबरको ढाकाका सामग्री उत्पादन हुन्छ । जस मध्ये २० लाख रुपैयाँ बराबरको ढाका टोपीको बिक्री छ ।

पाल्पा उद्योग वाणिज्य संघले यसको प्रवर्द्धनका लागि ‘पाल्पाको चिनारीः पाल्पाली ढाका’ भनेर नारा नै बनाएको श्रेष्ठले बताए । पाल्पाबाहेक तेह्रथुममा पनि ढाकाका कपडा उत्पादन हुन्छ । तर, त्यहाँको बजारीकरणमा समस्या हुँदा पाल्पाली ढाकाले बजार ओगटेको संस्कृतिविद् डा. जगमान गुरुङ बताउँछन् ।

यी बाहेक भारत र बंगलादेशमा मेसिनले बुनिएका ढाका टोपी पनि आयात हुने गरेको छ । पाल्पाली ढाकाको उत्पादनमा विविधिकरण र राम्रो चर्चा भएपनि उद्योगको स्थिति भने उल्टो छ । कामदार अभाव एकातिर छ भने बाहिरि बजार आगेट्न नसक्दा उद्योगको संख्या कम भईसकेको छ ।

यही गतिमा जाने हो भने पाल्पाली ढाका लोप नभए पनि ढाका उत्पादन, उद्योगको रुपमा नरहने व्यवसायीको गुनासो छ । ढाकाको उत्पादन बढाउन र प्रवर्द्धन गर्न सरकारले प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?