Comments Add Comment

नेपाली नेताको चरित्र चित्रणः कहाँ चुके हाम्रा नेता ?

‘राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सकेन’

नेतृत्वको विषयमा चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ, नेतृत्व भनेको के हो, नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन् । झट्ट सुन्दा हामी नेतृत्व भनेर राजनीतिक नेतालाई मात्रै बुझ्छौं । हाम्रो चिन्तन र सोचाइ राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको पाउँछौं । राजनीतिक नेताहरूले नीति बनाउने भएकाले उनीहरूको ठूलो महत्व छ । त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ ।

तर, त्यसोभए राजनीतिक नेतृत्व मात्रै नेतृत्व हो त ? पक्कै होइन । यो सापेक्ष विषय हो । कुनै घरमा बाबुले, कुनैमा घरमा आमाले, कसैले घरको ज्येष्ठ सदस्य वा कुनै घरमा सामूहिक निर्णय लिने चलन पनि हुन्छ ।

नेताको विम्वका रुपमा वीपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदिको नाम अगाडि आउँछ । तर, कुनै पनि नामले हामीलाई रोमाञ्चित बनाउन भने सक्दैन । कुनै समयमा बनायो होला । तर, सधैं बनाइरहन सक्दो रहेन छ । सबल र सक्षम भनिएको नेतृत्व पनि हेर्दा–हेर्दै धरासयी हुँदो रहेछ । यसबाट नेतृत्व भन्ने कुरा पनि सधैं रहिरहने होइन भन्ने थाहा पाउन सकिन्छ ।

एडमण्ड हिलारीले एउटा अन्तर्वार्तामा शिखरको सबैभन्दा माथिल्लो उचाइमा पुग्नुको अर्को स्टेप भनेकै तल झर्नु हो भनेका थिए । नेतृत्वको विषयमा चर्चा गर्दा पनि यो कुरा लागु हुन्छ ।

त्यसैले नेतृत्व के हो भन्ने विषयमा आफैंमा त्यति सरल छैन । विश्वविद्यालयहरूमा पनि नेतृत्वको विषयमा पढाइन्छ । तर, नेतृत्व र नेताका बारेमा बुझ्न निकै कठिन भइरहेको छ ।

एरिस्टोटल भन्छन्, हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो ।

नेतृत्वप्रतिको अपेक्षा

हामी नेतृत्व असफल भयो, असफल भयो भनिरहेका छौं । असफल भयो भन्दा हामीले नेतृत्वबाट केही कामना गरिरहेका हुन्छौं । समाज र नेतृत्वबीच बडो महत्वपूर्ण सम्बन्ध हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । विश्वमा नाम चलेको जस्तो नेता यहाँ खोई भनेर मात्रै हुँदैन ।

भाषण गर्ने बेलामा नेपालमा यत्रो सम्भावना छ, तर नेतृत्वले देखिरहेको छैन भन्छौं । अथवा नेपालमा यति समस्या छन् तर नेतृत्वले सुल्झाउन सकिरहेको छैन भनिन्छ । यस्तो भन्ने मानिसले के कल्पना गरिरहेको हुन्छ भने एउटा यस्तो बलशाली व्यक्तित्व आओस् र तपाईको समस्या समाधान गरिदेओस् ।

कताकता नेतृत्वलाई हामीले दैवीगुणबाट सम्पन्न व्यक्तिका रुपमा, अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र बल भएको चमत्कारिक व्यक्तिको कल्पना गरिरहेका हुन्छौं । त्यसैले होला, नेतृत्वको महत्वपूर्ण पक्षमा कुनै न कुनै कुरा गर्ने गराउने आधिकारिकता हुन्छ ।

कहाँबाट आउँछ क्षमता ?

नेतृत्वले तीन तरिकाबाट आधिकारिकता पाउँछ । एउटा हो दैवीशक्ति । जस्तो– भगवान श्रीकृष्ण । बुद्धमा नेतृत्व ज्ञान र बुद्धिले गर्दा आयो । किनभने सबैले बुद्धत्व प्राप्त गर्न सक्दैनन् । कुनैबेलामा राजा महाराजा, शंकराचार्यहरूलाई ईश्वरको अवतार लिएर आएको भनेर नेतृत्वको रुपमा लिइन्थ्यो । त्यस्तै पोप पनि दैवी नेतृत्वमै पर्छन् ।

अर्को हुन्छ करिश्मा । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाएको हुन्छ । जस्तो– गान्धी । जसलाई चर्चिलले हाफ न्याकेट फकिर भनेका थिए । उनले आफ्नो काम र विचारबाट सबैलाई तरंगित पारे । गान्धी यति सर्वस्वीकृत भएछन् कि उनको फोटो पनि चाहिँदैन । एउटा रेखाले गान्धीको नेतृत्वलाई चित्रित गर्न सकिन्छ । एउटा गोलो चश्मा र लौरो ठड्याइदिनुस्, त्यो गान्धी भइहाल्छ । नेतृत्वको करिश्मा भनेको त्यो हो ।

भारतकै सन्दर्भमा भन्नुपर्दा नेहरूको पनि अचम्मको करिश्मा थियो । उनी पढे लेखेका थिए, धेरै वर्ष जले बसे । उनले आफ्नो समयमा पनि धेरै मान्छेलाई प्रभावित गर्न सके । उनको नामै काफी छ ।

बीपी कोइरालामा करिश्मा थियो भनिन्छ । शान्ति सम्झौता हुनुभन्दा अगाडिको प्रचण्डमा शायद त्यो करिश्मा थियो कि ? मैले भने प्रचण्डसँग संगत गर्ने, देख्ने, भेट्ने मौका पाएको छैन ।

त्यसैगरी शुरुका दिनमा गिरिजाप्रसाद कोइरालालाई कसैले पत्याउँदैन थिए । तर शान्ति सम्झौतापछि उनी ‘टावरिङ फिगर’को करिश्मा लिएर आए ।

रामदेवले पनि संसारलाई घुमाइरहेका छन् । सास यसरी फेर, खुट्टा यसरी घुमाउ भनेपछि मान्नेहरू थुप्रै छन् । एक किसिमको करिश्मा उनमा पनि छ ।

करिश्मा मेहनत र परिश्रमबाट बनेको पनि हुन सक्छ । जस्तो–शाहरुख खान । कला र सामाजिक क्षेत्रमा उनको नेतृत्व छ ।

तेस्रो हो– कानूनी वैधानिकता । जस्तो– भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह । उनी प्रक्रियाबाट आए, कानूनी स्रोतबाट नेतृत्व शक्ति प्राप्त गरे । जस्तो पत्रिकाको सम्पादक । जोसुकै आओस् वैधानिक बाटोबाट सम्पादक बनेको छ भने तपाईहरूले स्वीकार्नुपर्छ । त्यस्तै प्रहरी महानिरीक्षकलाई संगठनका सबैले सलाम गर्नुपर्छ । उसको नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो ।

नेतृत्वको नैतिकता र चुनौति

लोकतन्त्रमा नेतृत्वको चुनौति पनि छ । हामी वैधानिक तरिकाबाट समानताका कुरा गरिरहेका छौं । सबै मान्छे समान छौं, अवसरले नेतृत्वले स्थापित गर्छ भनिन्छ । तर, हाम्रो कामना के छ भने म पनि त्यो दैवी स्रोत लिएर आएको भए हुन्थ्यो । म पनि रामदेवजस्तो दुनियाँलाई घुमाउन सक्ने भएको भए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं ।

समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । मौका पाउने हो भने तपाई हामी सबै नेता बन्न सक्छौं । तर, नेता बनिसकेपछि के बिर्सन्छौं भने हामी नियम कानूनअनुसार गर्नुपर्ने काम गर्नका निमित्त आएको हुँ । म निमित्त हुँ भन्ने नै बिर्सन्छौं । समस्या यहीँनिर छ ।

नेतृत्वमा सबैभन्दा ठूलो सैद्धान्तिक समस्या कहाँनेर छ भने मान्छे, मान्छे हुन्छ गुणका कारण । तर, आज मान्छे, मान्छे छ समानताका कारण । यो समानताको जमाना हो । हरेकले केही केही काम गर्न पाउनुपर्छ र परिस्थिति सिर्जना भयो भने काम गर्न सक्छ भन्ने मान्यता छ ।

उदाहरणका लागि कानूनीरुपमा संसदका सबै सदस्य प्रधानमन्त्रीका लागि योग्य हुन्छन् । प्रत्येक सांसद प्रधानमन्त्री पदको उम्मेदवार बन्न पाउँछन् । त्यही भएर त संसदीय प्रणालीमा ‘प्राइम–मिनस्टर इज फस्ट अमङ्ग द इक्वेल’ भनिन्छ ।

भूकम्प आउँदा सबै आ–आफ्नो ज्यान जोगाउन भाग्छौं । यो स्वाभाविक कुरा हो । जब हामी नेतृत्वको चर्चा गर्छौं, त्यसरी आफ्नो ज्यान जोगाउन भाग्ने कि अरुको ज्यान जोगाउन लाग्ने ?

पश्चिमा देशहरूमा आफू जोगिन सकियो भयो अरुलाई जोगाउन सकिन्छ भन्ने मान्यता राखिन्छ । तर, हामीले यस्तो परिस्थितिमा के सुनेका छौं भने त्यो कस्तो बहादुर, कस्तो नेतृत्व गर्‍याे त्यसले आफ्नो ज्यान जोखिममा राखेर अरुलाई जोगायो ।

आफ्नो ज्यान जोगाउन भाग्ने नेतृत्व हो कि आफ्नो ज्यान जोखिममा राखेर अरुको ज्यान जोगाउन लाग्ने नेतृत्व हो ? यो नेतृत्वको विषयमा चर्चा गर्दा छुटाउनै नहुने नैतिकताको प्रश्न हो । जब नैतिकताको प्रश्न आउँछ, त्यो नेतृत्वसँगै जोडिएको हुन्छ ।

हाम्रो सन्दर्भमा हेर्दा दैवी नेतृत्व र क्यारिस्म्याटिक नेतृत्वको चाहना बढी देखिन्छ । नेतृत्वका विभिन्न तह हुन्छ । कसैले देशकै नेतृत्व गरिरहेको हुन्छ भने कसैको नेतृत्वमा एउटा विभाग वा सेक्सन हुन्छ ।

नेतृत्व तुलनात्मक र सापेक्ष हुन्छ । तर, हाम्रो कल्पना कस्तो छ भने नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।

नेता र नेतृत्वलाई अलग अलग बनाएर हेर्नुपर्दछ । नेता व्यक्ति हो भने नेतृत्व सामूहिक हुन्छ ।

अर्को एउटा उदाहरण हेरौं ।

सडकमा हिँड्दा फोहोर देखियो । एकथरी मान्छे त्यसलाई टपक्क टिपेर डस्टबिनमा फाल्न जान्छन् । हरेकपटक फोहोर भेट्यो कि सफा गर्न आफैं अघि सरिहाल्छन् । अर्कोथरीको स्वाभाव कस्तो हुन्छ भने टोल छिमेकका मान्छे जम्मा गरेर यहाँ फोहर भएछ, अब फोहर नगरौं भन्छन् । अर्थात नेतृत्वको शुरुवात यसरी हुन्छ । नागरिक चेतना छ कि छैन भन्ने कुरामा नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ ।

नेतृत्वले बिर्सेको समाज

हिजो दशैंका बेला बाटो सफा गरिन्थ्यो । अहिले फोहोर भयो भने नगरपालिका वा गाउँपालिकालाई भन्छौं । अर्थात राज्य गुर्हाछौं । राज्यको प्रतिनिधि को हो भने नेता हो ।

विकास राज्यले गर्ने हो भन्ने धारणाका कारण हामी परामुखी भइरहेका छौं । यो कसले गर्ने त भन्दा वडाध्यक्षले गर्ने वा वडासदस्यले गर्ने भन्छौं । मैले त्यसलाई भोट किन दिएको भन्दा मेरो काम गर्नका लागि दिएको भन्ने बित्तिकै नागरिकले आफूमा भएको नेतृत्व नेतालाई हस्तान्तरण गर्‍याैं । र, आफू निकम्मा हुने स्थितिमा पुग्यौं ।

राज्य हावी हुनेबित्तिकै हाम्रो अपेक्षा राज्यतिर गयो । राज्यको प्रतिनिधित्व गरेको नेताले काम गरेन । अर्कोतिर सामाजिक नेतृत्व कमजोर हुँदै गयो । म काठमाडौंमा पढ्न बस्दा सुन्धारामा लुगा धुन जान्थ्यौं । आजको पुस्ताले त्यो सुन्धारा सफा थियो भन्ने कल्पनासम्म गर्न सक्दैन ।

राजनीतिक संक्रमणसँगै समाज पनि परिवर्तन हुँदै गयो । समाज परिवर्तन भएपछि सामाजिक धरातल पनि परिवर्तन भयो । परिवर्तन हुनेबित्तिकै समाजको नेतृत्वमा संकट देखिन थाल्यो ।

राजनीतिकरुपमा नेतृत्व बडो क्रान्तिकारी देखियो । समावेशिता भन्यो, समानुपातिकता भन्यो, संविधान पनि बनायो । तर, कार्यान्वयनमा समस्या देखियो ।

यत्रो युगान्तकारी परिवर्तन गरेर आएको राजनीतिक नेतृत्व सामाजिक परिवर्तनलाई बुझ्न सकेको छैन । त्यही भएर राजनीतिक नेतृत्व सामाजिक विषयमा कन्जरभेटिभ छ । सामाजिक परिवर्तनलाई राजनीतिक नेतृत्वले आत्मसात गर्न सकेको छैन ।

मेरो गाउँमा म मात्रै बस्छु भन्ने मानसिकता छ । जबकि उसको गाउँमा धेरै मान्छे आएर बस्न थालिसक्यो । संसार परिवर्तन भइसक्यो । आफ्नै छोरीहरू पढालेखा भइसके । तर, त्यही एउटा निर्मला पन्तको मुद्दा सल्टाउन सकेको छैन ।

नागरिकताका बारेमा त्यत्रो हंगामा गर्‍याे । नागरिकताको मामिलामा लिडरसीप सबैभन्दा बढी रिग्रेसिभ भएर आयो । सामाजिक परिवर्तनलाई आत्मसात् गर्न नसकेर सोसल्ली कञ्जरभेटिभ भएको हुनाले राजनीतिक नेतृत्वमाथि सबैभन्दा ठूलो प्रश्न चिह्न खडा भएको छ ।

नचाहेको पनि हो नसकेको पनि हो । जस्तो संघीयताको विषयमा । त्यसलाई एक पटक प्रयोग नै नगरिकन, एउटा निर्वाचन चक्र पूरा नभइकन शिक्षा, स्वास्थ्यको अधिकार फर्काउँदैछ नि त । एक त नेतृत्व लोभी भएछ । तल दियो भने मैले निर्णय गर्ने के हो भन्ने सोच भएछ । अर्को बेइमान पनि देखियो ।

शुरुमा त उसले नेपाली समाजलाई अनुकुल ठानेर प्रयोग गर्‍याे । त्यो पनि आफैंमा बेइमानी थियो । उसले भनेजस्तो एजेण्डाका लागि समाज तयार भएको थिएन भने उसले तयार पार्नुपथ्र्यो ।

त्यसकारण मलाई राजनीतिक नेतृत्व वा सामाजिक नेतृत्व बडो जाली रहेछ भन्ने लाग्न थालेको छ । किनभने यसले भनेको कुराहरू नगरिकन हात झिक्ने काम गरिरहेको छ । नेतृत्व हो भने त उसले समाजको स्पन्दन त सुन्नुपर्‍याे नि । सत्ताको कारणले गर्दा सुन्न नसक्ने बहिरो त हुनुभएन नि ।

अर्को कुरा, नेतृत्वले प्रतिक्रियात्मक रुपमा यो काम गरे भन्ने सुनेको छैन । माग पनि पूरा गर्न सकेको छैन । जब कि हिजो उसकै कारणले माग सिर्जना भयो । नेतृत्वको सबैभन्दा ठूलो क्षमता नै अरुको कुरा सुन्ने हो । सुन्दै नसुन्नै नेतृत्व बेइमान हो ।

नेतृत्व सुन्ने, समायनुकुल र आफैंले बनाएको नियम कानूनमा बस्ने हुनुपर्‍याे । यो नियम त मैले अरुलाई बनाएको हो, मलाई लाग्दैन भन्नु नेतृत्वको सबैभन्दा ठूलो कमजोरी हो । तानाशाही जन्मिने पनि यही प्रवृत्तिबाट हो ।

हामीकहाँ नेतृत्वको सांस्कृतिक फ्रेमवर्क नै बनेको छैन । माथि चर्चा गरेजस्तो पहिलो दुईवटा आधारमै छन् । अहिलेको नेतृत्वले यो सारा परिवर्तन जनता लडेर आएको होइन, मैले दिलाएको हो भन्ने छ । नेतृत्वमा हामीले दिने हो भन्ने सोच छ । तपाई र मेरो अधिकार उसले दिने होइन नि ।

सरकारमा गएपछि उसलाई ३३ प्रतिशतको प्रावधान लागु नहुने, दुई हिताई भएपछि संसदीय प्रक्रिया मान्नु नपर्ने भनेपछि नेतृत्व त बेइमान भयो नि । निर्वाचन, जातजाति, आरक्षणको सन्दर्भमा पनि यस्तै छ ।

नेतृत्व कहाँबाट जन्मिन्छ, आफ्नो कुरा भयो । तर, व्यवहारमा नेतृत्व ढुलमुले छ । नेता नेतृत्वको फ्रेमवर्कमा बाँधिन चाहँदैन । लोकतन्त्रमा नेतृत्व त सामूहिक हुन्छ नि । भोलि जनताले चुनौति दिन सक्छ । आवाज उठाउन सक्छ, सडकमा ढुंगा हान्न जान सक्छ ।

नेताहरूलाई नेतृत्व मैले वंशागतरुपमा लिएर आएको हुँ, दैवी परम्पराबाट लिएर आएको हुँ भन्ने लाग्न थाल्यो । पार्टी बनाएका कारण, जेल बसेका कारण, ऐतिहासिकताका कारणले नेता बने । भविश्यलाई डोर्‍याउनका लागि, सम्झिन योग्य काम गर्नका लागि नेता बनेको हुँ भन्ने बिर्सेपछि त गाह्रो भयो नि ।

समाजको कामना पनि त्यस्तै छ । फलाना हेडमास्टर राम्रो थियो । किनकि उनी कडा थिए । विद्यार्थीलाई लौरीले हिर्काउँथे भन्छौं । आजको जमाना त लौरी हिर्काउने होइन । हिजो यस्तो नेतृत्व आवश्यक थियो होला । आज त न्याय, समानताको समय हो । यस्तो समयको नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा यथेष्ठ चर्चा, परिचर्चा, विचार विमर्श भएको छैन । जसले नेतृत्व गर्छ, उनीहरूका बीचमा पनि यो विषयमा छलफल नभएको अवस्था छ ।

नेतृत्व भनेको अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो रहेछ । अहिलेको नेतृत्वबाट दोस्रो पुस्ताले हामी चतुर हुनुपर्छ भन्ने सिकेछौं ।

फेरिएको नेतृत्व

पहिला–पहिला फर्म भर्ने बेलामा नेताहरुले सामाजिक सेवा लेख्थे । अहिले राजनीति गर्नेहरूले पेशाको महलमा व्यावसाय लेख्छन् ।

राजनीति गर्नेहरूको सबैभन्दा ठूलो समस्या के हो भने उनीहरू लगानीकर्तामा परिणत भए । नेताहरू नै अस्पताल, विद्यालय चलाइरहेका छन् ।

चलाउन पाइँदैन भन्ने होइन, तर सार्वजनिक नीति आफ्नो अनुकुल बनाउनुभएन । उनीहरू आफ्नो स्वार्थबाट मुक्त छैनन् । संसदको नीति निर्माण आफ्नो व्यवसाय हेरेर बनाउनु भएन । सार्वजनिक हितमा काम गर्छु भन्ने हो भने यो विषयमा मेरो स्वार्थ बाझिन्छ, त्यसैले म यो काम गर्दिनँ भन्न सक्नुपर्छ ।

नेता धनी हुनु, ठूलो घर बनाउनु समस्या होइन । हिजो चप्पल लगाएको नेता गाडीमा हिँड्यो भनेर रोइलो गर्न पनि आवश्यक देख्दिनँ । तर, उसको आयआर्जनको स्रोत पारदर्शी हुनुपर्छ । भारतमा नेहरुलाई त कसैलाई प्रश्न उठाउन सकेन नि ।

धनी र गर्न सक्ने मान्छे नै आउने हो राजनीतिमा । गरेर खानुपर्ने मान्छेहरू त साँझ बिहानका लागि, खानाकै जोहो गर्न लागिरहेका हुन्छन् । त्यो वर्गलाई त कम्युनिष्टहरूले रोमान्टिज्म मात्रै गरेका हुन् । परेका बेलामा उनीहरू कोदालो फ्याँक्न भने सक्छन् ।

म ट्रेड युनियनमै काम गरेको मान्छे हुँ । मजदुरले फ्याक्ट्री बन्द गर्छन् । तर, खोल्नका लागि । सँधै बन्द होस् भन्ने उनीहरू पनि चाहँदैनन् । यस्तो संघर्षलाई जसरी रोमान्टिसाइज्ड गरिन्छ, त्यति सजिलो हुँदैन । संघर्ष गर्नका लागि समय, साधन स्रोत पनि चाहिन्छ ।

दुनियाँले ट्याक्स तिर्ने, नेताले नतिर्ने हुनुभएन । राजनीति गर्नेहरूलाई विशिष्ट श्रेणीको जस्तो व्यवहार गरिन्छ । नियम, कानून र व्यवहार समान हुनुपर्‍याे । पदमा होस् कि नहोस्, कुनै पनि नेता लाइनमा बसेको देख्नुभएको छ ?

मेरो भनाइ के हो भने समानताको जमानामा लिडरसीपको महत्व नै फरक हुन्छ । त्यसको ‘वेटेज’ नै फरक गर्नुपर्छ । हामी हिजोको असमानताको जमानाको कुरा गरिरहेका छौं ।

नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिएको हो । संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले त यसलाई ‘डिक्लियरेसन अफ कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ पनि भनिन्छ । अमेरिकामा अहिले यो विवाद छ । डोनाल्ड ट्रम्पले मानिरहेका छैनन् । उनी व्यापार पनि गर्छन् । इथिक्स कमिटीले ट्रम्पलाई दबाव दिइरहेको छ ।

सदावहार नेतृत्वमा

राजनीतिमा जाने मान्छेले म व्यक्तिगत लाभ लिने छैन भन्न नसक्दा नै जनताले जुन जोगी आए पनि कानै चिरेको भन्ने अवस्था आएको हो । ४ वर्ष, ५ वर्षमा निर्वाचन हुनुको अर्थ एउटा व्यक्ति निश्चित अवधिका लागि मात्रै पदमा जानुपर्छ भनेर हो । तर, हामीकहाँ बीसौं वर्षसम्म पनि त्यही व्यक्तिले पद ओगटिरहेको हुन्छ ।

यस्तै कारणले हाम्रो सार्वजनिक नीति फितलो भएको हो । जस्तो यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य सार्वजनिक हितमा छ । तर, नेतृत्वले व्यक्तिगत लाभ हेर्दा घोषणा भइसकेको सिण्डिकेट पनि अन्त्य हुन सकेन । समाजवाद उन्मुख नीति लिएको भनिए पनि शिक्षा क्षेत्रमा लागु हुन सक्दैन रे । किनकि त्यहाँ पनि व्यक्तिगत हितकै कुरा छ ।

मैले अघि राजनीति गर्नेहरू लगानीकर्ता भए भनेको थिएँ । राजनीतिमा पनि उनीहरूकै सन्तान नयाँ लगानीकर्ताका रुपमा आएका छन् । पैसा भएपछि राजनीतिमा स्थापित हुन गाह्रो छैन । पार्टी कब्जाको मनस्थितिबाट राजनीति अगाडि बढेकाले पुस्तान्तरणको कुरा मैले यहाँ देखेको छैन ।

गएको २० वर्षमा राजनीतिमा प्रयोग भएका शब्द लोकतान्त्रिक छैनन् । कब्जा, घेराबन्दीको कुरा आएका छन् । लोकतन्त्रमा पनि ‘कब्जा’ भन्ने हुन्छ र ?

पार्टीभित्र शत्रुगत व्यवहार छ । एकअर्काबीच बेलाचाल छैन । विकृत सम्बन्ध जोडिएको छ । सकारात्मक सम्बन्ध जोडिएका छैनन् ।

समाजसँग नजोडिएको नेतृत्व

समाजलाई राजनीतिले डोर्‍याउनुपर्ने हो । तर, समाज आफ्नो किसिमले र राजनीति आफ्नो किसिमले हिँडिरहेको छ । बसाइँ सराइको यत्रो समस्या छ । त्यसले समाजमा पारिरहेको असर बारे नेतृत्व मौन छ । वैदेशिक रोजगारीमा जानेहरूले पठाइएको आइफोन, ट्याब बोक्ने । तर, उनीहरूको परिवारमा आएको विचलनको विषयमा नबोल्नु विडम्बना होइन र ?

राजनीतिक पार्टीहरू पनि त्यही वैदेशिक रोजगारीमा जानेहरूको कमाइबाट चलेका छन् । परिवार टुटेको छ, केटाकेटीहरू ड्रग्समा फसेका छन्, विद्यालय राम्रोसँग पढ्न पाएका छैनन् । यसका बारेमा बोलेको खै ? समाज त्यहाँ छ, नेतृत्व चुनाव मात्रै जित्ने ध्याउन्नमा छ ।

समाजमा सकारात्मक परिवर्तन पनि नभएको होइन । तर, नेतृत्वले त्यसतर्फ ध्यान नदिँदा त्यो परिवर्तनले विकृत रुप धारण गरेको छ । व्यक्तिगत केहीलाई नोकरी लगाउने कुरा गर्छन् । तर, सामूहिक रुपमा युवालाई नोकरी दिने कुरै गर्दैनन् । गाउँको एक/दुई जनालाई नोकरी दिने काम नेतृत्वको होइन । उसले सबैलाई नोकरी दिने नीतिमा बनाउने हो । देशभरिकै बेरोजगारी समस्याको विषयमा बोल्नुपर्‍याे । घोषणापत्रमा त सबैलाई रोजगारीको व्यवस्था हुन्छ भनेर लेखेकै छ । रोजगारी नीतिमा छलफल भएको खै ?

गल्फका युवाहरू कुनै कारणले फर्कनुपर्ने अवस्था आयो भने ठूलो समस्या हुन सक्छ । केही सीप त लिएर आउलान्, त्योभन्दा बढी त नैराश्यता नै ल्याउँछन् । यो विषयलाई सबैले बेवास्ता गरेका छन् । राजनीति मात्रै होइन, सामाजिक नेतृत्वले पनि यो विषयमा बोलेको छैन । गैरसरकारी संस्थाहरूको पनि यता ध्यान गएको छैन । समाज आहत भयो, कुण्ठाग्रस्त भयो, पीडामा पर्‍याे भने यो नेतृत्व सप्रेर बस्छ ? बस्दैबस्दैन ।

यी मुद्दालाई सामाजिक आन्दोलनले राजनीतिसँग जोड्नुपर्दछ । त्यस्तो कुरा उठाउँदा गैससले राजनीति गर्‍याे भनिन्छ । कुनै दलमा नलागेर सामूहिक काम गरिसकेपछि त गैसस भइहाल्यो नि । जस्तै– बेरोजगारीको विषयमा कुरा उठायो भने त्यो राजनीति हुन्छ ।

सामाजिक आन्दोलन कमजोर भएर गएका छन् । जब कि यस्तो बेलामा सामाजिक आन्दोलनको ठूलो आवश्यकता देखिन्छ । सामुदायिक प्रयत्नहरूको खाँचो छ । स्थानीय समूह, समुदायलाई पनि दशैंका बेला एउटा खसी, दुईवटा भाले बल दिएर हुन्छ कि चारजनालाई विदेश पठाएर हुन्छ, उनीहरूलाई किनिसकेको अवस्था छ ।

क्लब, जातजाति, समुदाय, महिला जस्ता सामाजिक समूहहरू एक प्रकारले लेफ्ट ओरियन्टेड धेरै छन् । अहिले बाम सरकार छ । सरकारलाई के लागेको छ भने ती सामाजिक मुद्दा हामीले समाधान गर्ने हो, सामाजिक दायित्वले होइन भन्ने लागेको छ ।

राज्यको आफ्नै चुनौति हुन्छ । राज्य जति माथि जान्छ, त्यति अन्धो हुँदै जान्छ । अहिलेको सरकार भ्रष्ट किन भन्नुपर्छ भने उसँग निरपेक्ष पावर छ । सरकारको मात्रै कुरा होइन, सामाजिक समूहहरूको नेतृत्वमा पनि रुखोपन आएको छ । हामी त निर्वाचित भएर आएका हौं । त्यसैले हाम्रो कुरा सुन भन्छन् ।

एउटा अनौठो समाचार आएको छ । विदेश गएर नेपालका बारेमा आलोचनात्मक कुरा गर्नेको राहदानी रोक्नुपर्छ भनेर माधव नेपालले बोलेको भन्ने समाचार आएको छ । युएनसीएचआरलाई हटाउन जेनेभा र अरुण तेस्रोको विषयमा विश्व बैंकलाई पत्र लेख्ने उहाँ नै होइन र ? १२ बुँदे भारतमै भएको होइन र ? माओवादीलाई भारतमा पुगेर भेटें भनेर वामदेव गौतमले सगर्व भन्दै आएका छन् ।

युवा नेतृत्वबाट पनि आश गर्न सकिने आधार देखिएको छैन । टाठाबाठा, जान्ने सुन्ने छन् । तर, उनीहरू पनि एउटा न एउटा पुराना नेताको फेरो समातेर हिँडेका छन् । दाइको अनुकम्पबाट माथि उठ्न सकेका छैनन् । नेतृत्व हस्तान्तरणका लागि त तलबाटै दवाब सिर्जना गरेर आउनुपर्ने हो । नेतृत्व वैधानिक प्रक्रियाबाट आउनुपर्छ । अहिले दासा मानसिकता हाबी छ । भित्रैबाट झिल्को जगाउने खालको छैन । सेल्फ करेक्टिङ अर्गनाइजेसन नै अगाडि बढ्न सक्छ ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment