+
+

तिहारमा दमकलका कर्मचारी : झिलिमिलीसँगै थपिन्छ चिन्ता

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७५ कात्तिक २० गते १९:४४

२० कात्तिक, काठमाडौं । कामकाजी नेपालीलाई दशैँ र तिहारबीचका दुई हप्ताको अवधि वर्षभरिको सबैभन्दा फुर्सदिलो समय हो । यो समयमा प्रायः स्कुल कलेजहरू बिदा हुन्छन् भने अन्य कार्यालयमा पनि कामको खासै चाप हुँदैन ।

तर, ५३ वर्षीय परशुराम शाहीका लागि यी दुई हप्ता वर्षका सबैभन्दा व्यस्त दिन हुन पुग्छन् । उनमा त्यसै त्यसै चिन्ता बढ्छ । शाहीका करिब तीन दर्जन सहकर्मीको हालत पनि उनको भन्दा फरक हुँदैन ।

सारा काठमाडौँ बत्तीको झिलिमिलीमा रमाइरहँदा शाहीको ध्यानचाँहि यी बत्तीले कतै कुनै दुर्घटना ननिम्त्याऊन् भन्नेमा हुन्छ ।

शाहीले काठमाडौँ दमकलमा काम गर्न लागेको १७ वर्ष भयो । यसबीचमा हरेक तिहारमा उनले पाँच/दश वटा आगलागीका घटनाको साक्षी बन्नुपरेको छ । यो तिहारमा पनि शाही र उनका सहकर्मीलाई चाडवाड हो भनेर परिवारसँग रमाउने फुर्सद हुने छैन ।

काठमाडौँ महानगरपालिका अन्तर्गतको जुद्ध वारुणयन्त्रमा कहिल्यै पनि पर्याप्त कर्मचारी नरहेको अवस्थामा शाहीहरूको व्यस्तता झनै बढेको छ । असक्षम नेतृत्व र गैरजिम्मेवार स्थानीयबासीले गर्दा अग्नि नियन्त्रकका कैयन् समस्या हल हुन पाएका छैनन्, उल्टो बढेका छन् । यिनै चुनौतीसँग जुध्दाजुध्दै हरेक तिहार कट्छ शाही र उनका सहकर्मीको ।

पलपलमा जोखिम

शाहीका अनुसार दमकलमा काम थालेदेखि उनले काठमाडौँ र आसपासका जिल्लाका करिब एक हजार आगलागीका घटनाका काम गरेका छन् । “औसतमा हाम्रो कार्यालयलाई प्रतिवर्ष दुई सय आगलागीका घटनाको खबर आउँछ । यहाँ हामी हरेक दिन तिन सिफ्टमा काम गर्छौँ । अर्थात्, एकजनाले आफ्ना सहकर्मीसँग मिलेर एक वर्षमा ६०/६५ वटा घटनामा काम गर्नुपर्छ,” उनी सुनाउँछन् ।

सामान्यतया कामको अनुभव बढ्दा त्यसमा आइपर्ने चुनौती कम हुँदै जानुपर्ने हो । कामदारको डर बिस्तारै घट्दै र अन्ततः हट्दै जानुपर्ने हो । तर, शाहीको हकमा यो लागू भएको छैन । सुरुवाती वर्षमा आगोसँग खेल्न जस्तो डर लाग्थ्यो, आज पनि करिब त्यस्तै छ ।

“लाग्छ मेरो जिन्दगी हरेक पल जोखिममै छ । अहिले म यहाँ छु, दुई मिनेटपछि के हुन्छ कसलाई थाहा छ र ?” शाही सुनाउँछन्, “दुईतिन चोटि त मलाई मेरो जिन्दगी यहीँ सकियोजस्तो लागिसकेको छ ।”

उनी विगतका घटना सम्झन थाल्छन् ।

“सात वर्ष अगाडिको कुरा हो । वीर अस्पताल छेउको एउटा पाँचतले घरमा आगो लाग्यो । छानामा जस्ता भए पनि यो घरका हरेक तलाका भुईँ काठले बनेकाले छिट्टै आगो सल्कियो । हामी पल्लो घरको छतबाट पानी फ्याँकिरहेका थियौँ,” उनी सुनाउँछन्, “तर हामी एक्कासी आगो लागेको घरको भुईँ तलामा खस्यौँ । सबैतिर धुवाँधुलो थियो । हामीले केही देखेनौँ, केही गर्न सकेनौँ ।”

“केही मिनेटपछि हामी बल्लतल्ल बाहिर निस्कियौँ । धन्न आडैमा अस्पताल थियो र हामी बाँच्यौँ । मेरो एकजना साथीको चाँहि हातै काटेर फाल्नुपर्‍याे ।”

करिब डेढ वर्ष अगाडि महाराजगञ्जमा पनि उनलाई त्यस्तै भयो । ग्यास डिपो रहेको टहरामा आगो लागेछ । “हामी पुग्दासम्म सिङ्गो टहरो खरानी भइसकेको थियो । दुईचार वटा कुकुर पनि जलेर मरेका थिए ।”

“सुरुमा त मलाई हामीले ढिला गरेकै कारण यत्तिको क्षति भयो भनेर पछुतो भयो । तर, त्यहाँको अवस्था बुझेपछि थाहा भयो यदि दुई मिनेट अगाडि मात्र हामी त्यहाँ पुगेको भए हामी पनि त्यहीँ खरानी हुने रहेछौँ,” यो कुरा सुनाउँदा आज पनि शाहीको अनुहारको चमक बढ्छ, “अनि त ‘हे भगवान्, धन्न ढीला भइएछ र बाँचियो’ भनेजस्तो भो ।”

पीडितबाटै चुनौती

महाराजगञ्जको घटना एउटा अपवाद थियो । सामान्यतयाः घटना स्थलमा पुग्न ढीलो हुँदा जोखिम बढेर जान्छ । आगोको रापसँगै अग्नि नियन्त्रकले गर्नुपर्ने मेहनत, लाग्ने समय र अन्य स्रोतसाधनको मात्रा पनि बढ्छ ।

“त्यति मात्रै होइन । तपाईँहरूले ध्यान दिएर नसोचेको अर्को चुनौती पनि छ,” शाही एकाएक गम्भीर र आक्रोशितजस्ता देखिन्छन्, “हामी ढीलो पुग्यौँ भने स्थानीयबासीले हामीलाई दुव्र्यवहार गर्छन् । हामीलाई गाली गर्छन् । ‘अफिसमा भोज खाएर बस्यौँ, अनि सब थोक नासिएपछि यहाँ आयांै’ भन्छन् । उनीहरूको कुरा सुन्दा लाग्दा हामीले जानाजान आगो सल्काइदिएका हौँ ।”

“अझ कोहीकोही त हामीलाई काम गर्नै दिँदैनन् । हामीले पानी छ्याप्ने पाइप र अन्य उपकरण खोस्छन् र ‘सबै काम हामी नै गर्छौँ, तिमीहरू जाओ भोज खान’ भन्छन् ।”

यस्तो समयमा अग्नि नियन्त्रकसँग स्थानीयसँग झगडा गर्ने वा तिनलाई सम्झाउने समय हुँदैन । हुन त एउटा पक्ष रिसाएको बेला संवादले काम पनि गर्दैन । उनीहरू केही छिन चुप लागेर बस्छन्, जसले क्षतिको मात्रालाई अझ बढाउँछ ।

शाहीका अनुसार दमकल समयमा नपुग्नुको मुख्य कारण ट्राफिक जाम हो । दोस्रो कारण हो, दमकल कार्यालयमा आउने ब्लफ कल । “कति मान्छेले रमाइलोका लागि दमकलमा फोन गरेर फलानु ठाउँमा आगो लागेछ भनिदिन्छन् । त्यसैले हामीले हरेक खबर पुष्टि गरेर मात्र हिँड्नुर्छ । त्यसको लागि करिब दुई मिनेट लाग्छ । सङ्कटमा समयमा दुई मिनेट भनेको धेरै महत्वपूर्ण समय हो ।”

उपत्यकामा तीन दमकल कार्यालय छन् । काठमाडौँको वसन्तपुरमा रहेको स्टेसन यसमध्येको सबैभन्दा ठुलो हो । यहाँ ४ वटा दमकल र ८ वटा ‘फायर बाइक’ छन् । ललितपुर र भक्तपुरका स्टेसनमा दुईदुई वटा दमकल र एकएक वटा बाइक छन् । स्टेसन, दमकल र बाइकको सङ्ख्या उपत्यकाको क्षेत्रफल र जनसङ्ख्या अनुसार एकदमै अपर्याप्त रहेको शाहीको भनाइ छ ।

हुन त भएका दमकल र बाइकले पनि प्रभावकारी रूपमा काम गर्ने वातावरण छैन । यसको मुख्य कारण हो, पानी ट्याङकीको अभाव । तीनवटै स्टेसनमा ससाना ट्याङ्की भए पनि उनीहरू लागि पानीको मुख्य स्रोत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ट्याङ्कर शाखा हो, जुन बौद्ध नजिकै महांकालमा छ ।

“मानौँ कलंकीको एउटा घरमा आगो लाग्यो । हामीले लिएर गएको पानीले पुगेन भने हामी फेरि पानी भर्न महांकालसम्म आउनुपर्छ । सहरमा यति धेरै जाम हुन्छ । त्यसैले हामीलाई महांकाल पुगेर कलंकी फर्कन कति समय लाग्ला, सोच्नुस् त,” शाही प्रश्न गर्छन् ।

अर्कातिर काठमाडौँका कतिपय भित्री बस्तीमा दमकल पुग्ने सडक छैनन् । यस्तो अवस्थामा मोटरसाइकलमा तैनाथ अग्नि नियन्त्रकले फायर एक्स्टिङ्गुसर प्रयोग गरेर आगो निभाउँछन् । अथवा दमकलबाटै अलिकति लामो पाइप पुर्‍याएर पानी छ्यापिन्छ । कुनैकुनै अवस्थामा यी दुबै विधिले काम गर्दैनन् ।

नेतृत्वको बेवास्ता

यी सबै समस्याका पछाडि स्थानीयबासीभन्दा पनि तिनले चुनेको स्थानीय सरकारको नेतृत्व र यसले परिचालन गर्ने कर्मचारी प्रशासनको दोष रहेको शाहीको ठहर छ ।

“तपाईँलाई थाहा होला नि, विभिन्न विदेशी संस्थाले हाम्रो कार्यालयलाई पनि थरीथरी तालिममा बोलाइरहेका हुन्छन् । आगो कसरी निभाउने भन्ने तालिममा त खास हामी जानुपर्ने हो नि । तर हामी यस्तो मौका कहिल्यै पाउँदैनौँ । हाकिमसाबहरू जानुन्छ,” सरल रूपमा प्रस्तुत भएका शाहीको बोलीमा गहिरो व्यङ्ग्य प्रकट हुन्छ, “हुन त हामीलाई अङ्ग्रेजी बोल्न आउँदैन भनेर पनि होला ।”

जनताले चाहाने हो भने यो अवस्था सजिलै बदल्न सक्ने शाहीको ठहर छ । “आगलागी भएपछि ‘किन ढिला’ भनेर हामीलाई कराउने मान्छेले आ–आफ्नो टोलछिमेक नजिकै हुने गरी दमकल र पानी ट्याङ्की राख्नुपर्‍याे भनेर नगरपालिकासँग माग गर्नु नि,” उनको सुझाव छ, “काठमाडौँ जिल्लामा अहिले चारवटा दमकल छन् । ती सबैलाई एकै ठाउँ थुपारेर राख्नुभन्दा चार कुनामा एक÷एकवटा राख्न माग गर्न सकिन्न र ?”

महानगर नेतृत्वले पनि धेरै सङ्ख्यामा अग्नि नियन्त्रक भर्ना गर्नुपर्ने अनि तिनलाई नयाँ प्रविधि र स्रोतसाधनले सम्पन्न गराउनुपर्ने उनको माग छ ।

“हामीले सेवासुविधा खोजेको होइन । तर, हामीलाई काम गर्ने राम्रो वातावरण चाहियो । हामीले गर्ने काम जनताका लागि महत्वपूर्ण छ । हामीलाई उनीहरूको सुरक्षामा ध्यान दिनु छ,” उनी भन्छन्, “आगोसँग जुध्दा हामीलाई कुनै गुनासो छैन । हाम्रो काम नै त्यही हो । तर, अरू समस्या त नेतृत्वले सम्बोधन गरिदिनुपर्‍याे नि । हामीले पनि अलि सुखले काम गर्न पाउनुपर्‍याे ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?