Comments Add Comment

फिल्म समीक्षाः नेपाली दर्शकलाई ठग्ने ‘ठग्स अफ हिन्दुस्तान’ !

डड्याङ डुडुङ आवाजसहितको ट्रेलर हेरेकै आधारमा तिहारका बेला नेपाली दर्शकहरु ‘ठग्स अफ हिन्दुस्तान’ चलचित्र हेर्न हलहरुमा पुगे । तर, चलचित्र हेरिसकेपछि नेपाली दर्शकले आफैं ठगिएको महसुस गरे । किनभने, यो चलचित्रले पस्केको कथावस्तु पनि बासी थियो र समाजलाई दिने सन्देश पनि राम्रो थिएन । नेपालीहरुको हकमा त यो चलचित्र विल्कुलै असान्दर्भिक पनि ।

भारतीय समाजमा ठगहरुको हालीमुहाली रहँदै आएको आजदेखि हैन, दुई/चार सय वर्ष नै बितिसकेको छ । नटवरलाल पनि अरु देशका नभएर भारतकै नागरिक हुन् । र, अहिले पनि भारतीय समाज ठगहरुको जञ्जिरबाट मुक्त हुन सकेको छैन ।

तर, आमिर खान, अभिताभ बच्चन र क्याटरिना कैंफजस्ता चर्चित कलाकारहरुको अभियन रहेको ‘ठग्स अफ हिन्दुस्थान’ चलचित्रले वर्तमान भारतीय समाजका गठहरुका बारेमा कुनै चर्चा गरेको छैन । ठगहरुलाई व्यंग्य पनि गरेको छैन, बरु हिरो बनाउने प्रयास गरिएको छ ।

ठगलाई महान नायक एवं सकारात्मक चरित्रका रुपमा प्रस्तुत गर्न खोजेर यो चलचित्रले समाजमा नकारात्मक सन्देश दिएको छ । ठगले भारतको राष्ट्रिय स्वाधीनताको लडाइँमा क्रान्तिकारी भूमिका खेलेको देखाइएको छ, जुन चलचित्रको मुख्य विषयवस्तु हो ।

चलचित्रमा के छ ?

ठग्स अफ हिन्दुस्थानको मुख्य कथावस्तु वर्तमान समाजको नभएर अघिल्लो शताब्दीमा अंग्रेज शासकविरुद्ध भारतमा भएको स्वाधीनताको लडाइँ हो ।

अभिताभ बच्चनले चलचित्रमा क्रान्तिकारीको भूमिका खेलेका छन् भने फिरिङ्गीका रुपमा प्रस्तुत भएका आमिर खानले कहिले अंग्रेज त कहिले भारतको पक्ष लिएर ठगको भूमिका खेलेका छन् । तर, अन्तिममा ठग आमिर खान अंग्रेजविरुद्ध लाग्छन् र चलचित्रमा सकारात्मक पात्रका रुपमा उभिन्छन् । यसरी चलचित्रले ठगलाई महान देखाएको छ । अंग्रेजले क्रान्तिकारीहरुलाई ठगको आरोप लगाएको मात्र हो भन्ने देखाउन खोजिएको छ ।

यसरी ठग र धोकेबाज गद्दारलाई नायकका रुपमा प्रस्तुत गर्न खोज्नु चलचित्रको सबैभन्दा भद्दा दृष्टिदोष हो ।

ठग्स अफ हिन्दुस्तान सन् १७९५ तिरको कहानी हो । जब त्यतिखेर भारतमा इष्ट इण्डिया कम्पनीका नाममा बेलायतको औपनिवेहिक राज थियो ।

फिल्ममा देखाइएको रौनकपुर राज्य अंग्रेजको पकडमा थिएन । त्यहाँका सेनापति खुदाबख्स जहाजी (अभिताभ बच्चन) ले आफ्नो प्रदेशको सुरक्षा गरिरहेका थिए । मिर्जा साहेबको मृत्युपछि उनकी छोरी जफिराले जहासीसँगै मिलेर क्रान्तिकारी फौजको नेतृत्व गरिन् ।

यसैवीच चलचित्रमा ११ वर्षपछि फिरंगी मल्लाह (आमिर खान) को इन्ट्री हुन्छ । उनी झूठ बोल्ने, धोका दिने र पैसा कमाउने मामिलामा माहिर हुन्छन् । क्याटरिनाले चाहिँ अंग्रेज शासकको दिन बहलाउने नर्तकी सुरैयाको भूमिका खेलेकी छिन् चलचित्रमा ।

पैसा र जग्गाजमीन पाउने आशामा क्रान्तिकारीमाथि सुराकी गर्न हिँडेका हिन्दुस्थानका ठग (आमिर खान)ले अन्ततः अंग्रेजलाई धोका दिन्छन् र इष्ट इण्डिया कम्पनीको तख्ता पल्टाउन क्रान्तिकारीलाई सहयोग गर्छन् ।

चलचित्रको अन्तिममा पानीजहाजमाथि चढेका ठग (आमिर) ले अब बेलायतमै गएर अंग्रेजहरुको बुद्धि भुट्ने बताउँछन् र चलचित्र सकिन्छ ।

नेपालका लागि असान्दर्भिक

नेपाली दर्शकहरुको सापेक्षताबाट हेर्दाखेरि भारतीयहरुले शताब्दीयौं अगाडि अंग्रेजहरुसँग कसरी संघर्ष गरेका थिए भन्ने बहादुरीको कथा हामी नेपालीका लागि खासै सान्दर्भिक विषय होइन । ‘ठग्स अफ हिन्दुस्तान’ मा जुन वीरताको कथा देखाइएको छ, त्यसले नेपाली दर्शकलाई खासै गौरवान्वित गर्दैन । छुँदैन ।

अझ यसमा पनि अंग्रेजसँगको संघर्षमा भारतीय जनताको सहभागिता देखाइएको छैन । ठगले ‘ट्रिक’ रचेर अंग्रेजलाई हराएको देखाइएको छ । भारतीयहरु खुराफाती दिमाग लगाउन निकै सिपालु हुन्छन् भनेर देखाइएको छ, यस्तो ‘खुराफात’ नेपाली दर्शकका लागि खासै प्रशंसायोग्य र पि्रयकर विषय होइन ।

चलचित्रको नायकले आफूलाई इमान्दार र उदाहरणीय रुपमा प्रस्तुत गर्नुपर्नेमा ठगजस्तो देखाइनु समाजमा सकारात्मक पक्ष होइन । त्यसैले यो चलचित्र नेपालीहरुका लागि न त सान्दर्भिक छ, न त शिक्षामूलक नै । बरु के भन्न सकिन्छ भने बासी कथा पस्केर यो चलचित्रले नेपाली दर्शकहरुलाई नै नराम्रोसँग ठगेको छ । जो यो चलचित्र हेर्न हलमा जान्छ, उसले टिकटको पैसा बिथ्थामा तिरें भन्ने महसुस गर्छ ।

आमिर र क्याटरिना अनि अभिताभजस्ता स्टारहरुले अभिनय गरेका चलचित्रहरु राम्रा एवं सन्देशमूलक हुन्छन् भन्ने नेपालीहरुको विश्वासमाथि नै यो चलचित्रले प्रश्न उठाएको छ । भलै चलचित्रमा कला पक्ष र अभिनयको स्तर भने प्राविधिकरुपमा उच्च क्वालिटीकै छ । नहोस् पनि किन ? यो चलचित्र बनाउँदा करिब २५० करोड भारु खर्च भएको छ ।

ठगका सरदारको कथा

‘ठग्स अफ हिन्दुस्तान’ को कथावस्तु अंग्रेज एसपी फिलिप मीडो टेलरले सन् १८८३ मा लेखेको उपन्यास ‘कन्फेसन्स अफ अ ठग’ (एउटा ठगको वयान) मा आधारित छ ।

टेलरले त्यसबेला जेलमा रहेका ठगका सरदार आमिर अलिसँग केही दिन कुराकानी गरेका थिए । उनै ठगले भनेका कुराहरुलाई समेटेर टेलरले इण्डियामा ठगहरुको बिगबिगी कस्तो छ र उनीहरुले कसरी ठगी धन्दा मच्चाउँछन् भन्नेबारे पुस्तकमा वर्णन गरेका छन् । चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिनै ठगहरुको कथा हो ।

सन् १८८३ मा लेखिएको ‘कन्फेसन्स अफ अ ठग’ करिब ५ सय पृष्ठको मोटो किताब छ । किताबमा टेलरले लेखेका छन्- ‘अवधदेखि लिएर दक्कनसम्म ठगको जालो फैलिएको थियो । उनीहरुलाई पक्रन यति कठीन थियो कि उनीहरु धेरै गोप्य तरिकाले काम गर्थे । उनीहरुलाई आम मानिसबाट फरक गर्ने उपाय सोच्न कठिन थियो । उनीहरु आफ्नो योजना बनाएर धेरै चलाखीका साथ काम गर्दथे, ताकि कसैलाई शंका नहोस् ।’

अक्सफोर्ट युनिभर्सिटी प्रेसले छापेको टेलरको पुस्तकअनुसार त्यसबेला ठगहरुलाई तह लगाउनका लागि १०५९ जना मानिसलाई पूर्णरुपमा दोषी सावित गर्न नसकिएपछि हाल मलेसियामा पर्ने पेनाङ्ग टापुमा लगेर छाडिएको थियो, ता कि उनीहरु इण्डियामा फर्केर जान नसकुन् ।

त्यसैगरी ४१२ जना ठगहरुलाई फाँसी दिइएको थियो भने ८७ लाई आजीवन काराबासको सजायँ दिइएको थियो ।

तिनैमध्ये जेलमा रहेका ठगका सरदार आमिर अलिसँग केही दिन कुरा गरेर टेलरले किताब लेखेका थिए, जुन उपन्यास बन्यो । र, त्यसैका आधारमा अहिले ‘ठग्स अफ हिन्दुस्तान’ बनेको हो ।

पुरानो उपन्यास र नयाँ चलचित्रले के सन्देश दिन्छन् भने भारतको ठगहरुको सत्ता निकै बलियो छ र त्यो उहिल्यैदेखिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment