+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मध्यपुरथिमीको १३० रोपनी जग्गामा शङ्खधर पार्क बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १६:२२

२८ कात्तिक, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले प्राचीन र परम्परागत शैलीमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा शङ्खधर पार्क निर्माण कार्य शुरू गरेको छ ।

नगरपालिकास्थित शङ्खधर चोक थिमिमा १३० रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिमा प्राचीन शैलीको ढुङ्गेधारासहित अपाङ्गमैत्री पार्क निर्माण शुरू भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

शङ्खधर चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टि छेउमा रहेको फोहोर फाल्ने भिरालो जमीनमा पार्क निर्माण कार्य शुरू भएको हो । स्थानीय बासिन्दाले फोहोर फालेर थुप्रो लगाएको र तल सडकसम्मै आउने गरी ठूलाठूला घाँसहरू उम्रिएकाे उक्त क्षेत्रलाई नगरपालिकाले सफा गरी पार्क निर्माणको थालनी गरेको छ ।

प्राचीन शैलीमा ढुङ्गेधारा निर्माण कार्य भइरहेको छ । यहाँ ढुङ्गाको पर्खाल लगाई त्यसमाथि फलामको बार लगाई पैदल हिँड्न फुटपाथ बनाउने, हृवील चियर लान मिल्ने गरी अपाङ्ग मैत्री बनाउने, बस्न मिल्ने ठाउँहरू बनाउने, बगैँचाहरूको निर्माण गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

पार्क निर्माणस्थलको माथिल्लो भागमा रहेकोे पानीको मुहान सहितको कुवाको पानीलाई पानी ट्याङ्कीमा जम्मा गरी हरेक दिन बिहान पिउनयोग्य उक्त पानी ढुङ्गेधारामा आउने व्यवस्था गरिने भएको छ ।

पार्कबारेमा जानकारी दिँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले पार्क निर्माणका लागि नगरपालिकाले यसवर्ष एक करोड बजेट विनियोजन गरेपनि त्यसका लागि करिब ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए ।

एकवर्ष भित्र पार्क निर्माण सम्पन्न गरी आगामी वर्ष नेपाल सम्वत्को पहिलो दिन उद्घाटन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिँदै उहाँले शङ्खधर चोक गुरुयोजना बनाएर सोही गुरुयोजनामार्फत काम सुरु भएको बताउनुभयो । पार्कमा तीनवटा धारामा पानी बग्ने व्यवस्था गरिने छ भने फोहोर फाल्न रोक लगाइने छ ।

हरेकवर्ष शङ्खधर दिवस मनाउने घोषणा

यसैबीच नगरपालिकाले हरेक वर्ष शङ्खधर दिवस भव्यरूपमा मनाउने घोषणा गरेको छ । यसवर्ष मङ्सिर २ गते पर्ने शङ्खधर दिवसमा निर्माणाधीन शङ्खधर पार्कमा उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुखको आतिथ्यतामा दिवस मनाउने भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको दिन नेपाल सम्वत्को कछलाथ्व दशमीका दिन हरेक वर्ष दिवस मनाउने भएको हो ।

‘यसवर्षदेखि मध्यपुरथिमि नगरपालिकाले हरेक वर्ष भव्यरूपमा शङ्खधर दिवस मनाउने छ । शङ्खधर साख्वाको योगदान देशव्यापीरूपमा फैलाउन सबै नगरपालिकाका प्रमुखहरूको साथ र सहयोग चाहिन्छ, त्यसैले सबै नगरपालिकाले अपनत्व ग्रहण गर्ने गरी दिवस मनाउन लागिएको हो’, उनले भने ।

उक्त कार्यक्रममा उपत्यकाको संस्कृति, ऐतिहासिक संरचना, सम्पदाको संरक्षणमा उपत्यकाका सबै नगर प्रमुख एक मत भएर अगाडि बढ्ने सन्देश समेत दिइने छ ।  त्यसदिन शङ्खधर पार्क अगाडि रहेको खाली जग्गामा सामुदायिक भवन निर्माणको शिलान्यास समेत गरिने छ ।

पञ्चायतकालमा तत्कालीन गाविस भवन रहेको उक्त जग्गामा भवन भत्किएर खाली अवस्थामा रहेकाले त्यस क्षेत्रमा सामुदायिक भवन निर्माण गरिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?