Comments Add Comment

त्यो हेटौंडा, यो हेटौंडा !

२८ कात्तिक, हेटौंडा । धनञ्जय तिमिल्सिना आमाको साथ लागेर काभ्रेबाट मकवानपुरगढी बसाइ सरेको ७० वर्ष भयो । उनलाई राम्रो सम्झना छ, काभ्रेको ढुमखर्कबाट झिटीगुन्टा बोकेर आउँदा हेटौंडा एउटा सामान्य वस्ती मात्रै थियो । सडकले छोएर जाने भागमा साना झुपडीमा चिया किराना पसलहरु थिए । हेर्दाहेर्दै हेटौंडा एउटा विशाल शहर बन्यो । यो देख्दा आज धनञ्जयलाई कायाकल्प जस्तै लाग्छ ।

तिमिल्सिना परिवार मकवानपुर सरेको समयमा औलोको जोखिम थियो, हेटौंडाको खोचमा । त्यसैले उनको परिवारले हेटौंडाभन्दा केहीमाथिको डाँडा मकवापुरगढीमा जग्गा किन्यो । धनञ्जयले मात्रै हैन, सो क्षेत्रमा बसाइ सरेर आउने धेरैले औलोको डरले हेटौंडाको मुख्य समथर क्षेत्रलाई रोजेनन् । बरु वरपरका डाँडापाखाका छाप्रो हाले ।

तिमल्सिनाको सम्झनामा हेटौंडाको पिपलबोट क्षेत्र र अन्य केही भागमा मात्रा स–साना बस्ती थिए । निकै पातलो । अहिले त्यही हेटौंडा नेपालकै महत्वपूर्ण शहर मात्रै हैन, ३ नम्बर प्रदेशको अस्थायी राजधानीसमेत भएको छ । र, स्थायी राजधानीको दाबेदार पनि ।

अहिले धनञ्जयलाई पछुतो छ कि ‘किन मैले त्यतिबेला हेटौंडा रोजिनँ !’ उनलाई मात्र हैन, त्यो समयमा हेटौंडालाई ‘हेला’ गर्ने अरुलाई पनि यस्तै लाग्छ ।

हेटौंडा उपमहानगरपालिका मकवानपुरको सदरमुकाम हो । यो नेपालकै महत्वपूर्ण वाणिज्य केन्द्र तथा यातायातको ‘टर्मिनल’ हो । यहाँ नै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको मिलन हुन्छ ।

काठमाडौंको विकल्प खोज्नेहरुको नजर हेटौंडामा पर्न थालेको छ । कारण हो– फास्ट ट्रयाक र सुरुङमार्ग बन्ने चर्चा । अनि हेटौंडाको योजनावद्ध विकासको लहरसँगै गर्मी र जाडो ज्यादा नहुने राम्रो वातारण

तराई आन्दोलन चर्किएपछि मधेस छाड्ने पहाडियाको प्रमुख रोजाइ बनेको छ यो क्षेत्र । काठमाडौंको विकल्प खोज्नेहरुले लागि पनि यही ठाउँलाई रोज्न थालेका छन् । कारण हो– फास्ट ट्रयाक र सुरुङमार्ग बन्ने चर्चा । अनि हेटौंडाको योजनावद्ध विकासको लहरसँगै गर्मी र जाडो ज्यादा नहुने राम्रो वातारण ।

यिनै कारणले हेटौंडा र आसपासका क्षेत्रमा ठूलो मात्रामा बसाइसराई चल्यो, चलिरहेकै छ । जग्गाको कारोबारले चर्किएपछि हेटौंडाको आर्थिक गतिविधि उचालिएको छ । बजारमा ग्राहकको चाप बढ्दै जाँदा साना लगानीहरु पनि हेटौंडामा थपिएका छन् । यो क्रम अझै उकालो लाग्दैछ ।

आधुनिक शहरका सेवा सुविधाहरु पछिल्लो समयमा हेटौंडामा पनि फस्टाउँदैछन् । हेटौंडामा पछिल्लो समयमा खुलेका डिजिटल सिनेमा हलदेखि कफी हाउस र आधुनिक होटलसम्म यसैका उदाहरण हुन् ।

‘सम्भाव्यताको शहर’का रुपमा चर्चा पाएपछि विशेष गरी तराई छाड्न चाहानेहरुले नै हेटौंडालाई उछाल दिए । तराई क्षेत्रमा पुग्न बाँकी रहेका सेवा सुविधा हेटौंडामा थुप्रिँदै गएपछि यहाँको आकर्षण बढ्दै गयो ।

हेटौंडाको इतिहास

पौराणिक रुपमा हेर्दा हेटौंडा महाभारतमा आधारित एक किंवदन्तीसँग जोडिन्छ । स्थानीयको विश्वास छ कि पाँच पाण्डव वनवासका क्रममा यो स्थानमा आइपुगेका थिए । त्यतिबेला हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई मारिदिए । हेडम्बा मारिएको ठाउँका रुपमा चिनिँदा चिनिँदै अपभ्रंश भएर यो स्थानको नाम हेटौंडा रहन गएको विश्वास गरिन्छ ।

त्रिभवन राजपथ बनेपछि हेटौंडाले विकासको लहर समात्यो । विसं ०२६ सालमा नगरपालिका बन्यो । तत्कालीन हेटौंडा नगरपञ्चायतका पहिलो प्रधानपञ्च थिए, वासुदेव रिजाल । उनले नै हेटौंडालाई आजको स्वरुपमा ल्याउन पहिलो र्इँटा हालेका थिए ।



बस्तीहरु बाक्लिँदै गए, त्यसैकारण एकैरातमा भीमफेदीमा रहेको ऐतिहासिक सदरमुकाम हेटौंडामा सर्‍यो । ०३९ सालमा रातारात आफ्नो घर छेउका जिल्ला कार्यालयहरु हेटौंडा सारेको सुइँको भीमफेदीका जनताले पाएनन् ।

बासुदेवपछि ओमनाथ पराजुली हुँदै डोरमणि पौडेलसहितको नेतृत्वले हेटौंडा बजारलाई एउटा सफा, सुन्दर र आर्थिक सम्भाव्यता बोकेको नगरीका रुपमा स्थापित गर्‍यो ।

विगतको तीन दशकमा हेटौंडाले एउटा ठूलै फड्को नै मार्‍यो । त्यसैले यो तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रको प्रसाशनिक केन्द्र बन्यो । क्षेत्रीय कार्यालयहरुले हेटौंडा ढाकिए । प्रहरीका मध्य क्षेत्रीय प्रहरी कार्यालयदेखि सेनाका मध्य पृतनासम्म हेटौंडामै बसे । जसले हेटौंडा सुरक्षित र समारिक महत्वको शहरका रुपमा पनि चिनियो । समयक्रमले हेटौंडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी बन्ने अवसर पनि दिएको छ ।

व्यवस्थित शहरीकरण

अधिवक्ता ध्रुवप्रसाद चौलागाईंको भनाइमा हेटौंडाका केही विशिष्ट पहिचान र सबल पक्षहरु छन् । यो औद्योगिक मात्रै हैन, हरित नगरी (ग्रीन सिटी) पनि हो । यसैको जगमा एउटा गतिशील शहरका रुपमा अघि बढेको छ हेटाैंडा ।

हेटौंडाका स्थानीय छविलाल खड्कालाई गर्व छ कि शहरका रुपमा विकास हुँदै गर्दा हेटौंडा काठमाडौं जस्तो अस्तव्यस्त भएन । अहिले पनि मुख्य बजार क्षेत्रमा खानेपानी, ढल, सडक, फोहोरको ठूलो समस्या छैन । यहाँ काठमाडौंमा जस्तो उकुस–मुकसको वातावरण पनि छैन ।

हेटौंडा उपमहानगरपालिका वर्षैपिच्छे नेपालकै सफा नगरीका रुपमा उत्कृष्ट ३ शहरभित्र परेर सम्मान थाप्न पाइरहेको सुन्दा आफ्नो छाति उँचो भएजस्तो लाग्छ, छविलाललाई । हेटौंडा नगर वरपर जंगलले घेरिएको छ, शहरभित्रै पनि प्रशस्त वन र हरियाली छ । दर्जनौं सामुदायिक वनहरु छन्, उपमहानगरभित्रै ।

मुख्य शहरका मूल सडकमा पनि हरियाली प्रवद्र्धन गर्न उपमहानगरपालिका चुकेको छैन । मुख्य बजार क्षेत्रमा वर्षौंअघि लगाइएका अशोकका रुख आज शहरको ‘सान’ जस्तै बनेका छन् ।

शहरमा हरियाली प्रवद्र्धन गर्न उपमहानगरपालिकाले अहिले पनि आफ्नो अभियान जारी राखेको बताउँछन् मेयर हरिबहादुर महत । उनको भनाइमा अहिले पनि सडकमा हरियाली कायम राख्न स्थानीयलाई प्रेरित गर्ने काम भइरहेको छ ।

हेटौंडामा अहिले कम्तिमा २ वटा रुख नहुर्काई घरको निर्माण सम्पन्न गरेको प्रमाणपत्र नदिने नियम छ । यसले प्रत्येक घरलाई दुई रुख नहुर्काई सुखै नहुने बताउँछन् मेयर महत ।

उपमहानगरपालिका बन्दा हेटौंडामा तत्कालीन गाविसहरु पदमपोखरी, बसामाडी, हटिया र हर्नामाडी गाभिएका छन् । अब यी क्षत्रेमा पनि योजनाबद्ध शहरीकरणमा ध्यान दिइने बताउँछन् मेयर महत । ‘यी क्षेत्रमा सडकमा अली बढी समस्या छन् । ‘अब त्यो समस्या लामो समय रहन दिन्नँ,’ महत भन्छन् ।

हेटौंडाको मुख्य बजार क्षेत्रबाट नजिकै हुप्रचौरमा अहिले पनि प्लानिङ गरेर बसेका वस्तीहरु पनि छन् । अब पनि नगर क्षेत्रलाई व्यवस्थितरुपमै कायम राख्न कुनै कसर नछाड्ने प्रतिवद्धता उपमहानगरपालिकाको छ ।

नगर क्षेत्रभित्रका अधिकांश सडकहरु पिच वा कंक्रिट ढलान गरिएका छन् । कतिपय क्षेत्रमा विस्तारको काम चलिरहेको छ ।

शहरीकरणसँगै औद्योगीकरण पनि

स्थानीय उद्योगीहरुका अनुसार हेटौंडा आर्थिक केन्द्र बन्ने सम्भावनाको जग विसं ०२० सालमै हालिएको थियो । यहाँ सरकारले त्यतिबेलै व्यवस्थित रुपमा औद्योगिक क्षेत्र खोल्यो ।

नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र खुलेपछि हेटौंडामा सरकारको प्राथमिकता छ भन्ने बुझेर नै चहलपहल बाक्लिँदै गएको थियो । यहाँ उद्योगहरु आए, स्थानीयले रोजगारीका लागि बाहिरिनु परेन ।

अहिले पनि हेटौंडाका धेरै स्थानीय मानिसहरु औद्योगिक क्षेत्रका जागिरे छन् । १०२ वटा उद्योग औद्योगिक क्षेत्रभित्रै चलिरहेका छन् । औद्योगिक क्षेत्र बाहिर पनि दर्जानौं उद्योगहरु छन् ।

स्थानीयका अनुसार ०४२ सालमा राजा वीरेन्द्र आफैं पुगेर हेटौंडा सिमेन्ट उद्योगको उद्घाटन गरेका थिए । त्यतिबेला नेपालकै दोस्रो ठूलो उद्योगका रुपमा चिनाइएको सो उद्योग स्थापना भएपछि हेटौंडाको परिचय देशब्यापी बन्यो । नेपालकै पहिलो रञ्जुमार्गबाट हेटौंडा जोडियो । जसमार्फत हेटौंडामा सिमेन्टका लागि चुनढुंगा ढुवानी हुन्थ्यो ।

अहिले हेटौंडामा नयाँ औद्योगिक क्षेत्र पनि खुलेको छ, मयुधापमा । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा अभाव भएपछि सरकारले नयाँ औद्योगिक क्षेत्र खोलेको हो ।

विकासको मौलिकपन

हेटौंडाले आर्थिक विकासको गति लिँदै जाँदा शहरी विकास पनि भद्रगोल रुपमा भएन । हेटौंडा नगरपालिकाले जनसहभागितामा आधारित विकास निर्माणलाई प्राथमिकता दियो ।

जनताको पनि केही प्रतिशत हिस्सा राखेर विकासको काम गर्ने विकासे मोडेलमार्फत स्थानीयलाई पूर्वाधारप्रति अपनत्व दिलाउन तत्कालीन नगरपालिका सफल रह्यो । यो सिलसिला आज पनि जारी रहेको मेयर महत बताउँछन् ।

हेटौंडा अहिले पनि सडक यातायातको ‘हब’ नै छ । त्यसमाथि यहाँ अब भित्रीमधेशका जिल्लाहरु जोड्ने गरी बनिरहेको मदनभण्डारी राजमार्ग पनि हेटौंडाबाट छिचोलिँदैछ ।

यो राजमार्गको धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा खण्ड निर्माणको अन्तिम चरणमा छ । यो सडक फास्ट्र याकसँग जोडिएर हेटौंडा आउने भएकाले यसैले नै हेटौंडालाई फास्ट ट्रयाकसँग जोड्दैछ ।

यसैगरी ६१ वर्ष अघिदेखि निर्माण सुरु भएको कान्ति राजपथको निर्माणको काम पनि अन्तिम चरणमा छ । आधा खण्डको पिच सकिएको छ भने आधा खण्डको काम अबको ९ महिनाभित्रै सकिनेछ । हेटौंडा यसअघि नै महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको केन्द्र भागमा छ ।

यसैगरी नेपाल पूर्वाधार विकास लिमिटेडले हेटौडा–भीमफेदी–कुलेखानी–काठमाडौं सुरुङमार्ग बनाउने योजनाबाट अझै हात झिकेको छैन । ३ नम्बर प्रदेशको सरकारले भने भीमफेदी–कुलेखानी सुरुङमार्ग आफैं बनाउन कस्सिएको छ ।

सँगै हेटौंडालाई जोड्न सिस्नेरी र फाखेल भएर कुलेखानी हुँदै जाने सडकहरु पनि अहिले सञ्चालनमा छन् । फाखेलको सडकलाई दुई लेनमा स्तरोन्नति गरिसकिएको छ भने सिस्नेरीबाट जोडिने सडकको स्तरोन्नतिको काम पनि अन्तिम चरणमा छ । यो सडकलाई गणेशमान राजमार्गका रुपमा पनि चिनिन्छ, जसमा साना सुमोहरुले यात्रुलाई सेवा दिइरहेका छन् । फाखेलबाट मातातीर्थ जोड्ने अर्को सडक पनि प्रदेश सरकारमार्फत बनाउन यो वर्ष बजेट छुट्टिएको छ ।

मुग्लिन नारायणगढ सडक खण्डको विस्तारले पनि हेटौंडासम्मको यात्रामा थप सहज विकल्प दिएको छ । सरकारले रसुवागढी–गल्छी–हेटौंडा–वीरगञ्जलाई चीन र भारत जोड्ने सहज उत्तर–दक्षिण ब्यापारिक सडकका रुपमा विकास गर्ने लक्ष्य लिएको अवस्थामा हेटौंडाको महत्व अझ उचालिएको बताउँछन् मकवापुरका व्यवसायीहरु ।

अब पूर्वपश्चिम रेलमार्ग पनि हेटौंडा भएर नै जाने तय भइसकेको छ । यसअघि चितवन राष्ट्रिय निकुञ्ज भएर जाने चर्चा भए पनि स्वीकृति नपाएपछि निजगढ–हेटौंडा–भरतपुर हुँदै अपरापुरीसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रेल विभागले सूचना निकालिसकेको छ ।

हेटौंडाबाट चितवनको भरतपुर विमानस्थल एक घण्टामा नै पुग्न सकिन्छ भने बाराको सिमारा विमानस्थल पनि पौने घण्टाको यात्रा तय गर्दा पुगिन्छ । फास्ट ट्रयाक बनेपछि प्रस्तावित निजगढ विमानस्थल पनि आधा घण्टामै पुग्न सकिने भएकाले हेटौंडा ‘टान्सपोर्टेशन हब’ भन्ने अवस्थाको नजिक पुगेको बताउँछन् मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने ।

हेटौंडा हाल उच्च शिक्षाको पनि राम्रो आकर्षण भएको ठाउँ बनेको छ । विशेष गरी तराईका जिल्लाबाट हेटौंडाबाट आएर अध्ययन गर्नेको संख्या ठूलो छ । यहाँका मकवानपुर बहुमुखी क्याम्पस र हेडौंडा स्कुल अफ म्यानेजमेन्ट बारा, पर्सा, रौतहट, सर्लाही, रौतहट, सिन्धुली लगायतका जिल्लाका विद्यार्थीको आकर्षणको केन्द्रमा छन् ।

तराईमा शिक्षा कमजोर हुने विश्वास गर्नेहरु हेटौंडामा आएर कोठा लिएर अध्ययन अघि बढाउने सिलसिला पछिल्लो समयमा बढ्दो छ ।

हेटौंडाका आगामी चुनौती

शहरी व्यवस्थापन र सेवा सुविधामा ठूलो समस्या नभए पनि हेटौंडाले गर्न बाँकी काम भने अझै धेरै रहेको बताउँछन् स्थानीयबासी । हेटौंडाको बजार क्षेत्र भएर जाने राजमार्गमा २५ मिटरको सडक सीमा विवाद छ । हेटौंडामा यो सडक फराकिलो पार्नुपर्ने पक्षमा धेरै स्थानीयहरु छन्, तर ब्यापारीहरु त्यसको बिरोधमा छन् ।

हेटौंडामा भविष्यमा बढ्ने जनसंख्या र सवारी चापलाई व्यवस्थित गर्न २५ मिटर सडक सीमाभित्रका घरहरु भत्काउनुपर्ने आवाज बलियो छ । तर, मुख्य बजार क्षेत्र नै भत्किने भएकाले व्यापारीहरु त्यसको विरुद्धमा रहेको बताउँछन्, बरिष्ठ उपाध्यक्ष न्यौपाने ।

यस्तै हेटौंडामा स्वास्थ्य सेवाको अवस्था अन्तभन्दा दयनीय छ । ‘क्षेत्रीय’ भनिएपनि हेटौंडा अस्पतालको सेवा वर्षौंदेखि सुध्रन सकेको छैन । यो अझै ‘रिफर अस्पताल’को रुपमा बदनाम छ । यहाँ दरबन्दीका डाक्टरहरु आउै नमान्ने मात्रै हैन, आएकाहरु पनि नटिक्ने समस्या छ । यहाँ आधुनिक स्वास्थ्य प्रविधिहरु अझै प्रयोगमा आएका छैनन् ।

चितवनको भरतपुर ‘मेडिकल हब’ बनिसक्दा हेटौंडामा एउटा पनि स्तरीय निजी स्वास्थ्य संस्था खुलेका छैनन् । सानो समस्यामा पनि काठमाडौं र चितवनकै अस्पताल धाउनुपर्ने बाध्यता स्थानीयलाई छ । तर, पनि हेटौंडा अस्पताललाई सुधार गर्न उपमहानगरपालिकाले प्रयत्न गरिरहेको बताउँछन् मेयर महत ।

‘हामी केही सीमित समस्याहरु पन्छाउँछौं । त्यसपछि हेटौंडा काठमाडौं छाड्न चाहानेहरुका लागि पनि उत्तम विकल्पको रुपमा अगाडि आउँछ,’ महत भन्छन्, ‘यहाँ आएर दुई दिन बिताउने हैन, घर नै यता सारेर आउने वातावरण तयार गर्न हामीलाई अब धेरै समय लाग्दैन । यसै पनि यहाँ खासै कुनै समस्या छैन ।’

त्यसैगरी हेटौंडाको अर्को राजनीतिक चुनौती हो– अहिले प्रदेशको अस्थायी राजधानी रहेको यो शहर स्थायी राजधानी बन्ला कि नबन्ला ? प्रदेशको राजधानी हेटौडाबाट काभ्रेतिर सार्नुपर्ने बहस पनि भइरहेको छ । बसाईं सराईको ट्रेन्ड काभ्रे र सिन्धुपाल्चोकबाट मकवानपुरतिर भइरहेको दशकौं बितेको अवस्थामा अब राजधानीको बहस पनि काभ्रे भर्सेस मकवानपुर बन्न पुगेको छ ।

यद्यपि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनलाइनखबरको अन्तरवार्तामा भनेका छन् कि अबको १६ दिनमा स्थायी राजधानीको टुंगो लाग्छ ।

तस्वीर: शंकर गिरी/अनलाइनखबर

यो पनि पढ्नुहोस्

‘म हेटौंडाको मात्रै मुख्यमन्त्री होइन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment