Comments Add Comment

नक्कली कम्पनी खडा गरेर वाइडबडी खरिद, जहाज एउटाको, बेच्ने अर्कै !

२९ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेको छ । कुनैले स्वरोजगार कोषको सात अर्ब लगानीको पारदर्शिताबारे केलाएका छन् भने केहीले बाइडबडी खरिद अनियमितता, मोबाइल सेवाको गुणस्तरलगायत विषय उठाएका छन् ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै विपन्नले उपचार खर्च पाउन छाडेको, तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण शुरु भएको, चीनले कर्णाली द्रुतमार्गको सर्भे गरेकोलगायत विषय हेडलाइन बनेका छन् ।

कान्तिपुरले आज मोबाइल सेवाको गुणस्तरबारे समाचार लेखेको छ । समाचार अनुसार मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो ।

कान्तिपुरका अनुसार अनुगमनपछि प्राधिकरणले सुधार गर्न निर्देशन दिएको छ । सुधार नगरे क्षतिपूर्ति र कारबाही हुने चेतावनी प्राधिकरणको भनाइ छ ।

चीनले कर्णाली द्रुतमार्ग हिल्सा–जमुनाह द्रुत मार्ग) को सर्भे गरेकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित गरेको छ । चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किलोमिटर सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको हो ।

समाचार अनुसार चीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने आश्वासन दिएको छ ।

अन्नपूर्णले नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडीबारे मुख्य समाचार लेखेको छ । जहाजको स्वामित्व एउटासँग भए पनि उसले त्यसको स्वामित्व नै नभएको नक्कली कम्पनी खडा गरेर जहाज खरिद गरेको अन्नपूर्ण समाचारको सार छ ।

अन्नपूर्णका अनुसार नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा नयाँ जहाज छ भनी कम मूल्य हाल्ने एएआर छानिएको थियो । तर, समझदारीपछि उसले आफूसँग जहाज नभएको, आफ्नो कन्सोर्टियम पार्टनरसँग भएको बताएको थियो । त्यसपछि जर्मन एभिएसन क्यापिटल जीएमबीएच र हाई फ्लाई ट्रान्सपोर्ट एरियोज साझेदारका रुपमा थपिएका थिए ।

अन्नपूर्ण लेख्छ– ३ देशका फरक कम्प्नीसँग काम गर्न जटिल हुने भन्दै नेपाल एयरलाइन्सकै विशेष प्रस्तावमा हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरिएको थियो । त्यसपछि हाई फ्लाई एक्स आयरल्यान्डसँग नेपाल एयरलाइन्सले खरिद सम्झौता गरेको थियो । एयरबसले हाई फल्लाई एयरलाइन्सलाई विमान बुझायो भने उसले नेपाल एयरलाइन्सलाई ।

अन्नपूर्णका अनुसार खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भए पनि जहाज हाई फ्लाई एयरलाइन्सले दिएको थियो । नाम उस्तै राखेर भ्रम सिर्जना गर्न खोजिएको थियो । यी नितान्त फरक कम्पनी हुन् । हाई फ्लाई पोर्चुगलमा सन् २००५ देखि सञ्चालित छ भने हाई फ्लाई एक्स २०१७ फेब्रुअरीमा नेपाल एयरलाइन्सकै पहलमा खोलिएको हो । दुवैका सञ्चालक फरक छन् ।

नयाँ पत्रिकाले युवा स्वरोजगार कोषमा भएको अनियमितताबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार बेरोजगारका नामममा ठूला व्यापारीलाई ५० करोडसम्म ऋण दिइएको छ । तर, लक्षित वर्ग भने वर्षौंदेखि यस्तो ऋण लिनबाट वञ्चित हुँदै आइरहेका छन् ।

नयाँ पत्रिकामै साढे ३ अर्बको लगानीमा लिफ्टसहितको धरहरा निर्माण शुरु भएको अर्को समाचार पनि छ । समाचार अनुसार नयाँ बन्ने धरहराको उचाइ भीमसेन थापाले बनाए बराबरकै हुनेछ । ४२ रोपनी जग्गामा धरहरासहित पार्क र संग्रहालय हुनेछ ।

गोरखापत्रले लोकसेवा आयोगले हजारौं पदमा विज्ञापनको तयारी गरेको लेखेको छ । गोरखापत्रका अनुसार मंसिरको अन्तिमसम्म विज्ञापन गर्ने आयोगको तयारी छ ।

अर्को वर्षदेखि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउने खबर नागरिकले लेखेको छ । श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने समाचारमा उल्लेख छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment