Comments Add Comment

डरले बालबालिकालाई कसरी कमजोर र असफल बनाउँछ ?

‘डर’ सम्बन्धीे एउटा छोटो तथा रोचक कथा छ । कुनै एक गाउँमा जंगलबाट भड्किएर सिंह पस्यो । गाउँ आतंकित भयो । बलियो-बाङ्गो युवाहरु, शिकारीहरु कोहीपनि सिंहसँग जुध्न सकेनन् ।

सिंहले समग्र गाउँलेलाई भयाभित तुल्याइरहँदा एक बालक भने त्यसकै नजिक आनन्दसाथ बसेको देखिए । गाउँलेहरु यो दृश्य देखेर डराएनन् मात्र अचम्मित पनि भए । आखिर त्यतीका बलवान पुरुषहरुलाई थर्कमान बनाइरहेको सिंहकै सामुन्ने एक निरिह बालक कसरी निडरताका साथ बस्न सके ?

गाउँलेहरुले बालकलाई सिंहको संभावित आक्रमणबाट जोगाए । बालक गाउँलेहरुको भिडमा आए । तब, गाउँलेहरुले बालकलाई गाली गर्न थाले ।

उनीहरुले हप्काउँदै भने, ‘सिंहको नजिक जाँदा तँलाई खाएको भए ? तेरो त्यति बुद्धि पनि छैन ? तँलाई सिंह देखि अलिकति पनि डर लाग्दैन ?’

तब बालकले बडो सरलताका साथ भने ‘यो डर भनेको के हो ? मेरो आमाले त मलाई ‘डर’बारे कहिल्यै केही बताउनु भएन भने यसबारे मैले कसरी थाहा पाउने ?

हुन पनि हो,  डर भनेको केवल मनको भ्रम हो । हाम्रो पारिवारिक तथा सामाजिक संस्कारबाट हाम्रो मन प्रभावित हुने गर्छ । त्यसैले डरको भ्रम पैदा गराइदिन्छ । यस्तो डर हामीले आफ्नो बच्चामा पैदा गराइदिन्छौं । त्यही कारण उनीहरु डरपोक हुन्छन् । यो डरले उनीहरुमा हिम्मत एवं आँट क्षय गराइदिन्छ । अतः कुनैपनि समस्या, जटिलता, चुनौतीसँग डराएर भाग्न थाल्छन् । यही कमजोरीले उनीहरुलाई कतिसम्म ग्रस्त बनाउँछ भने, जीवनमा कुनै चुनौती मोल्न सक्दैनन् । जब चुनौती मोल्ने आँट हराउँछ, तब प्रगति गर्ने बाटो पनि बन्द हुन्छ ।

जबकी उनीहरुलाई समस्यासँग जुध्न वा लड्न सिकायौं भने उनीहरु कातर हुँदैनन् । कमजोर हुँदैनन् । हिम्मत गर्छन् । जुध्छन् । र, समस्याको समाधान निकाल्छन् ।

किन डरपोक ?

तर, हामी डरपोक छौं । हाम्रा बालबच्चाहरु डरपोक छन् । हामी उनीहरुको भविष्यसँग डराउँछौं । उनीहरु आफ्नो परीक्षा, नतिजाबाट डराउँछन् । जब बालबालिकाहरु विद्यालयको प्राङ्गणमा पाइला टेक्छन्, उनीहरुमा सिक्ने उत्सुकता भन्दा बढी डर हुन्छ ।

शिक्षकको डर, असाइन्मेन्टको डर, प्रश्नहरुको डर ।

यही डरले मनमा कब्जा गरेपछि उनीहरु कमजोर हुन्छन् । निर्धक्कसाथ पढाएको पाठ पढ्न सक्दैनन् । बुझ्न सक्दैनन् । प्रश्न गर्न सक्दैनन् ।

उनीहरु किन डरपोक भए ?

यसमा सबैभन्दा बढी जिम्मेवार हामी नै छौं । हामी अर्थात अभिभावक । समाज । संस्कार ।

हाम्रो सामाजिक संस्कार नै यस्तो छ कि, जसले डरको बिजारोपण गर्छ । हरेकको मनभित्र डर पैदा गरिदिन्छ । त्यही डर हो, जसले उनीहरुमा ग्लानी, हिनता जगाउँछ ।

जबसम्म हाम्रा बालबालिकाले डरलाई त्याग्न सक्दैनन्, उनीहरु कमजोरमुक्त हुनै सक्दैन । डरले मान्छेलाई कातर बनाउँछ । कमजोर बनाउँछ । यो प्रगतिको बाधक हो ।

कसरी मनलाई नियन्त्रण गर्ने ?

स्वामी विवेकानन्द भन्छन्, ‘डर त्यस्तो ताकत हो, जसको नाम सुनेरै हामीलाई डर लाग्छ । डरको सुरुवात मनबाट हुन्छ र  सकारात्मक सोच भएका व्यक्तिको मनमा यस्ता डर कम हुने गर्छ । उनीहरु डरलाई लिएर कम भड्किने गर्छन् ।’

के भनिन्छ भने, संकीर्ण सोंच भएका व्यक्ति अस्थिर र कमजोर मनको हुन्छ । उनीहरु नभएका कुरा देखेर पनि डराउने गर्छन् र आफूलाई सुरक्षित महसुस गराउन धामीझांक्रीको पछाडि दौडन्छन् ।

झारफूकको यो स्थितिले जीवनलाई केही क्षण सुरक्षित महसुस गराए पनि यसले जीवनमा भ्रम र आडम्बरबाट बाहिर निकाल्न सक्दैन । त्यसैले यो आफैमा एक रोग हो ।

मनको कमजोरी एक प्रकारको घातक अवस्था हो र यसलाई नियन्त्रण गर्न जरुरी छ । यसको लागि हामीलाई आफ्नो सोचमा परिवर्तन ल्याउन आवश्यक छ । अनिमात्र हामी जीवनमा अघि बढ्न सक्छौ ।

 प्रत्येक समस्याको समाधान छ

हामीलाई समस्याले भयाभित तुल्याएको छ । कुनैपनि काम गर्ने हिम्मत किन गर्दैनौ भने, हामीलाई त्यो काम असफल हुन्छ कि भन्ने डर छ । काम गर्ने क्रममा कुनै समस्या झेल्नुपर्छ कि भन्ने डर छ । तर, समस्याबाट भाग्ने होइन, डटेर अगाडि बढ्ने हो । भनिन्छ, ‘हरेक समस्याले आफुसँगै समाधान मात्र होइन अवसर पनि लिएर आएको हुन्छ ।’ संसारमा यस्ता समस्या छैनन्, जसको समाधान नहोस् ।

जीवनमा दुई प्रकारका समस्या हुन्छन् । पहिलो जसको समाधान हाम्रो वशमा छैन । यस्तो समस्याको चिन्ता गर्नु बेकार छ । दोश्रो, जसको कुनै न कुनै समाधान अवश्य हुन्छ । यसका लागि हाम्रो सक्रियता आवश्यक हुन्छ । हाम्रो प्रयास आवश्यक हुन्छ । प्रयास गरियो भने समस्याबाट पार पाउने मात्र होइन, यसलाई अवसरमा बदल्न सकिन्छ ।

डरलाई जितेपछि

‘डर के आगे जीत है ।’ जब डरभन्दा अगाडि बढ्छौं, तब जीतको नजिक पुग्छौं ।

डर, एक मानविय तत्व हो । तर यही तत्व हो, जसले हामीलाई कमजोर बनाउँछ । डर, जसले हामीमा ग्लानी पैदा गर्छ । हाम्रो जोश-जाँगर मारिदिन्छ ।

हामी जन्ममै यो तत्व लिएर आउँछौं । डर हरेकलाई हुन्छ । अध्याँरोकोे डर, परीक्षाको डर,  नतिजाको डर, मृत्युको डर, अग्लो ठाउँ खस्ने डर । अरु त अरु आफ्नै मान्छे देखि पनि डर, भोक तथा गरीबीदेखि डर इत्यादी ।

यस्तै डरबाट मुक्त हुनका लागि धामीझांक्रीको साहारा लिदै आएको छ, हाम्रो समाजले । डरबाट छुटकारा पाउन तथा मनलाई झुटो आश्वसन दिलाउन धामीझांक्री, झारफुकको विकास भएको मानिन्छ । यसरी झारफुक गर्दा आफु सुरक्षित भएको अनुभूत हुने भएकाले उनीहरुमा डर रहँदैन । जस्तोसुकै संकटबाट पनि आफु सुरक्षित भएको ठान्छन् ।

एकथरीले धामीझांक्री, देवी-देवता, धर्मकर्मलाई यस्तै डर हटाउनेे अस्त्रको रुपमा परिभाषित गरेका छन् । देवी देवताको शरणमा परेपछि वा धर्मकर्म गरेपछि ‘पाप लाग्ने’, ‘नर्क जाने’ डरबाट मुक्त हुन्छन् ।

कार्ल माक्सले भनेका थिए, ‘धर्म जनताको अफिम हो ।’ उनले धर्मसँग जोडिएका धामीझाँक्री आदिलाई नशाको रुपमा परिभाषित गर्दै यसैको आधारमा मानिसले प्रत्येक घटनालाई तर्कसंगत रुपमा नभई अन्धविश्वासको रुपमा हेर्न थाल्ने बताएका थिए ।

अन्धविश्वास मनको डरबाट सुरु हुन्छ । त्यसैले यस्ता अन्धविश्वासलाई हटाउन पनि सबैभन्दा पहिले मनलाई काबुमा राख्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment