Comments Add Comment

हेटौंडाको औद्योगिक उतारचढावः यसरी फर्कंदैछ दिन

२९ कात्तिक, हेटौंडा । साबुनदेखि सिमेन्टसम्म, कस्मेटिक्सदेखि कपडासम्म र बिस्कुटदेखि पेन्टससम्म उत्पादन गर्ने राष्ट्रियदेखि बहुराष्ट्रियसम्मका उद्योगहरु हेटौंडामा छन् । वर्षमा अर्बौं राजस्व तिर्ने ती उद्योगहरुले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडालाई उद्योगहरुको सहर बनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज नजिकै हुनु र राजधानी काठमाडौंसहित देशका मुख्य सहरहरुलाई जोड्ने सडक सञ्जालको केन्द्रमा रहनुले हेटौंडालाई औद्योगिक शहर बन्न सहयोग पुगेको बताउँछन् । हेटौंडामा औधोगिक गतिविधि भने ६ दशकअघि नै सुरु भएको हो ।

२००७ सालपछि हेटौंडाको चुरे क्षेत्रमा ठुलो मात्रामा वन फडाँनी र बसोबास सुरु भयो । ०१३ सालमा वीरगञ्ज-हेटौंडा सडकलाई त्रिभुवन राजपथका रुपमा फराकिलो पारियो । त्यसबाट हेटौंडामा स्वभाविक रुपमा आर्थिक गतिविधि बढ्न गयो । ०२० सालमा अमेरिकी सरकारको सहयोगमा औद्योगिक क्षेत्र स्थापना भएपछि भने हेटौंडा जुरुक्कै उठ्यो ।

२ हजार ८२९ रोपनीमा फैलिएको यो औद्योगिक क्षेत्र नेपालकै सबभन्दा ठूलो क्षेत्र हो । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख व्यवस्थापक नेपालभुषण वैद्यका अनुसार, सबभन्दा व्यवस्थित र सुविधासम्पन्न औद्योगिक क्षेत्र पनि यही हो ।

हेटौंडा औद्योगिक क्षेत्रमा राष्ट्रिय महत्वका ठूला उद्योगहरु खुले । ०३५ सालमा हेटौंडा कपडा उद्योग औद्योगिक क्षेत्रभित्रै खुल्यो । अनि थपिए नेपाल वनस्पति घ्यू, मकवाना विस्कुट, गोर्खा लरी, इटालियन लेदर, महाशक्ति सोपदेखि कोलगेट, पाल्मोलिभसम्मका उद्योगहरु । योसंगै हेटौंडा रोजगारीको केन्द्र पनि बन्यो ।

वहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, ट्रान्सर्फमर उत्पादक नेपाल इकरात इन्ििजनियरिङ कम्पनी -नीक), कोकाकोला लगायातका पेय पदार्थको बिर्को उत्पादक कम्पनी सीएसआई पनि हेटौंडामै सञ्चालनमा छन् ।

उतारचढावका दिन
०४२ सालमा हेटौंडा औद्योगिक क्षेत्र बाहिर हेटौंडा सिमेन्ट उद्योग खुल्यो । हेटौंडा असपासका क्षेत्रमा पनि उद्योगहरु खुले । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले पनि हेटौंडामा नै रोज्यो । त्योसंगै अरु उद्योगहरु थपिए । तर, अवस्था त्यही रहेन । एउटा कालखण्डमा राजनीतिक अस्थिरताका कारण उद्योग क्षेत्रमा अप्ठ्यारोमा पर्‍यो ।

बढ्दो राजनीतिकरण, बेथिति र ट्रेड युनियनको दबदबाका कारण हेटौंडा कपडा लगायतका ठूला उद्योगहरु बन्द भए । त्यसमाथि थपियो, माओवादीको सशस्त्र द्धन्द्व । दोहोरो चेपुवामा परेका उद्योगीहरुले ताल्चा ठोके । केही उद्योगी पलायन भए । कति उद्योग नयाँ प्रविधि अपनाउन नसकेर त कतिपय भारतीय उत्पादनसंग प्रतिसपर्धा गर्न नसकेर थला परे ।

शान्ति प्रक्रिया सुरु भएपछि भने हेटौंडामा औधोगिक वातावरण संगलिएर आयो । बन्द उद्योगको स्थानमा अन्य नयाँ उद्योगहरुले प्लान्ट राख्ने क्रम सुरु भयो । अहिले औद्योगिक क्षेत्रभित्र एसियन पेन्ट्स, यति पेन्ट्स, बर्जर पेन्ट्स, पार्लेजी बिस्कुट, सिद्धार्थ पेलेट, भ्याली पेलेट, हिमालयन बेम्बो, नेपाल ब्रुअरी, गंगा सोप, युनिक सोप लगायतका १०३ उद्योग सञ्चालनमा छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख वैद्यका अनुसार, जम्मा ३ उद्योग बन्द अवस्थामा छन् । तीमध्ये बिराट लेदरको ठाउँमा खजुरीको बिस्कुट आउने निश्चित भएको छ । सरकारले हेटौंडा कपडा उद्योग पनि पुनः संचालन गर्न भर्खरै अध्ययन सकेको छ । त्यस अनुसार काम अगाडि बढ्यो भने कपडा उद्योग चलाउने जिम्मा नेपाली सेनाले पाउनेछ ।

औद्योगिक क्षेत्र बाहिर चुरियामाईमा पनि ऋद्धिसिद्धि सिमेन्टले दैनिक ५६ लाख बोरा सिमेन्ट उत्पादन गर्ने पूर्ण स्वचालित प्लान्ट तयार गर्दैछ । कपडा उद्योगबमट कहलिएको हेटौंडा अब सिमेन्टतिर मोडिन लागेको यसले देखाउँछ । शिवम् सिमेन्टले पनि हटियामा उद्योग खोलेको छ । हेटौंडा आसपासको क्षेत्रमा प्रशस्त चुनढुंगा रहेकाले सिमेन्ट उद्योगमा लगानी थपिँदै गएको छ ।

फैलँदै औधोगिक क्षेत्र

हेटौंडा औद्योगिक क्षेत्रभित्र अहिले नयाँ उद्योगको लागि ठाउँ नभएकोले मयुरधापमा अर्को औद्योगिक क्षेत्र खुलेको छ, जहाँ पूर्वाधार निर्माणको काम भइरहेको छ । करिब २ सय रोपनी क्षेत्रफल भएको यो औद्योगिक क्षेत्रले हेटौंडामा नै उद्योग चलाउन चाहनेका लागि सहज विकल्प दिने छ ।


हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रुमख वैद्य उद्योगीहरु वीरगञ्ज नजिकको परवानीपुर औद्योगिक कारिडरभन्दा हेटौंडा क्षेत्र रुचाउँछन् । त्यसका केही खास कारणहरु छन् । ‘एक त उताजस्तो चन्दा आतंक छैन यता’, वैद्य भन्छन्, ‘अर्को, न्युनतम् पूर्वाधारयुक्त सुरक्षित औद्योगिक क्षेत्र पनि छ ।’

हेटौंडा औद्योगिक क्षेत्रमा अहिले सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था हेर्छ । सडक, ढल, पानी लगायतका पूर्वाधार र अरु सुविधाको पाटो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेर्छ । जग्गा, भवन र सेवा सुविधाको शुल्क तिरेपछि उद्योगीलाई अरु चिन्ता लिनुपर्दैन । ‘वान डोर सिस्टम’बाट काम हुने भएकाले औद्योगिक क्षेत्रभित्र उद्योग चलाउन सहज रहेको उद्योगीहरु पनि बताउँछन् ।

सरकारले पूर्वाधारमा पर्याप्त लगानी नगर्दा भने केही कठिनाई रहेको उद्योगीहरुको गुनासो छ । उनीहरुका अनुसार, सडक तथा भाडाका भवनहरु बिग्रँदा मर्मतमा बेवास्ता हुने गरेको छ ।

समस्या जग्गा लिएर उद्देश्य अनुरुप उद्योग सञ्चालन नगर्नेहरुबाट आएको छ । कतिले लिएको जग्ग्ामै दलाली गर्न थालेपछि नियन्त्रणको नीति लिएको व्यवस्थापक वैद्यले बताए । उनका अनुसार, औद्योगिक क्षेत्रमा उद्देश्य विपरित गर्ने र उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई कारवाहीको प्रकृया अघि बढाइएको छ । वैद्यले भने, ‘उद्देश्य विपरित उद्योग सञ्चालन गर्ने ५ उद्योगलाई जरीवानासहितको कारबाही र वर्षौंदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगलाई सम्झौता रद्द गर्नेसम्मको प्रकृया अघि बढाएका छौं ।’

उनका अनुसार, दर्ता गर्दा तोकिएको मापदण्ड भन्दा बाहिर रहेर उद्योग सञ्चालन गर्ने भविश्य मैदा मिल, सुजल डेरी इण्डष्ट्रिज, सुजल फुड प्रालि, बानियाँ मल्टी प्रोडक्ट इण्डष्ट्रिज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै त्रिशक्ति पोली प्याक्स उद्योगलाई २० हजार रुपियाँ जरिवाना गरिएको छ । कारवाहीमा परेका उद्योगहरुलाई ३५ दिनदेखि ३ महिनाभित्र सम्झौता अनुसारको उद्योग सञ्चालन गर्न निर्देशन दिएको वैैद्यले बताए ।


त्यस्तै, वर्षाैंदेखि औद्योगिक क्षेत्रको जग्गा लिएर उद्योगका लागि पूर्वाधार समेत नबनाएका उद्योगहरुलाई ६ महिनाभित्र पूर्वाधार तयार गर्न भनिएको छ । उक्त समयसीमा भित्र काम नगरे सम्झौता रद्द गरिने वैद्यले बताए ।

लगानी सुरक्षा नीतिको माग

पछिल्लो समय हेटौंडामा ठूला लगानीका केही उद्योग खुलेका छन् र खुल्दैछन् । तर, अपेक्षित गतिमा ठूला उद्योगहरु आउन नकसकेको उद्योगी बीके बोस बताउँछन् । उनी यसमा सरकारी नीतिलाई दोषी देख्छन् । श्रम नीति र ऐन-नियमलाई उद्योगमैत्री नबनाई चाहे जसरी लगानी नआउँने उनले बताए । ‘हामी उद्योग चलाइरहेकालाई नै धेरै प्रकारका समस्या छन्’, उनले भने, ‘नयाँ लगानी लिएर आउन हेटौंडाको वातावरण राम्रो भएर मात्रै हुँदैन, सरकारी नीति पनि लगानी सुरक्षा गर्ने किसिमबाट आउनुपर्‍यो ।’

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत औद्योगिक वातावरणलाई अझ राम्रो बनाएर लगानी आकषिर्त गर्न आवश्यक पहल लिने बताउँछन् । उनी औद्योगिक केन्द्र बनिसकेको हेटौंडामा अझ धेरै लगानी ल्याउँन मुख्यतः सरकारी तवरबाट नै कसरत हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment