Comments Add Comment

यसरी पुनर्निर्माण हुँदैछ प्रसिद्ध भैरवनाथ मन्दिर (फोटोफिचर)

२९ कात्तिक, काठमाडौं । भक्तपुर नगरपालिकास्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुनर्निमाण शुरु भएको छ ।

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पले हल्लाएको भक्तपुर नगरपालिका ४ टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको पुरानै शैलीमा पुनर्निर्माण थालिएको हो ।

दशैंअघिबाट मन्दिरको पुनर्निर्माण थालिएको नगरपालिकाको सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार अहिले मन्दिरको चारैतिरबाट स्काफोल्डिङ गर्नेे काम भइरहेको छ ।  सम्पदा शाखाले तयार गरेको पुनर्निमाण योजना अनुसार मन्दिर पुरै भत्काएर बनाउन लागिएको होइन ।

भूकम्प क्षति पुर्‍याएको माथिल्लो तला मात्रै भत्काइने श्रेष्ठले बताए । तर, भूकम्पले हल्लाएको मन्दिरको झिंगटी छाइएको दुई तलाको छाना भने पुनः छाउने र चर्किएको ठाउँमा जिर्णोद्वार गर्ने उनी बताउँछन् ।

‘बनाउँदै जाँदा अवस्था हेरेर फेर्नुपर्ने काठहरु फेर्छौं, भत्काउनुपर्ने ठाउँ भत्काएर बनाउँछाैं’, उनले भने ।

पुनर्निर्माणका लागि नगरपालिकाले १ करोड ४२ लाखको लगत इस्टिमेट तयार गरेको श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार अागामी एक वर्षभित्र मन्दिरकाे पुनर्निर्माण सक्ने लक्ष्य छ ।

०७२ सालको भूकम्पले थिलथिलो बनाएको मन्दिर करिब ६ इन्च जमिनमूनि भासिएको थियो ।

०७२ को भूकम्पअघि २०५२ सालमा पनि भक्तपुर नगरपालिकाले उक्त मन्दिर जीर्णोद्धार गरेको थियो । त्यसैले पनि मन्दिर पूरै भत्काउन नपर्ने नगरपालिकाका प्राविधिकहरु बताउँछन् ।

यस्ताे छ इतिहास

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा यही भैरवनाथ मन्दिरबाट सञ्चालन हुने गर्छ । भैरवनाथ मन्दिरलाई भारतको काशी विश्वनाथ मन्दिरका रुपमा पनि चिनिन्छ ।

किम्वदन्ती अनुसार भक्तपुरको बिस्केट जात्रा हेर्न आएका काशीका विश्वनाथलाई यहाँका तान्त्रिकहरुले पत्तो पाएर समात्न खोजेका थिए ।

तर, काशिनाथले यो कुरा थाहा पाएर जमिनमा अलप हुन खोज्दा तान्त्रिकहरुले जात्रा हेर्न आएका किसानले कम्मरमा भिरेको हँसिया झिकेर काशी विश्वनाथको शीर काटिदिए ।

विश्वनाथको काटिएको शीर राख्न भैरवनाथ मन्दिर निर्माण गरिएको जनविश्वास छ । भैरवनाथको काटिएको शीर अझै पनि जिवितै रहेको जनविश्वास छ ।

 

भैरव नाइकबाहेकले भैरवनाथको काटिएको शीर राखिएको ध्याम्पो हेर्न हुन्न, हेरे तत्कालै अन्धो भइन्छ भन्ने मान्यता जनमानसमा पाइन्छ । त्यसैले पनि त्यहाँ पुग्ने कसैले त्यो ध्याम्पो खोलेर हेर्ने आँट गर्दैनन् ।

भैरव नाइकेहरुले वर्षेनी दुई दिन उक्त काशी विश्वनाथको कपडा फेरि दिने पर्व पूजा चलाउँदै आएका छन् ।

नेपाल संवत ६७७ मा विश्व मल्लले प्यागोडा शैलीमा एकतले भैरवनाथ मन्दिर बनाउन लगाएको इतिहास पाइन्छ ।

त्यसपश्चात जगतज्योति मल्लले नेपाल संवत ७४० मा तीन छाने तथा ६ तले मन्दिर (हालको स्वरुप) बनाउन लगाएका थिए ।

भूपतीन्द्र मल्लले नेपाल संवत ८३८ मा जिर्णोद्वार गरेको उक्त मन्दिर वि.स. १९९० सालको भूकम्पले पूर्णरूपमा ध्वस्त भएको थियो ।

त्यसपछि वि.स. १९९३ मा मन्दिरलाई पुरानै स्वरुपमा पुनर्निर्माण गरिएकोमा पछिल्लो पटक ०७२ सालको भूकम्पले पुनः क्षति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment