+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुन तस्करी प्रकरण : सिलवाल र खेतान धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १९:२९

२९ कात्तिक, मोरङ । उच्च अदालत विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा थुनामा रहेका दुई जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले तस्करीको सुनको लगानीकर्ता भनिएका सञ्जय खेतान भनिने प्रभाव अग्रवाल र मदन सिलवाललाई जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

बिहीबार भएको सुनुवाईपछि अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

उच्च अदालतले छाड्ने आदेश दिएका अग्रवालमाथि सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेलाई सुन आयात गर्न लगानी गरेको आरोप थियो । सिलवालले सुन कारोबारमा सहयोग गर्ने गरेका थिए ।

जिल्ला अदालत मोरङले सुन तस्करी तथा शाक्य हत्या प्रकरण मुद्दामा गत भदौ १३ गते सञ्जय खेतान भनिने प्रभात अग्रवालसहित आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकवर साह र भारतीय नागरिक बिमल पोद्दारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश बदरको मागसहित उच्च अदालतमा निवेदन दिएका अग्रवाललाई बिहीबार छाड्ने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत असार २४ गते मदन सिलवालसहित राम तिवारी, मोतीराम श्रेष्ठ, र भुजुङ गुरुङका ड्राइभर लक्षुबहादुर गुरुङलाई पूपक्र्षका लागि कारागार चलानको आदेश दिएको थियो । उनीहरु मध्ये राम तिवारी धरौटीमा छुटिसकेका छन् भने बिहीबार सिलवाललाई पनि छाड्ने आदेश भएको हो ।

जिल्ला अदालतको आदेशपछि कारागार चलान भएकाहरुले जिल्लाको आदेश रितपूर्वक नभएको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । यसरी निवेदन दिनेहरुमध्ये पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी साधारण तारेखमा छुटेका थिए भने राम तिवारी ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले सरकारी वकिलको कार्यालय मोरङ मार्फत गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा वैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दावीसहित मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?