Comments Add Comment

मोरिसन मोन्टाजः नील नजर

एकदमै निर्जन । एक्लो र उदास छ त्यो घर । ब्लुस्टोन रोडको घर नम्बर १२४ । त्यही घर, जहाँ सेथीले आफ्नी सानी छोरीको हत्या गरेकी थिई । आजसम्म पनि त्यही बच्चाको भूतले तर्साउँछ । त्यस घटनापश्चात गाउँले सबै टाढा छन् उनीहरुबाट । सन्नाटा र एक्लोपनको एक छत्र राज सप्रिएको छ । बस् एक त्रासद समय चिहृयाउँछ प्रत्येक कुना काप्चाबाट । टोनि मोरिसनको उपन्यास बिलभेड निहृयाल्ने एक टुक्रा कथा हो यो ।

सत्रौं र अठारौँ शताब्दीको औपनिवेसिक कालो समय जतिखेर दासप्रथाको जग बस्यो, बेस्सरी फस्टायो र पिर्यो लामो समय कालाहरुलाई । बजारमा मोलमोलाईका साथ बिक्री हुन्थे उनीहरु । सन् १८५६ को कुनै एक उदास दिनमा दासत्वको चरम सकसबाट सदाका लागि मुक्ति दिन मार्गरेट गार्नरले छिनाइदिइन् दुई बर्षे छोरीको घाँटी । त्यो डरलाग्दो हत्या कथाले अमेरिकी समाजमा ठूलै सनसनी फैलाइदियो । त्यसै कथालाई आधार बनाई अमेरिकन लेखक टोनी मोरिसनले सन् १९८७ मा तयार पारिन् उपन्यास बिलभेड । यस पुस्तकको सफलताले लेखकलाई सम्मानित पुरस्कार पुलिट्जर मात्र दिलाएन, उनी बिश्वसामु एक प्रतिष्ठित एफ्राे अमेरिकन लेखकका रुपमा परिचित भइन् । उनको साहित्यिक योगदानका लागि सन् १९९३ मा उनी नोबल पुरस्कारबाट पुरस्कृत भइन् ।

दासत्वको पीडा

बेबी सग्स । उपन्यास बिलभेडको हजुरआमा पात्र । बिभिन्न गोरा मालिकहरुकोमा बेचिँदै छ जना लोग्नेबाट आठ सन्तान जन्माउँछिन् । तर, कुनै सन्तान उनीसँग लामो बस्न पाउँदैनन् । उनका नानीहरु मालिकले एकपछि अर्को गर्दै बेचिदिन्छन् । उनी छोरा हेलीसँग भने अलि लामो समयसँगै बस्न पाउँछिन् । कहीँ कतै छ त मान्छे हुनुको संकेत उनीहरुको जीवनमा ?

भेडा बाख्रा जस्तै उनीहरु जता पठायो मालिकले उतै जानु पर्ने । छोराछोरी पनि कता कता बेचिपठाइदिन्छन् थाह हुन्न । उनीहरु बोल्न सक्दैनन् या भनौ बोल्न पाउँदैनन् । किनकि घरपालुवा जनावरले मात्र सहन्छ, प्रतिकारको आवाज उठाउँदैन । जीवन जस्तो छैन जीवन । परिवार र कुनै एक निश्चित बास मात्र सपना हो दासहरुको । ६० बर्ष टेकीसकेकी बेबी सग्सको कम्मरमा समस्या आउँछ । त्यसपछि छोरा हेलीले आफू बन्धक बसेरै भए पनि आमालाई स्वतन्त्र पारिदिन्छ । लाखौं कालाहरुले बेहोरेको एक पीडादायी सत्यका भोक्ता हुन् यी पात्रहरु । दासताको पीडा आमाबाट सरेको छ छोरा हेलीमा अब । मोरिसनको बिलभेड एक पछि अर्को पुस्तामा सरेको दासत्वको कथा हो ।

कपास, उखु या सुर्ती खेतीमा काम लगाउन एउटै मालिकले थुप्रै दासहरु राख्छन् । उनीहरु एकै ठाउँ पशु सरह बस्नु पर्छ । हेलिसँगै पल एफ, पल डि, पल ए, सिक्सो नामका दासहरु पनि छन् । सधैँको जनावरहरुसँगको संगतले उनीहरु पनि उस्तै भएका छन् । कहिलेकाही गाईसँग पनि संसर्ग गर्न पछि पर्दैनन् । तर, गजबको कुरा उनीहरु स्वीटहोममा बस्छन् । स्वीटहोम, एक महाब्यङ्ग्य ।

स्वीटहोमको तिक्तता

स्विटहोम मा छन् पाँच जना दासहरु । थपिएकी छ एक महिला, सेथी । ती लोग्ने मान्छेहरुका बीच एक्ली महिला । अप्ठेरो छ अवस्था । सबैले आफ्नो बनाउन चाहन्छन् सेथीलाई तर उसले मन दिन्छे हेलिलाई मात्रै । बेबी सग्सका छोरा हेली । मन मिलेपछि मालिकसँग सल्लाह गरेर बिहे गर्छन् । उनीहरु छ बर्ष जति सँगै बस्न पाउँछन् । केही छोराछोरी पनि जन्मिन्छन् । तर दासहरुको जीवनको केही निश्चितता हुदैन । मालिकले जे चाह्यो उही । त्यसमा पनि महिलाहरु त अझ बढी शोषणमा पर्छन् । मालिकहरुको नजर परेपछि उसले केही बोल्न पाउँदिनँ । गर्भवती सेथीमाथि पनि त्यस्तै आइलाग्छ । ऊ बल्ल तल्ल ज्यान जोगाएर भाग्छे ।

स्वीटहोमको तीतो भोगाइबाट उम्किएकी सेथीलाई आफ्ना छोराछोरी उही यातनागृहमा पठाउन कदापि मञ्जुर छैन । तर, खोज्दै आइपुग्छन् स्लेभ क्याचरहरु । र त्यसै बखत एउटी आमाले कठोर निर्णय लिनु पर्छ । बच्चाहरु मालिकको जिम्मा लगाउनुभन्दा बरु मार्नु उचित ठान्छे । एउटी छोरी त मारिसकेकी छे, अरुलाई मर्न नपाउँदै ऊ पक्डाउ पर्छे । त्यो दृश्यले मनमुटुमा हिउँपहिरो झारिदिन्छ । एउटी दास आमा जसले दासत्वको यातना बुझेकी छ । आफ्ना छोराछोरीले त्यही भोगोस् भन्ने ऊ चाहन्न त्यसैले त्यो घटना घट्छ । यही घटना काफी छ दासत्वको अन्तहीन यातना महसुस गर्न । लाखौं अफ्रिकनहरुको चरम शोषणको जगमा अडेको छ आजको समृद्ध र सभ्य मानिने अमेरिका ।

पल डि

१२४ ब्लुस्टोन रोड । एक्लो र सुनसान घर । त्यही घर खोज्दै आइपुग्छन् उनी । पल डि । स्वीटहोमका एक दास । सेथीलाई मन पराउने मध्येका एक । २५ बर्ष अघिका ती धुमील समय उघ्रिन्छ उनीहरुका सामु । स्वीटहोमका दासहरु भाग्ने योजना बनाउँछन् २५ बर्ष अघिको त्यस दिन । उनीहरु मध्येका सिक्सो मारिन्छन् । हेली कतै गायव हुन्छ भने सेथी र पल डी भाग्न सफल हुन्छन् ।

पल डीको यात्रा सहज हुदैन । पैतालिस जनासँगै सिक्रीले बाँघिएर ऊ बसेको छ जर्जियाको कैदमा । त्यहाँबाट भागेर डेलावर पुग्छ । एउटी कपडा बुन्ने केटीसँग केही समय बस्छ । ऊ एक फुक्काफाल मनुवा भएको छ । दास भैकन पनि ऊ पुरुष भएकोले बढी स्वतन्त्र छ । तर सेथी छोराछोरी र जिम्मेवारीले घेरिएकी छे । एक ठाउँमा जमेर बस्नुको बिकल्प छैन । स्थिर र शान्त सेथीलाई भेट्न आइपुगेको छ बतास जस्तो पल डि । तर, उमेर घर्किसकेको छ । सेथीका छोराहरु बग्लर र हावर्ड पनि भागिसकेका छन् । अब मात्र छोरी डेनभर र सेथी छन् एक अर्काका साहारा । विगतको हत्याकाण्ड अझै आलै छ छरछिमेकको मनमा । त्यसैले गाउँलेहरुको आवत-जावतभन्दा टाढा भएका छन् उनीहरु । यसै समय आफ्ना भोगाइ र पीडाहरुको कुम्लो कसेर आइपुग्छन् पल । र, बन्छन् तेस्रो सदस्य त्यस सुनसान घरको ।

बिलभेड घोस्ट

अचानक पस्न आइपुगेकी छ एउटी कलिली केटी, बिलभेड १२४ मा । तिर्खा र निन्द्राले आकुल ब्याकुल । तीन ग्लास पानी पिएर तीन दिनसम्म सुतिदिन्छे ऊ । एकदमै अनौठो लाग्छ सबैलाई । सेथीलाई यति माया र ख्याल गर्छे कि ऊ कामबाट नआइन्जेल पर्खेरै बसेकी हुन्छे । अनौठा प्रश्नहरु गर्छे, जसले सेथीलाई उसको बिगततिर डोहोर्याउँछ । ऊ त्यस घरमा पसेदेखि पहिले जस्तो तर्साउन छाडेको छ । सेथी बिस्तारै उसको बसमा पर्दैजान्छे । पलसँग पनि ऊ उत्तिकै नजिक हुन खोज्छ । लाग्छ ऊ माया, मात्र माया चाहन्छे सबैबाट । केटाकेटी जस्तै छ उसको बोली व्यवहार । बिलभेड, सेथीले मारेको छोरीकै अर्कोरुप हो कि जस्तो लाग्छ ।

सेथी कमजोर हुँदै गएकी छ भने बिलभेड निकै बलियो र प्रभावशाली । एक दिन पल उनीहरुलाई छाडी हिड्छ । कारण भन्नु सेथीको बिगत । उसको आगमनले भित्र्याएको खुसी उसै ओइलिझर्छ । पलको पुरुष मानसिकताले फेरि एक पटक सेथीलाई दुखी तुल्याउँछ । १२४ मा सन्नाटा छाएको छ । सेथी, डेनबर र बिलभेडका मौनता मात्र ठोक्किन्छन् एकआपसमा । यसै बखत ऊ कामबाट पनि निकालिन्छे । घरमा अभाव बढ्छ । तर अचम्म, प्रत्येक दिन उनीहरुको गेटमा कसैले केही खानेकुरा राखिदिएका हुन्छन् ।

यसैबीच एक दिन अप्रत्यासितरुपमा तीस जना काला महिलाहरुको हुल घर अघि अडिएर एकै स्वरमा उनीहरुका लागि प्रार्थाना गरिदिन्छन् । नसोचेको माया र आत्मियताले एक्लिएको सेथी परिवारको उजाड जीवनमा आशाको मुना पलाउछ । अब बिस्तारै गाउँलेहरुसँगको दुरी मेटिएर जान्छ । पल डि पनि फेरि फर्की आउँछन् ।

बिलभेड एक आशा

टोनी मोरिसनले एफ्रो अमेरिकनकै कथामा धेरै उपन्यास लेखेकी छन् । मुख्यत उनीहरुको दुखद भोगाई, परिवार र संस्कृतिबाट टाढा हुनुको पीडा, दासत्व र गरीबीले उमारिदिएको अनेकन विकृत मानसिकताहरुलाई उनी निकै इमान्दारीपुर्वक आफ्ना उपन्यासहरुमा समेट्छिन् ।

उनको पहिलो उपन्यास द ब्लुएस्ट आईमा पनि दुखदायी बिगत र दारुण वर्तमानले पिरोलेको पिकोलाको परिवारको डरलाग्दो कथा छ । तीतो बिगतका कारण कहिलेकाहीँ अमानवीय र पतीत काम गर्न पनि पछि पदर्ैैनन् उनीहरु । रक्स्याहा बाबु चोलीको यौन हिंसाका कारण गर्भवती हुन्छे छोरी पिकोला । बाबु जेलमा र आमा मालिकको घरमा भएका कारण पिकोला अरु कसैको शरणमा बस्न बाध्य हुन्छे ।

बिगतमा पारिवारिक विखण्डन, गरीबी र निराशले व्याप्त थियो धेरै एफ्रो अमेरिकन परिवारहरु । त्यही अवस्था परिस्थितिको उजागर गरी कालाभित्र पलाएको विकृति खोतल्न पनि पछि पर्दिनन् मोरिसन ।
बिलभेड, कालाहरुले भोगेको एक निस्सासिँदो समयको दस्ताबेज हो । लेखकले बिगतका घटनाक्रमहरुलाई ज्यादै कोमलतापूर्वक समेट्दै अन्तमा आशाको उज्यालो छरिदिएकी छन् । उपन्यासको अन्ततिर घर १२४ मा एक हुल महिलाहरु आउँछन् । सेथीको घाउमा मलम लगाउन आएका यी महिलाहरुले उनलाई ठूलो साहारा र सान्त्वना मिल्छ । छाडी गएका पल डि पनि फर्केर आउँछन् । छुटेको परिवार र समाजको मिलन हुन्छ । यसले उनीहरुलाई आफ्नोपन र आत्मियताको सूत्रमा बाध्न सफल हुन्छ ।

विगतलाई कोट्याउँदै छुटेको परिवार, समाज, संस्कृति, र पहिचानको खोजी नै मोरिसनको लेखनको मुख्य ध्याउन्न हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment