Comments Add Comment

बालबालिका सम्बन्धी विधयेक च्यात्ने अभियन्ता सिलवाल पक्राउ

२५ कात्तिक, काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय बालिका सम्मेलनमा बालबालिका सम्बन्धी विधेयक च्यात्ने बालअभियन्ता प्रविण सिलवाल पक्राउ परेका छन् ।

विधेयक च्यातिएको एक महिनापछि महानगरीय प्रहरी वृत्त, सिंहदरबारले बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक समेत रहेका उनलाई शनिबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) काजीकुमार आचार्यका अनुसार शनिबार एक कार्यक्रमस्थलबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

‘बाल विवाहविरुद्धको कार्यक्रमका क्रममा सडकमा सुतेपछि हामीले नियन्त्रणमा लिएर ल्याएका थियौं’, आचार्यले अनलाइनखबरसँग भने, ‘सोधपुछका क्रममा विधेयक च्यात्ने पनि उनै भएको खुलेपछि राखेका छौं । भोलि सरकारी वकिलको राय अनुसार कुन मुद्दा चलाउने भन्नेबारे टुंगो लगाउँछौं ।’

स्रोतका अनुसार वृत्तलाई यसअघि प्रहरी प्रधान कार्यालयबाट विधेयक च्यात्नेमाथि अनुसन्धान गर्न भन्दै पत्र प्राप्त भएको थियो ।

यसअघि १५ असोजमा विधेयकले बालश्रमलाई प्रश्रय दिएको भन्दै सिलवालसहित अन्य बालअभियन्ताहरुले कार्यक्रमका प्रमुख अतिथि तत्कालिन कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल निस्किने वित्तिकै विधेयक च्यातेका थिए । बालबालिका सम्बन्धी विधेयक, २०५५ ले बालश्रमलाई बालबालिका सम्बन्धी कसुरमा पनि नराखेको उनीहरुको दाबी थियो ।

प्यानल डिस्कसन भइरहेका वेला प्रश्न राख्ने समयमा संयोजक सिलवालले ‘निर्मलाको निम्ति न्यायको आवाज उठ्यो तर, तपाईंहरु किन उठ्नु भएन’ भन्दै एनजीओरआईएनजीओकर्मीहरुलाई प्रश्न सोधेका थिए ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारले दुई महिनासम्म न्याय पाउन नसकेको उल्लेख गर्दै उनले पन्तको पक्षमा आवाज उठाउँदा एनजीओ र आईएनजीओकर्मी भनिनेहरु कता हराए भनेर उनले जिज्ञासा राखेका थिए ।

यो पनि पढ्नुहोस काबा प्रधानमन्त्री निस्किन साथ बालअधिकारकर्मीले च्याते विधेयक (भिडियोसहित)

को हुन् सिलवाल ?

पूर्व बालक्लब पदाधिकारीको समूहको बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानका संयोजक हुन्, सिलवाल । २१ वर्षीय सिलवाल हाल हिमालय इञ्जिनियरिङ कलेजमा अध्ययनरत् छन् ।

सिन्धुपाल्चोकको सेलाङमा गाउँ स्तरीय बाल क्लब सञ्जालका पूर्व सदस्य उनी १० वर्षदेखि बालअधिकारको पक्षमा वकालत गर्दै आएका छन् । उनी जिल्ला बाल क्लब सञ्जाल, काठमाडौं र सिन्धुपाल्चोकको सल्लाहकार समेत हुन् ।

यसअघि गत वर्ष ४ मंसिरमा सिलवाल नेतृत्वको समूहले अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भमा सवारीसाधनमा कार्यरत् १० जना बालश्रमिकको उद्दार गरेको थियो ।

ललितपुरको हरिहर भवन चोकबाट सार्वजनिक सवारीमा कार्यरत् उनीहरुलाई उद्दार गर्दै गर्दा श्रमिक बालबालिकाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनीहरुले केन्द्रीय बाल कल्याण समितिका निर्देशक, कर्मचारी लगायत सहभागी बैठकमा ‘हामी १० जनालाई त ल्यायौं । तर, अरु ४९० जनालाई कहिले ल्याउँछौं’ भनेर प्रश्न समेत गरेका थिए ।

त्यसपछि अहिले बागमती श्रम कार्यालयसँगको सहकार्यमा बालकल्याण समितिले गाडीमा काम गने श्रमिकहरुको उद्दार कार्य जारी राखेको छ ।
यो पनि पढ्नुहोस अन्तर्राष्ट्रिय बाल दिवसमा १० जना बालश्रमिकको उद्दार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment