Comments Add Comment

सकारात्मक चिन्तनः किन मनमा विकार पैदा हुन्छ ?

हामी भन्छौं, ‘सकारात्मक सोंच राख्नुपर्छ ।’

यसका लागि के गर्ने ?

जवाफमा भन्छौं, ‘मनको विकार त्याग्नुपर्छ ।’

मनको विकार कसरी त्याग्ने ?

मनभित्र रिस, राग, आवेग, इष्र्या, अहंम्, दम्भ, डर, लोभ, घृणा हुन्छ । यी विकार त्याग्नुपर्छ । तर, भन्न जति सजिलो छ, व्यवहारिक रुपमा त्यसलाई प्रयोग गर्न उत्तिनै गाह्रो छ । किनभने यी कुरा हामीले जन्मदेखि नै लिएर आयौं ।

जब हामी नावालक शिशु थियौं, त्यसबेला पनि त हामीभित्र डर थियो । हामीभित्र आवेग थियो । कुनै बच्चालाई तपाईं हातमा राखेर उफर्नुहोस्, डरले आँखा चिम्लन्छ । वा चिच्याएर रुन्छ । यसको अर्थ के भने यी मानविय तत्व हामीले जन्मजात लिएर आयौं ।

जसरी हामीभित्र प्रेम छ, सद्भाव छ, करुणा छ, दया छ, त्यसैगरी रिस, राग, अहंकार, डर, लोभ पनि छ । मनको एउटा पाटोमा यी सकारात्मक तत्व छ । अर्को पाटोमा नकारात्मक तत्व छ । र, बुझ्नुपर्ने कुरा त के भने, यी दुबै कुरा हामीलाई आवश्यक छ । तपाईंलाई अचम्म लाग्न सक्छ, रिस, आवेग, दम्भ, लोभ, डर पनि आवश्यक छ ?

यदी आवश्यक नहुँदो हो त प्रकृतिले ति तत्व हामीभित्र राख्ने थिएन ।

हाम्रो मनभित्र पैदा हुने सरकारात्मक वा नकारात्मक तत्वलाई हामीले मनबाट हटाउने होइन । सकिदैन पनि । बरु व्यवस्थापन गर्ने हो ।

कुनैपनि कुरा पूर्णत निर्मूल वा निषेध गर्नुभन्दा बढी प्रभावकारी त्यसको समूचित व्यवस्थापन गर्नु हुन्छ । मनभित्रको विकारलाई पनि त हामी व्यवस्थापन गर्न सक्छौं ।

कसरी व्यवस्थापन गर्ने त ? के यो संभव छ ?

सजिलो नहुन सक्छ, तर संभव छ । जस्तो कि हामीभित्र डर छ । के मनबाट डरलाई उखेलेर मिल्काउने हो भने हामी निडर बन्छौं ? हुनसक्छ ‘निडर’ बन्न सक्छौं । तर, निडर मात्र होइन, लापरवाह पनि बन्न सक्छौं । हामीलाई कुनैपनि कुराको मतलब नहुन सक्छ । कतिपय कुरा यस्ता हुन्छन्, जसमा हामीले डर मान्नुपर्छ । जस्तो अरुलाई कुटपिट गर्न, अरुलाई दूव्र्यवहार गर्न, आफैलाई हानी हुने काम गर्न, जस्तोसुकै खानेकुरा खान, भ्रष्टचार गर्न, कुकृत्य गर्न हामीलाई ‘डर’ लाग्नुपर्छ । मनभित्रको यो डरले हामीलाई कमजोर बनाउँदैन, बरु सकारात्मक उर्जा दिन्छ । सकारात्मक बाटो दिन्छ ।

त्यही डरलाई बढाव दिने हो भने, हाम्रो हिम्मत हराउँछ । साहस हराउँछ । कुनैपनि काम गर्नका लागि आँट आउँदैन । यस्ता डर त्याग्नुपर्छ ।

डरले जसरी हामीलाई सकारात्मक बाटोमा उन्मुख गराउँछ, उसैगरी कमजोर पनि बनाउँछ । त्यसर्थ डरलाई कसरी र कुन रुपमा लिने भन्ने कुरा मूख्य हो ।

हामीभित्र इष्र्या हुन्छ । इष्र्या एक डरलाग्दो मानसिक विकार हो । अरुको प्रगति, अरुको उन्नती, अरुको खुसी, अरुको रमाइलो देख्छौं, हामीमध्ये कतिपयको मनमा इष्र्या पैदा हुन्छ । यसरी पैदा हुने इष्र्याले के गर्छ ? के उनीहरुको प्रगति रोक्छ ? उनीहरुको खुसी हरण गर्छ ?

पक्कै गर्दैन । के गर्छ त ?

आफ्नै मन पोल्छ । आफ्नै निद्रा हराउँछ । आफ्नै गाँस खल्लो हुन्छ । आफ्नै मन औडाह हुन्छ । त्यसो भए के इष्र्यालाई मनबाट चटक्कै निकालेर मिल्काउने ?

यो संभव नहुने कुरा हो । इष्र्यालाई सकारात्मक रुपमा पनि लिने गरिएको छ । तर, यस्तो इष्र्या, जसले आफुलाई केही गर्न उक्साउँछ । अर्थात कुनै व्यक्तिले रहरलाग्दो प्रगति गर्छ । उनको प्रगति हेरेर हामीलाई पनि हात बाँधेर बस्न मन नलागोस् । कुनै व्यक्तिले राम्रो अवार्ड प्राप्त गर्छ । उसको सफलता देखेर हामीलाई पनि केही गर्न जाँगर चलोस् । हो, यस किसिमको इष्र्याले हामीलाई थप गतिशिल बनाउँछ ।

धर्मगुरुहरुले ‘घृणा’लाई पाप बताउँछन् । कसैलाई वा कसैको अवस्थालाई वा कसैको स्वरुपलाई वा कसैको आस्थालाई घृणा गर्नु महापाप हो । तर, घृणा हामीभित्र स्वतः पैदा हुने तत्व हुन् । यसलाई हटाउने कि व्यवस्थापन गर्ने ?

घृणालाई व्यवस्थापन गर्ने । हामीभित्र घृणा हुनुपर्छ । र, घृणा त्यही कुरालाई गर्नुपर्छ, जसले अहित गर्छ । कुरिती, कुसस्कार, कुकार्य, कुविचारलाई घृणा गर्नुपर्छ । जो भ्रष्ट्रचार गर्छ, जो, बलात्कार गर्छ, जो कुभलो गर्छ उनीहरुप्रति हाम्रो मनमा घृणा जाग्नुपर्छ ।

हास्य अभिनेता हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठसँगको सम्बन्धबारे कुराकानी गर्दै अनलाइनखबरसँग भनेका थिए, ‘कुनैपनि सम्बन्ध स्वार्थरहित हुँँदैन । हरेकको आ-आफ्नै स्वार्थ हुन्छ । मभित्र पनि स्वार्थ छ । मदन दाईसँग जोडिनुमा पनि मेरो आफ्नै स्वार्थ छन् । तर, यस्ता स्वार्थलाई कुन हदसम्म निकाल्ने भन्ने कुरा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ ।’

उनले के पनि भनेका थिए भने, आफुभित्रको स्वार्थलाई कति निकाल्ने वा कति दबाउने भन्ने कुराका लागि मनभित्रै ‘स्टेपलाइजर’ फिट गर्नुपर्छ । त्यही स्टेपलाइजरले स्वार्थ कन्ट्रोल गर्नुपर्छ । यसलाई ‘हाइ भोल्टेज’मा छाडियो भने दुर्घटना हुन्छ ।

हास्य अभिनेता आचार्यले भनेजस्तै हामीभित्र जति सकारात्मक तत्व हुन्छन्, उत्तिनै नकारात्मक पनि । तर, ति दुबै तत्वलाई सन्तुलित मात्रामा प्रयोग गर्नुपर्छ । नकारात्मक तत्वलाई सही रुपमा व्यवस्थापन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment