Comments Add Comment

हाडनाताको यौन हिंसाः भन्न पनि गाह्रो, लुकाउन पनि ….

९ मंसिर, काठमाडौं । हरेक सन्तानले आफ्ना बुबाको काखमा बस्दा सुरक्षित महसुस गर्छन् । त्यसैले त कसैले गाली गर्दा पनि बच्चाहरु भन्ने गर्छन्- ‘बाबालाई भन्दिन्छु ।’

जब तिनै सन्तान आफ्नै बाबुबाट असुरक्षित बन्छन्, त्यसबेला कसले सुरक्षा दिने ? कसको भरोसा गर्ने ?

हाडनाताबाट पीडित सन्तानहरु खुलेर अगाडि आउन सक्दैनन् । जो आउँछन्, तिनीहरुलाई न्याय पाउन सजिलो छैन । तर, दबिएर बस्नेहरुले भन्दा खुलेर अगाडि आउनेहरुले नै न्याय पाउने गरेका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा १६९ जना छोरीहरु आफ्नै बाबुको दुष्कर्मको शिकार भएका छन् । ३५ जनामाथि आफ्नै हजुरबाले नीच हर्कत गरेका छन् । यी पीडितमध्ये कतिपय मानसिक समस्यामा जकडिएर बसेका छन् भने केही एनजीओ-आइएनजीओको संरक्षणमा पुगेका छन् ।

तर, बलात्कारबाट पीडित चेलीहरुको संरक्षण र पुनस्र्थापनाका लागि सरकारसँग कुनै प्रभावकारी कार्यक्रम छैन । यहाँ हामी पाँचवटा दृष्टान्त प्रस्तुत गर्दैछौं, जसले एक जना बाबु कतिसम्म पातकी र क्रुर हुन सक्छ भन्ने दर्शाउँछ:

घटना -१

बागलुङको गल्कोट नगरपालिका-८ काँडेबासकी माया सुनारको बिहे भएको आठ वर्ष भयो । किरण सुनारसँग बिहे गरेकी मायाले केही समयपछि छोरी जन्माइन् ।

तर, छोरी जन्माएपछि उनले पतिप्रेम कहिल्यै पाइनन् । दिनहुँ पतिको कुटाइ सहँदै मायाले छोरीलाई सात वर्षकी बनाइन्, कक्षा तीनसम्म पढाइन् । गत असोज १७ गते छोरीलाई बाबुको जिम्मा लगाएर माया माइत आएकी थिइन् । तर, उनै बाबुले त्यस रात छोरीमाथि राक्षसी हमला गरे ।

भोलिपल्ट विक्षिप्त अवस्थामा छोरी स्कुल पुगिन् । उनले राम्रोसँग पढ्न नसकेपछि शिक्षकहरुले सोधे । उनले रुँदै भनिन्, ‘रक्सी खाएर आएपछि बाले मलाई रातभर नराम्रो काम गर्नुभयो । म कत्ति रोएँ, अहँ छोड्दै छोड्नुभएन ।’

वालिकालाई तत्कालै अस्पताल पुर्‍याइयो ।

भाग्न खोजिरहेका किरणलाई प्रहरीले तत्कालै पक्राउ गर्‍यो । उनी अहिले बाग्लुङ कारागारको छिँडीमा छन् ।

मायाले रुँदै भनिन्, ‘मलाई त सात वर्षदेखि राक्षसी व्यवहार देखाएको थियो । छोरीलाई पनि त्यस्तो गर्‍यो पापीले । छोरी अहिले टोलाइमात्र रहन्छे । थप उपचारका लागि पैसा छैन । आमाछोरीकै जिन्दगी बर्वाद पारिदियो दुष्टले ।’

घटना – २

ललितपुरस्थित बाँडेगाउँकी १३ वर्षीया किशोरीलाई गाउँलेले सोध्न थाले, ‘तिम्रो पेट किन ठूलो भएको ?’

छिमेकीले सँधै यस्तो सोध्न थालेपछि किशोरीले घरमा गएर त्यही कुरा बाबुलाई सुनाइन् । बाबुले छोरीलाई अस्पताल पुर्‍याए । त्यति नै बेला फोनमा आमासँग कुरा गरेको किशोरीले सुनिन्, ‘छोरीको पेटमा घाउ आएर अप्रेशन गर्न ल्याएको ।’

किशोरीकी आमा वैदेशिक रोजगारीका सिलिसिलामा मलेसियामा पुगेकी थिइन् । आफ्ना दुई छोरीलाई बाबुको जिम्मा लगाएर तिनै सन्तानको उज्वल भविश्यका लागि मलेसियाको खाडीमा पसिनासँग पैसा साट्दै थिइन् आमा । छोरीको विषयमा गाइँगुइँ सुनेपछि आमा मलेसियाबाट घर फर्किइन् तर, उनी घरमा आइपुग्दा छोरीहरु र श्रीमान त्यहाँ थिएनन् ।

श्रीमान र छोरीहरुको कुनै पत्तो नलागेपछि १४ भदौमा चापागाउँ प्रहरी चौकीमा पुगिन् । त्यतिबेला पो उनी छाँगाबाट खसेझैं भइन् । उनलाई भनियो कि छोरीको गर्भपतन गराउनका लागि श्रीमान हस्पिटल पुगेका रहेछन् ।

अझ, छोरीको त्यो गर्भ आफ्नै ३३ वषर्ीय बाबुको भएको सुन्दा उनलाई कहाली लाग्यो ।

बाबुले विगत तीन/चार महिनादेखि छोरीलाई झुक्याएर यौन शोषण गर्दै आएको पाइएको चापागाउँका डीएसपी राजकुमार फैजुले जानकारी दिए । प्रहरीले मुद्दा दायर भएको तीन दिनमै पक्रेर मुद्दा चलाएको थियो ।

घटना -३

०७१ पुस २२ मा काभ्रे जिल्ला अदालतले आफ्नै छोरीमाथि हमला गर्ने बाबुलाई १८ वर्षको जेल सजायँ सुनायो ।

छोरीमाथि पाप कर्म गरेका गरेका उनी अहिले जेलमा सजायँ काटिरहेका छन् । पूजामाथि बाबुले मात्र होइन, हजुरबाले समेत दुष्कर्म गरेका थिए ।

घटना -४

०७३ मा विश्वास नै गर्न गाह्रो पर्ने खबर आयो । खबर थियो दाङ, पन्धाराका यौनपिपासु बाबुले १३ वषर्ीया छोरीलाई बन्दुक देखाएर दुष्कर्म गरेको ।

उनी राती मदिराले मातेर आउँथे र बन्दुक देखाएर तर्साउँदै छोरीलाई शोषण गर्थे । आमा विदेशमा भएकीले छोरीले कसैलाई पनि सुनाउन सकेकी थिइनन् । तर, पाप धुरीबाट कराउँछ भनेझैं आखिर ती बाबु जेलमा पुगिछाडे ।

घटना -५

पाँचथर, च्याङथापुमा ४७ वर्षका बाबुले १७ वर्षकी आफ्नै छोरीलाई धारिलो हतियार प्रयोग गरेपछि उनी मनभरि आँट भरेर प्रहरी कार्यालयमा पुगिन् ।

घरमा बाबु-छोरी मात्र थिए र ती बाबुले नियमित यौन शोषण गर्थे । एक दिन मदिरा सेवन गरी यौन शोषण मात्र गरेनन्, हातिलो हतियार नै प्रहार गरे । त्यसपछि छोरी प्रहरीको शरणमा पुगेकी थिइन् ।

यस्ता छन् तथ्यांक

नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्याङ्कअुनसार पछिल्लो पाँच वर्षमा १६९ जना बाबु र ३५ हजुरबाले यस्तो हर्कत गरेका छन् । देशको राजधानी काठमाडौंमै सबैभन्दा बढी छोरीहरु पीडित बनेको तत्थ्यांकले देखाएको छ ।

पछिल्लो चार वर्षको तथ्यांकलाई हेर्दा काठमाडौंमा १७ जना छोरी पीडित बनेका छन् । ललितपुरमा ६ र भक्तपुरमा १ छोरी पीडित बनेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।

यो आर्थिक वर्षमा मात्रै २५ छोरीहरुले यस्तो पीडा भोगेका छन् । पछिल्लो चार वर्षको तथ्यांकले ५३ जिल्लामा यसता घटना भएको देखाउँछ । सबैभन्दा बढी ४४ घटना गत आव ०७४/७५ मा भएका थिए । ०७१/७२ मा त हजुरबाका १० र बाबुका ३२ घटना भए । ०७२/७३ मा २८, ०७३/७४ मा ४० छोरी यौन शोषणमा परे ।

प्रहरी प्रवक्ता भन्छन्- पढेलेखेका मान्छे पनि संलग्न छन्

नेपाल प्रहरीका प्रवक्ता एसपी उत्तमराज सुवेदी भन्छन्, बलात्कार आफैंमा गम्भीर प्रकृतिको फौजदारी अपराध हो । यस्ता अपराधलाई निर्मूल पार्न ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रममार्फत पनि जनचेतना फैलाइरहेका छौं ।’

यस्ता हिंसालाई न्यूनीकरण गर्न पाठ्यक्रम नै तयार पारेको प्रवक्ता सुवेदी बताउँछन् । उनी भन्छन्, ‘प्राय यस्ता घटना मादक पदार्थ सेवनपछि भएको देखिन्छ । घरमा श्रीमतीसँग राम्रो मेलमिलाप नभएको वा विक्षिप्त मानसिकता भएका पुरुषहरुबाट यस्ता घृणित कार्य भएको देखिन्छ ।’

प्रहरी प्रवक्ता सुवेदी भन्छन्- ‘पढेलेखेकै र शिक्षित मान्छेहरुले पनि यस्ता अपराध गरिरहेका छन् । प्रायः १५ वर्षभन्दा मुनिका बालिका शिकार भएका छन् । यस्तो मुद्दामा प्रहरीले शून्य सहनशीलताको नीति अख्तियार गरेको छ ।’

के सोच्छन् पीडित ?

बाबुबाटै प्रताडित भएका छोरीहरुको मनोविज्ञानबारे मनोविद् डा. करुणा कुवँर भन्छिन्, ‘सबैभन्दा पहिला त उनीहरु कुनै पनि पुरुष मान्छेमा विश्वास गर्न छोड्छन् ।’

हाडनाता बलात्कारमा प्रायः बालिकाहरु पीडित हुन्छन् । यो क्रम लामो समयसम्म चलेको हुन्छ ।

यस्ता पीडितलाई ठूलो थ्रेट हुने कुँवर बताउँछिन् । बाबुले गरेको यस्तो घृणित कार्य आमाले पनि नपत्याउने वातावरण हुन्छ । यदि थाहा पाइहाले पनि पीडितलाई समाजले नै लान्छाना लगाउने, घृणा गर्ने सम्भावना हुन्छ । त्यसैले पीडितहरु घटना लुकाएरै बस्न बाध्य हुने डा. कुँवर बताउँछिन् ।

आफ्नै बाबाबाट बलात्कारको शिकार भएका छोरीहरुमा आफ्नो जीवनप्रति वैराग्य उत्पन्न हुने गरेको कुँवरले देखेकी छिन्, जसकारण पीडितले पछिसम्म पनि आत्महत्याको प्रयास गर्छन् ।

‘यस्ता पीडितहरुले जीवनमा सिकेको कुराहरु पनि बिर्सदै जाने गरेको परामर्शका क्रममा पाएको छु’ उनले भनिन्, ‘उनीहरु आफूलाई सधैं असुरक्षित महशुस गर्छन् ।’

यस्ता पीडितले डरलाग्दो सपना देख्ने, असुरक्षाको विषयमा जहिल्यै चिन्तित हुने, ओछ्यानमा पिसाव फेर्ने, भिडभाड मन नपराउने डा. कुँवर बताउँछिन् । यस्ता पीडितको पारिवारिक जीवन पनि राम्रो हुन नसक्ने उनको भनाइ छ ।

कानूनमा के छ ?

अहिलेको कानूनले १० वर्षभन्दा कम उमेरका बालिकालाई जवरजस्ती करणी गरेको अवस्थामा १६ देखि २० वर्षसम्म कैद सजायँ तोकेको छ ।

त्यस्तै, १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरको भएमा १४ देखि १६ वर्ष, १४ वर्षभन्दा बढी र १६ भन्दा कम उमेरमा १२ देखि १४ बर्ष र १६ देखि १८ वर्षको भएमा १० देखि १२ वर्षसम्म कैद सजायँको व्यवस्था गरिएको छ ।

१८ वा सोभन्दा बढी उमेरका महिलालाई जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्म कैद सजायँ तोकिएको छ ।

कसैले हाडनाताकी महिलालाई जबरजस्ती करणी गरेमा निजलाई हाडनाताको करणीमा हुने सजायँ थप हुन्छ । सौतेनी आमा-छोरा, बाबु-छोरी, सहोदार दिदी-भाइ एउटै हाँगाका ससुरा-बुहारी, देवर-भाउजू लगायत हाडनाता करणी भएको अवस्थामा ४ देखि १० वर्षसम्मको कैद र ४० हजारदेखि १ लाखसम्म जरिवार थपिनेछ । त्यस्तै, वैवाहिक बलात्कारमा ५ वर्षसम्म कैद सजायँको व्यवस्था गरिएको छ ।

पुनःस्थापना र अभिभावकत्वको खाँचो

बलात्कारबाट शिकार भएका महिलाहरुका लागि कानूनी उपचार त छ, तर उनीहरुलाई पूर्ववत् अवस्थामा फर्काउन त्यो मात्रै पर्याप्त हुँदैन । उनीहरुलाई लामो समय राज्यबाट संरक्षण र अभिभावकत्वको आवश्यकता पर्छ ।

तर, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का यस्ता पीडितलाई केही समयका लागि पुनस्र्थापनमा राख्नेबाहेक अरु कुनै संरक्षणको व्यवस्था नभएको बताउँछन् ।

‘घरेलु हिंसामा उजुरीका आधारमा हामीले संघ-संस्थासँग मिलेर केही समय पुनस्र्थापना केन्द्रमा राख्न सक्छौँ । त्यसबाहेक अरु त्यस्तो कुनै सहायता छैन,’ खड्काले अनलाइनखबरसँग भने, ‘तर, अहिले संघीयतामा गैसकेपछि योखालको व्यवस्था गर्नका लागि गृहकार्य हुँदैछ ।’

यो पनि पढ्नुहोस मलाई आफ्नै नागरिकतासँग डर लाग्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment